गरिमा विकास बैंकको ‘गरिमा रोड रेस’ सम्पन्न, १ हजार ४०० भन्दा बढी धावक सहभागी

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘गरिमा रोड रेस २०८३’ सफलतापूर्वक सम्पन्न भएको छ । शनिबार आयोजित प्रतियोगितामा १ हजार ४०० भन्दा बढी धावक सहभागी भएका छन् ।

‘स्वस्थ जीवनशैलीका लागि खेलकुद’ भन्ने नारासहित बैंकले मंसिर ५ गते तेस्रो संस्करणको रोड रेस आयोजना गरेको हो । बैंकले आफ्नो १८औँ वार्षिकोत्सवदेखि यो प्रतियोगिता सुरु गरेको थियो ।

प्रतियोगितामा खुला र कर्पोरेट गरी दुई विधामा महिला र पुरुषका लागि छुट्टाछुट्टै प्रतिस्पर्धा आयोजना गरिएको थियो । खुला विधामा १० किलोमिटर तथा कर्पोरेट विधामा ५ किलोमिटर दौड समावेश थियो ।

खुला विधाको १० किलोमिटर दौडमा पुरुषतर्फ तीर्थकुमार पुनले ३१ मिनेट ५० सेकेन्डमा दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरे । महिलातर्फ राज्य रावलले ३९ मिनेट ५४ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जितिन् ।

त्यस्तै, कर्पोरेट विधाको ५ किलोमिटर दौडमा पुरुषतर्फ ईश्वर बुढाथोकीले १९ मिनेट २८ सेकेन्ड र महिलातर्फ दिव्या विष्टले २६ मिनेट ५७ सेकेन्डमा दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरे ।

खुला विधाको १० किलोमिटर दौडमा पहिलोदेखि पाँचौँ स्थान हासिल गर्ने धावकलाई क्रमशः ५० हजार, ३५ हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । उनीहरूलाई मेडल र प्रमाणपत्रसमेत प्रदान गरिएको बैंकले जनाएको छ ।

कर्पोरेट विधाको ५ किलोमिटर दौडमा पहिलोदेखि पाँचौँ हुनेलाई क्रमशः ३० हजार, २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार दिइएको थियो । विजेताहरूलाई मेडल र प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

कार्यक्रममा बैंकका अध्यक्ष दिलिप प्रताप खाँड, सञ्चालक समितिका सदस्य, पूर्व सञ्चालक, शेयरधनी, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय निकायका प्रतिनिधि, पत्रकार तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

बैंकले मंसिर ७ गते आफ्नो २०औँ वार्षिकोत्सवका अवसरमा देशका विभिन्न नौ स्थानमा बृहत् रक्तदान कार्यक्रमसहित संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको छ । 

Share News