गगनपछि कांग्रेसका बाँकी पदाधिकारी र सदस्यले बिहीबार शपथ लिने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले शपथ लिइसके पनि बाँकी पदाधिकारी र केन्द्रीय सदस्यले भने बिहीबार मात्रै शपथ लिने भएका छन् ।

निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम कात्तिक १२ गते बिहीबार दिउँसो २ बजेका लागि तय गरेको छ । कार्यक्रम ललितपुरस्थित कांग्रेसको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा हुनेछ ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गर्दै शपथ ग्रहण समारोहको मिति, समय र स्थान निश्चित भएको जानकारी दिएका हुन् ।

काठमाडौंमा असोजको तेस्रो साता सम्पन्न १५औँ महाधिवेशनबाट थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो । सभापति थापाले यसअघि नै शपथ लिइसकेका छन् । तर, अन्य पदाधिकारी र केन्द्रीय सदस्यको शपथ हुन बाँकी रहेकाले बिहीबार औपचारिक रूपमा उनीहरूलाई जिम्मेवारी हस्तान्तरण गरिनेछ ।

निर्वाचन समितिका अनुसार शपथ ग्रहण समारोहमा नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्य सहभागी हुनेछन् । 

Share News