‘राष्ट्रिय लघुवित्त सम्मेलन २०७३’ चैत २ गतेदेखि ४ गतेसम्म हुने
काठमाडौं । ‘वित्तीय, सामाजिक र मानवीय मुल्यहरु बीच संतुलन’ को मूल नाराका साथ चौथो ‘राष्ट्रिय लघुवित्त सम्मेलन २०७३’ आगामी चैत २ गतेदेखि शुरु हुने भएको छ । काठमाडौंको याक एण्ड यती होटलमा आयोजना हुने उक्त सम्मेलन चैत ४ गते सम्म सञ्चालन हुनेछ । सम्मेलनमा करिब ७ वटा प्रमुख उद्देश्यहरुलाई अपनाई संचालन गरिने छ । लघुवित्तले सामना गरेका प्रमुख समस्या, मुद्दा, चुनौति तथा कठिनाईहरुमा नियामक र सेवा प्रदायकको वीचमा प्रभावकारी र अग्रगामी सेवा पुर्याउन साझा बुझाईको विकास तथा समाधान लागि विभिन्न दृष्टिकोण तथा सुझाव दिइने छ । लघुवित्तमा भएका अनुसन्धानलाई आधार बनाएर सरोकारवालाहरु बीच अन्तरकृया तथा सम्वाद गरिने छ । सेन्टर फर माइक्रोफाइनान्स नेपाल(सीएमएफ)का अनुसार उक्त सम्मेलनमा मानवीय मूल्य सहित सामाजिक र वित्तीय उद्देश्यहरुमा सन्तुलन ल्याउने बीच छलफल गरिने छ । अन्तराष्ट्रिय क्षेत्रमा लघुवित्तले लिएको बिकासको गति र नेपालको संदर्भमा ती बिषयहरुको सांदर्भिकता वर्णनका साथै लघुवित्तको क्षेत्रमा नियामक निकायबाट घोषित नीति, तथा यसले पारेका प्रभावहरुको समिक्षात्मक मूल्यांकन गरिने छ । साथै, लघुवित्तको आगामी लक्ष तथा कार्यक्रमहरुमा आवश्यक परिवर्तनका निम्ति सुझाव प्रतिवद्धताहरुको घोषणा गरिने छ । विद्यमान प्रमुख मुद्दा तथा अवसरहरुलाई सम्वोधन गर्ने गरी जिम्मेवारी र समय सीमा सहितको साझा प्रतिवद्धताको घोषणा र यसको निरन्तर अनुगमन गरिने सीएमएफले जनाएको छ । सम्मेलनमा नीति निर्माता, सेवाग्राही, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहयोगी निकाय, बैंकर र लघुवित्त बैंक/वित्तिय संस्था तथा वित्तीय मध्यस्थता गर्ने गैरसरकारी संस्था, वित्तिय सहकारी संस्था, साना किसान, कृषि सहकारी तथा विशेषज्ञहरु सहित करिव ८०० को सहभागीता हुने अपेक्षा गरिएको छ । लघुवित्तको वर्तमान स्थिति, दक्षिण एशियाली मुलुकको परिप्रेक्षमा नेपालको लघुवित्त क्षेत्रको समिक्षा, लघुवित्त संस्थाका चुनौती, लघुवित्त सेवाका क्षेत्रहरुमा आधुनिक प्रविधिको प्रयोग, सेवामा विविधता, उद्यमशिलता विकास, विमाको नविनतम अभ्यास, मूल्य श्रृंखला, वित्तीय साक्षरता, विपन्न वर्गमा लघुवित्तको पहुंच, गरिवी न्यूनीकरण, वित्तीय प्रभाबकारिता, संस्थागत विकास लगायतका महत्वपूर्ण विषयहरुमा कार्यपत्रहरु प्रस्तुत गरिने छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय अध्ययन तथा अनुभवहरु प्रस्तुत गर्ने र सो बारे ब्यापक छलफल गर्नको लागि ८ पूर्ण सत्र र २० विभाजित सत्रहरु संचालन गर्ने योजना बनाइएको छ । यस सम्मेलनले लघुवित्त क्षेत्रका प्रमुख सकारात्मक पक्षहरु र प्रभावकारिता बृद्धिका क्षेत्रहरुको पहिचान गरी मार्गचित्र निर्माण गर्न सहयोग गर्नेछ ।
सेयर बजारमा दोहोरो अंकले ओरालो, कारोबार रकममा २६ करोडको गिरावट
