नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने

<p>काठमाडौं । नेपाल फाइनान्सले ललितपुरको लगनखेलमा प्रधान कार्यालय रहेको ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । सो सम्बन्धी दुई संस्थाबीच पुस २३ गते नै सम्झौता भएको हो । उक्त सहमती पत्र(एमओयू)मा नेपाल फाइनान्सको तर्फबाट सञ्चालक समितिका अध्यक्ष प्रा. डा. हिरेन्द्रमान प्रधान र ललितपुर फाइनान्सको तर्फबाट संचालक समितिका अध्यक्ष दिपक महर्जनले हस्ताक्षर गरेका हुन् । यससँगै [&hellip;]</p>

काठमाडौं । नेपाल फाइनान्सले ललितपुरको लगनखेलमा प्रधान कार्यालय रहेको ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । सो सम्बन्धी दुई संस्थाबीच पुस २३ गते नै सम्झौता भएको हो ।

उक्त सहमती पत्र(एमओयू)मा नेपाल फाइनान्सको तर्फबाट सञ्चालक समितिका अध्यक्ष प्रा. डा. हिरेन्द्रमान प्रधान र ललितपुर फाइनान्सको तर्फबाट संचालक समितिका अध्यक्ष दिपक महर्जनले हस्ताक्षर गरेका हुन् । यससँगै नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने प्रकृया अघि बढाएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत उध्वराज थपलियाले बताएका छन् ।

नेपाल फाइनान्स निजी क्षेत्रको लगानीमा खुलेको नेपालको पहिलो फाइनान्स कम्पनी हो । ललितपुरको लगनखेलमा प्रधान कार्यालय रहेको ललिपुर फाइनान्स २०५१ सालमा खुलेको हो । नेपाल फाइनान्सको करिब ३१ करोड रुपैयाँ र ललिपतुर फाइनान्सको करिब २४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

ललितपुर फाइनान्सलाई प्राप्तिपछि नेपाल फाइनान्सको नामबाट नै कारोबार हुनेछ । नेपाल फाइनान्सकै सञ्चालक समिति र व्यवस्थापनले संस्था सञ्चालन गर्नेछन् । स्वाप रेसियो डीडीए अडिटले निर्धारण गरेको अनुपातमा प्राप्ति गर्न र समाहित हुन दुबै पक्ष सहमत भएका छन् ।

नेपाल फाइनान्सको हाल २ शाखा छन् । र, थप ६ शाखा तथा २ एक्स्टेन्सन काउन्टर खोल्ने प्रकृयामा रहेको छ । त्यस्तै, ललितपुर फाइनान्सको ३ वटा शाखा सञ्चालनमा छन् । प्राप्तिपछि जम्मा शाखा संख्या १३ पुग्ने भएको छ ।

Share News