काठमाडौं । नेपालले जलवायु परिवर्तनका कारण निम्तिएका विपद् र त्यसबाट उत्पन्न चुनौतीलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउन संयुक्त राष्ट्रसंघसँग सहकार्य बढाउने भएको छ ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र संयुक्त राष्ट्रसंघकी नेपालस्थित आवासीय संयोजक लिला पिटर्स याहियाबीच भएको भेटवार्तामा नेपालको जलवायुसम्बन्धी कार्यसूची, जलवायुजन्य विपद्का असर तथा अन्तर्राष्ट्रिय सहयोग विस्तार गर्ने विषयमा छलफल भएको छ ।
भेटमा मन्त्री चौधरीले ‘लिभिङ सगरमाथा : पर्वतीय कार्यसूची’ स्वीकृत भइसकेको जानकारी दिइन् । उनले आगामी अक्टोबर २९ मा आयोजना हुने राष्ट्रिय जलवायु शिखर सम्मेलनका अवसरमा उक्त कार्यसूची सार्वजनिक गरिने बताइन् ।
त्यस्तै, जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय ३१औं सम्मेलन (कोप–३१) मा नेपालले भोगेका जलवायुजन्य विपद्, तिनका असर र चुनौतीलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्न विशेष प्रदर्शनी कक्ष स्थापना गर्ने तयारीबारे पनि छलफल भएको छ ।
मन्त्री चौधरीले उक्त प्रदर्शनी कक्ष सञ्चालनका लागि आवश्यक खर्च व्यवस्थापनमा संयुक्त राष्ट्रसंघीय निकायहरूबाट सहयोगको अपेक्षा गरिएको बताइन् ।
उनले भोटेकोशी बाढीलगायत नेपालले भोगेका जलवायुजन्य विपद्का विषयलाई अन्तर्राष्ट्रियस्तरमा प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिइन् । त्यसका लागि सम्बन्धित सरकारी निकायहरूको सक्रिय प्रतिनिधित्व र सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।
यस विषयमा मन्त्रालयका सहसचिवले सम्बन्धित टोलीसँग समन्वय गरिसकेको जानकारीसमेत बैठकमा गराइएको थियो ।
बैठकमा कोप–३१ मा युवा पुस्ता, विशेषगरी जेन–जी युवा तथा सञ्चारकर्मीहरूको सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्ने विषयमा पनि छलफल भएको छ ।
उनीहरूको सहभागिताका लागि संयुक्त राष्ट्रसंघीय निकायहरूबाट आवश्यक सहयोग जुटाउने विषयमा कुराकानी भएको हो ।
त्यसैगरी, जलवायु परिवर्तनका असर न्यूनीकरण, नेपालले भोगेका जलवायुजन्य विपद्का अनुभव र चुनौतीलाई विश्व समुदायसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्ने विषयमा दुवै पक्षले जोड दिएका छन् ।
जलवायु परिवर्तनका चुनौती सामना गर्न सरकार, विकास साझेदार, संयुक्त राष्ट्रसंघीय निकाय तथा नागरिक समाजबीचको सहकार्य थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको थियो ।