
पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा १ खर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा कार्यालयले १ खर्ब १४ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन गर्न सफल भएको हो ।
चालु आवको ९ महिनाका लागि भन्सार विभागले १ खर्ब ८१ अर्ब ९९ करोड रुपैयाँको लक्ष्य निर्धारण गरेको थियो । कार्यालयले लक्ष्यभन्दा ६७ अर्ब ८२ करोड रुपैयाँ कम राजस्व संकलन गरेको छ ।
विश्व आर्थिक मन्दीको प्रभावले राजस्वको लक्ष्य हासिल गर्न नसकिएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए । उनले सवारी साधन तथा इन्धनको आयातमा आएको कमीले राजस्व संकलनलाई प्रभावित गरेको बताए ।
गत आवको तुलनामा चालु आवभित्र कारोबारमा केही सुधार देखिए पनि कोरोनाकाल अगाडिको अवस्थामा फर्किन नसकेको अधिकृत सुवेदीले जानकारी दिए । उनले गत आवको ९ महिनाका लागि विभागले दिएको लक्ष्यको तुलनामा ६० प्रतिशतमात्र राजस्व संकलन भएको बताए ।