५० वर्षपछि आयोजना भएको महायज्ञमा राष्ट्रपति पौडेल सहभागी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौंको जनबहालस्थित कनक चैत्य महाविहार (सेतो मच्छिन्द्रनाथ मन्दिर) परिसरमा ५० वर्षपछि आयोजना भएको महायज्ञमा सहभागी भएका छन् ।

जगत् कल्याण र शान्तिको कामनासहित आर्यावलोकितेश्वर सुधार समूहको आयोजनामा बिहीबारदेखि सुरु भएको महायज्ञको अन्तिम दिन शनिबार राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित सहभागी भएका हुन् ।

राष्ट्रपति पौडेलले सेतो मच्छिन्द्रनाथ मन्दिरको दर्शन गर्नुका साथै महायज्ञको हवनमा सहभागी भएर भेटीसमेत प्रदान गरेका थिए ।

महायज्ञमा अग्नि स्थापना, तोंछा पूजा, धर्मदेशना, स्वस्तिक वाचन तथा विभिन्न धार्मिक पूजापाठका विधि समावेश गरिएको आयोजकले जनाएको छ ।

आर्यावलोकितेश्वर सुधार समूहका अध्यक्ष निलकाजी शाक्यका अनुसार नेवाः बौद्ध तथा तान्त्रिक परम्परा, विशेषगरी बज्रयान बौद्ध परम्परामा ‘अयूता हुति महायज्ञ’ अत्यन्त दुर्लभ र महत्वपूर्ण मानिन्छ ।

काठमाडौं उपत्यकाका ऐतिहासिक विहारहरूमा यस्तो महायज्ञ तीन दिनसम्म विशेष तान्त्रिक विधि, पञ्चोपचार पूजा र गुठी समुदायको सहभागितामा सम्पन्न गर्ने परम्परा रहेको उनले बताए ।

कार्यक्रममा ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ, काठमाडौं महानगरपालिकाका कार्यवाहक नगरप्रमुख सुनिता डंगोललगायत विशिष्ट व्यक्तिहरूको सहभागिता थियो । 

Share News