विकासन्युज

सिद्धार्थ डेभलपमेण्ट बैंकको बुद्धचोक शाखा भलवारीमा स्थान्तरण

काठमाडौं । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडको सिद्धार्थनगरस्थित बुद्धचोकको शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको भलवारीमा स्थानान्तरण भएको छ । नवनिर्मित शाखाको उद्घाटन बुधबार भएको छ । यस बैंकमा एकता विकास बैंक मर्जर पश्चात साविक एकता विकास बैंकको शाखा कार्यालय भएको बुद्धचोक शाखा भलवारीमा स्थानान्तरण गरिएको बैंकले जनाएको बैंक प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए ।

“शिक्षाका लागि टेस्ट ड्राइभ” अभियानमा १० हजार जना सहभागी, २४ विद्यालयलार्इ ५० लाख सहयोग

काठमाडौं । भारतको प्रसिद्ध अटोमोबाइल कम्पनी टाटा मोटर्स् र नेपालमा यस कम्पनीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले नेपालमा “शिक्षाका लागि टेस्ट ड्राइभ” नामक सामाजिक अभियान सफलतापूर्वक सम्पन्न गरेको छ । यस अभियान अन्तर्गत सिप्रदी ट्रेडिङ्गले टेस्ट ड्राइभ गर्न व्यक्तिहरुबाट संकलन गरिएको ५० लाख ३६ हजार रुपैयाँ विभिन्न २४ वटा स्कूललाई वितरण गरेको छ । सो रकम सम्बन्धीत विद्यालयले विपन्न विद्यार्थीहरुका लागि छात्रावृत्तिमा खर्च गरिने भएको छ । सिप्रदीका अनुसार यस अभियानमा १० हजार ७२ जना सहभागि भएका थिए । टाटा मोटर्स्ले टियागो, जेस्ट र बोल्ट कारहरुमा टेस्ट ड्राइभ गरेबाफत प्रतिव्यक्ति ५०० रुपैयाँ संकलन गरिएको थियो । कम्पनीको सामाजिक उत्तरदायित्व पूरा गर्ने क्रममा टाटा मोटर्स्ले टियागो, जेस्ट र बोल्ट कारहरुलाई देशका विभिन्न विद्यालयहरुमा टेस्ट ड्राइभको लागि राखेको थियो । ‘‘शिक्षाका लागि टेस्ट ड्राइभ” अभियान कार्यक्रम समापन गर्दै कम्पनीले स्कूलहरुलाई रकम हस्तान्तरण गरेको छ । उक्त सहयोग रकम विद्यालयहरुले आवश्यक परेका बालबालिकाहरुको शिक्षाका लागि प्रयोग गर्नेछन् । उक्त समापन कार्यक्रममा माननीय शिक्षा मन्त्री धनीराम पौडेलले शिक्षाका लागि टेस्ट ड्राइभ अभियानमा सहभागी भएका सम्पूर्ण विद्यालयका प्रतिनिधिहरुलाई चेक र मायाकाे चिनाे हस्तान्तरण गरेका थिए । विद्यालयहरुले उक्त रकमलाई छात्रवृत्ति कोष खडा गरि विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको शिक्षाको लागि प्रयोग गर्ने योजना समेत बनाइसकेको कुरा जानकारी गराएका छन् । कार्यक्रममा सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा शिक्षाको महत्व एवं प्रचारका लागि यो अभियानले विशेष भूमिका खेल्ने कुरा बताए ।साथै उनले नेपालमा यस्तो विशेष अभियान संचालन गरेकोमा टाटा मोटर्स, स्कूल, विद्यार्थी, अभिभावकहरुको महत्वपूर्ण भूमिका रहेको बताए । यसैक्रममा टाटा मोटर्स्, पि.भि.आई.बि. नेपालका कन्ट्री म्यानेजर हेमन्त पुरानिकले नेपालमा परिवारको कमजोर आर्थिक अवस्थाका कारण थुप्रै बालबालिकाहरु शिक्षाबाट वञ्चित हुने अवस्था रहेको जनाउँद यस्तो अवस्थामा उनीहरुले एक जिम्मेवार कर्पोरेट हाउसको रुपमा विद्यालयहरुलाई छात्रवृत्ति कोष बढाई विपन्न तथा जेहेन्दार बालबालिकाहरुको शिक्षाका लागि विशेष पहल गर्नका निमित्त उक्त टेस्ट ड्राइभ अभियान संचालन गरेको बताए । सेप्टेम्बर १०, २०१६ बाट धापाखेल र सानेपा स्थित जेम्स स्कुलबाट शुरु भएको टेस्ट ड्राइभ अभियान नेपालको पूर्वी तथा पश्चिमी क्षेत्रको ११ वटा शहरहरु अन्तर्गत २४ वटा विद्यालयहरुमा गरिएको थियो । ५ महिना अवधिसम्म चलेको उक्त अभियानमा सहभागी भएर टेस्ट ड्राइभ गर्ने अभिभावकहरुले टाटा र सिप्रदीको  सामाजिक उत्तरदायित्वको यस विशेष पहलबारे खुलेर प्रशंसा गरेको कम्पनीले जनाएको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक पनि आश्वा प्रणालीमा

