काठमाडौं । असारको पहिलो साता चितवनबाट एक बालक अपहरणमा परे । पछि प्रहरीले काठमाडौंको गोंगबुबाट बालकको सकुशल उद्वार गर्यो ।
५-६ जना भारतीयको समूहले भारतीय नम्बर प्लेटको गाडीमा राखी अपहरण गरेका थिए । गोंगबुस्थित एक होटेलमा बन्धक बनाएर उनीहरुले बालकका परिवारसँग पैसा मागेका थिए ।
पक्राउ पर्नेहरूमा भारतको बिहारका सुजित कुमार, गोलु कुमार, बिक्कि कुमार, मोहम्मद साहिद र अर्का गोलु कुमार रहेका छन् । अपहरणमा संलग्न रहेको आरोपमा पाँच भारतीयलाई काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालय अनुसन्धान कार्यालय टेकुको टोलीले नियन्त्रणमा लिएको हो ।
केही दिनअघि पशुपतिनाथ मन्दिर दर्शन गर्न आएका दर्शनार्थीका गरगहना लुटपाट गरेको आरोपमा दुई जना भारतीय नागरिक पक्राउ परे । भारतको गोरखपुर घर भई हाल भक्तपुरमा बस्दै आएका रञ्जित चौधरी र शान्ति चमारलाई पक्राउ गरेको हो । उनीहरूलाई प्रहरी वृत्त, गौशालाको टोलीले पक्राउ गरेको थियो ।
उनीहरूबाट सुनको सिक्री, झुम्का, मुन्द्रा, मंगलसुत्र, चाँदीका औँठी, पाउजु, सिक्री, ब्रासलेट, लकेटलगायतका गरगहना बरादम गरिएको प्रहरीले जनाएको छ। त्यस्तै, प्रहरीले नेपाली रुपैयाँ एक लाख १५ हजार पाँच सय र भारतीय रुपैयाँ ८० हजार बरादम गरेको थियो ।
नेपाली युवायुवतीलाई न्युजिल्यान्ड पठाइदिन्छु भन्दै झन्डै १० लाख ठगी गरेको आरोपमा भारतको बिहार राज्यको गोपालगञ्जका ४२ वर्षीय संजय कुमार पनि पक्राउ परे । उनलाई नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौं महानगरपालिका-१६ बाट पक्राउ गरेको थियो ।
उनले पीडित नेपालीलाई न्युजिल्यान्ड पठाइदिने भन्दै ९ लाख ८० हजार रुपैयाँ लिएर लामो समयसम्म झुक्याएर राखेको जाहेरी परेको प्रहरीले जनाएको छ ।
विभिन्न समयमा भारतबाट नेपालमा आएर अपराध गर्नेको संख्या बढ्दै गएको छ । खुला सीमाबाट सहजै आवतजावतको कारण भारतीयहरूको पछिल्लो समय नेपालमा आएर अपराध गर्नेको संख्या बढ्दै गएको पाइएको छ ।
खुला रुपमा आवतजावत भएकै कारण भारतीयहरुको नेपाल आपराधिक क्रियाकलाप गर्ने क्रिडास्थल बन्दै गएको छ । अपराध गर्ने भारतीयको संख्या बढे पनि उनीहरू तुरुन्तै प्रहरीको नियन्त्रणमा आउने गरेका छन् ।
नेपाल आउन भारतीयलाई कुनै रोकटोक छैन र नेपालीलाई पनि भारत जान कुनै अवरोध छैन । कतिपय अवस्थामा खुला सीमाकै कारण दुवैतर्फ आवतजावत हुँदा अपराधमा संलग्न हुने गरेको पाइएको छ ।
६ आर्थिक वर्षमा नेपालमा आएर विभिन्न प्रकारका आपरधिक क्रियाकलापमा संलग्न भएका आरोपमा ४ सय ४९ भारतीय पक्राउ परेका छन् । ३७ जना महिला र ४ सय १२ जना पुरुषहरू आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।
कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, डाका चोरी, साधारण चोरी, जुवा खेल्न नहुने वा सट्टेबाजी गर्न नहुने, अवैध मुद्रा तथा सुन, ठगी आपराधिक विश्वास तथा आपराधिक लाभ एक्सटर्सन सम्बन्धी कसुर, लागू औषध, सरकारी छाप दस्तखत किर्ते, राहदानी किर्ते, अपहरण तथा शरीर बन्धक बनाउने कसुरमा उनीहरू पक्राउ परेका हुन् ।
