काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै शुक्रबारदेखि आइतबारसम्म मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षा हुने सम्भावना रहेको जानकारी दिएका हुन् ।
उनका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने तथा एक–दुई स्थानमा अत्यधिक वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको उनले उल्लेख गरेका छन् ।
प्रधानमन्त्री शाहले मौसम प्रणालीको प्रभावका कारण पोखरा आसपास, लुम्बिनीका पहाडी र तराई क्षेत्र, ताप्लेजुङलगायत कोशीका हिमाली भूभाग, बागमतीका पहाडी जिल्ला, कर्णालीको जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा बाढी, पहिरो, डुबान र सडक अवरोधको जोखिम बढ्न सक्ने भन्दै विशेष सावधानी अपनाउन अनुरोध गरेका छन् ।
सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन उनले आग्रह गरेका छन् । विशेषगरी पानी परिरहेका बेला र रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न तथा नदी, खोला र पहिरोको जोखिम भएका क्षेत्रमा नजान उनले अनुरोध गरेका छन् ।
त्यस्तै, ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाएकाहरूलाई मौसममा सुधार नआएसम्म यात्रा स्थगित गर्न वा पुनर्विचार गर्न प्रधानमन्त्री शाहले सुझाव दिएका छन् ।
उनले मौसम विज्ञान विभाग र स्थानीय प्रशासनबाट जारी हुने अद्यावधिक सूचना नियमित रूपमा पालना गर्न तथा सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायलाई आवश्यक तयारी, समन्वय र पूर्वसतर्कता अपनाउन पनि आग्रह गरेका छन् ।