सेञ्चुरी कमर्सियल बैंक र बुम रेमिटबीच रेमिट्यान्स सम्झौता
काठमाडौं, ७ पुस । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र बुम रेमिट्यान्सबीच रेमिट्यान्स सम्झौता भएको छ । बुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम सेञ्चुरी कमर्सियल बैंकका सबै शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै बुम रेमीट सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्य गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सेञ्चुरी कमर्सियल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुज मणि तिमिल्सिना र बुम रेमिट्यान्सका तर्फबाट प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरेका छन् । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४००० वटा भन्दा बढि प्रतिनिधिहरु छन् । यस अघि बुम रेमिट्यान्स प्रा. लि. सेन्चुरी कर्मसीयल बैंक लि. को सेन्चुरी रेमिटको लागी आधिकारिक प्रतिनिधि समेत रहेको छ । हाल बुम रेमिट्यान्सले माल्दिभ्स र खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाडैनै मलेसिया, कोरीया, जापान, क्यानडा, अस्टे«लिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४००० वटा भन्दा बढि प्रतिनिधिहरु छन् । यस अघि बुम रेमिट्यान्स प्रा. लि. सेन्चुरी कर्मसीयल बैंकको सेन्चुरी रेमिटको लागी आधिकारिक प्रतिनिधि समेत रहेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । आन्तरिक संञ्जाललाई तिब्र रूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो संञ्जाललाई तिब्र रूपले विस्तार गर्दै जाने रणनिति रहेको कुराको जानकारी प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले दिएका छन् । पन्तका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूस‘ग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ । बुम रेमटले हुन्डी कारोबारलाई निरूस्साहित गर्न नेपाल र विदेशमा वैकिङ साक्षरता कार्यक्रम गर्दै आएको कुराको जानकारी प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले दिएका छन् ।
बैंक अफ काठमाण्डू लुम्बिनीको ब्राण्ड एम्बेसेडरमा धुर्मुस र सुन्तली
काठमाडौं, ७ पुस । बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडले समाज सेवीएवं हास्य कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई ब्राण्ड एम्बेसेडर नियुक्त गरेको छ । सो सम्बन्धि सम्झौतामा दुई पक्ष बिच हस्ताक्षर भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र कलाकार सीताराम कट्टेलले उक्त सम्झौताम हस्ताक्षर गरेका छन् । नवनियुक्त ब्राण्ड एम्बेसेडरहरुले टेलिभिजन, रेडियो, पत्रपत्रिका र अनलाइन संचार माध्यमबाट एकीकृत रुपमा बैंकको प्रवद्र्धन गर्ने बैंकले जनाएको छ । बैंकले “वचत नै हो धन, सुनौलो भविष्य, सजिलो जीवन ” नारालाई कार्यरुप दिने लक्ष्य लिएको छ । हस्ताक्षरका अवसरमा प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले कलाकारद्वय सँगको सहकार्यले बैंकलाई दीर्घकालीन सहयोग