विकासन्युज

सिटिजन्स बैंकद्वारा बर्दियाको विद्यालयलाई कप्युटर सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बर्दिया जिल्लाको गुलरियामा श्री जानकी प्राथमिक विद्यालयलाई १ थान कप्युटर वितरण गरेको छ । बैंकले नेपालको शिक्षा जगतमा टेवा पुर्याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भौतिक सहयोग स्वरुप १ थान कप्युटर वितरण वितरण गरेको हो । बुधबार गुलरियामा आयोजित एक समारोहकाबीच बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले उक्त विद्यालयका अध्यक्ष रामचन्द्र यादव र प्रधानध्यापक मुन्नालाल यादवलाई हस्तान्तरण गरेका छन् । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले शिक्षा, स्वास्थ्य, खेलकुद जस्ता क्षेत्रहरुमा प्रत्येक वर्ष सहयोग पुर्याउदै आएको बताएका छन् । साथै, भविष्यमा पनि बैंकले यस्तै सहयोग पुर्याउने जानकारी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले दिएका छन् ।

पशुपति पेन्ट्सद्वारा महापर्वको रङ्गोत्सव योजनाको विजेता घोषणा

काठमाडौं । पशुपति पेन्ट्सले दशैँ तिहारको अवसरमा आयोजना गरेको ‘पशुपति पेन्ट्स महापर्वको रङ्गोत्सव’ योजनाको विजेताको घोषणा गरेको छ । कम्पनीले बबरमहल स्थित एक कार्यक्रमको आयोजना गरी विजेताको छनोट गरिएको हो । विजेता छनोटका लागि आयोजित कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक महेश कुमार मुरारकाद्वारा योजनाका सम्पूर्ण विजेतालाई सहभागिताका लागि धन्यवाद ज्ञापन गर्दै बधाई दिएका थिए । भाद्र १५ देखि मंसिरको अन्तिम सम्म आयोजित उक्त योजनामा सान्त्वना पुरस्कारका रुपमा १६ जनालाई १० तोला चाँदी । छैथौँ पुरस्कारका रुपमा ८ जनालाई ५ ग्राम सुन, पाँचौ पुरस्कारका रुपमा ८ जनालाई स्मार्टफोन, चौथौँ पुरस्कारका रुपमा चार जनालाई २ सय २० लिटरको फ्रिज र तेस्रो पुरस्कारका रुपमा चार जनालाई वासिङ मेसिनको ब्यवस्था गरिएको थियो । त्यसैगरी दोस्रो पुरस्कार विजेताले ४२ ईञ्चको स्मार्ट टेलिभिजन हातपार्ने जानकारी कार्यक्रम मार्फत दिइयो । उपहार योजनाको बम्पर उपहारका रुपमा  ३ सय ५० सीसीको रोयल एन्फिल्ड मोटरसाइकल १ जनालाई प्रदान गरिने बताइएको छ ।

सनराइज बैंकको नयाँ एटिएम बिर्तामोडको नँया बसपार्कमा

विर्तामोड । सनराइज बैंक लिमिटेडले विर्तामाडको नँया बसपार्क स्थित एटिएम संचालनमा ल्याएको छ । उक्त एटिएमको उद्घाटन बैंकका नायव महाप्रबन्धक अपछ कुमार यादवले गरेका छन् । हाल सनराइज बैंकले ६८ वटा शाखा, ७४ वटा एटिएम, १३ वटा शाखारहित बैंकिङ् सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्गको कार्य गर्नका लागि बैकंको सहायक कम्पनी एन.सि.एम.मर्चेन्ट बैकिङ्ग लि. रहेको छ ।

