मेगा बैंकको १४ प्रतिशत लाभांश र ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आर्थिक बर्ष २०७२/७३ को मुनाफाबाट सेयरधनीहरुलाई १४ दशमलब ६५ प्रतिशत सेयर लाभांश दिने भएको छ । बिहीबार सम्पन्न कम्पनीको छैटौं साधारणसभाले सेयरधनीलाई १३.९५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश दिने बैंकको प्रस्तावलाई पारित गरेको हो । साथै, उक्त सभाले ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । चालू आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासिक अवधिसम्म बैंकको कूल निक्षेप ३८ अर्ब ५२ करोड रुपैंया र कर्जा ३४ अर्ब १ करोड रुपैंया पुगेको छ । सो अवधिमा बैंकले ३७ करोड ९ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । हाल बैंकले ३९ वटा शाखा, १ एक्सटेन्सन काउण्टर, ४७ वटा एटिएम मेसिनहरु तथा ५८ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरुबाट बैंकिङ्ग सेवा दिँदै आइरहेको छ ।
मोबाइल बैंकिङ अपरिहार्य छ तर जाेखिमपूर्ण
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले अहिलेको समयमा मोबाइल बैंकिङ अपरिहार्य रहेपनि त्यसको जोखिम न्युनिकरण गर्न नसकिए गम्भिर समस्या आउन सक्ने दावी गरेका छन् । बिहिबार राजधानीमा मोबाइल बैंकिङका बारेमा आयोजना गरिएका कार्यशाला गोष्ठीमा केन्द्रिय बैंकको धारणा राख्दै उनले भने- ‘मोबाइल बैंकिङ अहिलेको अपरिहार्य आवश्यकता हो तर यसको उचित व्यवस्थापन गर्न सकिएन भने गम्भिर समस्या आउन सक्छ, हामी सचेत हुनुपर्छ ।’ डेपुटी गभर्नर श्रेष्ठले सेटलमेन्टको ग्यारेण्टी, दुरुपयोग रोक्ने संयन्त्र, सुरक्षा चुनौती, सम्पति सुद्धिकरणको खतरालाई पुर्व मुल्यांकन नगरि मोबाइल बैंकिङलाई तुरुन्तै अघि बढाउन नसकिने समेत स्पष्ट पारेका हुन् । ‘प्रबिधीमा आधारित मोबाइल बैंकिङमा उच्च जोखिम हुन्छ, हामीले सोच विचार नगरि हचुवाका भरमा अघि बढ्ने हो भने भोली गम्भिर दुर्घटनामा पर्न सकिन्छ, दुर सञ्चार प्राधिकरणले ठोस योजना ल्याएपछि मात्रै थप सेवा विस्तारका लागि लाइसेन्स दिन्छौं’, श्रेष्ठले भने । उनले मोबाइल बैंकिङका फाइदाहरु बारेमा भन्न भ्याएका थिए ।डेपुटी गभर्नर श्रेष्ठले पैसा छाप्ने लागत कम हुने, कर्मचारी संख्या थोरै लाग्ने, समयको बचत हुने, राजश्व संकलनमा वृद्धि हुने, कारोबार पारदर्शी हुने लगायतका कारण पनि मोबाइल बैंकिङलाई विस्तार गर्नुपर्ने धारणा राखे । श्रेष्ठले देशका दुर दराजका गाउँमा बैंकिङ पहुँच विस्तार गर्न तथा रेमिट्यान्स भुक्तानीलाई सहज बनाउन पनि यसको महत्व रहेको बताए । कार्यक्रममा नेपाल दुर सञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले मोबाइल बैंकिङ सेवामा सुरक्षाका सबै प्रबन्ध प्राधिकरणले मिलाउने प्रतिवद्धता व्यक्त गरेका थिए । त्यस्तै, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स संघका उपाध्यक्ष किशोर महर्जनले मोबाइल बैंकिङले ५ प्रतिशत लागत घटाउने दावी गरेका थिए । महर्जनले साना भुक्तानीका लागि आफुले नगद उपयोग गर्न छाडेर मोबाइल बैंकिङको उपयोग गरिरहेको बताएका थिए । उनले करिब शत प्रतिशत जनतामा मोबाइल सेवाको पहुँच पुगिसकेकाले तुरुन्तै मोबाइल बैंकिङ विस्तार गरेर जनतामा सहज वित्तिय पहुँच पुर्याउनु पर्नेमा जोड दिएका थिए ।
