यी हुन् सरकारले पुरस्कृत गरेका १० व्यक्ति

<p>काठमाडौं । सरकारले यो वर्ष विभिन्न क्षेत्रका ख्यातीप्राप्त व्यक्तिहरूलाई सम्मान गरेको छ । प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट १० जना व्यक्तिहरू पुरस्कृत भएका छन् । नेपाल सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली व्यक्तिलाई पुरस्कार दिने घोषणा गरेको थियो । प्रधानमन्त्री ओलीसँगै प्रथम [&hellip;]</p>

काठमाडौं । सरकारले यो वर्ष विभिन्न क्षेत्रका ख्यातीप्राप्त व्यक्तिहरूलाई सम्मान गरेको छ । प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट १० जना व्यक्तिहरू पुरस्कृत भएका छन् ।

नेपाल सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली व्यक्तिलाई पुरस्कार दिने घोषणा गरेको थियो । प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य तथा  उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले उक्त सम्मान प्रदान गरेका हुन् ।

पुरस्कृत हुनेहरुमा टेलिमेडिसिनतर्फ डा छिरिङ लामा (सिन्धुपाल्चोक), विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा विराजसिंह थापा (मोरङ), कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ (गोरखा), विज्ञान प्रविधितर्फ डा आभास मास्के (काठमाडौं) र हरिराम श्रेष्ठ (गोरखा) हुन् । यस्तै चिकित्सा क्षेत्रतर्फ डा ओममूर्ति अनिल (महोत्तरी), खेलकुदतर्फ सावित्रा भण्डारी ‘साम्बा’ (लमजुङ), सम्पदा संरक्षणतर्फ रवीन्द्र पुरी (भक्तपुर), समाजसेवातर्फ दिलशोभा श्रेष्ठ (काठमाडौं) र रामजी अधिकारी (गोरखा) पुरस्कृत भएका छन् ।

नवप्रवर्तन क्षेत्रका प्रतिभावान नागरिकलाई प्रोत्साहन गर्न २०७५ मङ्सिर १७ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो । त्यसबेला प्रधानमन्त्री ओलीलाई कोरिया सरकारबाट प्राप्त एक लाख अमेरिकी डलरमा नेपाल सरकारबाट सोही बराबरको रकम थप गरी पुरस्कार कोष स्थापना गरिएको हो ।

उक्त कोषबाट प्रत्येक वर्ष दुई प्रतिभालाई जनही पाँच लाख  रुपैयाँ राशिको पुरस्कार प्रदान गर्ने निर्णय भएको थियो । विसं २०७६ मा पहिलो पटक दुई विधाका तीन प्रतिभालाई पुरस्कार प्रदान गरिएकामा त्यसपश्चात् कोरोना महामारीका कारण पुरस्कार वितरण हुन सकेको थिएन । अहिले पाँच वर्षको पुरस्कार एकैपटक प्रदान गरिएको हो ।

यी हुन् पुरस्कृत भएका व्यक्तिहरू

डा. आभास मास्के

डा. आभास मास्केको जन्म वि.सं. २०४७ साल फागुन ४ गते मोरङ जिल्लाको विराटनगरमा भएको हो । उनले क्युशु इन्स्टिट्युट अफ टेक्नोलोजीबाट विमान, अन्तरिक्ष, तथा अन्तरिक्ष प्रविधिमा विद्यावारिधि गरेका छन् ।

उनले सियोल विश्वविद्यालयका स्याटेलाइट प्रविधिसम्बन्धी विभिन्न परियोजनाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । उनी सातवटा क्युवस्याट स्याटेलाइट परियोजनामार्फत सातवटा स्याटेलाइटलाई पृथ्वीको कक्षमा (अर्बिट) राख्ने कार्यमा प्रत्यक्ष रूपमा संलग्न भएका छन् । सन् २०१६ मा नेपालकै पहिलो स्याटेलाइट निर्माण गरी त्यसलाई सफलतापूर्वक पृथ्वीको कक्षमा पठाउन महत्वपूर्ण योगदान दिएका थिए ।

नोभेम्बर २०२० मा, उनले नेपालमा अन्तरिक्ष प्रविधि, स्याटेलाइट प्रविधि, र रिमोट सेन्सिङ प्रविधिमा नयाँ पुस्तालाई ज्ञान प्रदान गर्न र प्रेरित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