यस्तै, हातहतार खरखजाना, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताको कसुरविरुद्धको कसुर, आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धी कसुर, नागरिकता सम्बन्धी, मानवबेचबिखन तथा ओसारपोसार, बहु विवाह, जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योग, बालयौन दुरुपयोग, सवारी ज्यान, सवारी अंगभंग, विद्युतीय कसुर तथा साईवर अपराध, दुरसंचार कसुर टेलिफोन तार चोरी, बैंकिङ कसुर, चिठ्ठा, अभद्र व्यवहार, निषेधित क्षेत्रमा प्रवेश, भन्सार छली र विविधजन्य अपराधमा भारतीय संलग्न हुने गरेका छन् ।
नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/ ०७७ मा ५ जना पुरुष, आव २०७७/ ०७८ मा २ जना पुरुष, २०७८/ ०७९ मा २८ पुरुष र ३ महिला, २०७९/ ०८० मा ४८ पुरुष र ३ महिला,२०८०/ ०८१ मा १३७ पुरुष र महिला १९, २०८१/ ०८२ मा १९२ पुरुष र १२ महिला मुलुकभरका विभिन्न स्थानमा फरक-फरक कसुरमा भारतीयहरू पक्राउ परेका थिए ।
भारतीयहरू साधारण चोरी, जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने, अवैध मुद्रा तथा सुनको कारोबार र लागूपदार्थ जन्य कारोबार जस्ता अपराधमा सबैभन्दा बढी भारतीयहरू संलग्न भएको पाइएको छ ।
विभिन्न कसुरमा काठमाडौं उपत्यकाका सुनधारास्थित कारागारमा १ सय ३ पुरुष र ९ जना छन् । डिल्लीबजार कारागारमा २२ जना र नख्खु कारागारमा २२ जना भारतीय कैदीबन्दी रहेका छन् । चोरी, बालात्कार तथा ठगी अन्य विविध कसुरमा भारतीयहरू काठमाडौं उपत्यकाका कारागार छन् ।
कारागार विभागका अनुसार करिब ११ सय भारतीय कैदीबन्दीहरू छन् । महिला र पुरुष दुवै भारतीयहरु मुलुकभरका विभिन्न कारागारमा रहेका छन् ।
नयाँ अवसर देखाएर अपराध
नेपाल भारत खुला सीमा भएका हुँदा अपराध हुने मुख्य कारण बनेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्ले बताउँछन् । नेपालमा अपराध गरेर सहजै लुकेर भारततर्फ जान सकिने मानसिकता बनाएर पनि अपराध गर्न आउनेहरू पनि भेटिएको उनको भनाइ छ ।
‘नेपालीलाई छिटो प्रलोभनमा पारेर ठगी जस्ता कार्यमा संलग्न हुने गरेका छन्,’ उनले भने, 'नयाँ-नयाँ अवसरका अफरहरू लिएर आउने भएकै कारण नेपालीहरू फस्ने भएकाले नेपालीहरू भारतीयको बन्धनमा पर्छन् । अन्त्यमा भारतीयहरू अपराध गर्न लालायित भएका छन् ।'
प्रहरीका अनुसार भारतीयहरू मुख्यतया लागुऔषध, चोरी, जुवा र अवैध मुद्रा एवं सुन कारोबार तथा अभद्र व्यवहारको मुद्दा कसुरमा भारतीयहरू संलग्न भएका छन् । भन्सार छली गरेको आरोपमा केही भारतीयहरू पक्राउ परेका छन् ।
भारतीयहरू नेपालमा अपराध गर्ने नियतै बनाएर नेपाल प्रवेश गर्ने गरेको प्रवक्ता काफ्लेको भनाइ छ । नेपालमा आएर गलत सोच र आपराधिक क्रियाकलापमा संलग्न भएकासँग उनीहरूले उठबस बढाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।
