सूचीकृत नभएका डाइटरी सप्लिमेन्ट नकिन्न विभागको आग्रह

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा सूचीकृत नभई बिक्री–वितरण भइरहेका डाइटरी सप्लिमेन्ट, न्युट्रास्युटिकल तथा अन्य आहारपूरक खाद्य पदार्थप्रति सचेत रहन उपभोक्तालाई आग्रह गरेको छ ।

विभागले एक सूचना जारी गर्दै यस्ता खालका खाद्य पदार्थप्रति सचेत रहन आग्रह गरेको हो ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ तथा आहारपूरक (डाइटरी सप्लिमेन्ट) खाद्य पदार्थ नियमन कार्यविधि, २०८२ अनुसार विभागमा सूचीकृत हुनुपर्ने यस्ता उत्पादनहरू सूचीकृत नगरी बिक्री भइरहेको जानकारी प्राप्त भएपछि विभागले यस्तो आग्रह गरेको हो ।

सूचनाअनुसार विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत गार्सिनिया कम्बोजिया  र म्याग्नेसियम ग्लाइसिनेट लगायतका उत्पादनको प्रचारप्रसार तथा बिक्री भइरहेको विभागको ध्यानाकर्षण भएको हो ।

विभागले यस्ता उत्पादनका बारेमा उपभोक्तालाई भ्रममा पार्ने खालका श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापन प्रसारण गरी फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमार्फत स्वास्थ्यसम्बन्धी दाबी गर्दै बिक्री–वितरण गरिएको पाइएको जनाएको छ ।

विभागले सूचीकृत नभएका यस्ता उत्पादन खरिद नगर्न आम उपभोक्तालाई अनुरोध गरेको छ । 

साथै विभागमा दर्ता नगरी पैठारी तथा बिक्री–वितरण गरेको पाइएमा सम्बन्धित आयातकर्ता र विक्रेतामाथि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

विभागले उपभोक्तालाई कुनै पनि आहारपूरक खाद्य पदार्थ खरिद वा प्रयोग गर्नुअघि सम्बन्धित उत्पादन विभागमा सूचीकृत भए/नभएको यकिन गर्न समेत आग्रह गरेको छ ।

Share News