एभरेष्ट बैंकले घटायो निक्षेपको ब्याजदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले ल्याएको निर्देशन अनुसरण गर्दै एभरेष्ट बैंकले निक्षेपको व्याजदर समायोजन गरेको छ । बैंकले वर्तमान तरलताको परिस्थितिलाई मध्यनजर गरी उपयुक्त वातावरण सृजनाका लागी निक्षेपको व्याजदर समायोजन गरेको हो । शुरुवातको लागी बैंकले अधिकत्म ब्याजदर भएको मुद्दती खातामा ०.५० प्रतिशतले घटाएको छ । साथै, नेपाल राष्ट्र बंैकको निर्देशन बमोजिम बैंकले कल खाताहरुको ब्याजदर पनि क्रमशः घटाउदै लगेको छ । यसरी बचतमा ब्याज घटाउदा, व्यावसायी/उद्योगीहरुले उचित ब्याजदरमा कर्जा पाउन मद्दत पुग्ने बैंकले जनाएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ६० वटा शाखाहरु, ६ एक्सटेन्सन काउन्टर, २५ राजश्व संकलन काउन्टर र ८६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
थपिए तीन क्लियरिङ बैंक
काठमाडौं । सिडिएस एन्ड क्लियरिङले तीन वटा नयाँ क्लियरिङ बैंक थपेको छ । नेपाल स्टक एक्सचेन्जको संचालक समितिबाट स्वीकृत मापदण्ड र मुल्यांकन तालिका अनुसार सिडिएसले नेपाल इन्भेस्टमेन्ट बैंक, सिद्धार्थ बैंक र प्रभु बैंकलाई क्लियरिङ बैंकका रुपमा छनौट गरिएका सिडिएसका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले विकासन्युजलाई जानकारी दिए । थपिएका क्लियरिङ बैंकहरुले चाँडै राफसाफको काम अघि बढाउने पनि उनले बताए । थप तीन वटा क्लियरिङ्ग बैंक नियुक्त गर्न सिडिएस एन्ड क्लियरिङ लिमिटेडले सूचना प्रकाशित गरी आशयपत्र माग गरेको थियो । सानिमा बैंक, बैंक अफ काठमान्डु, नबिल बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, प्रभु बैंक, एनआइसी एसिया बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, सिद्धार्थ बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, सनराइज बैंक, एभरेस्ट बैंक र एनबी बैकलेआशयपत्र पेश गरेका थिए । आवेदन दिएका बैंकहरुमध्येबाट तीन वटा बैंक छनौट भएका हुन् । अब क्लियरिङ बैंकको संख्या चार वटा पुगेको छ । यसअघि ग्लोबल आइएमई बैंकले मात्रै क्लियरिङ बैंकको काम गर्दै आएको थियो । शाखा सञ्चाल, प्रबिधी, धेरै चुक्ता पुँजी, आश्वा प्रणालीको सदस्यता, डिपी लाईसेन्स प्राप्त गरेको, सरकारी कारोबार गरेको लगायतका मापदण्डका आधारमा तीन वटा बैंकले क्लियरिङ बैंकको सेवा सञ्चालन गर्न पाएका हुन् ।
केयुकेलको अध्यक्षमा घनश्याम भट्टराई