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले आश्वा प्राणलीको सदस्यता प्राप्त गरेको छ । बुधबार नेपाल धितोपत्र बोर्डले बैंकलाई आश्बा प्रणालीमा आवद्धताको प्रमाण पत्र दिएको हो । अब स्ट्याण्डर्ड चार्टर्ड बैंकमा खाता भएका उपभोक्ताहरुले आइपिओ, एफपिओ तथा हकप्रद सेयरको आवेदन दिँदा नगदको साटो बैंक एकाउण्ट प्रयोग गर्न पाउनेछन् । बैंकको कुनै पनि शाखामा गएर आवेदन फारम भरेर आवेदन दिए बराबर खाताको रकम रोक्का गरि हक प्रद, आइपिओ वा एफपिओ भर्न सक्नेछन् । सेयर आवेदनमा रकमको उपयोग भैरहेको भएपनि निक्षेप कर्ताले सो वापतको ब्याज भने पाईरहने बैंकले जनाएको छ ।

श्री एसटिसीका २५ डिलर फ्याक्ट्री घुम्न हिडे, एक हप्ताभर भारत घुम्ने

काठमाडौं । भेरोकको नेपालकालागि आधिकारीक बिक्रेता श्री एसटिसी प्रालिका आफ्ना २५ जना डिलर फ्याक्ट्री भिजिटका लागि मुम्बइ प्रस्थान गरेका छन् । प्रडक्ट तथा टेक्निकल ज्ञान लिने मुख्य उद्येस्यका साथ पुने, अरंगाबाद र मुम्बइमा रहेको भेरोकको फ्याक्ट्री भ्रमण गर्ने ८ दिने कार्यक्रम रहेको श्री एसटिसी प्रालिका प्रबन्ध निर्देशक शुरेश उप्रेतीले जानकारी दिए । वार्षिक १ अर्ब ५० करोडको कारोबार गरिरहेको एसटिसीले नेपालमा भेरोक ब्राण्डमात्र बार्षिक १४ करोडको कारोबार गरिरहेको छ । इटाली लगायत २३ वटा देशमा आफ्नो उत्पादन प्लान्ट रहेको भेरोकले पहिलो पटक नेपालबाट २५ जना डिलरलाई फ्याक्ट्री भ्रमणका लागि आमन्त्रण गरेको हो । दुइपाङ्ग्रे तथा ४ पांग्रे सवारी साधनका लागि भेरोकले जेन्युन पार्टस उत्पादन गरिरहेको कम्पनीले जनाएको छ । एसटिसीले नेपालमा इएनआइ लुब्रिकेन्टस, सिएट टायर, भेरोक लगायत अन्य सबारी साधनमा प्रयोगमा आउने पार्टसको कारोबार गरिरहेको छ । यस अघि एसटिसीले आफ्ना डिलरलाई युरोप लगायत एशियाका विभिन्न देशको भ्रमण गराइसकेको प्रबन्ध निर्देशक उप्रेतीले जानकारी दिए ।

उद्योग मन्त्रीले कुटनीतिज्ञसँग भने-नेपाली नागरिकलाई बराबर सुबिधा दिन्छौं लगानी बढाइदिनुस

