होटल क्षेत्रमा लगानी बढेपनि पर्यटक नबढेकोमा हानको चिन्ता

काठमाडौं, ३२ जेठ । होटल संघ नेपालले होटल क्षेत्रमा लगानी बढेपछि विदेशी पर्यटकको संख्या नबढेकोमा चिन्ता व्यक्त गरेको छ । संघका अध्यक्ष बीके श्रेष्ठको नेतृत्वमा गएको व्यवसायीको टोलीले पर्यटन मन्त्री आनन्द पोखरेलसँग यस्तो गुनासो गरेको हो । भेटमा अध्यक्ष श्रेष्ठले वर्तमान परिस्थितिमा होटल उद्योगमा दिन प्रतिदिन लगानी बढेको भएपनि नेपाल भित्रिने पर्यटनको संख्यामा वृद्धि हुन नसकेको बताएका थिए । सरकारले पर्यटन प्रवद्र्धनका लागि विशेष पहल कदमी नगरेमा खरबौं लगानी जोखिममा पुग्ने उनले बताएका थिए । संघले आगामी जुलाई महिनामा चीनको राजधानी बेइजिङ तथा सांघाईमा नेपाल पर्यटन प्रवद्र्धनको कार्यक्रम आयोजना गर्न लागेको पनि जानकारी गराएको थियो । भेटमा त्यस्तै मन्त्री पोखरेलले अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु खासै हुन नसकेको स्वीकार्दै होटल संघ नेपालले चीनमा आयोजना गर्न लागेको कार्यक्रममा सरकारले सहयोग गर्ने बताएका थिए । सो मेलाले नेपालमा चिनियाँ पर्यटक भित्र्याउन सघाउने उनले विश्वास व्यक्त गरेका थिए । भेटमा संघका प्रथम उपाध्यक्ष अमरमान शाक्य, महासचिव विनायक शाह, कार्यसमिति सदस्य प्रविन बहादुर पाण्डे र कार्यकारी निर्देशक प्रवेश अर्यालको सहभागिता रहेको थियो ।

साहसिक पर्यटन गाईड तालिम सुरु

काठमाडौं, ३२ जेठ । ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) र एड्भेन्चर ट्राभल ट्रेड एसोसियसन (आट्टा) अमेरिकाको संयुक्त आयोजनामा ८ दिने साहसिक पर्यटन गाईड तालिम टान केन्द्रीय कार्यालय मालिगाउँमा सुरु भएको छ । तालिम उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै टानका महासचिव कर्ण लामाले नेपाललाई साहसिक पर्यटनको गन्तव्यको रुपमा विकास गर्न दक्ष जनशक्तिको आवश्यकता महशुष गरी तालिम संचालन गरेको बताए । तालिम कार्यक्रममा साहसिक पर्यटन, सुरक्षा र जोखिम, समुह व्यवस्थापन, प्राकृतिक, ऐतिहासिक सम्पदाको व्याख्या शैली, दिगो पर्यटन व्यवस्थापन, आकस्मिक प्राथमिक उपचार विषयमा विज्ञ विदेशी प्रशिक्षकहरुबाट तालिम प्रदान गरिनेछ । प्रशिक्षार्थीहरुलाई प्रयोगात्मक तालिमको लागि शिवपुरी राष्ट्रिय निकुञ्जमा लगेर आवासिय तालिमको समेत प्रबन्ध गरिएको टानका तालिम संयोजक शितल चन्द्र धरेलले बताए । तालिम कार्यक्रममा लामो समय देखि साहसिक पर्यटन प्रशिक्षणमा संलग्न रहदै आएका डान मुर, गोडेन, जिन क्लाउड, सुसान र पेगीले प्रशिक्षण दिनेछन् । नेपालमा पहिलो चोटी गाईडहरुको क्षमता अभिवृद्धिको लागी अन्तराष्ट्रिय स्तरको तालिम आयोजना भएको सार्मथ्यका पर्यटन व्यवस्थापन सल्लाहकार प्रनिल उपाध्यायले बताए । विश्वमा पर्यटन क्षेत्रको योगदान कुल ग्राहस्थ उत्पादनमा ११ प्रतिशत रहेपनि नेपालमा जम्मा ९ प्रतिशत मात्रै रहेको तथ्याङक छ । पछिल्लो समय विश्वभर ६५ प्रतिशतका दरले साहसिक पर्यटनको व्यवसाय बढिरहेको तथ्याङक सार्वजनिक भएको छ ।