उनले नेपालको पहिलो स्याटेलाइट निर्माण गर्ने स्याटेलाइट परियोजनाको नेतृत्वकर्ता हुन्  । नेपालको स्याटेलाइट विकास र प्रविधि क्षेत्रमा पुर्‍याएको महत्वपूर्ण योगदानका लागि उनलाई उदीयमान प्रविधि पुरस्कारबाट सम्मानित गरिएको छ ।

डा. ओममूर्ति अनिल

विसं. २०३५ साल कार्तिक १४ गते महोत्तरी जिल्लाको धमौरा-८ मा जन्मिएका डा. ओम मुर्ति अनिलले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालअन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थानबाट मेडिसिनमा एम.डी. तथा नयाँ दिल्लीस्थित एम्सबाट इन्टरभेसन कार्डियोलोजीमा डि.एम. गरेका छन् । डा. ओम नेशनल कार्डियाक सेन्टरका सञ्चालक समेत हुन् ।

स्वास्थ्य सचेतनाका क्षेत्रमा डा. मुर्तिका नाममा गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित दुई विश्व कीर्तिमान कायम रहेका छन् । सन् २०१३ मा उनले ‘म पनि डाक्टर’ नामक पुस्तक प्रकाशन गरे, जसबाट प्राप्त आय मुटुरोग र नसर्ने रोग (एनसीडी) रोकथामका लागि खर्च गर्दै आएका छन् ।

उनले ११ दिने निःशुल्क मुटु शिविर सञ्चालन, मुटुरोगसम्बन्धी वृहद् अनुसन्धान, व्यक्तिगत खर्चमा दुर्गम तथा ग्रामीण क्षेत्रका स्वास्थ्यकर्मी, पत्रकार, र सुरक्षाकर्मीलाई तालिम प्रदान गर्ने कार्य गर्दै आएका छन् ।

त्यसैगरी, डिजिटल प्लेटफर्ममार्फत दीर्घ जीवनको प्रयास, निःशुल्क टेलिमेडिसिन सेवा, १० हजारभन्दा बढी व्यक्तिलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने जस्ता महत्वपूर्ण कार्यमा संलग्न रहेका छन् ।

उनले डा. ओम फाउण्डेशनको स्थापना गरी स्वास्थ्य, शिक्षा, र सामाजिक रूपान्तरणलाई अभियानका रूपमा अगाडि बढाउने उद्देश्य राख्दै निरन्तर सक्रिय रूपमा काम गरिरहेका छन् ।

डा. छिरिङ लामा

वि.सं. २०३९ साल असोज १ गते सिन्धुपाल्चोक जिल्लाको किउल-७ मा जन्मिएका डा. छिरिङ लामाले वेलायतको नर्थम्ब्रिया विश्वविद्यालय बाट टेलिमेडिसिनमा विद्यावारिधि गरेका छन् ।

उनले सन् २०१४ मा ‘आइडिया स्टुडियो नेपाल’ स्थापना गरे । हाल यस संस्थाले नीति निर्माणका क्षेत्रमा नेपाल सरकारसँग, ज्ञान निर्माणका क्षेत्रमा विश्वविद्यालयहरूसँग, र आर्थिक लाभसँगै सामाजिक तथा वातावरणीय प्रभाव पार्ने दिशामा निजी क्षेत्रसँग सहकार्य गर्दै आइरहेको छ ।

आइडिया स्टुडियोमार्फत विभिन्न नयाँ विचार (आइडिया) खोजी गरिन्छ, तिनलाई व्यवसायिक रूप दिन इन्क्युबेसन प्रक्रियामा लैजाने काम गरिन्छ । एक हजार जना उद्यमी उत्पादन गर्ने लक्ष्यसहित संस्था क्रियाशील छ ।

यस प्रक्रियाबाट सजिलो मर्मत सेवा, नेपाल मेड, टिकेट एन साप, मेट्रो तरकारी, कृषि गुरु, सिता अरनिक, मिस्टर कर्म, रिभोलुसन डेभिलगायतका उद्यमहरू स्थापित भइसकेका छन् ।

नवउद्यमीहरूलाई प्रशिक्षण तथा लगानीको अवसर प्रदान गर्न सक्रिय आइडिया स्टुडियोले ‘अबरोध तोड्दै, भविष्य बताउँदै’ भन्ने नाराका साथ समावेशी उद्यमशीलतालाई विशेष प्राथमिकता दिँदै आएको छ । यस संस्थाले विभिन्न सीमान्तकृत समुदायका व्यक्तिहरूलाई व्यवसायमार्फत सशक्त बनाउन पहल गर्दै आइरहेको छ ।

