प्रहरी भन्छ- आईजीपीको राजीनामाबारेको समाचार भ्रामक हो

काठमाडौं । नेपाल प्रहरीको संगठनलाई कमजोर बनाउने वा विवादमा तानेर सरकारविरुद्ध खेल्ने सोच बनाएका सीमित व्यक्तिहरूको चालबाजीविरुद्ध कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने प्रहरीले स्पष्ट पारेको छ । 

प्रहरी प्रवक्ता अविनारायण काफ्लेले एक विज्ञप्ति जारी गर्दै सार्वजनिक सुरक्षा, शान्ति अमनचयन कायम गर्न, अपराध नियन्त्रण गर्न तथा नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न प्रहरी संगठन सधैं प्रतिबद्ध र जिम्मेवार रहेको बताएका छन् । 

केही सञ्चारमाध्यममा ‘आईजीपी दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको’ भन्ने आशयका समाचार तथा टिप्पणीहरू आएकोप्रति नेपाल प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘संगठनको प्रतिष्ठा, व्यावसायिकता तथा कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजित रूपमा भ्रामक सूचना सम्प्रेषण गर्ने सीमित व्यक्तिहरूको चालबाजीलाई नेपाल प्रहरीले प्रचलित कानुनबमोजिम आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउनेछ ।’

पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीका रूपमा प्रस्तुत गर्दा आम नागरिकमा भ्रम, नकारात्मकता र सुरक्षा जोखिम सिर्जना हुने प्रहरीले जनाएको छ । 

नागरिकको सेवामा समर्पित संस्थाप्रतिको विश्वास र सांगठनिक निष्ठामा असर पर्न सक्ने भन्दै यस्ता अपुष्ट, तथ्यहीन एवम् स्वार्थकेन्द्रित सूचनाको पछि नलाग्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालाहरूलाई हार्दिक अनुरोध गरिएको छ ।

सरकारको नीति निर्देशनअनुसार नागरिकप्रतिको विधिसम्मत जिम्मेवारी निर्वाह गर्न नेपाल प्रहरी सदैव समर्पित रहेको उल्लेख गर्दै कुनै पनि प्रकारका भ्रामक प्रचार वा अनावश्यक दबाबबाट विचलित नहुन भनिएको छ । 

प्रहरीका सकल दर्जाका कर्मचारीहरूलाई उच्च मनोबलका साथ एकताबद्ध भएर काम गर्न निर्देशन दिँदै प्रहरीले आम नागरिकलाई आधिकारिक एवम् तथ्यमा आधारित समाचारमा मात्र विश्वास गर्न र जिम्मेवार सूचना सम्प्रेषणमा सहयोग पुर्याउन अपिल गरेको छ । 

Share News