पछिल्लो समय प्रहरीले खुला सीमाकै कारण अपराध बढेको भन्दै सीमा क्षेत्रमा कडाइ गर्न थालेको छ । प्रहरीले सीमा क्षेत्रका ग्रामीण भेगमा प्रहरीले सूक्ष्म ढंगले निगरानी गरिरहेको काफ्लेले बताए । सीमा क्षेत्रमा अपराध नियन्त्रण गर्नका लागि आधुनिक प्रविधिको प्रयोगलाई बढाइएको उनले उल्लेख गरे । सीमा क्षेत्रमा हुने अपराधलाई मुख्य चुनौती ठानेर प्रहरीले आवश्यक काम गरिरहेको उनले प्रस्ट पारे ।
‘नेपालभित्र काम गर्ने स्थानमा भारतीयहरूको आपराधिक क्रियाकलाप रेकर्ड छ या छैन भनेर मात्र काममा राख्नुपर्ने हुन्छ,’ काफ्लेले अगाडि भने,’ कसैको पनि शङ्कास्पद गतिविधि देखेमा वा लागेमा नजिकैको प्रहरी कार्यालयमा खबर गर्नुपर्ने हुन्छ ।'
भारतीयका लागि नेपाल अपराधको उर्वरभूमि
नेपालमा विशेषतः माग्ने र व्यापारिक प्रयोजनका निम्ति भारतीयहरू प्रवेश गर्ने गरेको त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा समाजशास्त्री दिपेश घिमिरे बताउँछन् । नेपालमा औपचारिक भन्दा बढी अनौपचारिक ढंगले नेपाल प्रवेश गर्ने भारतीयको संख्या बढी रहेको उनको भनाइ छ ।
कतिपय अवस्थामा नेपालमा आएर व्यापार गर्नेहरू पनि अपराध लाग्ने गरेको उनले बताए । लेनदेनको सवालमा सामान्य वादविवादले अपराधको विन्दुमा पुर्याउने गरेको उनको भनाइ छ ।
‘नेपालमा आएर कुनै न कुनै किसिमले अपराध गर्नेहरू भनेका आफूलाई लाग्ने तल्लोस्तरका काम गरेको ठान्नेहरू अपराधमा संलग्न भएको पाइन्छ,’ उनले भने,’ माग्न आएकाहरू तथा निर्माण संरचनाको क्षेत्रमा काम गर्नेहरू विभिन्न अपराधको कसुरमा भेटिएका छन् ।'
खुला सीमाबाट सहजै आवतजावत गर्न सकिने र अपराध गरेर लुक्न सकिने भन्ने मनोविज्ञानले काम गर्दा पनि भारतीयलाई आपराधिक क्रियाकलापमा लागेको पाइने घिमिरेले बताए । मधेस क्षेत्रमा लागु पदार्थको कारोबारी बढ्नुमा खुला सीमालाई एक मुख्य कारण मान्न सकिने उनको भनाइ छ । अधिकांश लागु पदार्थ भारतबाट आयात हुने उनले बताए ।
घिमिरेले सीमालाई व्यवस्थापन गर्न नसक्दा र आवतजावत गर्नेको तथ्यांक नराख्दा अपराध न्यूनीकरणमा ठोस कदम चाल्न नसकेको उल्लेख गरे । शिक्षाबाट वञ्चित भएकाहरू नेपालमा आएर अपराध गर्नेहरू भेटिएको उनले प्रस्ट पारे ।
भारतमा शिक्षाको मुलभुत ज्ञान नपाएकाहरूले नेपाललाई अपराधको उर्वरभूमि मान्ने गरेको उनले बताए । राज्य प्रणालीले यस्ता सीमापारका व्यक्तिबाट हुने अपराध नियन्त्रण गर्न आवतजावत गर्नेको तथ्यांक राख्नलाई उनले सुझाए ।
नेपालमा आएर काम गर्नेहरूको आपराधिक चारित्रिक प्रमाणपत्र माग गरेर राख्नुपर्ने घिमिरेको भनाइ छ । नेपालभित्र विदेशी नागरिकले गर्ने कार्यहरूको निगरानी नागरिकको तहबाट हुनुपर्ने उनले बताए । भारतीय व्यापारीहरूले नेपालमा गर्ने गतिविधिको निगरानी गर्नुपर्ने र रेकर्ड राख्नुपर्ने उनको भनाइ छ ।
अपरिचित व्यक्तिसँग अनावश्यक लेनदेन तथा काम गर्नुपर्दा नागरिक आफैँ सचेत हुनुपर्ने घिमिरेले बताए । खुला सीमाकै कारण दुवै देशका नागरिकले लाभ र हानि व्यहोरिरहेको हुन सक्ने उनले बताए ।