९० प्रतिशत ठेक्का सरकारकै कारण अलपत्र छन्

ठेकेदारलाई तर्साउँदैमा आयोजना अगाडि बढ्दैनन्

निर्माण क्षेत्रका समस्या, सरकारी नीतिगत कमजोरी, रूग्ण आयोजना र व्यवसायीमाथि सरकराको धरपकड हुने कारबाही अहिले बहसका प्रमुख विषय बनेका छन् । सरकारले सार्वजनिक खरिद ऐन संशोधन गर्दै ठेक्का प्रक्रियालाई व्यवस्थित बनाउने प्रयास गरे पनि जग्गा प्राप्ति, वन क्षेत्रको स्वीकृति, निर्माण सामग्रीको मूल्यवृद्धि, समयमा भुक्तानी नहुनु र श्रमिक अभावजस्ता समस्या अझै कायम छन् । निर्माण व्यवसायीहरूले रूग्ण आयोजनामध्ये करिब ९० प्रतिशत आयोजना सरकारकै कमजोरीका कारण अलपत्र परेको दाबी गर्दै आएका छन् । अर्कोतर्फ, व्यवसायीको ढिलासुस्ती र क्षमताभन्दा बढी ठेक्का लिने प्रवृत्तिमाथि पनि प्रश्न उठिरहेका छन् ।

यिनै विषयमा केन्द्रित रहेर निर्माण व्यवसायीको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघका महासचिव शिवहरि घिमिरेसँग गरिएको कुराकानीको सम्पादित अशः

करिब दुई तिहाइ बहुमतको सरकारले सात महिनामा गरेका निर्णयबाट लामो समयदेखि सुस्ताएको निर्माण क्षेत्र कति उत्साहित वा निरुत्साहित छ ?

सरकारले हाम्रो माग र आवश्यकताअनुरूप निर्णय गरोस् भन्ने हाम्रो चाहना हो । हामीले उठाउँदै आएको सबैभन्दा ठूलो विषय सार्वजनिक खरिद ऐन संशोधनको थियो । लो बिडमा ठेक्का लिनुपर्ने, एउटै निर्माण व्यवसायीले धेरै ठेक्का लिन सक्ने ऐनको व्यवस्था संशोधन गर्नुपर्ने थियो । 

एउटा कम्पनीले धेरै आयोजनामा हात हाल्दा धेरै आयोजना रूग्ण बन्दै गएका थिए । सरकारले सार्वजनिक खरिद ऐन संशोधन गरेर अहिले पाँचवटा भन्दा बढी ठेक्का लिन नपाउने व्यवस्था गरेको छ । यो सकारात्मक हो । सरकारले सार्वजनिक खरिद ऐन संशोधन गरेर ल्याएको व्यवस्थालाई हामीले स्वागत गरेका छौं ।

आयोजना आह्वान गर्नुअघि जग्गा प्राप्ति, वन स्वीकृति र अन्य पूर्वतयारी पूरा हुनुपर्नेमा ठेक्का लागेपछि पनि एउटा पोल सार्न वा रुख काट्न नसक्दा आयोजना रूग्ण बन्ने अवस्था छ । नयाँ सरकारले यो समस्या समाधान गर्न के सुधार गरेको छ ?

निर्माण क्षेत्रमा सबैभन्दा ठूलो समस्या नै पूर्वतयारी नहुनु हो । कतै जग्गा प्राप्ति भएको हुँदैन । जहाँबाट निर्माण सामग्री निकाल्छौं भनिएको हुन्छ त्यहाँ स्थानीय सरकारले रोक लगाएको हुन्छ । ढल, खानेपानीका पाइप हामीले चलाउन मिल्दैन । वन क्षेत्रको स्वीकृति नहुँदा रुख काट्न सकिँदैन । 

एउटा रुख काट्नका लागि पनि लामो प्रक्रिया पूरा गर्नुपर्ने अवस्था छ । फास्ट ट्र्र्याक निर्माण गर्दा नेपाली सेनाले समेत यस्ता समस्या भोग्नुपरेको छ । सेनालाई त यति धेरै कठिनाइ छ भने निजी क्षेत्रका निर्माण व्यवसायीलाई कति समस्या होला ? त्यसैले सरकारले जग्गा प्राप्ति, वन क्षेत्रको स्वीकृति, विद्युत् पोल स्थानान्तरण र अन्य आवश्यक पूर्वाधारको व्यवस्थापन गरेर मात्रै ठेक्का आह्वान गर्नुपर्छ । सबै तयारी पूरा भएपछि पनि व्यवसायीले काम गरेन भने बल्ल व्यवसायी दोषी हुन् । अहिलेपनि केही व्यवसायीले नियतबस नै काम नगरेको अवस्था पनि हो । 

null

शिवहरि घिमिरे ।

यी सबै समस्या समाधान गर्न सरकारले ‘सनसेट ल’ मार्फत विभिन्न कानुनका समस्या समाधान गर्ने चर्चा गरेको थियो । त्यो विषय चर्चामै सीमित बन्यो कि केही काम हुँदैछ ? 

