खुमहादुरलाई २० लाख दिने मन्त्री परिषद निर्णय छानबिनको घेरामा, एक महिना भित्र आर्थिक सहयोग कार्यबिधी पेश गर्न निर्देशन
काठमाडौं, ११ मंसिर । भ्रष्टाचारको आरोप प्रमाणित भएर जेल जिवन विताएका काँग्रेस नेता खुम बहादुर खड्कालाई उपचारका नाममा २० लाख निकासा गर्ने सुशिल कोइराला नेतृत्वको सरकारको निर्णय छानबिनको घेरामा परेको छ । व्यवस्थापिका संसदको अर्थ समितिले भ्रष्टाचारको आरोप पुष्टि भएर जेल जिवन बिताएका खड्कालाई २० लाख सहयोग दिएर पुर्व सरकारले राज्य कोषको दुरुपयोग गरेको भन्दै त्यस्ता सबै खाले निर्णयहरुको छानबिन गर्ने निर्णय गरेको हो । ‘मन्त्रिपरिषद्बाट आर्थिक सहायता र उपचार खर्च सम्बन्धमा विगतमा भएका निर्णयहरुका सम्बन्धमा समितिले आवश्यक छानबिन गर्ने’ निर्णय गरेको हो । समितिको बैठकमा अधिकांश सांसदहरुले खुम बहादुर खड्कालाई उपचारका नाममा आर्थिक सहयोग उपलब्ध गराएर पुर्ववर्ति सरकारले मन्त्रीपरिषदको गरिमा घटाएको आरोप समेत लगाएका थिए । गत असोज २२ गते सम्पन्न कोइराला सरकारको अन्तिम मन्त्रीपरिषद बैठकले खड्कालाई उपचारका नाममा २० लाख रुपैंयाँ दिने निर्णय गरेको थियो । उनलाई रकम दिने निर्णय गरेसँगै सरकारले उपचार खर्च र आर्थिक सहायताका नाममा उपलब्ध गराउँदै आएको सबै सहयोग शंकाको घेरामा परेको थियो । समितिले मेला, महोत्सव र पुजाआजाका नाममा दिईने आर्थिक सहयोग रोक्न पनि अर्थ मन्त्रालयलाई निर्देशन दिएको सभापति प्रकाश ज्वालाले बताए । द्धन्द्ध पिडितलाई दिने भनिएको साढे सात लाख रुपैंयाँ भने निकासा गर्न समितिले निर्देशन नै दिएको छ । समितिले आर्थिक सहयोग, औषधी उपचार सहयोग वितरणको विद्यमान निर्देशिका तत्काल संसोधन गरि नयाँ कार्यबिधी सहित एक महिना भित्र समितिलाई बुझाउन समेत निर्देशन दिएको हो । ‘आर्थिक सहयोगका नाममा राज्य कोषको दुरुपयोग हुँदै आएको देखियो, हामीले छानबिनको तयारी थालेका छौं र एक महिना भित्रै कार्यबिधी संसोधन गरेर समितिमा पेश गर्न पनि निर्देशन दिएका छौं ।’ सभापति ज्वालाले भने ।
सेयर कारोबार ६४ प्रतिशतले बढ्यो, एक अर्ब २४ करोडको किनबेच
काठमाडौं, ११ मंसिर । यो साता सेयर कारोबार ६४ दशमलब ७८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो साता जम्मा ७५ करोड ८२ लाख मुल्य बराबरको १५ लाख ८७ हजार ३ सय ९० कित्ता सेयर मात्रै कारोबार भएको थियो । तर यो साता १५० कम्पनीको २४ लाख ३६ हजार कित्ता सेयर एक अर्ब २४ करोड १२ लाख २० हजार रुपैयाँ बराबरमा किनबेच भएको हो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २७.३७ अंकले घटेर अन्तिम दिन १०४४ दशमलब एक अंकमा झरेको छ । यो साता कारोबार रकमका आधारमा आठ करोड ८१ लाख १० हजार रुपैयाँको सेयर बेचेर नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पहिलो नम्बरमा रह्यो । यो साता नेप्सेमा सूचिकृत नयाँ कम्पनीहरु त्यसैगरी कारोबार भएको सेयर संख्या एक लाख ७४ हजार कित्ता सेयर किनबेच गरेर सिद्धार्थ इक्विटी ओरिएन्टेड स्किम अग्रस्थानमा छ रहन सफल भयो । त्यसैगरी ४ हजार ८ सय ८३ वटा कारोबार गरेर कारोबारका संख्याका आधारमा अपि हाईड्रो एक नम्बरमा रह्यो ।
