काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा शोधनान्तर स्थिति बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार शोधनान्तर स्थिति ३ खर्ब २७ अर्ब ५५ करोड रुपैयाँले बचतमा रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ४२ अर्बले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ४६ करोडले बचतमा रहेको छ ।
त्यस्तै, समीक्षा अवधिमा चालु खाता पनि १ खर्ब ६६ अर्ब ८७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५५ अर्ब २८ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४२ करोड ९३ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २५ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३०.२ प्रतिशतले कमी आई ३ अर्ब ८९ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब ६३ करोड रुपैयाँले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ५८ करोड रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब १७ करोड रुपैयाँले धनात्मक रहेको थियो ।