काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि नेपाली क्रिकेटमा निजी क्षेत्रको उत्साहजनक सहभागिता देखिएको छ ।
जसमा एग्रो थाई फुड प्राइभेट लिमिटेडको उत्पादन एक्स्ट्रिम इनर्जी ड्रिङ्कले एनपीएलका ६ वटा फ्रेन्चाइज टिमहरूसँग मुख्य प्रायोजन सम्झौता गरेको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच कम्पनीले काठमाडौं गोर्खाज, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग ३ वर्षका लागि सम्झौता गरेको हो ।
कार्यक्रममा बोल्दै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटको विकास र व्यावसायिकताका लागि निजी क्षेत्रको यो सहभागिता एक महत्त्वपूर्ण माइलस्टोन भएको बताए ।
उनले भने, ‘निजी क्षेत्रको सहयोगले नै नेपाली क्रिकेटले आजको गति प्राप्त गरेको हो । ६ वटा टिमलाई एउटै ब्रान्डले साथ दिनु आफैमा ठूलो कुरा हो ।’

राष्ट्रिय पहिचानका लागि लगानी एग्रो थाई फुडका तर्फबाट कृष्णबहादुर दाहालले एक्सट्रिम इनर्जी ड्रिङ्कले व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई पनि ध्यानमा राखेको बताए ।
उनले खेलकुदको माध्यमबाट राष्ट्रिय पहिचान बनाउन र नेपाली क्रिकेट प्रेमीहरूलाई भावनात्मक रूपमा जोड्न यो लगानी गरिएको जानकारी दिए ।

जर्सी र सम्झौता सार्वजनिक सम्झौताअनुसार आगामी ३ वर्षसम्म यी ६ वटै टिमको जर्सीको अगाडिको मुख्य भागमा एक्सट्रिम इनर्जी ड्रिङ्कको लोगो रहनेछ ।
कार्यक्रममा ६ वटै टिमका मालिकहरू, प्रतिनिधिहरू र मार्की खेलाडीहरूको उपस्थितिमा नयाँ जर्सी सार्वजनिक गरिएको थियो ।
सम्झौता समारोहमा टोलीका प्रतिनिधिहरूले यस्तो सहकार्यले खेलाडीहरूको हौसला बढ्ने र प्रतियोगिता अझै प्रतिस्पर्धात्मक हुने विश्वास व्यक्त गरे ।
