काठमाडाै । नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रोपटक एशिया कपमा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आईतवार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा एशिया कपमा छनोट गराउने टोलीलाई प्रोत्साहनस्वरूप ३० लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । उनले एशिया कपमा छनोट हुनु नेपाली क्रिकेटका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै खेलाडीलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने प्रयास भइरहेको बताए ।
विगतमा सिमित स्रोतसाधन र न्युन पारिश्रमिकका बाबजुद खेलाडीहरूले देशका लागि खेल्दै आएको स्मरण गर्दै उनले पछिल्लो समय खेलाडीलाई विभिन्न प्रतियोगिता र प्रायोजनमार्फत आर्थिक रूपमा सबल बनाउने प्रयास भइरहेको बताए । अध्यक्ष चन्दले सरकारले पनि एशियाली प्रतियोगितामा च्याम्पियन, दोस्रो र तेस्रो हुने टोलीलाई पुरस्कार दिने व्यवस्था गर्दै आएको भएपनि पछिल्लो समय केही कारणले खेलाडीले पुरस्कार पाउन नसकेको उल्लेख गरे । उनले क्रिकेटलाई प्राथमिकतामा राखेर पुरस्कारसम्बन्धी निर्णय गर्न सरकारसँग आग्रह गरे ।
उनका अनुसार नेपाली क्रिकेटले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय प्रगति गरिरहेको छ । नेपालले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता थप चार वर्षका लागि कायम राखेको र दोस्रोपटक एशिया कपमा छनोट भएको उल्लेख गर्दै उनले एकदिवसीय विश्वकप खेल्ने लक्ष्य हासिल गर्न खेलाडीहरू प्रयासरत रहेको बताए । चन्दले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाली क्रिकेटलाई सकारात्मक रूपमा लिएको उल्लेख गर्दै नेपालमै प्लेअफ क्वालिफायर आयोजना गर्ने अवसर पाउनु विश्वकपसम्म पुग्ने यात्राको एउटा महत्वपूर्ण कडी भएको बताए ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणबारे बोल्दै उनले प्रतियोगिता हरेक वर्ष थप व्यवस्थित र आकर्षक बन्दै गएको बताए । गभर्निङ काउन्सिल, क्यानका पदाधिकारी, जिल्ला तथा प्रदेश क्रिकेट संघ, सञ्चारमाध्यम, प्रायोजक र आठवटै फ्रेन्चाइज टोलीका मालिकहरूको योगदानले एनपीएल नेपाली क्रिकेटको ब्रान्डका रूपमा स्थापित हुँदै गएको उनको भनाइ छ । उनले एनपीएलमा उत्कृष्ट खेलाडीहरूको सहभागिता, डिसिजन रिभ्यु सिस्टम (डीआरएस) लगायतका प्रविधिको प्रयोग र आर्थिक कारोबारको विस्तारले प्रतियोगिताको स्तर बढाएको बताए ।