पुग्ने बताएका छन् । त्यस्तै, सीताराम कट्टेल र कुञ्जना घिमिरेले आफूहरुलाई बैंकले ब्राण्ड एम्बेसेडर नियुक्त गरेकोमा प्रसन्नता व्यक्त गर्दै आफूले सक्दो सहयोग दिने बतााएका छन् । बैंकका अनुसार बैंकको सेवा र क्षेत्र विस्तार हुँदै गएको र सर्वसाधारणमा बढी मात्रामा वित्तीय पँहुच पुर्याउने उद्देश्यले कलाकारिताको माध्यमबाट पनि योगदान गर्न हास्य कलाकारद्वयलाई सहयोगीको रुपमा नियुक्त गरिएको हो । बैंकले आर्थिक बर्ष २०७३/७४को पहिलो त्रैमासिकमा २७ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । हाल बैंकको ७४ शाखा ६६ एटीएम् र ७ वटा एक्सटेन्सन काउन्टर छन् ।
प्रभु बैंकको सेयर कारोबार आगामी सातादेखि खुल्ने, राष्ट्र बैंकले दियो अनुमति
काठमाडौं, ७ पुस । नेपाल राष्ट्र बैंकले प्रभु बैंकको सेयर कारोबार फुकुवा गरेको छ । राष्ट्र बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले प्रभु बैंकको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । सञ्चालक समितिले बिहीबार प्रभु बैंकको सेयर कारोबार खोल्नको लागि नेपाल स्टक एक्सचेन्जलाई पत्र लेख्ने समेत निर्णय गरिसकेको छ । राष्ट्र बैकका प्रबक्ता नारायण पौडेलका अनुसार प्रभु बैंकको सेयर कारोबार खोल्ने विषयमा सञ्चालक समितिमा छलफल भएको र अव छिट्टै निर्णय सार्वजनिक हुने छ । ग्राण्ड बैंक प्रभु बैंकमा मर्जर भएर एकीकृत कारोबार सुरु भएपछि नेपाल राष्ट्र बैंकले प्रभु बैंकतर्फको मात्र कारोबार फुकुवा गरेर ग्राण्ड बैंकको खराव कर्जा धेरै भएको भन्दै कारोबार रोक्न निर्देशन दिएको थियो । सो निर्देशन पश्चात प्रभु बैंकको मात्र दुई दिन सेयर कारोबार भएको थियो । तर ग्राण्ड बैंक र प्रभु बैंक एकआपसमा गाभिएर एकीकृत कारोबार सुरु गरेपछि प्रभु बैंकको मात्र सेयर कारोबार गर्न नमिल्ने भन्दै धितोपत्र बोर्डले प्रभु बैंकको पनि कारोबार रोकेको थियो । नेपाल स्टक एक्सचेन्जले प्रभु बैकको मात्र कारोबार खोल्दा दुईदिन कारोबार भएको थियो भने सेयर मुल्य १० प्रतिशतले बढेको थियो । राष्ट्र बैंकले ग्राण्ड तर्फको खराब कर्जाको अबस्था जटिल रहेको भन्दै ग्राण्डतर्फको सेयर कारोबार रोकेर कर्जा असुल गर्न प्रभु ब्यवस्थापनलाई दबाब दिइरहेको थियो । बितेको तीन महिनामा प्रभु बैंकले खराब कर्जा असुलीमा उल्लखनीय प्रगति गरेको आधारमा राष्ट्र बैंकले सेयर कारोबार खोल्न अनुमति दिएको राष्ट्र बैंकका एक सञ्चालकले जानकारी दिए । आगामी साताबाट प्रभु बैंकको सेयर नियमित कारोबार हुने भएपछि झण्डै दुई बर्षदेखि पीडित बनेका प्रभु र ग्राण्डका लगानीकर्ता पनि लाभान्वित हुने भएका छन् । साविकको ग्रान्ड बैंक र प्रभु बैंक एक आपसमा गाभ्ने गाभिने कार्य सम्पन्न भई गत माघ २९ गतेदेखि प्रभु बैंक लिमिटेडको नामबाट एकीकृत कारोवार भएको थियो । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २८ करोड रुपैयाँ खुद नाफा कमाएको प्रभुको चुक्ता पूँजी पाँच अर्ब ८८ करोड रुपैयाँ छ ।
समस्याग्रस्त सबै बैंक तथा फाइनान्स तीन महिना भित्र सञ्चालनमा आउने