नेप्से १७ अंकले वृद्धि, ३२ करोडको सेयर कारोबार, फाइनान्स बाहेक सबै समूह उकालो

काठमाडौं । लगातार ओरालो लागेको बजारमा बुधबार भने केही सुधार आएको छ । बुधबार नेप्से परिसूचक १७ दशमलब ५१ अंकले बढेर १३१६ अंकमा पुगेको छ । करिब एक साता पछि सेयर बजारमा हरियाली छाएको छ । बजारमा ३२ करोड रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबारको तुलनामा बुधबारको सेयर कारोबार करिब २२ करोड रुपैयाँले घटि हो । बुधबार १३५ कम्पनीको ६ लाख ५० हजार कित्ता सेयर किनबेच भएको छ । सो दिन कुमारी बैंक र नेपाल बंगलादेश बैंकको क्रमशः ३ करोड ९४ लाख र ३ करोड ४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबार फाइनान्स समूहको परिसूचक बाहेक करोबार भएका बाँकी सबै समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २१४ अंकले उकालो लागेको छ । त्यस्तै, उत्पादनमूलक, होटल, विकास बैंक र बैंकिङ् समूहको परिसूचक ३०, २६, १५ र १३ अंकले उकालो लागेका छन् ।

साउनदेखि १० लाख भन्दा बढी नगद कारोबार गर्न नपाइने

काठमाडौं । सरकारले आगामी साउन १ गतेदेखि १० लाख भन्दा बढि नगद कारोबारमा रोक लगाउने भएको छ । अर्थ सचिव शान्तराज सुवेदीले १० लाख भन्दा बढी नगद कारोबार गर्न नपाइने निर्णय मन्त्रिपरिषदले गरिसकेको र आगामी आर्थिक वर्षदेखि लागू हुने जानकारी दिए । ‘नगद कारोबारमा १० लाखको सीमा सम्बन्धि निर्णय मन्त्रिपरिषदले गरिसकेको छ, केहि दिनभित्रै राजपत्रमा सूचना प्रकाशित हुनेछ’, अर्थसचिव सुवेदीले विकासन्युजसँग भने । सम्पति सुद्धिकरण निवारण ऐन २०६४ ले निश्चित थ्रेसहोल्ड भन्दा माथिको नगद कारोबारमा रोक लगाउन सकिने व्यवस्था गरेको छ । सो ऐनमा सरकारले राष्ट्र बैंकको परामर्शमा तोकिएको मूल्य वा सो भन्दा बढीको सेवा तथा बस्तु खरिद एंव बिक्रीका कारोबारहरु वित्तीय संस्था वा बैंकिङ उपकरण मार्फत मात्र गर्नुपर्ने व्यवस्था गर्न सकिने उल्लेख गरेको छ । सरकारले ऐन आएको ९ बर्षपछि त्यसको कार्यान्वयन गर्न लागेको हो । साउन १ गतेपछि १० लाख भन्दा बढीको कारोबार बैंकिङ च्यानलबाट मात्रै गर्नुपर्नेछ । हाल ३० लाख भन्दा बढीको कारोबार बैंकिङ च्यानलबाट मात्रै गर्नुपर्ने व्यवस्था रहेको छ । १० लाख भन्दा बढीको कारोबारमा भने स्राेत खुलाउनु पर्ने व्यवस्था रहेको छ । ‘अहिले ३० लाख बढि रकमको कारोबारमा बैंकिङ च्यानल अनिवार्य गरेका छौं, अब १० लाख तोकियो भने त्यसले सम्पति सुद्धिकरणमा सघाउ पुर्याउँछ’, नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भने । उनले नगद कारोबारमा सिमा तोकिएको निर्णय सम्बन्धी सर्कुलर भने अझै राष्ट्र बैंकले नपाएको बताए । ४० प्रतिशत जनताको मात्रै वित्तीय  पहुँच पुगेको केन्द्रीय बैंकको तथ्यांक छ । वित्तीय पहुँच नपुगेकाे क्षेत्रमा नगदकाे काराेबार गर्नुकाे विकल्प हुँदैन ।

२५ हजारसम्मको वस्तु आयात र ५ लाखसम्मको निर्यात गर्नेले एक्जिम कोड अनिवार्य लिनुपर्ने

