काठमाडौं । वृहत रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित कतारमा पनि भेटिएको छ । पछिल्लो समय इरानबाट उद्धार गरेको एक कतारीमा कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको छ ।
दिन प्रति दिन कोरोना संक्रमण बढेसँगै दोहास्थित नेपाली दूतावासले सङ्क्रमण देखिएपछि कतारमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो । दूतावासले विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन अवलम्बन गर्नुपर्ने उपाय अपनाउन आग्रह गरेको हो ।
कतारमा करीब चार लाख नेपाली विभिन्न पेशाव्यवसायमा संलग्न छन् । ति नेपालको स्वास्थ्यलाई ध्यान दिँदै दूतावासले हाछयुँ गरेपछि वा खोकेपछि, खाना पकाउनु वा खानुअघि, शौचालय प्रयोगपछि, बिरामी भेटेपछि हात फोहर भएमा वा जनावर छोएपछि अनिवार्यरुपमा हात धुन सबैलाई अनुरोध गरेको छ ।
यस्तै साबुनपानीले हात धुन, फोहर हातले नाक, मुख र आँखा नछुन, हाछ्युँ गर्दा वा खोक्दा नाक र मुख बन्द गर्न वा रुमाल प्रयोग गर्न, रुघाखोकीको सङ्क्रमण भएका वा श्वासप्रश्वाससम्बन्धी समस्या हुने व्यक्तिको निकटमा नबस्न पनि दूतावासले आग्रह गरेको छ ।
इरानबाट उद्धार गरी ल्याइएका एक कतारी कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको थियो ।