काठमाडौं । बुधबारको सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । मंगलबार जस्तै बुधबारको सेयर बजारमा पनि उतारचढाव आएको छ । बुधबार कारोबार खुलेको झण्डै एक घण्टाको अवधिमा परिसूचक करिब २० अंकले झरेर १३३८ अंकमा पुगेको थियो । त्यसपछिको कारोबारमा भने हल्का सुधार भएको देखिन्छ । सो दिन बजार बन्द हुँदा नेप्से परिसूचक १३ दशमलब ४६ अंकले झरेर १३४४ दशमलब ११ अंकमा अडिएको छ । परिसूचक जस्तै सेयर कारोबारमा पनि भारी रकमले गिरावट भएको छ । मंगलबार ६० करोडको कारोबार भएको सेयर बजारमा बुधबार करिब २४ करोड रुपैयाँको अन्तरले गिरावट आएको छ । सो दिन जम्मा ३४ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । १३७ कम्पनीको कारोबार भएको दिन ७ लाख ६४ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा उत्पादन समूह स्थिर रहेको छ भने कारोबार भएका बाकी सबै समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ११२ अंकले ओरालो लागेको छ ।
ग्यास उद्योगहरु मर्ज गराउन संसदीय संमितिको निर्देशन, नयाँ उद्योग खोल्न रोक
काठमाडौं । उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिलेले दुई वा दुई भन्दा बढी ग्यास उद्योग मर्ज हुन चाहेमा मर्ज हुने व्यवस्था मिलाउन आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । साथै समितिले नयाँ ग्यास उद्योगहरु स्थापनाको स्वीकृति नदिन निर्देशन दिएको छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले यसअघि दिएका निर्देशन आपूर्ति मन्त्रालयले पालना नगरेको भन्दै आपत्ति पनि जनाएको छ । बजारमा पेट्रोलियम पदार्थको हाहाकार हुँदा आपूर्ति मन्त्रालय र नेपाल आयल निगम मौन बसेको भन्दै सो समितिले आपूर्ति व्यवस्था सहज बनाउन दुबै निकायलाई निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने तर्फ अहिलेसम्म भएको काम र भण्डारणस्थलहरुको जग्गा प्राप्तिमा अहिलेसम्म भएको कामको विवरण तीन दिनभित्र उपलब्ध गराउन समितिले आयल निगमलाई निर्देशन दिएको छ ।
राष्ट्रिय बिमा संस्थानले बिमाङ्कीय मूल्याङ्कन नियमित गर्ने
काठमाडौं । राष्ट्रिय बिमा संस्थानले जीवन बिमा गर्ने कम्पनीको सम्पत्ति दायित्व एकिन गर्न बिमाङ्कीय मूल्याङ्कनलाई नियमित गर्ने जनाएको छ । संस्थानको ५०औं वार्षिकोत्सव (स्वर्ण जयन्ती)का अवसरमा बुधबार आयोजित कार्यक्रममा संस्थानले सन् २००७ देखिको बिमाङ्कीय मूल्याङ्कन यथाशीघ्र अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेको हो । बिमाङ्कनबाट बिमा व्यवसाय (जीवन, निर्जीवन र पुनःबिमा)मा बिमालेख तयार गर्न, बिमा शुल्क निर्धारण गर्न, बिमा दाबी सङ्ख्याको पूर्वाअनुमान लगाउन, बिमा कम्पनीको सम्पत्ति वा दायित्वको अवस्था मूल्याङ्कनजस्ता सूचकको विश्लेषणबाट भावी कार्यदिशा लिन सहयोग पुग्नेछ । संस्थानका प्रशासक अस्वीनीकुमार ठाकुरले लेखा अद्यावधिक तथा लेखापरीक्षण गराइसकेको र यस कार्यलाई विज्ञ परामर्शदाताको सहयोगमा अभियानका साथ अगाडि बढाइएको जानकारी दिए । उनले भने, “विगत केही वर्षदेखि मौजुदा रहेको लेखापरीक्षण सम्बन्धी कार्यसम्पन्न गराउनेतर्फ विश्वास दिलाउँछु ।” संस्थानको व्यवसाय प्रवद्र्धनका लागि सशक्त माध्यमका रुपमा कार्यरत अभिकर्ता सेवा शर्त र सुविधामा समयसापेक्ष सुधार गरी आवश्यक व्यवस्था गर्ने प्रयासलाई निरन्तररुपमा अगाडि बढाउने संस्थानले जनाएको छ । संस्थानको बक्यौता रहेको लेखापरीक्षण सम्पन्न गर्न संस्थान लागिपरेको ठाकुरले जानकारी दिए । संस्थानले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, जलविद्युत् लगानी तथा विकास