काठमाडौं । भन्सार विभागले आगामी आर्थिक वर्ष २०७३/७४ देखि लागू हुने गरी निकासी पैठारीका लागि संकेत नम्बर (एक्जिम कोड) लागू गर्ने तयारी गरेको छ । एक पटकमा  २५ हजार रुपैयाँसम्मको वस्तु आयात तथा ५ लाखसम्मको निर्यात गर्नेले एक्जिम कोड लिनु पर्ने व्यवस्था गर्ने तयारी गरिएको भन्सार विभागका निर्देशक देवीप्रसाद भण्डारीले बताए । यस अघि यस्तो व्यवस्था लागू गरिएको थिएन । भन्सार ऐन २०६४ को दफा ८९ ‘ख’ मा आर्थिक ऐन २०७३ बाट थप भएको बुँदामा निकासी पैठारी गर्ने व्यक्तिले यस्तो कोड लिनुपर्ने व्यवस्था गरिएकाले विभागले यस्तो तयारी गरेको हो । उक्त बुँदामा ‘निकासी पैठारी गर्ने व्यक्तिले निकासी पैठारी गर्ने प्रयोजनका लागि विभागले तोकेको मितिदेखि लागू हुने गरी अनिवार्य संकेत नम्बर लिनु पर्नेछ’ भन्ने उल्लेख छ । सो प्रयोजनका लागि ‘निकासी पैठारी संकेत नम्बर प्रदान गर्नेसम्बन्धी कार्यविधि २०७३’ अनुसार कार्य सम्पादन  अगाडि बढाइएको भण्डारीले बताए । यो व्यवस्था लागू भएपछि भारतीय बन्दरगाहबाट नेपाल सामान ल्याउन र यहाँबाट निर्यात गर्दा लाग्ने समय छोटो हुने छ । एक्जिम कोड लागू भएपछि निकासी पैठारी गर्दा वैदेशिक व्यापारलाई प्रर्बद्धन, निकासी पैठारीको कार्य पारदर्शी, व्यवस्थित र सरलीकृत एवम् अनधिकृत व्यापार र अस्वस्थ प्रतिस्पर्धा निरुत्साहित र नियन्त्रण गर्न सहयोग पुग्छ । साथै अतिरिक्त कारोबारमा प्रयोग हुने कागजको संख्या घटाउन र नेपालको अन्तर्राष्ट्रिय व्यापारको अभिलेख अद्यावधिक गर्न पनि सहयोग पुग्नेछ । आगामी आव देखि एक्जिम कोड लागू गर्ने गरी सबै तयारी विभागले गरिरहेको छ । कोर्ड लागू गर्नका लागि विभागले सरोकारवालाहरूसँग छलफलसमेत गरिरहेको छ । व्यवसायीले एक्जिम कोड सहज ढंगले लिनसक्ने भएकाले कार्यान्वयनमा समेत सहजता आउने भण्डारीले बताए । यसको व्यवस्थाबाट प्रत्येक आव शुरू हुनुअघि सबै कुरा ‘सिष्टम’बाटै अद्यावधिक गर्न सकिनेछ भने बैंक जमानत पेश गरेको आधारमा १ वा ५ वर्ष अवधिका लागि नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ । यस्तो कोड स्थायी प्रकृतिको हुने र स्थगन वा खारेज नभएसम्म कायम रहने पनि कार्यविधिमा उल्लेख गरिएको छ । यसबारे उद्योगी तथा व्यवसायीलाई जानकारी दिन देशका विभिन्न भागमा स्थानीय उद्योग वाणिज्य संघसँग मिलेर कार्यक्रम सञ्चालन गरिरहेको भण्डारीले बताए ।  भारतलगायत विश्वका विभिन्न मुलुकमा यसअघि नै एक्जिम कोड लागू भइसकेको छ । व्यवसायीकै पान नम्बरबाट भन्सार जाँचपास भएको हेर्न सकिने तथा निकासी पैठारीको आफ्नो विवरण जहिले पनि हेर्न सक्नेछन् ।

