काठमाडौं । नेपाल प्रहरीका पूर्व डिआइजी महेशविक्रम शाह भ्रष्टाचारमा मुछिएका छन् । उनी विरूद्ध मंगलबार विशेष अदालतमा मुद्दा दर्ता भएको छ ।
प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा उनले नामै नभएका कर्मचारीको तलब, रासन बुझी राज्यकोषबाट लाखौं ठगी गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीमाथि अनुसन्धान गरिरहेको थियो ।
शाह डिआइजी पदबाट गत माघमा अवकाश भएका हुन् । डिआइजी शाहसहित तत्कालीन लेखापाल प्रहरी नायव निरीक्षक दिपेन्द्रप्रसाद पनेरु तथा लेखा सहायक प्रहरी हवल्दार केशव सिंह ऐरी, कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सन्जिब बिशंखे विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।