काठमाडौं । गत वर्ष भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा गम्भीर क्षति पुगेको भाटभटेनी सुपरमार्केटको टंगाल स्टोर सोमबारदेखि पुनः सञ्चालनमा आएको छ ।
आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा मर्मतसम्भार सम्पन्न भएसँगै टंगाल स्टोर पुनः सञ्चालनमा ल्याइएको हो । टंगाल स्टोरको शुभारम्भ भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले गरे ।
आन्दोलनका क्रममा देशभर भाटभटेनीका १२ वटा स्टोरमा क्षति पुगेको थियो । तीमध्ये टंगालसहित १० वटा स्टोरको पुनर्निर्माण तथा मर्मत सम्पन्न भइसकेको गुरुङले जानकारी दिए ।
दमक र हेटौंडाका स्टोरको पुनर्निर्माण पनि अन्तिम चरणमा पुगेको र छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए ।
पुनर्निर्माणको क्रममा आफूले ठूलो मानसिक तथा शारीरिक पीडा भोग्नुपरेको गुरुङले बताए । आफ्नै आँखाअगाडि अर्बौं रुपैयाँ बराबरको सम्पत्ति जलिरहेको दृश्यले गहिरो पीडा दिए पनि त्यसलाई चुनौतीका रूपमा लिएर अघि बढेको उनको भनाइ छ ।
‘भत्काउन र बिगार्न जति सजिलो छ, नयाँ बनाउन त्यति नै गाह्रो हुन्छ,’ गुरुङले भने, ‘मैले आफ्नो ज्यानको बाजी राखेर यसलाई उठाउन खोजेको छु । मेरो हेमोग्लोबिन घटेर ४ मा झरेको थियो, अहिले सुधार भएको छ ।’
उनले कठिन परिस्थितिका बीच पनि आफूहरू निराश नभएको बताए । नेपालीको साहस र आत्मविश्वासकै बलमा भाटभटेनीलाई पुनः उभ्याउन सफल भएको उनको भनाइ छ ।
‘हामी नेपाली हिम्मतिला छौं, त्यसमा पनि गोर्खाली हौं । गोर्खालीको साहस छुट्टै हुन्छ,’ गुरुङले भने, ‘त्यसैले हामीले एउटै अठोट ग¥यौं, खरानीबाट फेरि उठ्नेछौं ।’
गुरुङले भाटभटेनीलाई आफ्नो व्यक्तिगत सम्पत्तिका रूपमा मात्र नहेरेको बताए । भाटभटेनीसँग ठूलो संख्यामा उपभोक्ता, कर्मचारी, व्यवसायी तथा आपूर्तिकर्ताको सम्बन्ध रहेकाले यो आफूका लागि मात्र नभई देशकै सम्पत्ति भएको उनको भनाइ छ ।
आन्दोलनका क्रममा क्षति पुगेका स्टोरहरूलाई पुनः सञ्चालनमा ल्याउने अभियानअन्तर्गत टंगाल स्टोर सञ्चालनमा आएको हो । बाँकी दमक र हेटौंडा स्टोर पनि पुनर्निर्माण सम्पन्न भएपछि सञ्चालनमा आउनेछन् ।