अत्तरिया । सुदूरपश्चिम प्रदेशसभाको सार्वजनिक लेखा समितिले तीन वटा आर्थिक अनियमितताका घटनाबारे छानबिन गरी प्रतिवेदन तयार गर्ने भएको छ । प्रदेश सरकारले खरिद तथा वितरण गरेकोे सुविधा सम्पन्न एम्बुलेन्स, कैलालीस्थित बाह्रवन साझेदारी वन व्यवस्थापन र प्रदेशभित्र सामुदायिक सिँचाइ परियोजनाअन्र्तगत सञ्चालन भएका कार्यक्रमको आर्थिक अनियमितताबारे प्रतिवेदन तयार गर्ने भएको हो ।
प्रतिवेदन तयार पार्न समितिले समयावधि तोकेको छ । लेखा समितिको बैठकले यही फागुन ८ गते एम्बुलेन्स खरिद तथा वितरणको छानबिन गर्न सभापति नन्दाकुमारी बमको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।
यस्तै बाह्रवन साझेदारी वन व्यवस्थापन समिति र सामुदायिक सिँचाइ आयोजना (सिआइपी) अन्र्तगत सञ्चालन भएको कार्यक्रमको छानबिन गर्न समिति सदस्य अमरबहादुर साउदको संयोजकत्वमा उपसमिति गठन गरेको छ ।
समितिका सभापति नन्दाकुमारी बमले एम्बुलेन्सबारे ३० दिनभित्र तथा बाह्रवन र सामुदायिक सिँचाइ आयोजना ३५ दिनभित्र प्रतिवेदन पेश गर्न समयावधि तोकिएको जानकारी दिए। सभापति नन्दाले भने, “यदि तोकिएको समयभित्र कुनै कारणबस प्रतिवेदन पेश गर्न सकिएन भने मागअनुसार समय थप गर्न सकिनेछ ।”
उनले तीनवटै आर्थिक अनियमितताको घटनाको छानबिन शुरु भएको जानकारी दिएका छन् । सामाजिक विकास मन्त्रालयले २०७६ कात्तिक २० गते एक कार्यक्रमबीच सेती प्रादेशिक अस्पतालसहित प्रदेशका १६ वटा निर्वाचन क्षेत्रका अस्पताल, स्वास्थ्य संस्थालाई एम्बुलेन्स वितरण गरेको थियो । रासस