निर्माण क्षेत्रको समस्या समाधानका लागि ‘सनसेट ल’ आवश्यकता हो । सरकारले यस विषयमा छलफल गरेर कानुन निर्माणसँगै संशोधन गर्ने बताए पनि लामो समय भइसकेको छ, जुन सुस्ताएको जस्तो देखिन्छ । सनसेट ल कार्यान्वयनमा आयो भने निर्माण क्षेत्रका धेरै समस्या एकैपटक समाधान हुन सक्छन्, निर्माणाधीन आयोजनाहरूले गति लिन्छन् । यो छिटो बनिदिए हुन्थ्यो भन्ने हाम्रो माग हो ।
 
सरकारले श्रमिकको पारिश्रमिकसँगै उनीहरूलाई सामाजिक सुरक्षा कोष जोड्नुपर्नेमा कार्यविधि नै जारी गर्यो । जसलाई लिएर निर्माण व्यवसायीले विरोध जनाइरहेका छन् । के यो निर्णय वैज्ञानिक छैन ? 

सरकारले १७ सय रुपैयाँ ज्याला निर्धारण गरेको छ । विगतमा सरकारले मजदुरको ज्याला ७५० देखि ८०० रुपैयाँ तोकेको छ । तर हामीले अहिले श्रमिकलाई १ हजारदेखि १ हजार ५०० रुपैयाँसम्म क्षमता र अनुभवका आधारमा दिइरहेका छौं । ज्याला दोब्बरले बढाउँदा समस्या आएको हो । प्राविधिक, इन्जिनियर, सुपरभाइजर र दक्ष तथा अदक्ष श्रमिकको पारिश्रमिक पनि फरक–फरक छ । त्यसैले सबै श्रमिकलाई एउटै आधारमा राखेर निर्णय गर्न मिल्दैन । 

सामाजिक सुरक्षा कोषमा लैजानुअघि सरकारले आवश्यक अध्ययन गरेर कार्यान्वयनयोग्य व्यवस्था बनाउनुपर्ने थियो । त्यो भएन । सरकारले १० प्रतिशत योगदान गरिदिने र व्यवसायीले १० प्रतिशत थप्ने विषयमा हाम्रो असहमति छैन । तर समस्या आधारभूत पारिश्रमिक निर्धारणमा छ । अहिले तोकिएको आधार नै अत्यधिक उच्च छ । त्यसलाई नेपाली निर्माण क्षेत्रले धान्न सक्छ कि सक्दैन भन्ने अझै पनि अध्ययन हुनुपर्छ । 

हामी श्रमिकको सामाजिक सुरक्षाको विपक्षमा छैनौं । तर निर्माण क्षेत्रका श्रमिकलाई मात्रै लक्षित गरेर यस्तो व्यवस्था गर्नु हुँदैन । राज्यले सबै क्षेत्रका श्रमिकलाई समान रूपमा सामाजिक सुरक्षाको दायरामा ल्याउनुपर्छ । अहिलेको व्यवस्था अझै वैज्ञानिक र व्यावहारिक बनाउन आवश्यक छ ।

सरकारले अहिले धमाधम ठेक्का सम्झौता रद्द गर्दै कम्पनीहरूलाई कालोसूचीमा राखेको छ । केही निर्माण व्यवसायीले सरकारको उक्त व्यवहार र नीतिका कारण काम गर्न नसक्ने अवस्था आएको गुनासो गरिरहेका छन् । वास्तवमा ठेक्का रूग्ण हुनुमा को दोषी ?