शुक्रबार अढाई लाख लिटर इन्धन बाढिँदै, पत्रकारलाई नेशनल ट्रेडिङबाट ४ हजार लिटर पेट्रोल
काठमाडौं, ११ मंसिर । नेपाल आयल निगमले शुक्रबार दुई लाख ५३ हजार लिटर इन्धन वितरण गर्दैछ । निगमले बागमति उपत्यकाका लागि दुई लाख १७ हजार लिटर डिजेल र ३६ हजार लिटर पेट्रोल वितरण गर्न लागेको हो । निगमले ४५ वटा पम्पहरुबाट डिजेल वितरण गर्नेछ भने आठ वटा पम्पहरुबाट पेट्रोल वितरण गर्दैछ । निगमले पत्रकारका लागि नेशनल ट्रेडिङ लिमिटेड टेकुबाट ४ हजार लिटर पेट्रोल उपलब्ध गराउने भएको हो । सूचना बिभागद्धारा जारी गरिएको परिचय पत्रका आधारमा पत्रकारका मोटरसाईकलाई तीन लिटर र कार तथा जीपलाई १० लिटर इन्धन उपलब्ध गराईनेछ । यस अघि लगनखेलस्थि नेपाली सेनाको स्वामित्वमा रहेको शक्तिदेवी पेट्रोल स्टेशनबाट पत्रकारलाई इन्धन उपलब्ध गराउने बताईएको थियो ।
संसदिय टोलीको निष्कर्ष–अहिलकै पुर्वाधारमा पनि चीनबाट ग्यास ल्याउन सकिन्छ
काठमाडौं, १० मंसिर । व्यवस्थापिका संसदको विकास समितिले रसुवा गढी नाकाबाट अहिलेकै पुर्वाधारमा पनि ग्यास बुलेट ल्याउन सकिने निष्कर्ष निकालेको छ । चीनसँग इन्धन कारोबारको व्यवसायीक सम्झौताको प्रक्रिया अघि बढेको बेला नाकाको भ्रमण गर्न गएको टोलीले मौजुदा पुर्वाधारको थोरै मर्मत गर्दा नै चीनबाट ग्यास बुलेट ल्याउन सकिने निष्कर्ष निकालेको हो । समितिको सभापति रबिन्द्र अधिकारीको नेतृत्वमा रसुवागढी नाका अवलोकन भ्रमण गर्न गएको टोलीले सिंगल लेनको सडकमा अर्काे सवारी साधनलाई साइड दिन सकिने व्यवस्था मिलाउन सके तत्काल ग्यास बुलेट ल्याउन सकिने निष्कर्ष निकालेको भ्रमण दलमा सहभागी सांसद रामकुमार भट्राईले जानकारी दिए ‘सडक पुर्वाधार थोरै मर्मत गर्दा मात्रै पनि चीनबाट ग्यास ल्याउन सकिन्छ ।’ सांसद भट्टराईले भने । मंसिर ७ गते रसुवा प्रस्थान गरेको टोलीले रसुवागढी नाका पुगेर नेपाल तथा चीन तर्फको भौतिक पुर्वाधारदेखि सडकको अवस्थाको गहन अध्ययन गरेको थियो । रसुवागढी नाका पुगेर समितिले स्थानिय बासिन्दा र सरोकारवाला निकायसँग पनि छललफ चलायो । सबैको निष्कर्ष थियो–सडकमा थोरै सुधार गरेर अहिल्यै ग्यास बुलेट ल्याउन सकिन्छ । सांसद भट्टराई भन्छन– सिंगल लेनको सडक छ, ठाँउ ठाँउमा साईड दिने व्यवस्था मिलाउन सकियो भने अहिले नै ग्यास बुलेट ल्याउन सकिन्छ । त्यसो त सरकारले चीनबाट ग्यास ल्याउन भन्दै १० टन क्षमताका १० वटा ग्यास बुलेट खरिद गर्ने प्रक्रिया अघि बढाईसकेको छ । चीनमा २५ टनका ग्यास बुलेट हुन्छन भने भारतबाट हाल १८ टनका बुलेटबाट ग्यास ढुवानी हुँदै आएको छ । सो नाकाबाट चीनले अनुदानमा दिएको १३ लाख लिटर पेट्रोल काठमाडौं ल्याईसकिएको छ । नेपाल सरकारले थप ३५ हजार सिलिण्डर ग्यास, २६ ला लिटर डिजेल र २६ लाख लिटर पेट्रोल अनुदानमा उपलब्ध गराउन चीन सरकारलाई आग्रह गर्दै पत्राचार गरिसकेको छ । असोज २५ गते सरकारले कुल मागको ३३ प्रतिशत इन्धन चीनसँग खरिद गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरिसकेको छ । निगमको प्राबिधिक टोलीले व्यवसायीक सम्झौताको मोडल तयार गरिसकेपछि बाणिज्य मन्त्रालयको उच्चस्तरिय टोलीले चीन पुगेर इन्धन कारोबारको औपचारिक सम्झौता गर्नेछ ।
