बीमा समितिमा फेरि पस्यो अख्तियार
काठमाडौं, २७ असोज । बीमा समितिमा पुन अख्तियार छिरेको छ । समिति उच्च ब्यवस्थापनले विगतमा गरेका तीन विषयमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको अख्तियार स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार अख्तियारको अनुसन्धान टोलीले समितिका अध्यक्षसहित उच्च ब्यवस्थापनसँग गत साता बयान लिएको छ । समितिका पूर्व कार्यकारी निर्देशक विनोद अर्याललाई पदवाट हटाएको, अर्याल नै संचालक रहेको कम्पनीलाई शंकास्पद बीमा दाबी भुक्तानी दिइएको र समितिका विभिन्न कोषमा रहेको रकम कम ब्याज आउने कल एकाउन्टमा राखी समितिलाई हानी नोक्सानी पु¥याएको विषयमा अनुसन्धान थालिएको हो । ‘समितिका पूर्वकार्यकारी निर्देशकलाई गैरकानुनी रुपमा पदवाट हटाएको, अर्याल नै संचालक रहेको कम्पनीलाई गैरकानुनी रुपमा शंकास्पद तरिकाले बीमा दाबी भुक्तानी गरिएको र समितिको पैसा कम ब्याज आउने कल एकाउन्टमा राखी हानी नोक्सानी पु¥याएको विषयमा अनुसन्धान थालिएको हो, समितिका उच्च ब्यवस्थापन र सरोकारवाला ब्यक्तिहरुसँग गत साता बयान लिइएको छ,’ अख्तियार स्रोतले भन्यो । अख्तियारको अनुसन्धान टोलीले समितिका पूर्वअधिकारी शेखर अर्यालसँग पनि बयान लिइसकेको छ । उनी अर्यालकै कार्यकालमा समितिवाट वाहिरिहेका थिए । अख्तियारले सो विषयमा यसअघि पनि अनुसन्धान गर्दै फाइल थन्क्याउदै गरेको थियो । यसपटक भने अन्तिम टुंगो लगाउने गरी अनुसन्धान थालिएको अख्तियार स्रोतको भनाइ छ ।
अर्थमन्त्रीमा पौडेललाई रोक्न बामदेव र शंकर सक्रिय, ओली भने बनाउने पक्षमा
काठमाडौं, २७ असोज । एमाले उप महासचिव बिष्णु पौडेललाई अर्थमन्त्री बन्नबाट रोक्न बामदेव गौतम र शंकर पोखरेलहरुले कडा संघर्ष गरिरहेको तथ्य खुलेको छ । गौतम र पोखरेलकै सक्रियतामा सोमबार प्रधानमन्त्री केपी ओलीको अथक प्रयासका बाबजुद पौडेलले अर्थमन्त्रीको सपथ खान पाएनन् । आफुलाई पार्टी महाधिवेशनमा उप महासचिवमा हराउन मुख्य भूमिका खेलेको भन्दै शंकर पोखरेलले पौडलको बिरोध गरेको एमाले श्रोतले बतायो । श्रोतका अनुसार राधा ज्ञवालीलाई उर्जा मन्त्री बनाउन सिफारिस गरेका पौडेल र बामदेव गौतमबिच उर्जा मन्त्रालयकै कामकाजका शिलशिलामा मनमुटाब बडेको थियो । पौडेल र गौतमले एक अर्काका कारण उर्जा मन्त्री ज्ञवाली भ्रष्टाचार काण्डमा मुछिएको आरोप लगाउँदै आएको बताईन्छ । मन्त्री छान्ने बिषयमा ओलीसँग बसेको गुटको बैठकमा गौतमले पौडेलको खुलेर बिरोध गरेका थिए भने पोखरेलले पनि पौडेललाई पठाउन नहुने धारणा राखेका थिए । प्रधानमन्त्री ओलीको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त हुने तयारीमा रहेका पोखरेलले पौडेललाई अर्थ मन्त्री बनाउँदा सरकार नैतिक संकटमा फस्ने टिप्पणी गरेको श्रोतले बतायो । पौडेलको औपचारिक अध्ययनको बिषयलाई लिएर ओली समुहमा उनीमाथी औलाँ ठड्याइएको छ । यद्यपी केपी ओली भने पौडेललाई कुनै हालतमा अर्थ मन्त्री बनाउने पक्षमा लागिपरेको श्रोतले बतायो । बरिष्ठ नेता माधव नेपाल समेत पौडेललाई अर्थ मन्त्री बनाउने कुराको बिरोध नगरेको श्रोतले बतायो । मंगलबार साँझ बसेको एमाले शिर्ष नेताहरुको अनौपचारिक बैठकले बरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष विद्या भण्डारीलाई मन्त्री छान्ने जिम्मा दिएको श्रोतले बतायो ।
झलनाथ, विद्या, नेम्बाङ र लालबाबु राष्ट्रपतिको दौडमा
काठमाडौं, २७ असोज । एमालेले राष्ट्रपति र एकिकृत माओवादीले सभामुख लिने सहमति भएसँगै एमालेमा राष्ट्रपतिको बहसले तिब्रता पाएको छ । मुलतः एमालेमा राष्ट्रपति बनाउने बिषयमा चार नेताको नाम अघि सारिएको छ । पुर्व प्रधानमन्त्री झलनाथ खनाल राष्ट्रपतिका स्वभाविक र पुराना दावेदार हुन् । उनलाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले नवौं महाधिवेशन अघि नै राष्ट्रपति बनाउने आश्वासन दिएको एमाले वृतमा चर्चा छ । राष्ट्रपति बन्न पाउने आशमै खनालले महाधिवेशनमा गोप्यरुपमा ओलीलाई सघाएका थिए । एमालेभित्र राष्ट्रपतिको अर्का दावेदार हुन निवर्तमान सभामुख सुभाषचन्द्र नेम्बाङ । नेम्बाङलाई राष्ट्रपति बनाउन केपी ओली पनि सकारात्मक नै छन् । तर नेम्बाङ क्रिस्चियन धर्मावलम्बी भएकाले राष्ट्रपति बनाउन केहि अप्ठेरो रहेको एमाले श्रोतले बतायो । पार्टी उपाध्यक्ष तथा मदन भण्डारी पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति पदकी अर्की प्रतिष्पर्धी हुन् । प्रधानमन्त्री केपी ओली समेत उनलाई राष्ट्रपति बनाउने भित्रि खेलमा सामेल छन् । बरिष्ठ महिला नेतृ तथा मदन भण्डारी पत्नी भएकाले पनि उनलाई राष्ट्रपति बनाउन ओली र उनी निकटकाहरु दिलोज्यन दिएर लागिपरेका छन् । त्यसो त मुलुकको पहिलो महिला राष्ट्रपति बनाएर इतिहास लेख्ने अभियानमा समेत उनीहरु लागिपरेका छन् । राष्ट्रपतिको रेसमा सामेल भएका अर्का उम्मेदवार हुन निवर्तमान सामान्य प्रसाशन मन्त्री लालबाबु पण्डित । डिभि, पिआर र ग्रीन कार्डधारी कर्मचारीलाई कारवाहीको बाटोमा ल्याएर वाहवाही कमाएका पण्डित मधेशी मुलका समेत हुन् । मधेशी जनताको सेन्टीमेन्ट र राष्ट्रवादी सोँचको जगमा पण्डितलाई राष्ट्रपति बनाउन माधव नेपाल समुह लागिपरेको छ ।
राजधानीमा पेट्रोल सकस (फोटो फिचरसहित)
