भदौ २५ देखि एमाले केन्द्रीय कमिटी बैठक, त्यसअघि कार्यदल र सचिवालय बस्ने प्रस्ताव

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव शंकर पोखरेललाई निर्देशन दिएका छन् ।

अध्यक्ष ओलीले सोमबार गुण्डुबाट टेलिफोनमार्फत महासचिव पोखरेललाई आगामी भदौ २५, २६ र २७ गते केन्द्रीय कमिटी बैठक बोलाउन निर्देशन दिएका हुन् । पार्टीभित्र पछिल्लो समय देखिएका विभिन्न विषयमा छलफल तथा संगठनात्मक कामलाई अघि बढाउने उद्देश्यले केन्द्रीय कमिटी बैठक बोलाउन लागिएको हो ।

अध्यक्षको निर्देशनपछि महासचिव पोखरेलले बैठकअघि पूरा गर्नुपर्ने सांगठनिक तथा राजनीतिक विषयबारे ओलीसँग छलफल गरेका छन् । पोखरेलले केन्द्रीय कमिटी बैठकभन्दा अघि पार्टी पुनर्गठनका लागि गठन गरिएको कार्यदलको बैठक बस्नुपर्ने प्रस्ताव गरेका छन् ।

त्यसपछि सचिवालय बैठक बोलाएर कार्यदलबाट आएका प्रस्ताव तथा अन्य सांगठनिक विषयमा छलफल गरेपछि मात्रै केन्द्रीय कमिटी बैठकमा लैजान उपयुक्त हुने पोखरेलको धारणा छ ।

महासचिव पोखरेलले पछि अध्यक्ष ओलीलाई भेटेरै कार्यदल र सचिवालयको बैठकको प्रक्रिया पूरा गरेर केन्द्रीय कमिटी बैठक बोलाउने प्रस्ताव गरेका हुन् । उनका अनुसार पार्टी पुनर्गठनसँग सम्बन्धित विषयमा कार्यदलले आवश्यक गृहकार्य गरेपछि त्यसलाई सचिवालयमार्फत संस्थागत छलफलमा लैजान सहज हुनेछ ।

यसअघि पार्टीभित्र संगठनात्मक पुनर्गठन तथा आन्तरिक व्यवस्थापनका विषयमा छलफल गर्न कार्यदल गठन गरिएको थियो । अब उक्त कार्यदलको बैठक, त्यसपछि सचिवालय बैठक र अन्तिममा केन्द्रीय कमिटी बैठक बस्ने गरी तयारी अघि बढाउने विषयमा नेतृत्वबीच छलफल भइरहेको छ ।

अध्यक्ष ओलीले भने भदौ २५ देखि २७ गतेसम्म केन्द्रीय कमिटी बैठक बस्ने गरी तयारी अघि बढाउन निर्देशन दिइसकेका छन् । बैठकमा पार्टीको पछिल्लो राजनीतिक अवस्था, संगठन सुदृढीकरण तथा पुनर्गठनलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

Share News