काठमाडौं । उद्योग मन्त्री नविन्द्रराज जोशीले नेपाली नागरिकलाई बराबर छुट सुबिधा वैदेशिक लगानी कर्तालाई पनि उपलब्ध गराउने बताउँदै लगानी बढाइ दिन कुटनीतिज्ञहरुलाई आग्रह गरेका छन् । बुधबार उद्योग मन्त्रालयमै बेलाएर मन्त्री जोशीले चीन, भारत, अमेरिका, फ्रान्स, वेलायत, जापान र जर्मनी, रसिया लगायत नेपालमा दुतावास रहेका सबै मुलुकका कुटनैतिक नियोगका प्रतिनिधिहरुसँग छलफल गरेका हुन् । ‘हामीले संसोधन गरेका र गर्न लागेका प्रस्तावित कानूनले नेपाली लगानीकर्ता सरह विदेशी लगानी कर्तालाइृ पनि छुट सुविधाहरुको व्यवस्था गरेको छ, विदेशी लगानीको प्रवेश तथा बहिर्गमनलाई सरलिकृत बनाईएको छ, अब तपाईहरुले लगानी बढाउन सघाउनु पर्यो’, मन्त्री जोशीले भने । सरकारले फागुन १९ र २० गते काठमाडौंमा आयोजना गर्न लागेको नेपाल लगानी सम्मेलनको तयारीका वारेमा बुधवार कुटनीतिक नियोगका प्रतिनिधीलाई ब्रिफिङ गर्न मन्त्रालयमा डाकिएको थियो । छलफलमा मन्त्री जोशीले नेपालको पूर्वाधार तथा उत्पादन मूलक उद्योगमा लगानी गरी फाईदा लिन विदेशी लगानी कर्तालाई आव्हान गरिने बताएका थिए । मन्त्री जोशीले विदेशी लगानी तथा प्रविधि हस्तातरण सम्वन्धी कानून मन्त्रालयबाट निर्माण भै सरोकारवाला मन्त्रालयहरु बीच अन्तिम छलफलमा रहेको र आगामी लगानी सम्मेलन अगावै मन्त्रिपरिष्बाट स्वीकृत गरेर संसदमामा टेवुल गरिसक्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए । उनले प्रत्येक महिना औद्योगिक प्रवद्र्धन वोर्डको बैठक राखेर लगानी आकर्षित गर्ने धारणा पनि राखेका थिए । छलफल विदेशी कुटनैतिक नियोगका प्रतिनिधिहरुले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनको पछिल्लो अवस्थाका वारेमा चासो व्यक्त गरेका थिए । लगानी आकर्षित गर्न औद्योगिक वातावरण जरुरी रहेको भन्दै उनीहरुले औद्योगिक वातावरण वन्नका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, वौद्धिक सम्पत्ति सम्वन्धी ऐन र श्रम ऐनमा समसामयिक सुधार आवश्यकता औल्याएका थिए । छलफलमा लगानी सम्मेलन तयारी समितिका सदस्य एवं लगानी वोर्डका बरिष्ठ व्यवस्थापक रतिस बस्नेतले अहिले सम्म विभिन्न मुलुकका ४० जनाले सम्मेलनमा सहभागिताका लागि प्रतिवद्धता जनाईसकेको जानकारी दिएका थिए ।