काठमाडौं, २६ असोज । भारतले अघोषित नाका बन्दी लगाएसँगै निजी सवारी साधनलाई पेट्रोलिम पदार्थ वितरणमा रोक लागेको थियो तर मंगलबार दशैंमा घर जान भन्दै निगमले निजी सवारी साधनलाई पनि पेट्रोल उपलब्ध गराउने निर्णय गर्यो । निगमले मंगलबार पेट्रोलियम पदार्थ वितरण गर्ने सूचना आइतबार नै बजारभरी फैलीसकेको थियो । सोमबार सार्वजनिक सूचना प्रकाशित गरेर मंगलबार सर्व साधारणलाई इन्धन दिने घोषणा गरेपछि सोमबारदेखि नै राजधानीका इन्धन पम्पहरुमा सर्वसाधारणहरुले आफ्ना सवारी साधन लाईन लगाईसकेका थिए । रत्नपार्क पुल छेउमै रहेको चुनीलाल आयल स्टोर्समा सोमबार दिउँसो तीन बजे नै आफ्नो कारलाई लाईनमा राखेको बताउँदै थिए बागबजारकै स्थानिय हरि महर्जन । ‘आज तेल दिन्छ भन्ने सूचना पक्का हुने वित्तिकै कारलाई यहाँ ल्याएर राखेका हुँ, त्यतिबेला त्यस्तै तीन बजेको थियो होला’ उनले भने । निगमले मंगबालर थानकोट डिपोबाट सर्वसाधारणलाइ दशैंमा घर पठाउन भन्दै ६ लाख लिटर पेट्रोल वितरण गरिरहेको छ । निगमले मंगलबार निजी मोटर साईकललाई पाँच लिटर र कारलाई १० लिटर पेट्रोल वितरण गरिरहेको छ । पेट्रोल भर्न सर्वसाधारण मध्यरातदेखि लाईनमा बसिरहेका छन् । राजधानीमा दैनिक ६० लाख लिटर पेट्रोल खपत हुने भएपछि निगमले दशैंका लागि भन्दै जम्मा ६ लाख लिटर पेट्रोल वितरण गरिरहेको हो ।
मन्त्री छान्न एमालेमा किचलो, अर्थमा पौडेल र पाण्डेको प्रतिष्ठा
काठमाडौं, २६ असोज । पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वमा गठन भएको सरकारमा पठाउने मन्त्रीहरुका बिषयलाई लिएर नेकपा(एमाले)मा किचलो सुरु भएको छ । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले एकलौटीरुपमा मन्त्री पठाउन थालेपछि माधव नेपाल तथा झलनाथ खनालहरु झस्किएको श्रोतले बतायो । विश्वस्त श्रोतका अनुसार सोमबार सथप ग्रहण गराईएका मन्त्रीहरुका बिषयमा समेत पार्टी नेतृत्व तहमा कुनै छलफल भएको थिएन् । प्रधानमन्त्री ओलीले आफुलाई काम गर्न सहज हुनु पर्यो भन्दै भटाभट मन्त्री नियुक्त गरेपछि नेपाल र खनालहरुले पार्टीमा छलफल गर्नुपर्ने माग राखेका छन् । मंगलबार साँझसम्म स्थायी समिति बैठक वा शिर्ष नेताहरुकाबिचमा छलफल गरेर थप मन्त्रीहरुको टुंगो लगााउने तयारी भैरहेको छ । अर्थमा पौडेल र पाण्डेको प्रतिष्ठा अर्थ मन्त्रालयका लागि उप महासचिव बिष्णु पौडेल र स्थायी समिति सदस्य तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेबिच प्रतिष्ठाको लडाईँ सुरु भएको छ । केपी ओली क्याम्पका नेताहरुले पाण्डेलाई कुनै हालतमा अर्थ मन्त्रालय दिन नहुने भन्दै ओलीलाई दबाव दिएका छन् । यता नेपाल समुह भने सफल अर्थमन्त्रीमा दरिएका पाण्डेलाई पठाएर पुननिर्माणको कामलाई अघि बढाउनु पर्ने निष्कर्षमा पुगेको छ । यतिबेला अर्थ मन्त्रालयमा को पठाउने भन्ने सन्दर्भ पौडेल र पाण्डेका लागि मात्रै होइन ओली र नेपालका लागि समेत प्रतिष्ठाको बिषय बनिसकेको छ । आफुलाई काम गर्न सहज हुने पात्रका रुपमा ओलीले पौडेललाई च्यापेका छन भने नेपालले शक्ति सन्तुलन, सम्बन्धित क्षेत्रको ज्ञान भएका र अनुभवी समेत रहेका पाण्डेलाई अर्थ मन्त्री बनाउनै पर्ने अडान तेर्स्याएका छन् । प्रधानमन्त्री ओली समुहले पाण्डेलाई कुनै हालतमा अर्थमन्त्री बन्नबाट रोक्ने अभियान छेडेको छ भने नेपाल समुहले पनि पौडेललाई बनाउनै नहुने अडान कसेको छ । यस्तो अवस्थामा उपाध्यक्ष भिम रावलले अर्थमन्त्रालय हात पार्ने सम्भावनालाई समेत नकार्न नसकिने श्रोतले बतायो ।