काठमाडौं। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेल) का अध्यक्षमा खानेपानी तथा सरसफाइ मन्त्रालयका सहसचिव एवम् लिमिटेड सञ्चालक समितिका सदस्य घनश्याम भट्टराई नियुक्त भएका छन् । समितिको बिहीबार बसेको बैठकले सर्वसम्मतरुपमा भट्टराईलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सो मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले जानकारी दिए । लिमिटेडका अध्यक्ष सुरेशकुमार बस्नेतले पदबाट दिएको राजीनामा समितिको बोर्डले स्वीकृत गर्दै रिक्त पदमा सहसचिव भट्टराईलाई नियुक्त गरिएको हो । रासस
एनबिआइले शुरु गर्यो दीक्षान्त समारोह, बैंकका कर्मचारीको क्षमता बृद्धि गर्ने
काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबिआइ) ले नेपालमै पहिलो पेशागत बैंकिङ्ग सर्टिफिकेसन कोर्स सम्बन्धि दीक्षान्त समारोह आयोजना गरेको छ । समारोहको उद्धघाटन तथा उत्र्तिण परिक्षार्थीलाई राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवि नेपालले प्रमाण पत्र वितरण गरेका थिए । कोर्षअन्तर्गत प्रिन्सिपल अफ बैंकिङ, एकाउन्टिङ एण्ड फाइनान्स फर बैंकर्स एण्ड लिगल एण्ड रेगुलेटरीजस्ता पुस्तकहरु पेशागत बैंकिङ कर्मचारीलाई अध्ययन गराइने कम्पनीले जनाएको छ । एनबिआइले बर्षको दुई पटक यस्तो कोर्षको परीक्षा लिने ब्यवस्था गरेको छ । करिव एक हजारभन्दा बढि कर्मचारीले परीक्षाका लागि नाम दर्ता गराएका कम्पनीले बताएको छ । एनबिआइका प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले बैंकले आफ्ना कर्मचारीको क्षमता अभिबृद्धि गर्नका लागि कोर्षको निक्कै महत्वपूर्ण भूमिका हुने बताएका छन् ।
राधी विद्युत कम्पनीले आयोजना प्रभावितका लागि चार लाख कित्ता आइपीओ निष्कासन गर्ने
काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले लमजुङका आयोजना प्रभावितका लागि ४ लाख कित्ता १० हजार कित्ता साधारण सेयर(आइपीओ) निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीको निवेदन अनुसार बिहीबार नेपाल धितोपत्र बोर्डले सो मात्राको सेयर निष्कासन गर्न कम्पनीलाई अनुमति दिएको हो । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको ४ करोड दश लाख रुपैयाँ बराबरको सेयर आयोजना प्रभावित लमजुङ बासीहरुलाई बिक्री गर्नेछ । त्यसपश्चात कम्पनीले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने बताएको छ ।
नेपाल बंगलादेश बैंकको चैत १७ गते बुक क्लोज, ८० प्रतिशत हकप्रद निष्कासन गर्ने
काठमाडौं । नेपाल बंगलादेश बैंकको चैत १७ गते बुक क्लोज हुने भएको छ । सो दिन बैंकले आफ्ना सेयरधनीहरुलाई ८० प्रतिशत (अर्थात १० बराबर ८ को अनुपातमा) हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । उक्त निणर्य बैंकको सञ्चालक समितिको बैठकले गरेको हो । बैंकले अंकित मूल्य १०० रुपैयाँ बराबरको ३ करोड २० लाख ९४ हजार कित्ता हकप्रद निष्कासन गर्ने भएको छ । हाल बैंकको बिक्री प्रवन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्दै आएको बैंकले जनाएको छ । हाल बैंकको चुक्ता पूँजी ४ अर्ब १ करोड रुपैयाँ रहेको छ । बोनस बाहेक सो मात्राको हकप्रद पश्चात बैंकको पूँजी करिब ७ अर्ब २२ करोड रुपैयाँ नाग्ने छ । पछिल्लो समय बैंकको सेयर मूल्य प्रतिकित्ता ६५१ रुपैयाँ रहेको छ ।