दिपायल विमानस्थलको कालोपत्रेको काम सुरु, करिब साढे ५ करोड रुपैयाँको लागत
डोटी, ८ पुस । विगत १० वर्षअगाडिदेखि गौचरनमा परिणत भएको दीपायल विमानस्थलको कालोपत्र गर्ने कार्य सुरु भएको छ । असारमा कालोपत्र गर्नका निम्ति निस्किएको टेन्डर गत कात्तिकमा आएर सम्झौता भइसकेपश्चात् कार्य अगाडि बढेको नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत बालकृष्ण रेग्मीले बताए । विमानस्थललाई कालोपत्र गर्नका निम्ति आवश्यक सामान दीपायल ल्याउने कार्य भइरहेको समेत रेग्मीले जानकारी दिएका छन् । “कालोपत्र गर्नका निम्ति अधिकतम रुपमा गिट्टीको आवश्यकता हुन्छ, त्यसका निम्ति क्रसर फिट गर्ने कार्य भइरहेको छ”, अधिकृत रेग्मीले बताए । विमानस्थल कालोपत्रको कार्य द्रुतगतिमा अगाडि बढ्ने समेत रेग्मीले बताएका छन् । सपना गाल्बा जेवी निर्माण समितिले कालोपत्र गरिरहेको विमानस्थलमा करिब पाँच करोड ५० लाख रुपैयाँको रकम खर्च हुने विमानस्थल कालोपत्रका साइट इन्चार्जसमेत रहेका अधिकृत रेग्मीले जानकारी दिएका छन् । करिब साढे चारसय मिटर लम्बाइ भएको विमानस्थलको कालोपत्र गर्ने कार्य १५ महिना भित्रै सकिने बताइएको छ । सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दीपायलमा अवस्थित विमानस्थल कालोपत्र हुँदा यहाँका जनतामा हर्ष छाएको छ । १० वर्षदेखि ओझेलमा परेको विमानस्थल कालोपत्र गर्नका निम्ति डोटी क्षेत्र नं २ का सांसद प्रेमबहादुर आलेमगरले आफूले ठूलो मिहेनत गर्नु परेको बताएका छन् । डोटेली जनताको माया र स्नेहले आफूलाई विकास गर्नका निम्ति थप उत्साह दिएको उनले बताए । अबका दिनमा विमानस्थललाई नियमित सञ्चालनका निम्ति त्यहाँका जनताले सहयोग गर्नुपर्नेमा आलेमगरको जोड रहेको थियो । सुदूरपश्चिमको मुटुमा रहेको विमानस्थल कालोपत्र हुने भएपछि छिमेकी जिल्ला अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, दार्चुला लगायतका जनतालाई सहज हुने देखिएको छ । रासस
सुन्तला उत्पादनमा १० प्रतिशतले कमी, मूल्य प्रतिकिलो १८ रुपैयाँदेखि २५ रुपैयाँसम्म
बनेपा, ८ पुस । काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन १० प्रतिशतले घटेको अनुमान गरिएको छ । विभिन्न गाविसमा रहेका सुन्तलाको बोटमा क्रमशः पात, हाँगा, डाँठ सुक्ने समस्या देखिएपछि सुन्तला उत्पादन कमी हुने जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत थर्कबहादुर जिसीले जानकारी दिए । कृषकले बगैँचा व्यवस्थापनमा ध्यान नदिएकाले खाद्य तत्वको कमी र बगैँचामा काटछाँटको अभावले सुन्तलाको दानाको आकार पनि घटेको उनले बताए । जिल्लाको पनौती नगरपालिकास्थित, सुन्थान, खरिबोट, र्याले, बालुवापाटीलगायतका गाविसमा त्यस्तो समस्या देखिएको छ । र्याले गाविसका कृषक उपेन्द्र तिमल्सिनाले सुन्तला पाकेर बोटबाट आफैँ खस्ने समस्या देखिएको छ भने । उनले कतिपय स्थानमा कृषककै लापर्बाहीले समस्या आएको बताउँदै सुन्तलाको पकेट क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गर्न माग गरेका छन् । सुन्तला उत्पादनमा समस्या देखिएपछि मूल्य पनि घटेकाले यसको मार आफूहरुले