बुधबारदेखि तराईमा बैकिङ सेवा खुला हुने
जनकपुरधाम, २५ असोज । दुई महिनादेखि बन्द रहेको तराईको बैकिङ क्षेत्र बुधबारदेखि खुला हुने भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा धनुषाले विजया दशमीलाई ध्यानमा राख्दै पाँच दिनका लागि जिल्लाका विभिन्न वित्तीय संस्थालाई खुल्ला राख्ने निर्णय गरेको छ । मोर्चाका संयोजक परमेश्वर साहका अनुसार आन्दोलनका कारण बैंक तथा वित्तीय संस्था पनि बन्द रहँदा जनतालाई परेको मर्कालाई ध्यानमा राख्दै र दसैँमा असहजता उत्पन्न नहोस् भनी पाँच दिनका लागि वित्तीय संस्थालाई खुल्ला गर्ने निर्णय गरेको हो । भोली मंगलबार घटस्थापना परेकोले सार्वजनिक विदा छ । बुध, विही र शुक्रबार तीन दिन र आगामी साताको आईत र सोमबार दुई दिन गरी दशैं अघि जम्मा पाँच दिन मात्र बैक तथा वित्तीय संस्थाले सेवा दिन सक्नेछन् । जनकपुरमा गरिएको यो निर्णयले तराईका अरु जिल्लामा पनि बैक तथा वित्तीय सेवा खुला गर्न मोर्चालाई दवाव पर्ने र अरु जिल्लामा पनि वित्तीय सेवा खुला हुन सम्भावना आफूले देखेको शाहले बताए । दुई महिनादेखिको लगातार बन्दका कारण वित्तीय कारोबार हुन नसक्दा आम जनता बैंकबाट कारोबार गर्न पाएका छैनन् । बैंकका शाखाहरु सञ्चालन नहुँदा एटीएमहरु पनि खाली भएका थिए । बैंकमा बचत रहेका सर्वसाधारणले आफ्नो खाताबाट रकम झिकेर खर्च गर्न समेत पाएका थिएनन् । बन्दका कारण बैंक, बीमा, सहकारी, उद्योग, स्कूल, कलेज लगायत सबै क्षेत्र नराम्ररी प्रभावित भएको छ ।
भोलि सबै निजी सवारी साधनले पेट्रोल पाउने, पेट्रोल हाल्न ब्लुबुक अनिवार्य
काठमाडौं, २५ असोज । नेपाल आयाल निगमले भोलि (२६ असोजमा) सवै निजी सवारी साधनलाई पेट्रोल दिने भएको छ । दशैंलाई लक्षित गर्दै नेपाल आयल निगमले काठमाडौं उपत्यकामा भोलि मंगलबार निजी सवारीलाई पनि एक दिनका लागि डिजेल र पेट्रोल वितरण गर्दैछ । भारतको अघोषित नाकाबन्दीका कारण इन्धन अभाव भएपछि केही दिनदेखि निगमले कोटा प्रणाली अनुसार सार्वजनिक, सरकारी र अत्यावश्यक सेवाका सवारीलाई केही पम्पहरुबाट मात्रै तेल दिँदै आएको थियो । दशैंमा घर जाने यात्रुहरुलाई लक्षित गरी आयल निगमले निजी सवारीलाई पनि तेल दिने निर्णय गरेको हो । निगमले मंगलबार काठमाडौं उपत्यकाका सबै पेट्रोल पम्पहरुबाट तेल वितरण गर्दैछ । दिउँसो १ बजेदेखि सबै पम्पमा पेट्रोल/डिजेल वितरण सुरु गर्ने तयारी गरिएको छ । एक स्थानमा तेल भरेकाले अर्को स्थानमा