काठमाडौं । जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले यस वर्ष नेपालमा ३० वर्ष यताकै धेरै वर्षा हुने प्रक्षेपण गरिएको बताउँदै उच्च हिमाली क्षेत्रमा हिमपहिरो र हिमताल विष्फोटको उच्च जोखिम रहेको चेतावनी दिएका छन् । उनका अनुसार जेठ १८ गतेदेखि असोज १४ गतेसम्मको मनसुन अवधिमा औसतभन्दा बढी वर्षा र तापक्रम हुने देखिएकाले विविध प्रकारका प्राकृतिक जोखिमहरू बढ्नसक्ने देखिएको छ ।
‘वर्षा मात्र होइन, तापक्रम पनि खतरा बनेको छ’
डा. उप्रेतीका अनुसार यस वर्षको मनसुनमा उच्च हिमाली र उच्च पहाडी क्षेत्रमा ३५ देखि ६५ प्रतिशतसम्म औसतभन्दा बढी वर्षा हुने अनुमान छ । विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशका दुई तिहाइ भागमा ५५ देखि ६५ प्रतिशतसम्म बढी वर्षा हुन सक्नेछ ।
उनले भने, 'उच्च हिमाली क्षेत्रमा तापक्रम समेत औसतभन्दा बढी हुने प्रक्षेपण छ । तापक्रम बढ्दा हिमताल पग्लिन सक्छ, जसले हिमताल विष्फोटवा आकस्मिक बाढी ल्याउन सक्छ ।'
कृषिमा प्रभाव, मनसुनको ब्रेकले चुनौती
मनसुन सुरु हुनु अगाडि नै देशका केही स्थानमा प्रि-मनसुन वर्षा भइरहेको उल्लेख गर्दै डा. उप्रेतीले कृषिमा यसको प्रत्यक्ष प्रभाव पर्ने बताए । 'लगातार पानी परे कृषि प्रणालीलाई फाइदा हुन्छ, तर एकैचोटि ठूलो पानी परेमा बाढी र नोक्सानी सम्भव हुन्छ,' उनले स्पष्ट पारे ।
उनका अनुसार मनसुनको बीचमा हुने ‘ब्रेक’ (वर्षा रोकिने अवधि) पनि समस्याजनक हुनसक्छ । यसले गर्मी बढाउने, वायु प्रदूषण बढाउने र कृषि उत्पादनमा असर पार्ने सम्भावना बढाउँछ ।
डेङ्गु हिमाली क्षेत्रमा फैलिन सक्ने सम्भावना
यो वर्ष औसतभन्दा बढी तापक्रम र वर्षाका कारण डेङ्गु रोग उच्च पहाडी तथा हिमाली क्षेत्रमा समेत देखिनसक्ने खतरा रहेको डा. उप्रेतीको भनाइ छ । 'डेङ्गु अब केवल तराईको रोग रहेन । तापक्रम र जमेको पानीले गर्दा हिमाली भेगमा पनि यसको प्रकोप फैलन सक्छ,' उनले चेतावनी दिए ।
बाढी, पहिरो र नदी थुनिने उच्च जोखिम
उच्च हिमाली क्षेत्रमा पानी पर्ने सम्भावना बढेका कारण माटो बग्ने, नदी थुनिने र त्यसपछि फुटेर विनाश निम्त्याउने खतरा रहेको डा. उप्रेतीको भनाइ छ । 'यो अवस्थालाई सामान्य भन्न सकिन्न, साना ताल फुटेर ठूलो दुर्घटना हुने सम्भावना छ। थामेमा जस्तै घटना दोहोरिन सक्छ,' उनले भने ।
पूर्वसूचना प्रणाली र प्रविधि प्रयोगको आवश्यकता
डा. उप्रेतीले जोखिम क्षेत्रको पहिचान गरी पूर्वसूचना प्रणाली मजबुत बनाउनुपर्नेमा जोड दिए । 'उच्च हिमाली क्षेत्रमा मापन गर्ने स्टेशनहरू नभएकाले स्याटेलाइटबाट निगरानी गरी सूचनाको आधारमा समयमै पूर्वचेतावनी दिन सक्नुपर्छ,' उनले सुझाए ।
भौतिक संरचना वैज्ञानिक ढंगले बनाउनुपर्ने सुझाव
रोशी खोलामा कम वर्षामा आएको ठूलो बाढीलाई उदाहरण दिँदै डा. उप्रेतीले संरचना निर्माण वैज्ञानिक आधारमा नगरेको खतराको संकेत भएको उल्लेख गरे । '४४ मिलिमिटर वर्षामा आउने बाढी सामान्य होइन । अब कुनै पनि संरचना बनाउँदा वर्षाको प्रकृति, माटोको बनावट र जलनिकास प्रणालीको अध्ययन गरेर मात्र अघि बढ्नुपर्छ,' उनले भने ।
अन्त्यमा, उनले मनसुनसँग सम्बन्धित विपद् न्युनिकरणमा केवल सरकार वा एक विभागको मात्र नभई सबै सरोकारवाला, स्थानीय सरकार, नागरिक समाज र सञ्चार माध्यमको भूमिका आवश्यक रहेको स्पष्ट गरे ।