दिलशोभा श्रेष्ठ

वि.सं. २०१० साल चैत्र १० गते काठमाडौंमा जन्मिएकी दिलशोभा श्रेष्ठले आफ्नो समाजसेवाको यात्रा वि.सं. २०५३ सालदेखि अलपत्र अवस्थामा रहेकी आमाहरूको उद्धार गर्दै सुरु गरिन् । उनले वृद्धवृद्धाहरूलाई सुरक्षित आश्रय दिने उद्देश्यले ‘आमाघर’ स्थापना गरिन्, जुन हालसम्म निरन्तर सञ्चालनमा छ।

उनले आफ्नो घर कालिमाटीमा मात्र नभई गुर्जुधारा र गोकर्णमा समेत आमाघर स्थापना गरी सञ्चालन गर्दै आएकी छन् । आमाघरमा वृद्धवृद्धाहरू मात्र नभई बेवारिसे बालबालिकाहरूलाई पनि आश्रय प्रदान गर्दै आएकी छन् । अहिलेसम्म सयौं आमाहरूलाई सेवा र आश्रय दिनुका साथै उनीहरूको सम्पूर्ण हेरचाहको जिम्मेवारी उनले आफैं लिएकी छन् ।

विशेष कुरा के हो भने उनले काम गर्न अरू कोही राखेकी छैनन्, बरु स्वयं सेवामै समर्पित भई आमाहरूको स्याहार-सुसार गरिरहेकी छन् । बाँचुन्जेल आफ्नै हातले सेवा गर्ने अनि मृत्युपछि दाहसंस्कारको व्यवस्था समेत आफैं गर्ने प्रण गर्दै आएकी छन् ।

उनको महान सेवाभावका कारण नेपाल सरकारले ‘जनसेवा श्री पुरस्कार’ द्वारा सम्मान गरेको छ। साथै, विभिन्न संघसंस्थाबाट पनि थुप्रै सम्मान र पुरस्कार प्राप्त गरेकी छन् । समाजसेवामा समर्पित उनको योगदानले मानवताका लागि जीवन अर्पण गर्न चाहने जोसुकैलाई थप प्रेरणा र उर्जा प्रदान गरिरहेको छ ।

पूर्णिमा श्रेष्ठ

वि.सं. २०४७ साल भदौ १ गते गोरखा जिल्लाको आरुचनौटे, आरुघाटमा जन्मिएकी पूर्णिमा श्रेष्ठले सन् २०१७ मा विश्वको आठौं सर्वोच्च शिखर मनास्लु हिमालको सफल आरोहण गर्दै आफ्नो हिमाल आरोहण यात्राको सुरुवात गरेकी थिइन् ।

उनले हालसम्म सत्तल, सगरमाथा, अमादब्लम, अन्नपूर्ण प्रथम, धौलागिरि प्रथम, कञ्चनजंघा प्रथम, ल्होत्से र मकालुको सफल आरोहण गरिसकेकी छन् । विशेषगरी, सन् २०२४ मा एकै सिजनमा तीनपटक सगरमाथा आरोहण गर्ने संसारकै पहिलो र एकमात्र महिला बन्न सफल भएकी छन् । साथै, विश्वका ८,००० मिटरभन्दा अग्ला १४ हिमालमध्ये ८ हिमालको सफल आरोहण गरिसकेकी छन् ।

हिमाल आरोहणका साथै पूर्णिमा श्रेष्ठ एक सफल फोटोपत्रकार पनि हुन् । उनले खिचेको सुन्दर तस्बिरहरू अमेरिकाको ‘द न्यूयोर्क टाइम्स’ तथा नेपालका राष्ट्रिय पत्रपत्रिकाहरूमा निरन्तर प्रकाशित हुँदै आएका छन् ।

उनको हिमालप्रतिको प्रेम र निष्ठाले महिला पर्वतारोहीहरूका लागि प्रेरणादायी बनेको छ।

रविन्द्र पुरी

वि.सं. २०२५ साल पुष १६ गते भक्तपुरमा जन्मिएका रविन्द्र पुरीले ललितकला र कानुनमा स्नातक तथा जर्मनीको ब्रेमेन विश्वविद्यालयबाट विकास नीतिमा स्नातकोत्तर गरेका छन् ।

सन् १९९० देखि १९९३ सम्म पाटन दरबार संरक्षण परियोजनामा ‘आर्किटेक्चरल मोडेल मेकर, मूर्तिकारतथा डिजाइनर’ को रूपमा कार्य गरे । त्यसपछि, सन् १९९६र९७ मा काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदाहरूको पुनर्स्थापनामा पनि महत्वपूर्ण भूमिका निभाए । उनले रानीपोखरी र सिंहदरबार पुनर्निर्माणमा समेत उल्लेखनीय योगदान दिएका छन् ।