काठमाडौं, ७ पुस । नेपाल राष्ट्र बैंकले जनरल फाइनान्स लिमिटेडलाई समस्याग्रस्त वित्तीय संस्थाबाट हटाएको छ । समस्याग्रस्तबाट मुक्त भएपछि फाइनान्स कम्पनीले आजदेखि नियमित कारोबार शुरु गरेको छ । राष्ट्र बैंकका गभरनर डा. चिरञ्जीवी नेपालले जनरल फाइनान्सको नयाँ कारोबारको औपचारिक शुभारम्भ गरेका छन् । सो कार्यक्रममा बोल्दै गभरनर नेपालले नेपालको वित्तीय क्षेत्र सुधारको अवस्थामा रहेको बताए । ११ वटा वित्तीय संस्था समस्याग्रस्त अवस्थामा रहेकोमा जनरल फाइनान्स सामान्य अवस्थामा फर्किएको बताउँदै नेपालले बाँकी बैंक तथा वित्तीय संस्थाहरु पनि आगामी तीन महिना भित्र सञ्चालनमा आउने बताए । समस्याग्रस्त ८ वटा बैंक तथा वित्तीय संस्थामा नयाँ लगानीकर्ताको प्रवेश भएको र उनीहरुले आगामी चैत मसान्तसम्ममा सामान्य अवस्थामा सञ्चालन गर्ने प्रतिवद्धता राष्ट्र बैंक समक्ष गरिसकेको डा. नेपालले जानकारी गराए । जनरल फाइनान्समा गोविन्द कुमार श्रेष्ठ, शेष घले, राजेन्द्र कमार शर्मा लगायत गैह्र आवसिय नेपालीले लगानी गरेका छन् । हाल यस कम्पनीको चुक्ता पूँजी २२ करोड रुपैयाँ रहेको छ । आगामी असार मसान्तसम्म ८० करोड रुपैयाँ पुर्याउने प्रतिवद्धता गरेका छन् ।
एनएमबि बैंक, प्रिमियर इन्स्योरेन्स र गुहेश्वरी मर्चेन्टको मुल्य समायोजन, सेयरधनी दर्ता पुस्तिका पनि आजै बन्द
काठमाडौं, ७ पुस । एनएमबि बैंक, प्रिमियम इन्स्योरेन्स र गुह्हेश्वरी मर्चेन्ट फाइनान्सको सेयरमुल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जमा विहिबार एनएमबि बैंक , प्रिमियर इन्स्योरेन्स र गुहेश्वरी मर्चेन्टक फाइनान्सको सेयरमूल्य समायोजन भएको छ । १९ प्रतिशत मात्र बोनस सेयर समायोजन पश्चात एनएमबि बैंकको प्रतिकित्ता सेयरमूल्य ५२१ रुपैयाँ कायम गरिएको छ । एनएमबिको आधारमूल्य ४६६ रुपैयाँ रहेको छ । त्यस्तै प्रिमियर इन्स्योरेनसले २० प्रतिशत बोनस समायोजनपछि सेयरमूल्य प्रतिकित्ता १३९४ रुपैयाँ कायम भएको छ । प्रिमियरको आधारमूल्य १११० रुपैयाँ रहेको छ । गुहेश्वरी मर्चेन्टको १२ प्रतिशत बोनस समायोजनपछि सेयरमूल्य प्रतिकित्ता २४८ रुपैयाँ कायम गरिएको छ । जसको आधारमूल्य २५९ रुपैयाँ रहेको छ । यी कम्पनीहरुको साधारणसभा प्रयोजनका लागि सेयरधनी दर्ता पुस्तिका पनि आजैबाट बन्द भएको छ ।
नयाँ नेपाल लघुवित्तको पुस २९ गते वार्षिक साधारणसभा, पुस १४ गतेदेखि बुक क्लोज
काठमाडौं, ७ पुस । नयाँ नेपाल लघुवित्त विकास बैंकको आठौं वार्षिक साधारणसभा यही पुस २९ गते हुने भएको छ । सो प्रयोजनको लागि पुस १४ गतेदेखि पुस २९ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएकोे छ । काभ्रेको धुलिखेलमा रहेको कम्पनीको चुक्ता पूँजी २ करोड रुपैयाँ रहेको छ । बिहीबार कम्पनीको सेयर प्रतिकित्ता करिब १०२० रुपैयाँमा कारोबार भइरहेको छ ।
नागढुंगा-नौविसे सुरुङमार्ग निर्माणका लागि जापानले दियो १५ अर्व २८ करोड ऋण