कम्पनी, विद्युत् उत्पादक कम्पनीलगायतका अन्य क्षेत्र गरी आफ्नो पुँजी कोषबाट निर्दिष्ठ क्षेत्रमा १५ अर्ब रुपैयाँ लगानी गरेको छ । अर्थमन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार प्रा डा पुन्यप्रसाद रेग्मीले बिमा व्यवसायको विकासमा संस्थानको भूमिका अग्रणी रहेको उल्लेख गर्दै जीवन बिमामार्फत बाहिरिँदै आएको रकमलाई नियन्त्रण गर्नुपर्ने बताए । राष्ट्रिय बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले संस्थानले विगतको छविलाई समीक्षा गरी संस्थालाई पुनःजीवन दिन इमान्दारिताका साथ अगाडि बढ्न र ग्राहकसँगको विश्वासलाई अक्षुण राख्न सुझाव दिए । कार्यक्रममा संस्थानमा २० वर्षदेखि अभिछिन्न रुपमा काम गर्दै आएका कर्मचारीलाई दीर्ग सेवा पदक तथा कदरपत्र र बढी व्यवसाय गर्ने अभिकर्तालाई पुरस्कार दिएर प्रशंसा गरियो । त्यसैगरी संस्थानको स्थापनाकालको संस्थान सञ्चालक समितिका अधयक्ष डा खाेमराज खरेल, कर्मचारी कुवेरप्रसाद शर्मा, सिद्धिमान बस्न्यात, इन्द्रप्रसाद कर्माचार्य र रघु पन्तलाई सम्मान गरियो । रासस
सूर्योदय लघुवित्तको साधारणसभा चैत १२ गते, फागुन २८ गतेदेखि १५ दिन बुक क्लोज
काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले चैत १२ गते साधारणसभा गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले साधारणसभा सम्बन्धि निर्णय गरेको हो । साधारणसभा प्रयोजनको लागि फागुन २८ गतेदेखि १५ दिन (अर्थात चैत १२ गतेसम्म) सेयर दाखिल खारेज (बुक क्लोज) बन्द रहने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेप्सेमा मिति २०७३ फागुन २७ गतेसम्म करोबार भई २०७३ चैत ७ गतेसम्म संस्थाको सेयर रजिष्टार ग्लोबल आईएमई क्यापिटलमा प्राप्त सेयर नामसारी लिखितका आधारमा सेयरधनी दर्ता किताबमा कायम सेयरधनीहरुले मात्र चौथो वार्षिक साधारणसभामा भाग लिन पाउने छन् ।
नाम फास्ट ट्रयाक काम स्लो ट्रयाक, कसरी बन्ला पाँच बर्षमै एक्सप्रेस हाइवे ?
काठमाडौं । ‘फास्ट ट्रयाक नबन्ने अवस्थामा पुग्यो, २०७४/७५ साल सम्म जमिन अधिग्रहण गरेर कहिले बाटो बनाउने ? हामीले सरकारको नीति तथा कार्यक्रम र बजेटमै राखेका थियौं तर अहिले त समिति बनाएर अड्काउने काम भैरहेको छ फास्ट ट्रयाक नबनाएर भुलभुलैयामा राख्ने कुरा हामीलाई स्विकार्य छैन’, बुधबार व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिमा पुर्व अर्थमन्त्री विष्णु पौडेलले भने । आफ्नै कार्यकालमा फास्ट ट्रयाक नेपाल सरकारले नै बनाउने बजेट वक्तव्यमा लेखाएका पौडेलले टेण्डर कहिले आउँछ ? कति समयमा निर्माण सम्पन्न गर्ने हो त्यसको कार्यतालिका पेश गर्न आग्रह पनि गरे । अर्का सांसद धनराज गुरुङले पनि फास्ट ट्रयाक निर्माणमा भैरहेको ढिलाई प्रति आपक्ति जनाए । ‘यो फास्ट ट्रयाक होइन स्लो ट्रयाक भयो, ७ प्रतिशत जमिन अधिग्रहण गर्न आर्थिक बर्ष २०७४/७५ सम्म लाग्छ कहिँ, यस्तो स्लो मोशनमा काम गरेर ५ बर्षमा कसरी बन्छ फास्ट ट्रयाक ?’, गुरुङले प्रश्न गरे । फास्ट ट्रयाकको निर्माणबारे छलफल गर्न आयोजीत बैठकमा सबै जसो सांसदहरुले निर्माण प्रक्रियामा भैरहेको ढिलाईबारे आपक्ति जनाए । सांसद रामहरी खतिवडाले पनि अहिलेकै गतिमा काम अघि बढे आगामी १० बर्षमा पनि फास्ट ट्रयाक नबन्ने भन्दै आपक्ति जनाए ।