सहनु परेको उनले बताए। सुन्तलाको दानाको आकार पनि घटेकाले यसको मूल्य प्रतिकिलो १८ रुपैयाँ देखि २५ रुपैयाँसम्म पुगेकोे छ । सुन्तलाको पकेट क्षेत्रमा बर्सेनि जिल्ला कृषि विकास कार्यालयले बगैँचा व्वस्थापनलगायतका काममा ५० हजार रुपैयाँदेखि ६० हजार रुपैयाँसम्म खर्च गर्दै आएको छ । कार्यालयका अनुसार जिल्लामा कुल एक हजार ३०२ हेक्टर जमिनमा सुन्तालका लागि योग्य जमिन भए पनि गत वर्ष ८८६ हेक्टर जमिनमा १० हजार १५८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । रासस
लुम्बिनी फाइनान्सको साधारणसभा पुस २९ गते, १९ गतेदेखि १० दिन बुक क्लोज
काठमाडौं, ८ पुस । लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनीको २१औँ वार्षिक साधारणसभा यही पुस २९ गते हुने भएको छ । सो प्रयोजनको लागि पुस १९ गतेदेखि पुस २९ गतेसम्म कम्पनीको शेयर दाखिल खारेज(बुक क्लोज) बन्द रहने कम्पनीले जनाएको छ । कम्पनीले उक्त सभामा गत वर्षको नाफाबाट सेयरधनीलाई ३५ प्रतिशत बोनस दिने विशेष प्रस्ताव लाँदैछ ।
देव: विकास बैंकको वार्षिक साधारणसभा पुस २९ गते, १८ गतेदेखि बुक क्लोज
काठमाडौं, ८ पुस । देव: विकास बैंकको १०औं वार्षिक साधारणसभा यही पुस २९ गते हुने भएको छ । सो प्रयोजनको लागि पुस १८ गतेदेखि पुस २९ गतेसम्म बैंकको बुक क्लोज रहने बैंकले जनाएको छ । बैंकको सञ्चालक समितिको बैठकले साधारणसभा सम्बन्धि निर्णय गरेको हो । सो दिन बैंकले सेयरधनीलाई हकप्रद निष्कासन गर्ने प्रस्ताव लैजादैछ ।
निकुञ्जमा अप्टिकल फाइबर बिछ्याउन शुरु, ५२ किलोमिटर अप्टिकल फाइबर जडान गरिने
चितवन, ८ पुस । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षालाई थप आधुनिकीकरण गर्दै लैजान निकुञ्जभित्र अप्टिकल फाइबर बिछ्याउने काम शुरु गरिएको छ । यसअघि सामान्य केवलमार्फत ठाउँठाउँमा सिसी क्यामरा जडान गरेको निकुञ्जले त्यसलाई आधुनिक प्रविधिमा लैजान ५२ किलोमिटर अप्टिकल फाइबर जडान गर्न लागेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार निकुञ्जको मुख्य कार्यालय कसराबाट सौराहासम्म २० किलोमिटर, कसरा-भिम्ले-मेघौली २० किलोमिटर अप्टिकल फाइबर बिछ्याउन शुरु गरिएको छ । त्यसैगरी, नवलपरासीको अमलटारीबाट पूर्वतर्फ ६ किलोमिटर र पश्चिमतर्फ ६ किलोमिटर अप्टिकल फाइबर बिछ्याइने कँडेलले बताए । यसअघि निकुञ्जले राप्ती नदी किनारका विभिन्न ठाउँमा सामान्य तारमार्फत १० वटा सिसी क्यामरा जडान गरेको थियो । त्यसैगरी, पूर्वपश्चिम राजमार्गमा पर्ने बरण्डाभार जङ्गलको टिकौलीस्थित राजमार्गमा पनि १० वटा सिसी क्यामरा जडान गरिएको छ । जडान गरिएका सिसी क्यामरा वन र वन्यजन्तु संरक्षणमा प्रभावकारी भएपछि अप्टिकल फाइबर नै बिछ्याएर निकुञ्जका विभिन्न संवेदनशील क्षेत्रमा सिसी क्यामरा जडान गर्न लागिएको हो । प्रमुख संरक्षण अधिकृत कँडेलका अनुसार विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को आर्थिक तथा प्राविधिक सहयोगमा अप्टिकल फाइबर र सिसी क्यामरा जडान कार्य सुरु भएको हो । अप्टिकल फाइबर जमिनभित्र बिछ्याइने छ भने संवेदनशील ठाउँमा गोप्यरुपमा