यामाहा म्युजिकको एक्सक्ल्युसिभ सोरुम काठमाडौंको नक्सालमा सञ्चालन

काठमाडौं । नेपालका लागि यामाहा म्युजिकको आधिकारिक विक्रेता एमएडब्लु म्युजिक प्रा. लि.ले काठमाडौंको नक्सालमा नेपालकै ठूलो सांगितिक उपकरण तथा प्रोफेसनल अडियो सिस्टमको सोरुम सुरु गरेको छ । नेपालको चर्चित सांगितिक समूह १९७४ एडीले यामाहा म्युजिक सोरुमको उद्घाटन गरेको हो । नयाँ सोरुममा यामाहा म्युजिकल इन्स्ट्रयुमेन्ट, प्रोफेसनल अडियो सिस्टम, अडियोभिडियो इक्विपमेन्टसहित अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त म्युजिकल ब्रान्ड ‘कोनिग एन्ड मेयर’ र डी’अडारियोका एसोसिरिजहरु पनि पाइनेछ । ‘हामीले सन् २००६ मा कान्तिपथमा पहिलो यामाहा म्युजिक सोरुम खोलेका थियौं । त्यसक्रममा हामीले संगीतप्रेमीहरुका लागि अझ धेरै उपहरण र सुविधा भएको आउटलेट आवश्यक भएको अनुभव गर्यौ । यस क्षेत्रमा लामो अनुभव हासिल गरेपछि हामीलाई नेपालकै ठूलो सोरुम खोल्ने उत्प्रेरणा मिलेको हो,’ एमएडब्लु म्युजिक प्रालिकी कार्यकारी निर्देशक सलोनी सेठिया अग्रवालले भन्नु भयो, ‘सांगितिक उपहरणको क्षेत्रमा विश्वकै अग्रणी ब्रान्ड यामाहासँग आवद्ध हुन पाएकोमा हामी गौरव महसुस गरिरहेका छौं । आशा छ, नयाँ सोरुमले नेपालभरिका संगीतप्रेमीको मागलाई पूरा गर्नेछ ।’ नक्सालस्थित पुलिस हेडक्वार्टर पेट्रोल पम्पनजिकै रहेको नयाँ सोरुममा गितार, किबोर्ड, पक्र्युसन इन्स्ट्रयुमेन्ट, पियानो र ड्रमदेखि एम्लिफायर, लाइभ साउन्ड, होम थिएटर स्टेसन, सिनेमा स्टेसन र रेकर्डिङ उपकहरणहरु समेत पाइन्छ । सोरुममा संगीतसम्बन्धी ज्ञान भएको प्रतिबद्ध स्टाफहरु पनि हुनेछन् जसले संगीत पारखीहरुलाई आफूले चाहेको उपकरण छान्ने मद्दत गर्नेछन् । साथै, यामाहा म्युजिक सोरुमले संगीतप्रेमीहरुका लागि ‘टच, फिल एन्ड एक्सपिरियन्स’को व्यवस्था समेत गर्नेछ । बुधबार सोरुम उद्घाटनपछि सांगितिक कार्यक्रम आयोजना गरिएको थियो जसमा यामाहा म्युजिकका अन्तर्राष्ट्रिय प्रस्तुतीकर्ता युकी सिमादा, जिन्दावादका किरण शाही र सिल्भर सिरिनेड लगायतले संगीत पस्केका थिए । यामाहा म्युजिकको स्थापना संस्थापक तोराकुसी यामाहालेले सन् १८८७ मा गरेका थिए । अहिले यामाहाले पियानो, विन्ड इन्स्ट्रयुमेन्ट, स्ट्रिङ र पक्र्युसन इन्स्ट्रयुमेन्ट र डिजिटल म्युजिक इन्स्ट्रयुमेन्टको समेत उत्पादन गर्छ । विश्वमै प्रतिष्ठित यामाहा म्युजिकले विश्व बजारको २५ प्रतिशत हिस्सा ओगटेको छ ।

नेप्से ४१ अंकले उक्लियो, परिसूचक १३१६ अंकमा, ५२ करोडको सेयर कारोबार

काठमाडौं । बुधबार नेप्से परिसूचक ४१ दशमलब ८३ अंकले उकालो लागेर १३१६ अंकमा पुगेको छ । बजारमा परिसूचक सँगै कारोबार रकमा पनि सुधार आएको छ । मंगलबारको तुलनामा बुधबार करिब १२  करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । मंगलबार जम्मा ४० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बुधबार १४१ कम्पनीको १६ लाख १३ हजार कित्ता सेयर किनबेच भएको छ । हरियाली छाएको बुधबारको बजारमा करिब १८ वटा कम्पनीको सेयर मूल्यमा ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । जसमा तीन वटा कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् भने कम्पनीका लगानीकर्ताले ९ प्रतिशत कमाएका छन् । सो दिन एसियन लाइफ इन्स्योरेन्स कम्पनी, सानिमा माइ हाइड्रो र नेको इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । बजारमा उत्पादमूलक समूह बाहेक कारोबार भएका बाँकी समूहको परिसूचक हरिया भएका छन् । सो दिन बीमा, हाइड्रो, होटल र विकास बैंक समूहको परिसूचक क्रमशः ३८५, ६६, ४९ र ४३ अंकले उकालो लागेका छन् । त्यस्तै, बैंकिङ्, फाइनान्स र अन्य समूहको परिसूचक क्रमशः ३७, १२ र २ अंकले वृद्धि भएका छन् । उत्पादमूलक समूहको परिसूचक भने सामान्य ५ अंकले ओरालो लागेको छ ।

चार गुणा पूँजी बढ्यो भन्दैमा चार गुणै नाफा चाहिने ? अब स्प्रेडलाई ३ प्रतिशतमा झारौं : लामिछाने

