काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व र आधिकारिकताको विवाद चर्किरहेका बेला सभापति शेरबहादुर देउवा पक्षले पनि पार्टीको १५औँ महाधिवेशन गर्ने तयारी तीव्र पारेको छ । देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी तीनवटा सार्वजनिक स्थल बुक गरेको छ ।
डा. शशांक कोइराला नेतृत्वको महाधिवेशन संयोजन समितिले महाधिवेशनका लागि काठमाडौंको खुलामञ्च, राष्ट्रियसभा गृह र भृकुटीमण्डपको बगैँचा प्रयोग गर्ने निर्णय गरेको हो ।
योजनाअनुसार महाधिवेशनको उद्घाटन र समापन समारोह खुलामञ्चमा हुनेछ । पदाधिकारी तथा केन्द्रीय सदस्य चयनका लागि मतदान राष्ट्रियसभा गृहमा गरिने केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव अमृत कार्कीले जानकारी दिए । उनले भने महाधिवेशन प्रतिनिधिका लागि खाना तथा खाजाको व्यवस्था भृकुटीमण्डपको बगैँचामा मिलाइनेछ ।
कार्कीले महाधिवेशन आयोजक समितिका नाममा मंसिर १९ देखि २३ गतेसम्मका लागि तीनवटै स्थान बुक गरिएको जानकारी दिए । देउवा पक्षले महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने दाबी गरेको छ । महाधिवेशनअघि कात्तिक १५ गते जिल्ला अधिवेशन गर्ने तयारीसमेत गरिएको कार्कीले जानकारी दिए ।
देउवा पक्षको यो तयारीसँगै नेपाली कांग्रेसमा एउटै महाधिवेशनका लागि दुईवटा समानान्तर प्रक्रिया अघि बढेका छन् । गगनकुमार थापा नेतृत्वको समूहले यसअघि नै असोज १८ देखि २२ गतेसम्म काठमाडौंको खुलामञ्चमा १५औँ महाधिवेशन सम्पन्न गरिसकेको छ । उक्त महाधिवेशनबाट गगन थापा सभापति र विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा निर्वाचित भएका थिए ।