७१ अर्बका २ आयोजनाको प्रगति २ प्रतिशत, २०३० मा बिजुली उत्पादनको लक्ष्य

काठमाडौं । नौलो नेपाल हाइड्रो इलेक्ट्रिक प्राइभेट लिमिटेडले गोरखामा कुल ३२९.४ मेगावाट क्षमताका दुई जलविद्युत् आयोजना निर्माण गर्ने तयारी गरेको छ । कम्पनीले बूढीगण्डकी नदीको बहावमा क्रमिक रूपमा १०३.४ मेगावाटको बूढीगण्डकी ‘क’ र २२६ मेगावाटको बूढीगण्डकी ‘ख’ आयोजना निर्माण गर्न लागेको हो ।

दुवै आयोजना निर्माण तथा सञ्चालनका लागि निर्माण, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण अर्थात् बुट प्रणाली अपनाइनेछ । नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद सम्झौताअनुसार बूढीगण्डकी ‘क’ आयोजनाबाट सन् २०३० मार्च र बूढीगण्डकी ‘ख’ आयोजनाबाट सन् २०३० मेदेखि व्यावसायिक विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

दुवै आयोजना निर्माणका लागि कुल ७० अर्ब ९८ करोड ७० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाको वित्तीय व्यवस्थापन ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीबाट गर्ने योजना छ । यसअनुसार करिब ५० अर्ब रुपैयाँ ऋण र २० अर्ब ९८ करोड ७० लाख रुपैयाँ स्वपुँजीबाट जुटाउने प्रस्ताव गरिएको छ । ऋणतर्फको वित्तीय व्यवस्थापन भने अझै प्रक्रियामा रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार २०८३ भदौसम्म प्रवर्द्धकहरूले १५ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी र ९३ करोड ८० लाख रुपैयाँ अग्रिम सेयर पुँजीबापतको रकम लगानी गरिसकेका छन् । आयोजनाको निर्माण भने प्रारम्भिक चरणमै रहेको छ । २०८३ भदौ ९ गतेसम्म आयोजनाको वित्तीय प्रगति करिब २ प्रतिशत रहेको छ ।

१०३.४ मेगावाटको बूढीगण्डकी ‘क’ आयोजनाबाट वार्षिक ५४१.३७ गिगावाट घण्टा विद्युत् उत्पादन गर्ने लक्ष्य छ । यसको अनुमानित लागत २३ अर्ब २० करोड ९० लाख रुपैयाँ रहेको छ । त्यस्तै, २२६ मेगावाटको बूढीगण्डकी ‘ख’ आयोजनाबाट वार्षिक १ हजार २१४.०२ गिगावाट घण्टा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । यसको अनुमानित लागत ४७ अर्ब ७७ करोड ८० लाख रुपैयाँ रहेको छ ।

कम्पनीले दुवै आयोजनाबाट उत्पादन हुने विद्युत् बिक्रीका लागि २०८१ वैशाखमा नेपाल विद्युत् प्राधिकरणसँग दीर्घकालीन विद्युत् खरिद सम्झौता गरेको छ । सम्झौताअनुसार बूढीगण्डकी ‘क’ बाट वार्षिक ५४१.३७ गिगावाट घण्टा र बूढीगण्डकी ‘ख’ बाट १ हजार २१४.०३ गिगावाट घण्टा विद्युत् बिक्री गरिनेछ ।

विद्युत् खरिद सम्झौता ‘लिऊ वा भुक्तानी गर’ अर्थात् टेक अर पे प्रणालीमा आधारित छ । वर्षायाममा सम्झौता गरिएको कुल विद्युत्मध्ये १० प्रतिशत हिस्सा आरक्षित सीमाअन्तर्गत राखिएको छ । सम्झौता व्यावसायिक विद्युत् उत्पादन सुरु भएको मितिदेखि ३० वर्ष वा विद्युत् उत्पादन अनुमतिपत्रको वैधता अवधिमध्ये जुन पहिले समाप्त हुन्छ, त्यतिसम्म कायम रहनेछ । कम्पनीले २०८० माघमा ३२९.६० मेगावाट क्षमताका लागि ३५ वर्ष अवधिको विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गरेको हो ।

सम्झौताअनुसार वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा, सुख्खायामको उच्च मागको समयमा प्रतियुनिट १० रुपैयाँ ५५ पैसा र अन्य समयमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा विद्युत् दर तोकिएको छ । आधारभूत विद्युत् दरमा व्यावसायिक उत्पादन मितिबाट १२ महिना पूरा भएपछि प्रत्येक वर्ष ३ प्रतिशतका दरले आठ पटकसम्म मूल्य वृद्धि हुने व्यवस्था छ ।

कम्पनीको अध्यक्षमा एभरेस्ट हाइड्रो होल्डिङ्स कम्पनी लिमिटेडका तर्फबाट प्रतिनिधित्व गर्ने चेन लिक्सिङ रहेका छन् । उक्त कम्पनीले नौलो नेपाल हाइड्रोमा करिब ९५ प्रतिशत स्वामित्व राखेको छ । कम्पनीका अनुसार सञ्चालक चेन झेनवेनसँग विभिन्न लगानी तथा परियोजना व्यवस्थापनमा एक दशकभन्दा बढीको अनुभव छ भने अर्का सञ्चालक गोरख थापासँग विभिन्न व्यवसाय सञ्चालनको अनुभव रहेको छ ।

तोकिएको व्यावसायिक उत्पादन मितिभित्र आयोजना सम्पन्न हुन नसके ढिलाइबापत जरिवाना तिर्नुपर्ने व्यवस्था विद्युत् खरिद सम्झौतामा रहेको छ । व्यावसायिक उत्पादन मिति ६ महिनाभन्दा बढी ढिलो भए विद्युत् महसुल दरमा हुने वृद्धिसम्बन्धी व्यवस्थामा समेत प्रतिबन्ध लाग्ने प्रावधान छ । हाल आयोजनाको वित्तीय प्रगति न्यून रहेकाले तोकिएको समयसीमाभित्र निर्माण सम्पन्न गर्नु कम्पनीका लागि महत्वपूर्ण देखिएको छ ।

Share News