आजकल एफएममा तरलता, चियागफमा तरलता चोक चोकमा तरलताको चर्चा छ । यसले तरलता भन्ने शब्दकै अपव्याख्या भएको छ । अब तरलता कसरी उत्पन्न भयो र कसरी समाधान गर्ने भन्ने कुरामा छलफल आवश्यक छ । भन्सारमा व्यापारीका समान अड्किएका छन् । ब्याजदर बढेको छ, व्यापारीले ऋण पाएका छैनन् । यी बिषयमा मोनिटेरी पोलिसीको मध्यावधी समिक्षामा समाधान खोजिएला भन्ने मलाई लाग्छ । अब तरलताको कारणमा जानु आवश्यक छ । अन्यथा नमान्नु होला आज म आत्मदेखि नै केहि कुरा गर्ने सोँचमा छु । केन्द्रिय बैंकले पूँजी वृद्धिको योजना अघि सार्यो । एक एक तला घर बनाउनु भन्दा एकै पटक बलियो र फुलफेज घर बनाउनु पर्छ भन्ने मान्यताका साथ पूँजी बढायो । एक बर्षमा एक तला, दुई बर्षमा दुई तला, तीन बर्षमा तीन तला घर बनाएर डण्डी खियाउनु भन्दा एकै पटक चार तले घर बनाउनु पर्छ भन्ने केन्द्रिय बैंकलाई लाग्यो र चार गुणा पूँजी वृद्धि गर्यो जुन आवश्यकता पनि थियो । के चार गुणा पूँजी बढ्यो भन्दैमा बैंकलाई चार गुणा नै मुनाफा बढि चाहिने ? बैंकले यो बिषयमा मनन गर्नु पर्छ की पर्दैन् ? नेपालमा तीनथरी बैंक छन् । सरकारी बैंक, विदेशी लगानीमा सञ्चालित बैंक र नेपाली उद्योगी व्यवसायीले सञ्चालन गरेका बैंक । तपाईहरुले जुन बैंकबाट ऋण लिनु भएको छ, मन मनै सोच्नुस कुन बैंकले ब्याज बढाएको छ ? मेरो विचारमा सरकारी बैंकले ब्याज बढाएका छैनन् । बढाएको भएपनि थोरै मात्र बढाएका छन् । विदेशी लगानीका ठुला बैंकले पनि खासै व्याज बढाएका छैनन् । ब्याज कसले बढाएका छन्, जुन बैंकमा नेपालका ठुला व्यवसायीक घरानाको लगानी छ, ती बैंकले ब्याज बढाएका छन् । नेपाली ठुला घरानाका लगानी कर्ताले सिइओलाई बाध्य पारिरहनु भएको छ । मलाई २०/३० प्रतिशत लाभांश चाहिन्छ भनेर बाध्य पारिँदैछ । सिइओहरुलाई साउन देखि नै तनाब छ । अहिलेका कमर्सियल बैंकले २० प्रतिशत लाभांश दिन १६० करोड बाढ्नु पर्छ । रिजर्भ राख्ने व्यवास्थाका कारण उसले २ अर्ब नाफा कमाउँदा मात्रै २० प्रतिशत लाभांश दिन सक्छ । २ अर्ब नाफा कमाउन एउटा बाणिज्य बैंकले कर्जा लगानी साह्रै धेरै बढाउनु पर्छ । नाडा अटो शोमा हामीले साढे ५ प्रतिशतमा कर्जा बाढेका हौं असोज मसान्तमा । नाफा कमाउन कर्जा बाढ्दा बाढ्दा ढुकुटीमा भएको पैसा सकियो । भाँडामा पहिले पानी हाल्ने अनि पछि बाढ्ने जस्तै हो बैंकले निक्षेप र कर्जा दिने कुरा । संसार भरका बैंकले यस्तै गर्छन । यस्तो अवस्था आयो की बैंकमा निक्षेप भन्दा कर्जा दिने प्रक्रिया बढि भयो जसले भाँडो रित्तियो । अब भाडै रित्तिए पछि के बाढ्ने ? हामीलाई नाफा कमाउनु पर्ने थियो कर्जा बढायौं । त्यसैले तरलता अभावको अवस्था आयो । अहिले केन्द्रिय बैंक र सिइओलाई गुहारेर पनि केहि हुने वाला छैन् । समाधान भनेको नेपालका ठुला बैंकमा लगानी गरेका घरानीयासँग छ । उहाँहरुलाई भन्नुस् ५ प्रतिशत स्प्रेड होइन यसपाली ३ प्रतिशतमा झारौं । लाभांश पनि यसपाली ३० प्रतिशत होइन २० प्रतिशतमा झारौं भन्नुस् । एउटा ठुलो बैंकका सञ्चालकले एउटा कार्यक्रममा भन्नु भयो–‘मैले सिइओलाई १२ प्रतिशत ब्याज पुर्याउन भनेको थिए, उसले मानेन अहिले अरुले पैसा उठाए । अब यो १५ प्रतिशत पुग्छ ।’ हामीलाई थाहा छ, कुन बैंक कस्को हो भन्ने कुरा । ती बैंकका अध्यक्ष र सञ्चालकलाई बोलाएर भन्नु पर्यो । यो नाफा कमाउने बेला होइन् । स्प्रेड घटाउनु पर्छ । हाम्रा बैंकको त्रैमासिक रिपोर्ट हेर्नुभयो भने राम्रो कमाईरहेको देखिन्छ । तर ७ प्रतिशतको ब्याजलाई १४ प्रतिशत पुर्याएर नाफा कमाईरहेका छौं । भदौ/असोजमा ८ प्रतिशतमा ऋण नलिएर बाणिज्य बैंकमा ७ प्रतिशतमा ऋण लिन गएका एक जना व्यवसायीले अहिले भन्दैछन्–मलाई त बाणिज्य बैंकले १४ प्रतिशत ब्याज पुर्यायो । लौन मलाई कर्जा चाहियो ।’ हामीले ८ प्रतिशतमा दिएको ऋणको ब्याज ११ प्रतिशत भन्दा बढि पुर्याएका छैनौं । बाणिज्य बैंकले ७ प्रतिशतको कर्जा १४ प्रतिशत पुर्याएका छन् । हामीले निक्षेप कर्ताको पैसा परिचालन गरेर ३०/४० प्रतिशत लाभांश खाने तर उनीहरुको पैसाको ब्याज दिनु पर्दैन ? निक्षेप कर्ताले आयआर्जन गर्न पाउनु पर्दैन ? एक प्रतिशत मात्रै ब्याज दिने ? त्यस्तो अन्याय गर्न पाइन्छ ? हामी त सिइओ हौं, सञ्चालक समितिले स्प्रेड घटाउन भन्यो भने तुरुन्तै घटाउन सक्छौं । तर प्रत्येक बैठकमा हामीलई सञ्चालकले सिइओ साब यसपाली कति लाभांश पाइन्छ भनेर सोध्छन् । समयमै बजेट आएकाले पूँजीगत खर्च बढ्छ भनेर हामीले बुझ्यो । त्यसैले धमाधम कर्जा दियौं तर त्यो गलत सावित भयो । जसले अहिलेका तरलता अभावको अवस्था निम्त्यायो । बैंकहरुले अनुपत्पादक क्षेत्रमा लगानी गरे भन्ने आरोप लगाउनु अघि सोच्नु आवश्यक छ । व्यापक घर जग्गामा, हायर पर्चेजमा, ओभर ड्राफ्टमा लगानी गरेर तरलता अभाव भयो भन्ने सुनियो । घर जग्गा कारोबारपछि पैसा बैंकमै जाने हो । ओभर ड्राफ्टको सबै कर्जा अनुत्पादक होइनन् । घर खरिदमा दिएका पैसा जस्तो उत्पादन शिल क्षेत्र अरु कुनै हुनै सक्दैन् । अधिकांश मुलुकमा बैंकबाट घर बनाउन लिइने ऋणलाई उत्पादक मानेर कर छुट दिने चलन छ । हायर पर्चेजको कुरा आएको छ, यसमा पनि सिमेन्ट बोक्न गाढी, स्काभेटर, लोडर पनि अनुत्पादक हुन्छ कहीँ ? सेयर कर्जा पनि २ प्रतिशतमा सिमित भएको छ । फेरी सेयर बेच्नेले पनि सिरानीमा पैसा नराखेर बैंकमै राख्छ । समस्या भनेको निक्षेपको तुलनामा कर्जा बढेकाले आएको हो ।  समाधान भनेको बैंकका ठुला लागानी कर्तामा निर्भर गर्छ । उहाँहरुले चाहनु भयो भने एक हप्तामा कर्जाको २ प्रतिशत ब्याज घट्न सक्छ । चैत भरिमा निक्षेपको ब्याजदर पनि २ प्रतिशत घटाउन सकिन्छ । तर यो कुरा ठुला बैंकका घरानिया लगानी कर्ताले मान्नु पर्छ ।( डेभलपमेन्ट बैंकर्स एसोसियसनका अध्यक्ष लामिछानेले नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको कार्यक्रममा व्यक्त गरेको विचार)