सिसी क्यामरा जडान गरिनेछ । अप्टिकल फाइबर विछ्याउने कार्यसँगै सिसी क्यामरा जडान कार्य पनि भइरहेको कँडेलले बताए उनले कुन कुन ठाउँमा सिसी क्यामरा छ भन्नेबारे भने गोप्य नै राखिने बताए । उनले आवश्यकताअनुसार संवेदनशील ठाउँमा सिसी क्यामरा राखिएको छ भने । सिसी क्यामराको मनिटरिङ निकुञ्जको मुख्यालय कसराबाट गर्ने गरी व्यवस्था मिलाइएको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए । लगातार नौसय ६० दिनभन्दा बढी चोरीसिकार शून्य भएको निकुञ्जको सुरक्षालाई आधुनिकीकरण गर्दै लैजाने नीतिअनुरुप यो कार्य सुरु गरिएको कँडेलको भनाइ छ । “चोरीसिकारीलाई शून्यमा राखिराख्न थप आधुनिक प्रविधितर्फ निकुञ्ज जान लागेको हो”, कँडेलले भने। चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एक सिङ्गे गैँडा, बाघ, हात्तीलगायत जङ्गली जनावर रहेका छन् । निकुञ्जले छिट्टै अर्ना र बाह्रसिङ्गे पनि स्थानान्तरण गरेर ल्याउने तयारी गरिरहेको छ । रासस
उच्च गतिको इन्टरनेट सेवासहितको टीभी संचालन, स्काई टीभीले पनि सुरु गर्यो इन्टरनेट सहितको सेवा
काठमाडौं ८, पुस । केवल टेभिजिनबाट सेवा दिइरहेको स्काई केवल टीभीले क्षमता विस्तार गर्न एक करोड २० लाख खर्च गर्ने भएको छ । डिजिटल टीभीसहितको द्रुत गतिको इन्टरनेट सेवा पनि दिने गरी सेवाको क्षमता बढाइरहेको यो टीभीले ८० वटा च्यानलसहितको सेवा दिइरहेको छ । यो टिभीले इन्टरनेटको सेवा दिने भने नेपाल दूरसंचार प्राधिकरणबाट ६ महिना अगाडि नै अनुमति लिइसकेको प्राधिकरणका प्रवक्ता मिनप्रसाद आर्यालले बताए । उनका अनुसार पछिल्लो समय इन्टरनेटमार्फ सेवा दिने टीभीको संख्या बढ्दै गएकोले पनि नयाँ कम्पनी थपहुँदै सेवा तथा क्षमता विस्तार गर्न लागेका हुन । यस अघी सीम टीभीले इन्टरनेटसहितको सेवा सुरु गरिसकेको छ । सरकारले केवल टीभी संचालकलाई सन् २०१७ भित्रै अनिवार्य रुपमा डिजिटलमा स्तरोन्नति गर्न समय सीमा दिएकोले पनि केबल टीभी संचालक इन्टरनेट सेवा दिन तँछाडमछाड गर्न लागि परेका छन् । एचडी क्वालीटिमा सेवा दिन थालिएकोले पनि टीभी संचालक क्षमता विस्तारमा कस्सिएका हुन् । नेपाल केवुल टेलिभिजन महासंघ अध्यक्ष लक्ष्मीनारायण साहका अनुसार सरकारले दिएको समयसीमा भित्रै सबै टिभी डिजिटल हुँदै छन् । सरकारले महानगर, उपमहानगर र नगरपाालिकामा गरी पाँच वर्षको समयसीमा भित्र डिजिटलमा जान समय दिएको हो । यस समयमा कुनैकुनै नगरमा बाँकी भएपनि अरूमा भने डिजिटलमा जाने काम भैसकेको बताए । एनालगबाट डिजिटलमा जानु भनेको सेट अफ बक्स मार्फत क्षमता बढाउनु हो । यसले टीभीको गुणस्तर मात्रै बढ्ने मात्रै नभएर प्रभावकारी सेवा पनि पुगेको उनको बुझाई छ । इन्टरनेटसहितको सेवा दिनु र डिजिटमा जानु अलग पाटो भएकोले पनि व्यापरिक हिसावले टीभीले सेवाको दायरा बढाउन इन्टरनेट सुविधा पनि दिन थालेको साहको भनाइ छ ।
पूर्वाञ्चलमा सातौँ राष्ट्रिय खेलकुद आज शुरु हुँदै, राष्ट्रपति भण्डारीद्धारा उद्घाटन
