चितवन । ‘जेनजी आन्दोलन’का सहिद सारकुमार राईकी १५ वर्षीया छोरी आकृती राईले ३.४० जीपीएका साथ एसईई उत्तीर्ण गरेकी छन् ।
चितवनको बसेनीस्थित मनशिक्षा मन्दिर आवासीय माध्यमिक विद्यालयबाट एसईई उत्तीर्ण गर्ने आकृति गोल्याण ग्रुपबाट छात्रवृत्ति पाइरहेका ३२ जना सहिद सन्तानहरूमध्ये एक हुन् ।
सहिदपुत्री आकृतिले उत्कृष्ट नतिजा ल्याएपछि गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणसहितको टोलीले शनिबार बिहान चितवनको भरतपुर–११, बसेनीस्थित राईको निवासमै पुगेर बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
गत वर्ष भदौमा भएको जेनजी आन्दोलनमा काठमाडौंमा पेन्टरको काम गर्ने सारकुमारको मृत्यु भएपछि गोल्याण ग्रुपले २०८२ असोज अन्तिम साता सहिदका सन्तानहरूलाई कक्षा १२ सम्म पढाउने घोषणा गरेको थियो।
सोही घोषणा अनुरूप ग्रुपले एक साताभित्रै लिखित सम्झौता गरी आकृतीसहित ३२ जना विद्यार्थीको शैक्षिक खर्च बेहोर्दै आएको छ । ग्रुपले प्रतिविद्यार्थी मासिक ४० हजार रुपैयाँका दरले वार्षिक ४ लाख ८० हजार रुपैयाँ शैक्षिक–खर्च उपलब्ध गराउँदै आएको छ ।
सहिदकी पत्नी सुनिता राईले श्रीमानको सहादतपछि छोरीको शिक्षालाई लिएर ठूलो चिन्ता थपिएको स्मरण गर्दै संकटको घडीमा गोल्याण ग्रुपले लिखित सम्झौता गरेर वास्तविक अभिभावकको भूमिका निर्वाह गरेको र ढाडस दिएको बताइन् ।
यसैगरी, मनशिक्षा मन्दिरका प्रधानाध्यापक इन्द्रेश शाहले पारिवारिक बज्रपातका बावजुद आकृतिले तीक्ष्ण, लगनशील र अनुशासित भई राम्रो अंक ल्याएको उल्लेख गरे ।
आकृतिले आफ्ना दिवंगत पिताको सपना बमोजिम आगामी दिनमा विज्ञान संकाय ९प्लस–टु० अध्ययन गरी नर्सिङमा स्नातक गर्ने लक्ष्य राखेकी छन् । उनले चितवनकै आरोमा इंग्लिस सेकेण्डरी स्कुलमा भर्नासमेत गरिसकेकी छन् ।
आरोमा इंग्लिस सेकेण्डरी स्कुलका प्रधानाध्यापक शेरबहादुर क्षेत्रीले आकृतिजस्तो विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयले विशेष ख्याल गर्ने र यो कार्यले गोल्याण ग्रुपसँग पनि सम्बन्ध जोडिएको बताए ।
अक्षय गोल्याणले सहिद सारकुमारले छोडेर गएको सपना पूरा गर्न ग्रुपको पूर्ण साथ रहने प्रतिबद्धता जनाउँदै जेनजी सहिदका सन्तानमध्येबाट पहिलो एसईई उत्तीर्ण हुनु समग्र राष्ट्रकै लागि गौरवको क्षण भएको बताएका छन् ।