काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै भएका प्राकृतिक विपद्का घटनाले जलवायु परिवर्तनको असरलाई पुनः उजागर गरेको भन्दै नेपालको जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायसँग आग्रह गरेकी छन् ।
चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा चीनमा आयोजित सन् २०२६ को ग्लोबल गभर्नेन्स फोरम (स्योङआन) सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका असर न्यूनीकरण र जोखिममा रहेका मुलुकलाई न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताएकी हुन् । उनको सचिवालयले दिएको जानकारीअनुसार भण्डारीले विश्वव्यापी शासन प्रणाली र जलवायु न्यायबीच प्रत्यक्ष सम्बन्ध रहेको उल्लेख गरिन् ।
उनले हिमालय क्षेत्रलाई क्षेत्रीय जलचक्र, जैविक विविधता र पर्यावरणीय सन्तुलनसँग जोडिएको साझा प्राकृतिक सम्पदाका रूपमा व्याख्या गर्दै यसको संरक्षणमा जोड दिइन् ।
भण्डारीले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलनका लागि चीन, नेपाल, भारतलगायत हिमाली देशबीच मौसमसम्बन्धी तथ्याङ्क आदानप्रदान, हिमनदीको अनुगमन, पूर्वसूचना प्रणाली र विपद् प्रतिकार्यमा सहकार्य विस्तार गर्नुपर्ने बताइन् ।
त्यस्तै, जलवायु जोखिम न्यूनीकरणका लागि संयुक्त राष्ट्रसङ्घ तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट दीर्घकालीन र भरपर्दो सहयोग सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो । उनले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई थप सुदृढ बनाउन पनि आग्रह गरिन् ।
सम्बोधनका क्रममा भण्डारीले शक्ति केन्द्रित नभई अन्तर्राष्ट्रिय कानुनमा आधारित विश्वव्यवस्थाको आवश्यकता औँल्याइन् । सबै राष्ट्रको आवाजको सम्मान हुने तथा कमजोर र जोखिममा रहेका मुलुकका सरोकारले उचित स्थान पाउने व्यवस्था निर्माण गर्नुपर्ने उनले बताइन् । त्यसका लागि संयुक्त राष्ट्रसङ्घलाई समकालीन विश्वको विविधता र आकाङ्क्षा प्रतिबिम्बित गर्ने प्रभावकारी संस्थाका रूपमा सुदृढ बनाउनुपर्नेमा उनले जोड दिइन् ।
शान्ति र विकास एकअर्काका परिपूरक भएको उल्लेख गर्दै भण्डारीले गरिबी र भोकमरी अन्त्य, मानव कल्याण प्रवर्द्धन तथा हतियारको होडमा खर्च हुने स्रोतसाधनलाई विकासमा परिचालन गर्नु अन्तर्राष्ट्रिय समुदायको साझा दायित्व भएको बताइन् ।
उनले समावेशी, उत्थानशील र वातावरणमैत्री विकासका लागि सहकार्य प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्दै गरिबी न्यूनीकरण, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य, रोजगारी, सामाजिक न्याय र वातावरण संरक्षणलाई अन्तर्राष्ट्रिय सहकार्यका प्रमुख प्राथमिकता बनाउनुपर्ने धारणा राखिन् ।
पूर्वराष्ट्रपति भण्डारीले नेपाल–चीन सम्बन्ध प्राचीनकालदेखि सांस्कृतिक आदानप्रदान, बौद्ध दर्शन र जनस्तरको आत्मीयताबाट विकसित हुँदै आएको पनि बताइन् । विश्वमा देखिएका साझा चुनौतीको समाधान कुनै एक राष्ट्रको प्रयासबाट मात्र सम्भव नहुने भन्दै उनले संवाद, सहकार्य र सामूहिक प्रतिबद्धतामा जोड दिइन् ।
संयुक्त राष्ट्रसङ्घको बडापत्र, अन्तर्राष्ट्रिय कानुन र बहुपक्षीयतामा आधारित विश्वव्यवस्थाले अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा र विकासमा महत्त्वपूर्ण योगदान गरेको उल्लेख गर्दै उनले उक्त फोरमले विश्वव्यापी शासन प्रणालीलाई न्यायपूर्ण, समावेशी र प्रभावकारी बनाउने दिशामा सार्थक विमर्श अघि बढाउने विश्वास व्यक्त गरिन् ।
विश्वशान्ति, दिगो विकास र साझा समृद्धिका लागि सहकार्यका नयाँ अवसर सिर्जना गर्न पनि सम्मेलनले योगदान पुर्याउने अपेक्षा उनले व्यक्त गरिन् ।