सिँचाइका लागि ३९ लाख अनुदान उपलब्ध गराउने, १५५ किसानले दिए आवेदन

भद्रपुर। जिल्ला कृषि विकास कार्यालयले साना सिँचाइ योजनाका लागि ७५ कृषकलाई ३९ लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ । चालु आवको स्वीकृत नीति तथा कार्यक्रमअनुसार वितरण गरिने सो रकमका लागि जिल्लाभरिका १५५ किसानले आवेदन दिएका थिए । कृषकको समूहले प्राप्त गर्ने सो रकम सिँचाइका लागि प्रयोग गरिने छ । कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत प्रकाश डाँगीले उक्त अनुदान अति सुक्खा प्रभावित क्षेत्र, अधिकांश कृषक समूह सदस्यलाई लाभ पुग्ने गरी, समावेशी समूह, दैवी प्रकोपबाट क्षतिग्रस्त सिँचाइ आयोजना, जनसहभागिता बढी जुटाउने तथा गत आवमा अनुदान सहयोग नपाएकालाई प्राथमिकता दिएर उपलब्ध गराएको बताए । जिल्ला कृषि विकास समितिको बैठकबाट उक्त निर्णय गरिएको हो । यसैगरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपर जोन-धान क्षेत्रअन्तर्गत पथरिया, बालवाडी, बनियानी र केचनामा केन्द्र राखी घुम्ती प्रयोगशाला र माटो जाँच शिविर सञ्चालन गरिएको छ । माटो जाँचको परिणाम अनुसार कृषि चुनका लागि यस वर्ष सुपर जोन कार्यालयले चुन ढुवानीमा अनुदान दिने र अर्को वर्ष कृषि चुन नै उपलब्ध गराउने डाँगीले जानकारी दिए। रासस

जिरी विमानस्थल सञ्चालन सुस्तायो, अनुगमनको वर्ष दिनको प्रगति शून्य

दोलखा । दोलखाको पर्यटन विकासका लागि जिरी विमानस्थललाई पुनःसञ्चालनमा ल्याउने प्रस्ताव हालसम्म कार्यान्वयन हुन सकेको छैन । गत वर्ष फागुनमा विमानस्थल सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल क्षेत्र निरीक्षण गरी चाँडै सञ्चालनमा ल्याइने सपना देखाएपनि निरीक्षण गरेको वर्ष दिन पुगिसक्दा पनि प्रगति भने शून्य छ । यहाँको पर्यटन विकासका लागि निकै महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विमानस्थल पुनःसञ्चालनका लागि जिरीवासीले पटकपटक प्राधिकरणसँग अनुरोध गरेका थिए । लामो समयको प्रयासपछि २०७२ फागुन १९ गते प्राधिकरणका निर्देशक ध्रुवदास योक्षिमयो, वरिष्ठ अधिवक्ता योगेन्द्रराज शर्मा र दोलखा क्षेत्र नं १ का सांसद पार्वत गुरुङसहितको टोलीले गौचरणको रुपमा रहेको जिरी विमानस्थल निरीक्षण गरेको दुई महिनापछि प्राधिकरणले सर्भेक्षणका लागि तीन इञ्जिनियरको टोली जिरी पठाएको थियो । टोलीले विमानस्थल रहने क्षेत्रको एक सातासम्म सर्भेक्षण गरेर राजधानी फर्केपछि जिरी विमानस्थल पुनः सञ्चालनको विषय अघि बढेको छैन । सो विमानस्थल सञ्चालनमा ल्याउन सकिए जिरीको पर्यटन विकासका साथै होटल व्यवसाय समेत फस्टाउने स्थानीय होटल व्यवसायी सञ्जु शेर्पा बताउछन्। तीन दशक अघिसम्म नियमित रुपमा सञ्चालन हुँदै आएको विमानस्थल २०४२ सालमा सडक सञ्जाल विस्तार भएसंगै विस्थापित भएपछि गौचरणको रुपमा प्रयोग हुँदै आएकाले यसलाई पुनः सञ्चालनमा ल्याउन जिरीवासीले सम्बन्धित निकायमा पटकपटक घच्घचाउने काम गरे पनि सुनुवाइ हुन सकेको छैन । विमानस्थल सञ्चालन भए यहाँ उत्पादित खाद्य वस्तु खपत हुने भएकाले जिरीवासीको आर्थिक अवस्थामा समेत सुधार आउने अर्का होटल व्यवसायी विजय जिरेलको धारणा छ । सो विमानस्थलको जग्गाको जग्गा धनीपुर्जा नभएकै कारण सफल हुन नसकेको यहाँका बासिन्दाको भनाइ छ । रासस