काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निजामती सेवा तथा स्वास्थ्य सेवातर्फका रिक्त पदको विवरण तीन दिनभित्र पठाउन मातहतका निकायलाई निर्देशन दिएको छ ।
लोक सेवा आयोगको स्वीकृत वार्षिक कार्यतालिकाअनुसार निजामती सेवातर्फ राजपत्रांकित तृतीय श्रेणी तथा स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहका पदमा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले मन्त्रालयले रिक्त पदको विवरण माग गरेको हो ।
मन्त्रालयको प्रशासन तथा व्यवस्थापन शाखाले स्वास्थ्य सेवा विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, औषधि व्यवस्था विभागलगायत केन्द्रीय अस्पताल, प्रतिष्ठान र विभिन्न केन्द्रलाई पत्राचार गर्दै तीन दिनभित्र विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।
मन्त्रालयका अनुसार सम्बन्धित निकायले सेवा, समूह, उपसमूह, पद, स्वीकृत दरबन्दी, कार्यरत कर्मचारी संख्या र रिक्त पदको विवरण खुलाउनुपर्नेछ । यस्तै, बढुवा, अवकाश तथा अन्य कारणले रिक्त हुने पदको विवरणसमेत समावेश गरी पदपूर्तिका लागि आवश्यक माग संख्या र कैफियत उल्लेख गर्नुपर्नेछ ।