केही व्यवसायी काम नगर्ने नै नियतका पनि छन् । त्यस्तो ८/१० प्रतिशत होला । तर अहिले रूग्ण भएका ठेक्कामध्ये करिब ९० प्रतिशत ठेक्का नेपाल सरकारकै कारणले प्रभावित भएका हुन् । जग्गा प्राप्ति नभएको, उपयोगिता सेवा स्थानान्तरण नभएको, रुख नहटाइएको, समयमा भुक्तानी नभएको र भेरिएसन अर्डर स्वीकृत नभएका कारण समस्या भएको हो । 

विशेषगरी कोभिडपछि निर्माण व्यवसायी झनै समस्यामा परे । ९–१० महिनासम्म काम गर्न नसक्ने अवस्था आयो । बैंकको ब्याजदर ७ प्रतिशतबाट बढेर १६–१७ प्रतिशतसम्म पुग्यो । काम गरिसकेपछि पनि समयमा भुक्तानी नपाउने समस्या रह्यो । यस्ता कारणले व्यवसायी आर्थिक रूपमा कमजोर हुँदै गए । 

निर्माण व्यवसायीले पनि कमजोरी गरेका छन् । कतिपयले क्षमताभन्दा बढी ठेक्का लिए । पेस्कीको दुरुपयोग पनि भएको छ । त्यसलाई हामीले स्वीकार गर्नुपर्छ । 

सरकारले पाँचवटाभन्दा बढी ठेक्का लिन नपाउने व्यवस्था गर्नु राम्रो हो । तर पुराना करिब ९० प्रतिशत ठेक्का नेपाल सरकारकै कारणले प्रभावित भएका हुन् । ग्ण आयोजनाका हकमा एकपटकका लागि सुविस्ताको आधारमा ठेक्का अन्त्य गर्ने व्यवस्था गर्नुपर्छ । सरकारका कारण काम हुन नसकेको अवस्थामा व्यवसायीलाई कालोसूचीमा नराख्ने र बैंक ग्यारेन्टी जफत नगर्ने व्यवस्था हुनुपर्छ । 

व्यवसायीका कारण काम हुन नसकेको अवस्थामा भने कार्यसम्पादन जमानत लिएर आवश्यक कारबाही गर्न सकिन्छ । सबैलाई एउटै डालोमा राखेर कारबाही गर्नु उचित हुँदैन ।

सरकार र सर्वसाधारणले त तपाईंहरूकै लापरबाही हो भन्छन् नि ?

सर्वसाधारणलाई ठेक्काको वास्तविक समस्या थाहा हुँदैन । ठेक्का लिएपछि काम गर्नुपर्छ भन्ने अपेक्षा हुनु पनि सही हो । तर ठेक्का किन रोकियो भन्ने विषय वेवास्ता गरेर दोषी करार गरिनु हुँदैन । काम नगरे निर्माण व्यवसायीलाई कारबाही हुनुपर्छ । तर सरकारले जग्गा उपलब्ध नगराएको, भुक्तानी नदिएको वा आवश्यक स्वीकृति नदिएको अवस्थामा व्यवसायीलाई मात्रै दोष दिन मिल्दैन । 

निर्माण व्यवसाय भनेको सामान्य व्यापार होइन, यो प्राविधिक र इन्जिनियरिङ पेसा हो । यसलाई टिकाइराख्न सरकारले काम गर्ने वातावरण बनाउनुपर्छ ।

तपाईंहरू सरकारबाट सहयोग चाहेको बताइरहनुभएको छ । तर, सरकारले निर्माण व्यवसायी र कर्मचारीमाथि पक्राउ तथा धरपकड गरिरहेको छ । यसले निर्माण क्षेत्रलाई कति त्रसित बनाइरहेको छ ?

हाम्रा केही साथीहरूलाई अनावश्यक रूपमा धरपकड गरिएको छ । व्यवसायीलाई पक्राउ गरेर मन्त्रीकहाँ पुर्याउँदैमा आयोजना अगाडि बढ्दैनन् । निर्माण क्षेत्र तंग्रिदैँन । निजी क्षेत्रबिना विकास सम्भव छैन । सरकार र निजी क्षेत्र विकासका दुई महत्त्वपूर्ण साझेदार हुन् । दुवै पक्ष सँगसँगै अघि बढ्नुपर्छ ।

हामी पनि पूर्ण रूपमा सही छौं भन्ने होइन । व्यवसायीले पनि धेरै ठेक्का लिने, पेस्कीको दुरुपयोग गर्ने र समयमा काम नगर्ने कमजोरी सुधार्नुपर्छ । कर्मचारी र निर्माण व्यवसायीबीच समन्वय भएन भने विकास निर्माण अघि बढ्न सक्दैन ।

null

नयाँ सरकार बनेसँगै निर्माण क्षेत्रमा  र काम गर्ने वातावरणमा परिवर्तन महसुस गर्नुभएको छ ?