विराटनगर, ८ पुस । पूर्वाञ्चलमा आजदेखि सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता भव्य समारोहबीच औपचारिक रुपमा सुरु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ३ बजे विराटनगरस्थित सहिद रङ्गशालामा विधिवत् रुपमा प्रतियोगिताको उद्घाटन गर्नु भएपछि पूर्वाञ्चलका १३ जिल्लामा प्रतियोगिताको शुभारम्भ हुनेछ । प्रतियोगिताको भव्य उद्घाटनका लागि सहिद मैदानलाई बेहुलीझैँ सिङ्गारिएको छ । उद्घाटनका अवसरमा पूर्वाञ्चलका सांस्कृतिक झाँकी पनि प्रदर्शन गरिने तयारी गरिएको आयोजक समितिले जनाएको छ । मुलुकको पूर्वी नेपाल यतिखेर खेलकुदमय बनेको छ । सो अवसरमा खेलाडीको स्वागतका लागि पूर्वाञ्चलका झापा, मोरङ र सुनसरीका मुख्य चौकमा स्वागतद्वार निर्माण गरिएको छ । खेलाडीका साथै प्रशिक्षक लगायतको बस्ने र खाने व्यवस्थासमेत सम्बन्धित जिल्लाका होटेलमा मिलाइएको छ । जम्मा ३० वटा खेलमा हुने प्रतिस्पर्धामध्ये सवैभन्दा बढी सुनसरीमा १२, मोरङमा १०, झापामा पाँच तथा सप्तरी, सिरहा र धनकुटामा एक–एकवटा खेलमा प्रतिस्पर्धा हुनेछ । साथै पूर्वाञ्चलमा पूर्वाधार नभएको कारणले ललितपुरको सातदोबाटोमा महिला/पुरुषको स्क्वास, काठमाडौँमा फेन्सिङ र कास्कीको पोखरामा महिला/पुरुष लनटेनिसको प्रतियोगिता हुने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले जानकारी गराएका छन्। तीसवटा खेलको प्रतियोगितामा तीनहजार नौसय ७२ जना खेलाडीको सहभागिता रहनेछ भने ती खेलाडीले दुई सय ९४ स्वर्ण, दुई सय ९४ रजत र चार सय ४७ कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । रासस
पेट्रोलियम पदार्थको मूल्य घट्दैनः आयल निगम
काठमाडौं, ८ पुस । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने घोषणा गरेको छ । निगमका कार्यकारी प्रमुख गोपाल खड्काले विकासन्युजसँग भने- समितिको निर्णय अनुसार मूल्य घटाउन सकिँदैन, हामीले वृद्धि गरेको मूल्य घटाउन तयार छैनौं ।’ बिहीबार बसेको उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको उप समिति बैठकले वृद्धि गरिएको पेट्रोलियम पदार्थको मूल्य कार्यान्वयन नगर्न निर्देशन दिएको थियो । समितिले अव्यवहारिक निर्देशन दिएको भन्दै त्यस्तो निर्देशन पालना नगर्ने निगमका कार्यकारी प्रमुख खड्काले भने । उता, वृद्धि गरिएको मूल्य कार्यान्वयन नगर्न निर्देशन दिने उप समितिका सभापति सुभाषचन्द्र ठकुरीले संसदलाई अटेर गर्ने निगमलाई कारवाहीको दायरामा ल्याउन बताए ।‘निगमले हामीलाई टेरेन । निगम र मन्त्रालय संसदप्रति उत्तरदायी छैन भन्ने देखियो, अब हामीले अर्काे बैठक राखेर कारवाहीका लागि सिफारिस गर्ने निर्णय गर्नु पर्ने हुन्छ ।’ उप समितिका सभापति ठकुरीले विकासन्युजसँग भने । मुल समितिले पेट्रोलियम पदार्थको मुल्य निर्धारणका क्रममा पैसामा मुल्य नतोक्न दिएको निर्देशन समेत निगमले पालना नगरेको भन्दै ठकुरीले आक्रोश पोखे । नेपाल आयल निगमले पुस ४ गते राती १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजेल र मट्टितेलमा ४ रुपैयाँ ५० पैसा मूल्य बढाएको थियो । मूल्य वृद्धि लागू भएपछि प्रतिलिटर पेट्रोल १ सय १ रुपैयाँ ५० पैसा, डिजेल ७७ रुपैयाँ ५० पैसा र मट्टितेल ७७ रुपैया ५० पैसाका कारोबार भैरहेको छ ।