जर्मनले दिने भनेको साढे ३ अर्ब सहायता लिने, भूकम्प प्रभावित क्षेत्रमा ५० वटा सामूहिक आवास बनाइने
काठमाडौँ, १० मङ्सिर । सरकारले भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि जर्मन सरकारले अतिरिक्त सहयोग अनुदानस्वरुप उपलब्ध गराएको तीन अर्ब ४४ करोड ३७ लाख रुपैयाँ स्वीकार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले जर्मनीले उपलब्ध गराएको दुई अर्ब ८७ करोड रुपैयाँ वित्तीय सहायता र ५७ करोड ३७ लाख रुपैयाँ बराबरको प्राविधिक सहायता स्वीकार गर्ने निर्णय गरेको हो । बैठकले भूकम्प प्रभावित क्षेत्रमा गरिने ‘सुरक्षित सामूहिक आवाससम्बन्धी कार्यविधि–२०७२’ लाई विधायन समितिमा छलफलका लागि पठाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले जानकारी दिए । जाडोको मौसममा भूकम्प प्रभावित क्षेत्रमा करिब ५० वटा सामूहिक आवास भवन निर्माण गर्ने प्रक्रियालाई सरकारले अगाडि बढाएको हो । प्रवक्ता राईले उक्त कार्यविधि तत्कालै पारित गरेर काम अगाडि बढाउन लागिएको बताए । त्यसैगरी, बैठकले सहसचिव चक्रबहादुर बुढालाई राष्ट्रपति कार्यालयबाट गृह मन्त्रालयमा, रामकृष्ण सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गृह मन्त्रालयमा, कमलप्रसाद भट्टराईलाई संस्कृति तथा पर्यटन मन्त्रालयबाट सामान्य प्रशासन मन्त्रालयमा, डन्डुराज घिमिरेलाई सामान्य प्रशासन मन्त्रालयबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा, ऋषिराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृह मन्त्रालयमा सरुवा गर्ने निर्णय पनि गरेको छ । रासस
द्धन्द्धको समयमा बन्द भएका बैंकका शाखामध्ये आधा पनि पुनस्थापना भएनन्
काठमाडौं, १० मंसिर । तत्कालिन नेकपा माओवादीले जनयुद्धको नाममा २०५२ सालदेखि संचालन गरेको ससस्त्र विद्रोहको कारण बन्द भएका सरकारी स्वामित्वका बैंकहरुका शाखामध्ये आधा पनि पुनस्थापना हुन सकेका छैनन् । ससस्त्र द्धन्द्धको समयमा बन्द भएका सरकारी बैंकका २ सय ८४ शाखामध्ये अहिलेसम्ममा १ सय २७ शाखा मात्र पुनस्थापना भएका छन् । अझै १ सय ५७ शाखा भने पुनस्थापना हुन बाँकी रहेका छन् । माओवादी ससस्त्र विद्रोह समाप्त भएर शान्ति सम्झौता भएको पनि १० बर्ष पुगिसकेको छ । नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार द्वन्द्वको समयमा बन्द भएका कुल सरकारी स्वामित्वका नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंकका गरी २ सय ८४ शाखा बन्द भएका थिए । यसमध्ये गत असोज मसान्तसम्ममा १ सय २७ शाखा पुनस्थापना भएका र अझै पनि १ सय ५७ शाखा पुनस्थापना हुन सकेका छैनन् । यसविचमा कृषि विकास बैंकका ५४, राष्ट्रिय वाणिज्य बैंकका ४७ र नेपाल बैंकका २६ शाखाहरु २०७२ असोज मसान्तसम्ममा पुनस्र्थापना भइसकेका छन् । बाँकी रहेकामध्ये कृषि विकास बैंकका १३, राष्ट्रिय वाणिज्य बैंकका ५० र नेपाल बैंकका ९४ शाखाहरु पुनस्र्थापना हुने क्रममा रहेका छन् ।
