
काठमाडौं । नेपाल क्लाइम्बिङ्ग स्पोर्ट एसोसिएसन(एनसीएसए)ले अन्तराष्ट्रिय महासंघबाट पूर्ण सदस्यता प्राप्त गरेको छ । संघले स्पोर्ट क्लाईबिङको अन्तराष्ट्रिय महासंघ इन्टरनेशनल फिडरेसन अफ स्पोर्ट क्लाईबिङ(आईएफएससी)को सदस्यता/आवद्धता लिनका लागि प्रक्रिया चलिरहेकोमा हालै मात्र उक्त सदस्यता प्राप्त गरेको हो ।
आईएफएससीको पाँच महादेशबाट ९१ वटा राष्ट्रिय संघहरु आवद्ध छन् जसमा अफ्रिका–६, एसिया–२४, युरोप–४३, ओसियना–४ र पान अमेरिका–१६ । साउथ एसियाबाट नेपाल, भारत, पाकिस्तान र श्रीलंका रहेका छन् । स्पोर्ट क्लाईबिङ ओलम्पिक खेल हो जसलाई २०२० को टोक्यो तथा २०२४ को पेरिस ओलम्पिकमा समाबेश गरिएको अफिसियल खेल हो ।
नेपालमा पनि स्पोर्ट क्लाईबिङ खेलको विकास, विस्तार र प्रबद्र्धन गर्नका लागि संघले राखेप, सरकार, अर्ध सरकारी निकाय, कर्पोरेट हाउस एवम् निजी क्षेत्रसंग समन्वय, सहकार्य गरि अघि बढ्ने संघले जनाएको छ ।
संघले वार्षिक खेल क्यालेन्डर बनाइ गतिबिधि गरिरहेको छ । जसमा दुई वटा कार्यक्रम सम्पन्न गरिसकेको र बाँकी पाँच वटा कार्यक्रमहरु २०२०को डिसेम्बरसम्म गर्ने संघले जानकारी दिएको छ ।
साथै, एनसीएसएले मार्च र मे महिनामा आयोजना गर्न लागेको कार्यक्रमहरु स्थिगित भएको छ । चीनबाट सुरु भएको कोभिड १९ कोरोना भाइरसले गर्दा संघले उक्त कार्यक्रमहरु स्थिगित गर्न लागेको हो ।
साथै, संघले परिस्थिति सामान्य भएपछि उक्त कार्यक्रमहरु आयोजना गर्ने संघले जानकारी दिएको छ ।
एनसीएसए राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको राष्ट्रिय संघ हो । संघ स्थापना भए देखिनै शाहसिक तथा पर्यटकीय खेल स्पोर्ट क्लाइम्बिङ्ग (रक क्लाइम्बिङ्गर/ वालक्लाइम्बिङ्ग) को विकास, विस्तार र प्रबद्र्धन गरिरहेको छ भने राष्ट्रिय एबम अन्तराष्ट्रिय प्रतियोगिता आयोजना, सहभागिता जनाइरहेको छ ।
यस संघ मातहत हाल ११ वटा जिल्ला संघहरु छन् भने करिब १६२१ जना व्यक्तिहरुको स्पोर्ट क्लाइम्बिङ्ग कम्युनिटी रहेको छ ।