उनका विभिन्न कलाकृतिहरू नेपालका संग्रहालयहरूमा प्रदर्शनमा राखिएका छन् भने, जर्मनी, श्रीलंका तथा अन्य विभिन्न अन्तर्राष्ट्रिय कला प्रदर्शनीहरूमा समेत उनका कलाकृतिहरू प्रशंसित भएका छन् ।

रविन्द्र पुरीको नेतृत्वमा स्थापना भएको रविन्द्रपुरी फाउन्डेशन मार्फत १०० भन्दा बढी परियोजनाहरू सञ्चालनमा छन्, जसले नेपालको सम्पदा संरक्षण तथा कला प्रवर्द्धनमा विशेष योगदान पुर्‍याइरहेको छ।

उनी युनेस्कोको ‘ एसीया पेसीफीक कलचरल हेरिटेज अर्वाड ’ प्राप्त गर्ने पहिलो नेपाली हुन् । यसैगरी, वि.सं. २०७० मा ‘जगदम्बा स्टिल एक्सिलेन्स अवार्ड’ द्वारा सम्मानित हुनुका साथै बीजनेश ३६० म्यागजीनले ‘नेपालका १० प्रभावशाली परिवर्तनकर्ता’ मध्ये एक तथा अन्नपूर्ण मिडियाले ‘देशका ५० अगुवा व्यक्तित्व’को रूपमा उनलाई सम्मान गरेको छ ।

उनको योगदानले नेपालको कला, सम्पदा संरक्षण तथा सांस्कृतिक पुनर्जागरणमा एक महत्वपूर्ण उदाहरण प्रस्तुत गरेको छ ।

रामजी अधिकारी

वि.सं. २०४१ साल असार १० गते गोरखा जिल्लाको भिरकोटमा जन्मिएका रामजी अधिकारीले मानव सेवा आश्रम स्थापना गरी त्यसका प्रमुख संस्थापक र अध्यक्षको रूपमा जिम्मेवारी सम्हालिरहेका छन् ।

मानव सेवा आश्रमले देशका सात वटै प्रदेशका १९ जिल्लामा २३ ओटा आश्रम सञ्चालन गर्दै सडकमानवलाई सम्मानपूर्ण जीवनयापनका लागि आवश्यक सेवाहरू प्रदान गर्दै आएको छ। आश्रमको संरक्षणमा करीब १,५०० जना बेसहारा असहाय, परिवार र समाजबाट परित्यक्त व्यक्तिहरू रहेका छन् । आश्रमको प्रमुख उद्देश्य भनेको वि.सं. २०८२ सम्ममा देशलाई सडक-मानवमुक्त बनाउने र नेपाललाई मानवताको देशको रूपमा संसारसामु चिनाउने छ ।

रामजी अधिकारीले युवाहरुलाई नेतृत्व र उत्प्रेरणासम्बन्धी तालिम प्रदान गर्दै देश, जनता र मानवताको सेवामा सक्रिय बनाउन प्रयासरत रहेका छन् ।

उनको जनसेवाश्री पदक सहित थुप्रै पुरस्कार र सम्मान प्राप्ति उनको समाजसेवा र योगदानको ठूलो मूल्याङ्कन हो । रामजी अधिकारीको प्रेरणादायी कार्यले नेपालमा मानवसेवाको क्षेत्रलाई नयाँ दिशा दिएको छ ।

डा. विराज सिंह थापा

डा. बिराज सिंह थापाको जन्म वि.सं. २०३६ साल जेठ १७ गते, मोरङ जिल्लाको विराटनगरमा भएको हो । वर्तमानमा काठमाडौं विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागमा सहप्राध्यापकका रूपमा कार्यरत उनले हाइड्रोपावर र ग्रीन हाइड्रोजनका क्षेत्रमा विशेषज्ञता हासिल गरेका छन् ।

उनी काठमाडौं विश्वविद्यालयको गड़ोजन ल्याबको टिस लिडर र इसिमोडको सह-नेतृत्व पनि गर्दै आएका छन् । उनकै नेतृत्वमा जीएच ल्याबले नेपालको पहिलो हाइड्रोजन कार, २०१९ मा हुन्डाई नेक्सो फ्युल सेल आयात गरेको थियो । साथै, काठमाडौं विश्वविद्यालयले नेपालको पहिलो हरियो हाइड्रोजन कार इन्फ्युलिङ स्टेसन पनि कोरियाबाट एसेम्ब्ली गरेर सञ्चालनमा ल्याएको छ।

