विपन्न बिरामीका लागि छुट्याइएका २ हजार ६२७ निःशुल्क बेड प्रयोगविहीन

फाइल तस्बिर ।

काठमाडौं । देशभरका अस्पतालमा विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि छुट्याउनुपर्ने निःशुल्क बेडमध्ये ठूलो संख्या अझै प्रयोगमा आउन सकेको छैन ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नि:शुल्क स्वास्थ्य पोर्टलमा उपलब्ध तथ्यांकअनुसार अस्पतालमा देशभरिका स्वास्थ्य संस्थामा कुल ३० हजार ९१६ बेड रहेका छन् । 

कानुनी व्यवस्थाअनुसार कुल बेडको १० प्रतिशत अर्थात् ३ हजार ५६५ बेड निःशुल्क उपचारका लागि छुट्याइएको छ । तर हालसम्म ९३८ वटा मात्रै निःशुल्क बेड प्रयोगमा रहेका छन् । २ हजार ६२७ निःशुल्क बेड अझै उपलब्ध छन् ।

अस्पतालमा विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि छुट्याउनुपर्ने बेडमध्ये ठूलो हिस्सा प्रयोगमा आउन नसकेको हो ।

नेपालको संविधान २०७२ को धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक सुनिश्चित गरेको छ । 

संविधानले कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गर्न नहुने तथा प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने व्यवस्था गरेको छ ।

यस्तै, नेपाल सरकारको स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ को दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।

यही व्यवस्थाको कार्यान्वयनलाई प्रभावकारी बनाउन स्वास्थ्यसम्बन्धी निकायले अस्पतालमा उपलब्ध निःशुल्क उपचार सेवाको विवरण सार्वजनिक गर्ने तथा सेवामा पहुँच सहज बनाउने उद्देश्यले अनलाइन प्रणाली विकास गरेको हो ।

प्रणालीमार्फत अस्पतालमा रहेका कुल बेड, निःशुल्क बेड, हाल प्रयोगमा रहेका निःशुल्क बेड र उपलब्ध बेडको विवरण हेर्न सकिने व्यवस्था गरिएको छ ।

तथ्यांकले भने कानुनले अनिवार्य गरेको १० प्रतिशत निःशुल्क बेडको व्यवस्था भए पनि ती बेडको पूर्ण उपयोग हुन नसकेको देखाएको छ ।

Share News