काठमाडौं । सवारीसाधनमा जडान गरिएको कालो सिसाविरुद्ध ट्राफिक प्रहरीले थालेको अभियानमा गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठ स्वयं सहभागी भएका छन् । अभियानलाई प्रभावकारी बनाउने सन्देश दिँदै उनीहरूले आफ्नै सरकारी सवारीको कालो सिसा हटाएका हुन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सोमबार पुगेर गृहमन्त्री गुरुङले आफ्नो सवारीबाट कालो सिसा हटाउन निर्देशन दिएका थिए । त्यसपछि ट्राफिक प्रहरीले गृहमन्त्री र गृहसचिव दुवैको सवारीमा जडान गरिएको कालो सिसा हटाएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्लेले कालो सिसा हटाउने अभियानलाई निरन्तर सञ्चालन गरिने जानकारी दिएका छन् । उनका अनुसार कालो सिसाको प्रयोगले सवारीभित्र हुने गतिविधि बाहिरबाट देख्न कठिन हुने भएकाले विभिन्न आपराधिक गतिविधिमा यसको दुरुपयोग हुने गरेको छ ।
प्रहरीको भनाइअनुसार कालो सिसा भएका सवारीसाधनमार्फत लागुऔषधको ओसारपसार तथा सेवन, साना हतियारको अवैध ढुवानीदेखि सुन तस्करी र अपराधीलाई भगाउनसमेत सहयोग पुगेका घटनाहरू अनुसन्धानका क्रममा फेला परेका छन् ।
यही कारण ट्राफिक प्रहरीले निजी तथा सार्वजनिक दुवै प्रकारका सवारीसाधनमा जडान गरिएका अनधिकृत कालो सिसा हटाउने अभियानलाई कडाइका साथ अघि बढाएको जनाएको छ ।