सरकार गठनको केही समय फरकपन पाएकै हौं । हिजो आज अवस्था फेरि उस्तै बनेको छ । कर्मचारीतन्त्रमा हुने ढिलासुस्ती र अनियमितताका विषयमा सुधार आवश्यक छ । बजट निकासा हुन्छ कि भन्दैमा निर्माण व्यवसायीले पनि गलत अभ्यासलाई प्रोत्साहन गर्नु हुँदैन । हामीले आफ्ना सदस्यलाई विज्ञप्ति र सर्कुलरमार्फत सचेत गराएका छौं । यो विषय आजको भोलि समाधान हुने विषय पनि होइन । 

निर्माण क्षेत्रमा अहिले श्रमिक अभाव पनि ठूलो समस्या बनेको छ । सरकारले पारिश्रमिक बढाउँदा यो समस्या समाधान हुन सक्छ ?

श्रमिक अभाव हुनुका धेरै कारण छन् । पहिलो कुरा, निर्माण क्षेत्रमा नियमित काम हुन सकेको छैन । वर्षायाम, चाडपर्व र आयोजनामा हुने ढिलाइले श्रमिकले नियमित रोजगारी पाउन सकेका छैनन् । निर्माण व्यवसायीले नै समयमा भुक्तानी पाएका छैनन् । सरकारले हामीलाई तीन महिना, छ महिना वा कहिलेकाहीँ एक वर्षसम्म पनि भुक्तानी गर्दैन । 

यस्तो अवस्थामा हामीले श्रमिकलाई नियमित पारिश्रमिक दिन कठिन हुन्छ । विदेशमा श्रमिकले सात दिन वा १५ दिनमा पारिश्रमिक पाउने व्यवस्था छ । नेपालमा पनि मासिक रनिङ बिल र नियमित भुक्तानी प्रणाली लागू गर्नुपर्छ । 

सरकारले निर्माण व्यवसायीलाई समयमा भुक्तानी दिन सक्यो भने श्रमिकले पनि समयमा पारिश्रमिक पाउँछन् । यस्तै, दक्ष जनशक्तिको अभाव छ । श्रमिकलाई आवश्यक तालिम र सीप विकासका कार्यक्रम सञ्चालन गर्नुपर्छ । रोजगारी नियमित नहुँदा धेरै श्रमिक विदेशिएका छन् । सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर श्रमिकको सीप विकास र रोजगारी सिर्जना गर्नुपर्छ ।

ह्याकिङ र मिलेमतोका विषय उठेपछि अहिले सरकारले ठेक्का प्रक्रियामा ईजीपी प्रणालीलाई पनि सुधार गरेको छ । यसले निर्माण क्षेत्रमा पारदर्शिता र प्रतिस्पर्धा बढाउन कत्तिको सहयोग गर्छ ?

अहिले सरकारले नयाँ ईजीपी प्रणाली सञ्चालनमा ल्याएको छ। यो सकारात्मक प्रयास हो। सार्वजनिक खर्च र पुँजीगत खर्चको ठूलो हिस्सा निर्माण क्षेत्रमा हुने भएकाले प्रणाली सुरक्षित, पारदर्शी र दिगो हुनुपर्छ । नयाँ प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्न सके यसले ठेक्का प्रक्रियामा पारदर्शिता बढाउनेछ ।

निर्माण सामग्रीको मूल्य बढ्दा व्यवसायीलाई ठूलो समस्या परेको छ । सरकारले मूल्य समायोजनको व्यवस्था गरेको छ । यसले कत्तिको राहत दिन्छ ?

अन्तर्राष्ट्रिय द्वन्द्व र बजारको उतारचढावका कारण डिजेल, बिटुमिन, सिमेन्ट, डन्डी र पाइपजस्ता निर्माण सामग्रीको मूल्य अत्यधिक बढेको छ । उदाहरणका लागि, ७० रुपैयाँ पर्ने बिटुमिनको मूल्य १६० रुपैयाँसम्म पुगेको छ । डिजेलको मूल्य १३६ रुपैयाँबाट बढेर २२५–२२६ रुपैयाँसम्म पुग्यो । यस्तो मूल्यवृद्धि निर्माण व्यवसायीले मात्रै धान्न सक्दैनन् । 

नेपाल आयल निगमले डिजेलको मूल्य बढ्दा वा घट्दा समायोजन गरेजस्तै निर्माण सामग्रीको मूल्यमा पनि स्वचालित समायोजन प्रणाली आवश्यक छ । सरकारले अहिले मूल्य समायोजनको विषय सम्बोधन गर्न खोजेको छ । यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ ।

व्यवसायीलाई रुखमै बाधेर भएपनि आयोजना  पुरा गराउने प्रधानमन्त्री बालेन्द्र शाहको चुनावी नारा थियो । पूर्वाधारमन्त्रीले पनि त्यस्तै खालको अभिव्यक्ति दिनुभयो । यसरी काम गर्न सक्नुहुन्छ ? 