काठमाडौं, ७ पुस । जापान सरकारले नेपालको नागढुंगा सुरुङमार्ग निर्माण योजनाको लागि १५ अर्व २८ करोड ऋण दिने भएको छ । सो योजनाको लागि ऋण दिने सम्झौतामा अर्थसचिव डा.शान्तराज सुवेदी र जापानी राजदुत मासागी ओगावाले हस्ताक्षर गरे । सम्झौता हस्ताक्षरमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा र भौतिक पूर्वाधार मन्त्री रमेश लेखकको पनि उपस्थिति रहेको थियो । ऋण ०.०१ प्रतिशत व्याजमा जापान सरकारले नेपाललाई उपलव्ध गराएको हो । सुरुङ मार्ग २.५ किलोमिटर लामो हुने अर्थमन्त्रालयले जनाएको छ । सो योजना सन् २०२२ सम्ममा पुरा गरिसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
तरलता अभाव हुदा निक्षेप र कर्जाको व्याजदर बढ्दै, निक्षेपकर्तालाई भने फाइदा
काठमाडौं, ७ पुस । बजारमा तरलता (लगानीयोग्य रकम) अभाव हुदा निक्षेपको व्याजदरमा बृद्धि भइरहेको छ । पछिल्लो समयमा बैंक तथा वित्तिय संस्थाहरुले निक्षेपको व्याजदर समेत बढाइरहेका छन् । तीन महिनाअघि सम्म निक्षेपमा २ प्रतिशतसम्म व्याज दिने बैंकहरुले तरलता अभाव भएपछि निक्षेप तान्नको लागि व्याजदर बढाउन प्रतिष्पर्धा गरीरहेका छन् । जसले गर्दा निक्षेपकर्तालाई फाइदा पुगेको छ । केही समययता सिभिल बैंकले निक्षेपको व्याज ८.२५ प्रतिशत सम्म पुर्याएको छ भने हिमालयन बैंकले ७.७५ प्रतिशत सम्म व्याज दिने घोषणा गरेको छ । त्यस्तै नविल बैंकले पनि निक्षेपको व्याज बढाएर ७.५० प्रतिशतसम्म पुर्याएको छ । कतिपय पुराना बैंकहरुले पनि व्याज बढाएका छन् । तरलता अभाव भएपछि निक्षेप तान्नको लागि बैंक तथा वित्तीय संस्थाहरुविच प्रतिष्पर्धा हुने गरेको छ । त्यस्तै निक्षेपमा व्याज बढेपछि बैंकहरुले कर्जाको व्याज पनि बढाउनेछन् । बैंकर्स संघका पूर्व अध्यक्ष उपेन्द्र पौडेलका अनुसार बजारमा तरलताको अभाव हुदा निक्षेपको व्याजदरमा बृद्धि भएको हो । ‘निक्षेपको व्याजदर बढ्दा स्वतः कर्जाको व्याजदर पनि बढ्छ र उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार हुन्छ ।’ पौडेलले भने । संस्थागत निक्षेपकर्ताको हकमा बैकर्स संघले १० प्रतिशत भन्दा व्याज नदिने निर्णय गरेको छ । यसअघि २०६६ सालमा तरलता अभाव हुदा बैंकहरुले संस्थागत निक्षेपकर्ताहरुलाई १३ प्रतिशतसम्म व्याज दिएर निक्षेप लिएका थिए । डेभलपमेन्ट बैकर एसोसिएनका अध्यक्ष कृष्णराज लामिछानेले तरलता अभाव भएको बताउँदै कतिपय बैंकहरुमा त तरलता अत्यधिक कसिलो हुदै गएकोले उनीहरु अब लगानी विस्तार गर्न नसक्ने अवस्थामा रहेको पनि बताए । उनले नीजी बैंकहरुसँगथ ब्याजदर बढाएर निक्षेप तान्नुको विकल्प नभएकोले व्याजदरमा बृद्धि गरिएकोे दावी गरे । उनले केही सरकारी बैंकमा तरलता बढी भएपनि निजी बैंक तथा वित्तिय संस्थामा भने तरलताको अभाव नै रहेको बताए । नेपाल राष्ट्र बैंकका प्रबक्ता नारायण पौडलका अनुसार बजारमा निजी बैंकहरुसँग तरलता अभाव भएपनि ओभरअलमा तरलता अभाव देखिएको छैन । उनले भने,‘हाम्रो सिस्टममा तरलता अभाव देखिदैन उल्टै १३ अर्व तरलता रहेको देखिन्छ तर नीजी क्षेत्रमा भने तरलता अभाव हुदै गएको कुरा भने साँचो हो । उनले केही बैंकहरुसँग तरलता बढी हुदा ओभरअल सिस्टममा नै तरलता बढी देखाएको बताए ।