गएर भर्न पाउने छैनन् । उपत्यकामा रहेका झण्डै १ सय २५ पेट्रोलपम्पहरुले निजी सवारीलार्इ इन्धन वितरण गर्नेछन् । ‘मंगलबार निजी सवारी साधनलाई पेट्रोल वितरण गरिने छ,’ नेपाल आयल निगमका प्रवक्ता दीपक बरालले भने । निगमले सहजरुपमा तेल लिने वातावरण बनाउन सबै पम्पहरुलाई तेल दिन लागेको उनले जानकारी दिए । उनका अनुसार सार्वजनिक सवारीलाई भने बसपार्क क्षेत्रका केही पम्पहरूमा मात्र तेल पाउने छन् । निगमले गरेको ब्यवस्था अनुसार निजी मोटरसाइकलले ५ लिटर मात्रै पेट्रोल पाउने छन् । यस्तै चारपांग्रे कार, जिप/भ्यानलगायतलाई १५ लिटरका दरले इन्धन उपलब्ध गराउन लागिएको छ । निगमले सार्वजनिक यतायात अन्तरगत जोरबिजोर नम्बरका आधारमा माइक्रोबसलाई १५, मिनीबसलाई २० र ठूला बसलाई ३० लिटर पेट्रोलियम पदार्थ उपलब्ध गराउँदै आएको छ । यस्तै अत्यावश्यक बस्तु ढुवानीमा संलग्न साना गाडीहरुले जोरबिजोरका आधारमा १० लिटर तेल पाउँदै आएका छन् । अतिआवश्यक सेवाका दमकल, एम्बुलेन्स लगायतलाई दैनिक १० लिटर तेल उपलब्ध गराउने क्रम चलिरहेको छ । ट्याक्सीले सातामा १० लिटर पेट्रोल पाउँदै आएका छन् । निगमले तेल भर्न आउँदा सवारीको ब्लुबुक बोकेर आउन आग्रह गरेको छ । तोकिएको परिमाणअनुसार इन्धन भरेर ब्लु बुकमा आयल निगमको लोगो अंकित छाप लगाउने व्यवस्था गरिएको प्रवक्ता बरालले बताए । ‘सवारीसाधनमा इन्धन भरेपछि मिति उल्लेख गरी ब्लु बुकमा आयल निगमको छाप लगाउँछौं, ‘त्यसैका आधारमा एक ठाउँमा तेल भरेको सवारीले अन्यत्र तेल भर्न पाउँदैन,’ बरालले भने । दसैँमा सवारीसाधन चलाउन सजिलो गराउन र उपत्यकाबाट बाहिरिनेलाई पनि ध्यानमा राखेर निगमले आफ्नो क्षमता अनुरुप अधिकतम तेल वितरण गरिने स्पष्ट गरेको छ । उपत्यकामा मंगलबार ६ लाख लिटर पेट्रोल वितरण गर्ने योजना छ । भारतबाट तेल आउन कम भएपछि निगमले कोटा निजी सवारीलाई तेल दिन बन्द गरेको छ । तर, मंगलबार एक दिन मात्र निजी सवारीलाई तेल दिन लागिएकाले पेट्रोल पम्पहरुमा भिड सोमवारदेखि नै लागिसकेको छ ।
२ उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन
२५ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सात सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । मन्त्रिपरिषद्मा दुई जना उपप्रधानमन्त्री छन् । उपप्रधानमन्त्रीमा कमल थापा र विजय गच्छदार छन् । थापाले उपप्रधानसहित परराष्ट्र र गच्छदारले उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हाल्ने बताइएको छ । यस्तै मन्त्रीहरुमा अग्नि खरेल,सोमप्रसाद पाण्डे, सत्यनारायण मण्डल, हरिबाल गजुरेल र रामकुमार सुब्बा छन् । खरेल, पाण्डे र मण्डल एमालेको तर्फवाट मन्त्री बनेका हुन् भने गजुरेल एमाओवादीको तर्फवाट मन्त्री बनेका हुन् । सुब्बा भने राप्रपा नेपालका हुन् ।