परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विदेश विभाग प्रमुख शिशिर खनाल र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिको अन्तरराष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच आज (सोमबार) बेइजिङमा भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटपछि मन्त्री खनालले खुसी व्यक्त गर्दै सो अवसरमा नेपाल-चीन सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् । 

नेताद्वयबीच रास्वपा र सिपिसी सहकार्य तथा दुवै देशका जनताबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा  छलफल भएको जनाइएको छ ।

मन्त्री खनाल आफ्ना चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा आइतबारदेखि चीन भ्रमणमा छन् । 
 

Share News