सेफ सन्तोष शाह छुटे, पीडितले पाए रकम

काठमाडौं । सेफ सन्तोष शाह ठगी कसुरमा पक्राउ परेपछि रिहा भएका छन् । बैंकिङ कसुरको आरोपमा पक्राउ परेका शाह सोमबार बेलुका छुटेका हुन् ।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख दिलीप घिमिरेका अनुसार पीडित पक्षसँग लेनदेन मिलेर चेक बमोजिमको रकम प्राप्त भइसकेपछि शाहलाई रिहा गरिएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले शाहलाई धनुषाबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो । थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी परिसर, भद्रकालीमा बुझाइएको थियो ।

प्रहरीले यसै प्रकरणमा सोही रेष्टुरेन्टका अर्का सञ्चालक नारायण साह सुडीलाई पनि पक्राउ गरेको थियो ।

गैरीधारास्थित रेष्टुरेन्टसँग सम्बन्धित विवादमा सकुन्तला अधिकारी थापाले मुद्दा दर्ता गराएकी थिइन् ।

सन्तोष शाह नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने चर्चित सेफ हुन् । उनी सन् २०२१ मा बीबीसी मास्टरसेफ कार्यक्रममा सहभागी भई चर्चामा आएका थिए ।

Share News