
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले इलाम–२ को मत परिणामले पार्टीका प्रयासहरूमा कमी–कमजोरी रहेको बताएका छन् । रास्वपाका महामन्त्री डा. ढकालले मंगलबार विज्ञप्ति निकालेर यस्तो बताएका हुन् ।
‘पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा यस निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्नेछौं, निर्वाचन परिणामले हाम्रा प्रयासहरूमा कैयौं कमीकमजोरी रहेको इंगित गरेको छ, सही समयमा घण्टी बजाइदिनुभएको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ,’ महामन्त्री डा. ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘हामीलाई दिनुभएको मतका लागि सम्पूर्ण इलाम क्षेत्र नम्बर २ का मतदाताहरूप्रति कृतज्ञता र आभार प्रकट गर्दछौं, नतिजा हाम्रो अनुकूल नआए पनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भई जनताद्वारा व्यक्त मतको हामी सदैव सम्मान गर्दछौं ।’
इलाम-२ मा सुहाङले २७ हजार ७ सय ७२ मत ल्याई विजयी हुँदा रास्वपाका मिलन लिम्बूले ५ हजार ५० मत पाएका थिए ।