बढ्दै पानका पारखी, बर्सेनि भित्रिन्छ ढेड करोडको पानको पात
काठमाडौं, १० मंसिर । ‘पानको पात माया तिम्लाई सम्झन्छु दिनको रात’ भन्ने गीत नेपालीहरुका बिच लोकप्रिय छ, त्यस्तै लोकप्रिय बन्दै गएको पान पनि । नेपालमा पानका पारखीहरुको संख्या बढिरहेको छ भन्ने तथ्यलाई पुष्ठि गर्छ पानको पातको आयातले । नेपालमा बर्षेनी ढेड करोड मूल्य बराबरको पानको हरियो पात आयात हुने गरेको छ । यो अनुपात बर्षेनी वृद्धि समेत भैरहेको छ । नेपालकै झापा, धनुषा लगायतका जील्लाहरुमा पानको पातको खेती हुने गरेको भएपनि जिल्ला कृषि विकास कार्यालयहरुले भने त्यसको एकिन तथ्यांक राख्न सकेका छैनन् । त्यसले पनि पानकोे हरियो पातको आयात वृद्धि भैरहेको छ । बिशेषगरि तराई मधेशमा पानको सेवन अम्बलकै रुपमा गरिन्छ । राजधनीमा समेत तराईबासी र ठुलो संख्यामा पहाडीया समुदायले समेत पानको सेवन गर्दै आईरहेका छन् । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार आर्थिक बर्ष २०७१/७२ मा मात्रै एक करोड ५३ लाख ८१ हजार मूल्य बराबरको पानको पात आयात भएको छ । सो मूल्यमा १८ लाख ८५ हजार किलो पात नेपाल भित्रिएको हो । अघिल्लो बर्ष यो जम्मा एक करोड ३४ लाख ७१ हजारको आयात भएको थियो । नेपाल भित्रिने पानको पात भारतबाट आउने गरेको छ ।
इन्धन वितरणको नयाँ मापदण्ड, यी हुन बिहिबार इन्धन बाँढ्ने पम्पहरु
काठमाडौं, १० मंसिर । नेपाल आयल निगमले इन्धन वितरणको नयाँ मापदण्ड ल्याएको छ । निगमले सोही मापदण्डका आधारमा बिहिबार दुई लाख ७६ हजार लिटर डिजेल तथा पेट्रोल वितरण गर्ने भएको छ । निगमले नयाँ कार्यबिधीका आधारमा निश्चित क्षेत्रलाई निश्चित पम्प तोकेर इन्धन वितरण गर्न लागेको हो । निगमले आठ वटा पम्पबाट ४२ हजार लिटर पेट्रोल वितरण गर्दैछ भने ८२ वटा पम्पबाट दुई लाख ३४ हजार लिटर डिजेल वितरण गर्न लागेको छ । कसले कहाँबाट पाउँदैछन इन्धन ? अस्पताल, एम्बुलेन्स, कुटनीतिक नियोग र औषधी ओसार पसारमा प्रयोग हुने सवारी साधनले प्रहरी कल्याण कोष पम्प नक्सालबाट इन्धन पाउनेछन् । खाद्यन्न, दुध ढुवानी, दमकल, फोहर मैला, र प्रेसका सवारी साधनले हप्तामा एक पटक अधिकतम ३० लिटर इन्धन शक्तिदेवी पेट्रोल स्टेशन लगनखेलबाट प्राप्त गर्नेछन् । भक्तपुर र काभ्रेका डेरी उद्योगहरुले ठिमीको गुहेश्वरी फ्युल स्टेशनबाट इन्धन प्राप्त गर्नेछन् । सरकारी संस्थानका दुई पांग्रे सवारी साधनले हप्तामा तीन लिटर पेट्रोल कुपनका आधारमा पाउनेछन भने चार पाग्रेले १० लिटरसम्म पाउनेछन् । त्यस्तै, सञ्चार कर्मीका मोटरसाईकलले हप्तामा तीन लिटर र कार तथा जिपले १० लिटर पेट्रोल पाउनेछन् ।