‘बर्षेनी १० अर्ब बजेट छुट्याउने हो भने आगामी १० बर्षमा पनि फास्ट ट्रयाक बन्दैन, अब यथेष्ठ बजेटको सुनिश्चिततासँगै काम अघि बढाउनु पर्छ’, खतिवडाले भने । उनले ५६ अर्बको फास्ट ट्रयाकको लागत ११२ अर्ब पुर्याउने कुरा कसरी ठिक हुन्छ भन्दै प्रति प्रश्न पनि गरेका थिए । सांसदहरु विकास लम्साल, भरत शाह, एकनाथ ढकाल लगायतले पनि फास्ट ट्रयाकको निर्माणमा ढिलाई भैरहेकोमा चिन्ता व्यक्त गरेका थिए । उनीहरुले भारतीय कम्पनी आइएल एण्ड एफएसको डिपिआर स्विकार गर्दा ११२ अर्ब लागत पर्ने भन्दै त्यसको विकल्प खोज्न सुझाव दिएका थिए । बैठकमा भौतिक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले भारतीय कम्पनीसँग सित्तैमा डिपिआर मागेको जानकारी दिएका थिए ।‘हामीले भारतीय कम्पनीसँग डिपिआर निशुल्क उपलब्ध गराउन माग गरेका छौं, त्यसो नभए खरिद पनि गर्छाै तर फास्ट ट्रयाकको निर्माण अघि बढ्छ’, मन्त्री लेखकले भने । उनले चाँडै टेण्डर आव्हान गरेर निर्माण थाल्ने जानकारी पनि दिएका थिए । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तामाङले फास्ट ट्रयाकलाई पब्लिक एक्सप्रेस हाइवेका रुपमा निर्माण गर्न लागेको जानकारी दिएका थिए । फास्ट ट्रयाक आयोजनाका प्रमुख सत्येन्द्र शाक्यले निर्माण लागत र गुणस्तरमा आंशका नगर्न आग्रह गर्दै इपिसी मोडलमा निर्माण गर्नेबारे छलफल भैरहेको बताएका थिए ।
सिन्धु विकास बैंकको ८० प्रतिशत हकप्रद पारित, बिक्री प्रवन्धकमा एनआईबिएल क्यापिटल नियुक्त
काठमाडौं । सिन्धु विकास बैंकको सातौ वार्षिक साधारणसभाले ८० प्रतिशत (१०ः८ अनुपातमा) हकप्रद सेयर निष्काशन गर्ने प्रस्तावलाई पारित गरेको छ । बैंकले सेयरधनीलाई २० लाख ९७ हजार ५०० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । साथै, उक्त सभाले बैंकको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धकमा एनआईबिएल क्यापिटल मार्केट्सलाई नियुक्त गरेको छ । उक्त नियुक्त सम्वन्धि सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिव प्रधान र एनआईबिएल क्यापिटलका तर्फबाट महाप्रवन्धक मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् । हाल बैंकको चुक्ता पूँजी २६ करोड २१ लाख रुपैयाँ रहेको छ । सो मात्राको हकप्रद सेयर जारी पश्चात बैंकको पूँजी ४७ करोड १९ लाख रुपैयाँ पुग्ने बैंकले जनाएको छ । बैंकका अनुसार आर्थिक २०७३/७४ को बोनस वितरण पश्चात नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकको चुक्ता पूँजी ५० करोड रुपैयाँ बढी हुनेछ ।
एक्सेल डेभलपमेन्ट बैंकको साधारणसभा चैत १९ गते, २६ प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले आगामी चैत १९ गते कम्पनीको ११औँ वार्षिक साधारणसभा बोलाएको छ । बैंकले आफ्ना सेयरधनीलाई २६ दशमलब ३१५७९ प्रतिशत लाभांश दिने प्रस्तावमा छलफल गर्न सो दिन साधारणसभा बोलाएको हो । उक्त साधारणसभा प्रयोजनको लागि बैंकको सञ्चालक समितिको बैठकले आगामी चैत ७ गतेदेखि १९ गतेसम्म बैंकको बुक क्लोज गर्ने निणर्य गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले प्रश्ताव गरेको २५ बोनस सेयर र कर प्रयोजनको लागि १ दशमलब ३१५७९ प्रतिशत नगद लाभांश गत कात्तिकमा नै राष्ट्र बैंकले स्वीकृति दिएको थियो ।