नर्वेबाट विद्यावारिधि गरेका डा. थापाले नेपाल सरकारको ग्रिन हाइड्रोजन नीतिको समन्वय समितिको सदस्यका रूपमा पनि सेवा प्रदान गर्दै आएका छन् । उनी विश्व ऊर्जा परिषद्को सदस्य पनि हुन् ।

डा. थापाको नेतृत्वमा गरिएको कार्यले नेपालको हाइड्रोजन र नवीकरणीय ऊर्जा क्षेत्रमा नयाँ उचाइमा पुर्‍याएको छ र उनको योगदानले नेपाललाई विश्व ऊर्जा क्षेत्रसँग जोड्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

हरिराम श्रेष्ठ

गोरखा जिल्लाको पालुङटार वडा नं. ८ मा वि.सं. २०४३ साल कार्तिक ८ गते जन्मिएका हरिराम श्रेष्ठ नेपालका विज्ञान तथा प्रविधि क्षेत्रका एक आशाको दियो हुन् । उनी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा प्राविधिक अधिकृतको रूपमा कार्यरत छन् र नास्टको अन्तरिक्ष अनुसन्धान केन्द्रका प्रमुख पनि हुन् ।

उनले जापानबाट विद्यावारिधि गरेका छन् । उनी स्याटलाइट निर्माणमा मुख्य योगदानकर्तामध्ये एक हुन् र यस स्याटलाइटको निगर्मागर नेभिगेसनमा कार्यरत छन्।

इन्जिनियरिङका क्षेत्रका विज्ञ, उनले स्याटलाइट प्रशिक्षण लगायत विद्यालय र अन्तर्राष्ट्रिय समुदायमा अन्तरिक्ष प्रविधि प्रदर्शन गर्दै आएका छन् ।

स्याटलाइट प्रविधिका क्षेत्रमाको निर्माण र सञ्चालनमा महत्त्वपूर्ण योगदान दिएकाले वि.सं. २०७६ सालमा कीर्तिमय राहूदीप चौथोकाट सम्मानबाट सम्मानित भएका छन् ।

श्रेष्ठको योगदानले नेपालमा अन्तरिक्ष प्रविधिको क्षेत्रमा नयाँ सम्भावनाहरू खोल्न महत्त्वपूर्ण भूमिका निभाएको छ ।

सावित्रा भण्डारी (साम्बा)

सावित्रा भण्डारी, नेपाली फुटबल इतिहासमा एकै खेलमा दोहोरो ह्याट्रिक गर्ने पहिलो खेलाडीका रूपमा चिनिएकी छन् । उनको जन्म २६ मे १९९७ मा लमजुङ जिल्लाको सिमपानीमा भएको थियाे ।

एपीएफ क्लबकी मुख्य खेलाडी सावित्रा भण्डारीको उच्च प्रदर्शनका कारण एपीएफ क्लबले लगातार चार पटक प्रधानसेनापति कपको उपाधि जित्न सफल भएको थियो । साथै महिला राष्ट्रिय लिगको उपाधि जित्नमा पनि क्लबको सफलता सुनिश्चित गरिन् ।

विसं. २०७३ सालमा प्रधानसेनापति कप र राष्ट्रिय लिग जित्दा उनी उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् । यसैगरी, विसं. २०७५ सालको प्रधानसेनापति कप जित्दा उनी उत्कृष्ट अग्रपङ्क्तिका खेलाडी थिइन् ।

सावित्रा भण्डारी अन्तर्राष्ट्रिय व्यावसायीक फुटबल खेल्ने पहिलो महिला खेलाडी पनि हुन् । उनले सन् २०१७ मा माल्दिभ्स महिला लिगमा माल्दिभ्स एयरपोर्ट कम्पनीबाट खेलेकी थिइन् र उक्त संस्करणमा प्रतियोगिताकी उत्कृष्ट खेलाडी घोषित भइन् ।

साथै माल्दिभ्स पुलिस र सेतु क्लबको तर्फबाट पनि खेलेकी उनले करिब चार दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय खेलहरूमा सहभागिता जनाएका छन् ।

सावित्रा भण्डारीको उत्कृष्ट खेलकुदको योगदानले नेपाली फुटबलमा महिला खेलाडीहरूको स्थानलाई मजबुत बनाएको छ र उनले अन्तर्राष्ट्रिय फुटबलमा पनि नेपालको प्रतिष्ठा उच्च बनाउने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी छन् ।

Share News