चुनावका बेला प्रधानमन्त्रीले जनतासामु गर्नुभएको प्रतिबद्धता हामीले पनि सुनेका छौं । उहाँ आफै प्राविधिक पृष्ठभूमिबाट आउनुभएको व्यक्ति भएकाले निर्माण क्षेत्रमा कहाँ–कहाँ समस्या छन् भन्ने बुझ्नुभएको होला । विद्युत् पोल स्थानान्तरणलगायत विषयमा मन्त्रीले कडा अभिव्यक्ति दिनुभएको थियो । तर समस्या समाधान गर्ने विधि कानुन र नीतिगत प्रक्रियाबाट हुनुपर्छ । 

खुट्टा भाँच्ने वा रुखमा बाँध्ने अभिव्यक्तिले विकास निर्माण सम्भव हुँदैन । विकसित देशले पनि त्यसरी पूर्वाधार निर्माण गरेका होइनन् । सरकारले व्यवसायीमैत्री कानुन र काम गर्ने वातावरण बनाउनुपर्छ । निर्माण सामग्री उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन गर्नुपर्छ । नदीजन्य तथा अन्य निर्माण सामग्रीको सहज र व्यवस्थित उपयोग गर्ने वातावरण बनाउनुपर्छ । 

तपाईंहरूले यही महिना पूर्वाधार सम्मेलन गर्दै हुनुहुन्छ । उक्त सम्मेलनबाट नेपालले कस्ता उपलब्धि हासिल गर्न सक्छ ?

यस विषयमा हामीले भौतिक पूर्वाधार, कानुन र अर्थ मन्त्रालयसँग छलफल गरेका छौं । हामीले अहिलेसम्म २३ वटा राष्ट्रिय प्राथमिकताका आयोजना सोकेस गरिसकेका छौं । बुढीगण्डकी जलविद्युत् आयोजना, निजगढ अन्तराष्ट्रिय विमानस्थल, काठमाडौं–तराई जोड्ने फास्ट ट्र्याक, काठमाडौं–पोखरा द्रुतमार्ग, बुटवल–पोखरा चार लेन सडक, सुरुङमार्ग र अपर अरुणजस्ता आयोजना प्राथमिकतामा छन् ।
 
त्यसैगरी, सहरी विकास, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रका आयोजना पनि समेटिएका छन् । सरकारले करिब ६९ वटा कानुनमा संशोधन र पाँच सय हाराहारीका दफामा परिवर्तन गर्ने प्रक्रिया अघि बढाएको छ । भारत हाम्रो नजिकको छिमेकी र महत्त्वपूर्ण विकास साझेदार हो । 

भारतसँगै चीनसँग पनि हाम्रो आर्थिक तथा पूर्वाधार सम्बन्ध जोडिएको छ । नेपालमा ठूला बहुराष्ट्रिय कम्पनी भित्र्याउन सकियो भने रोजगारी सिर्जना र पूर्वाधार विकासमा ठूलो फड्को मार्न सकिन्छ । जलविद्युत्, सडक, रेल, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा लगानी आवश्यक छ । भारत र चीन दुवै देशबाट लगानी र प्रविधि भित्र्याउन सकियो भने आगामी पाँचदेखि सात वर्षमा नेपालको विकासले नयाँ गति लिन सक्छ । 

समग्रमा वर्तमान सरकारप्रति निर्माण व्यवसायीहरू कत्तिको सन्तुष्ट छन् ? सरकारले निर्माण क्षेत्रलाई गति दिन सक्छ भन्ने विश्वास छ ?

सरकारले अहिले निर्माण क्षेत्रका समस्या समाधान गर्ने प्रयास गरिरहेको हामीले महसुस गरेका छौं । पहिलेको तुलनामा सरकारले निर्माण क्षेत्रलाई सकारात्मक रूपमा हेरेको पाएका छौं । मूल्य समायोजन, भुक्तानी प्रणाली र सार्वजनिक खरिद ऐन संशोधनजस्ता विषयमा भएका प्रयास स्वागतयोग्य छन् । 

अब रूग्ण आयोजनाको समस्या समाधान गर्नुपर्छ । पुराना आयोजनामा व्यवसायीलाई एकपटक काम गर्ने अवसर दिनुपर्छ । सरकारले आवश्यक पुँजीको व्यवस्था गरेर नियमित भुक्तानी गर्न सक्नुपर्छ । भौगोलिक अवस्था र जलवायु परिवर्तनका कारण आउने चुनौतीलाई पनि ध्यान दिनुपर्छ ।

Share News