काठमाडौं । मंसिरमा बैंकहरुको ब्याज स्थीर हुने भएको छ । मंगलबार बिहान बसेको नेपाल बैंकर्स संघ (एनबिए) को बैठकले ब्याजदर स्थीर राख्ने निर्णय गरेको हो । संघले मंसिरमा ब्याज घटबढ नगर्ने निर्णय गरेको एक बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले विकासन्युजलाई जानकारी दिए ।
प्रत्येक महिनाको अन्त्यमा आगामी महिनाका लागि ब्याजदर निर्धारण गर्न एनबिएको बैठक बस्ने गर्छ । सोही अनुसार मंसिरका लागि ब्याजदर निर्धारण गर्न मंगलबार बैठक बसेको हो । ‘मंसिर महिनामा निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय भएको छ,’ स्रोतले भन्यो, ‘सोही निर्णय अनुसार मंसिरका लागि पनि बैंकहरुले कात्तिककै ब्याजदर प्रकाशित गर्नेछन् ।’
अहिले बैंकहरुले निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३३ प्रतिशत र संस्थागततर्फ ९.१३३ प्रतिशत ब्याज प्रदान गरिरहेका छन् । यस्तै, बैंकहरुले रेमिट्यान्स मुद्दती खातामा १५.३३३ प्रतिशतसम्म ब्याज दिइरहेका छन् । साधारण बचत खातामा भने बैंकहरुले १०.३३३ प्रतिशत ब्याज तोकिएको छ । निक्षेपको ब्याजदर उच्च रहेकाले कर्जाको लागत पनि बढेको छ । हाल बैंकहरुले कर्जामा १८ प्रतिशतभन्दा बढी ब्याजदर लिने गरेका छन् ।
बैंकहरुले असोजमा विगत ७ महिनादेखि स्थीर रहेको ब्याजदर बढाएका थिए । कात्तिक महिनामा भने बैंकहरुले ब्याजदर स्थीर राखेका थिए । ब्याजदर बढाएको भन्दै चौतर्फी विरोध भइरहेको छ । पछिल्लो समय ब्याजदर उच्च रहेको भन्दै घटाउन चौतर्फी दबाव रहेको छ । उद्योगी व्यवसायीहरु देशभर आन्दोलित छन् ।
सम्बन्धित समाचार: मंसिरमा के होला ब्याज ? निर्णय गर्न बैंकर्स संघको बैठक बस्दै