काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शिक्षक तथा कर्मचारीको व्यावसायिक दक्षता अभिवृद्धि गर्न १ करोड २५ लाख रुपैयाँ बजेट स्वीकृत गरेको छ । विश्वविद्यालयको जनशक्ति विकास तथा कल्याण परिषद्को वार्षिक बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि विभिन्न नौ शीर्षकमा ७७५ शिक्षक तथा कर्मचारीलाई सेवाकालीन र सेवा प्रवेश तालिम सञ्चालन गर्ने कार्यक्रम पारित गरेको हो ।
कीर्तिपुरस्थित त्रिभुवन स्मृति भवनको सभाकक्षमा शिक्षाध्यक्ष प्रा.डा. अञ्जना सिंहको अध्यक्षतामा बसेको बैठकले विश्वविद्यालयको जनशक्तिलाई समयानुकूल दक्ष, प्रतिस्पर्धी र उत्पादनशील बनाउने उद्देश्यसहित वार्षिक कार्यक्रम तथा बजेट स्वीकृत गरेको हो ।
स्वीकृत कार्यक्रमअन्तर्गत त्रिवि सेवामा प्रवेश गर्ने शिक्षक तथा कर्मचारीलाई विश्वविद्यालयको संगठनात्मक संरचना, कार्यप्रणाली, आचारसंहिता, अधिकार र कर्तव्यबारे अभिमुखीकरण गरिनेछ । त्यस्तै, प्रशासनिक कर्मचारीका लागि आवश्यकता पहिचानमा आधारित क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिनेछ ।
यसैगरी, पदाधिकारी, क्याम्पस प्रमुख, विभागीय प्रमुख तथा प्रशासनिक नेतृत्वको व्यवस्थापकीय क्षमता विकास, कृत्रिम बुद्धिमत्ता (एआई), सूचना प्रविधि प्रणाली र कार्यालय सञ्चालनसम्बन्धी दक्षता अभिवृद्धिलाई पनि तालिमको प्राथमिकतामा राखिएको छ ।
बैठकमा परिषद्का अध्यक्षसमेत रहेकी शिक्षाध्यक्ष प्रा.डा. सिंहले विश्वविद्यालयका शिक्षक तथा कर्मचारीलाई थप दक्ष र प्रभावकारी बनाउँदै संस्थागत उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिइन् ।
त्यसैगरी, त्रिविका रजिस्ट्रार डा. रविन्द्र शिवाकोटीले विश्वविद्यालयको जनशक्तिलाई प्रतिस्पर्धी र गुणस्तरीय बनाउन आवश्यक स्रोत तथा साधनको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
त्रिवि समन्वय महाशाखाका प्रमुख तथा परिषद्का सदस्यसचिव दीपक तिवारीले ‘दक्ष जनशक्ति, सक्षम कार्यालय, गुणस्तरीय सेवा, प्रतिस्पर्धी एवं उत्कृष्ट विश्वविद्यालय’ भन्ने मूल भावनाका साथ वर्षैभरि तालिम, कार्यशाला र गोष्ठी सञ्चालन गरिने जानकारी दिए ।
उनका अनुसार सुशासन, कार्यालय व्यवस्थापन, समयानुकूल वृत्ति विकास र उपलब्ध स्रोतसाधनको अधिकतम सदुपयोगमार्फत शिक्षक तथा कर्मचारीको कार्यक्षमता र उत्पादकत्व बढाउने लक्ष्य राखिएको छ ।
बैठकमा विभिन्न अध्ययन संस्थानका डिन, क्याम्पस प्रमुख तथा महाशाखा प्रमुखलगायतको उपस्थिति रहेको थियो ।