बिचौलियामाथिको कारबाहीपछि अस्पतालको आम्दानी २५ प्रतिशत बढ्यो

चितवन, ३१ जेठ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा स्थानीय प्रशासनले कर्मचारीसहित बाहिरी बिचौलियालाई पक्राउ गरी निगरानी बढाएपछि अस्पतालको आन्तरिक आम्दानी बढेको छ । यसका कारण बिरामीसमेत लाभान्वित भएका छन् । करिब एक महिनाअघिदेखि स्थानीय प्रशासनले अस्पतालका बिचौलियामाथि निगरानी र कारबाही प्रक्रिया अगाडि बढाएको थियो । यस अवधिमा पाँच जना कर्मचारीसहित २० जना बिचौलियालाई प्रहरीले पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाएको थियो । यससँगै कार्यालय समयमा समेत लुकिछिपी निजी क्लिनिक तथा अस्पताल धाउने काम चिकित्सक र प्रविधिज्ञले छाडेका छन् भने बिरामीलाई छिटो हुन्छ भन्दै निजी क्लिनिक र अस्पताल पठाउने क्रमसमेत घटेको छ । अस्पतालभित्र औषधि, केमो, लज, ल्याब र डाक्टरका लागि बिरामी तान्न पुग्ने बिचौलिया अस्पतालमा देखिन छाडेको स्थानीयवासीले बताएका छन् । अस्पतालआसपास रहेका फार्मेसी र ल्याब मात्रै होइन, चौबीसकोठीमा लस्करै रहेका धेरै अस्पतालको व्यापार खस्किएको सञ्चालकले बताएका छन् । प्रशासनको कदमपछि क्यान्सर अस्पतालमा दैनिक सङ्कलन हुने राजस्वमा २५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । अस्पतालको राजस्व उपशाखाका प्रमुख शिव पौडेलका अनुसार दैनिक दुई लाख ७५ हजार रुपैयाँको हाराहारीमा सङ्कलन हुने राजस्व तीन लाख ५० हजार रुपैयाँ पुगेको छ । यद्यपि अस्पतालमा बढी चल्ने सिटी स्क्यान, मेमोग्राफी, एमआरआई र केही महत्वपूर्ण परीक्षण अझै हुन सकेका छैनन् । आइतबारदेखि मङ्गलबारसम्म अस्पतालमा बिरामी बढी आउने हुँदा अस्पतालको आम्दानी बढी हुने गर्दछ । अस्पतालका उपनिर्देशक डा देजकुमार गौतमका अनुसार सिटी स्क्यान र मेमोग्राफी पुराना बिग्रिएर चीन सरकारले उपलब्ध गराएपछि जडानको क्रममा रहेका छन् भने विद्युत् आपूर्तिमा गडबड भएर र युपिएस बिग्रिएर एमआरआई सञ्चालनमा आउन सकेको छैन । आपूर्तिकर्तालाई भुक्तानी हुन नसक्दा परीक्षण गर्ने केमिकलको अभावमा केही परीक्षण नभएको उनले बताए । अस्पतालमा युरिया, गिलुभिन टोटल, गिलुभिन डाइरेक्ट, एसटी, एलटीजस्ता सामान्य परीक्षणसमेत केमिकलको अभावमा हुन सकेका छैनन् । सबै उपकरण सञ्चालनमा आएर ल्याब परीक्षण नियमित हुन सके राजस्व दोब्बर हुने स्वयम् गौतम बताए । सबै उपकरण चले अस्पतालका अधिकांश चिकित्सक, प्रविधिज्ञ र कर्मचारीको लगानी रहेका निजी अस्पताल, क्लिनिक, ल्याब नचल्ने हुँदा छिट्टै उपकरण बिगार्ने र रिएजेन्ट अभाव देखाइरहने काम कर्मचारीबाटै हुने गरेको आरोप छ । अस्पतालका लेखा प्रमुख पिताम्बर उपाध्यायका अनुसार अस्पतालबाट भर्ना, परीक्षण, डिस्चार्ज लगायतबाट वार्षिक १० करोड रुपैयाँको हाराहारीमा आम्दानी हुन्छ भने अन्य फार्मेसी, फलफूल बिक्री, सटर भाडा, चमेनागृह लगायतबाट एक करोड रुपैयाँभन्दा बढी आम्दानी हुन्छ । भित्री र बाहिरी दुवै बिचौलिया रोक्न सके आम्दानी दोब्बर हुने प्रस्ट देखिन्छ । बिचौलिया नियन्त्रणसँगै २५ प्रतिशत आम्दानी बढिसकेको यस अस्पतालमा हुन नसकेका सबै परीक्षण हुन सके अहिले नै आम्दानी दोब्बर हुने देखिन्छ तर त्यसका लागि स्थानीय प्रशासनको अनुगमन निरन्तर हुनुपर्ने स्थानीयवासीको भनाइ छ । अस्पताल बनाउन त्यहाँ कार्यरत चिकित्सक र प्रविधिज्ञको तलब बढाएर अस्पतालभित्रै पेइङ क्लिनिक सञ्चालन गर्ने र निजीमा काम गर्न रोक्ने काम हुन सके बिरामीले सस्तो शुल्कमा सहज उपचार पाउने क्यान्सर सेवा समाजका अध्यक्ष श्यामप्रसाद लामिछाने बताउछन् । प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह चिकित्सक र प्रविधिज्ञसमेत बिचौलियाको भूमिकामा रहने र आफ्नो निजी अस्पताल र क्लिनिकमा लगेर बिरामी जाँच्ने गरेको भन्ने गुनासो आएपछि उनीहरुमाथि समेत निगरानी भइरहेको बताउछन् । अस्पताललाई हानि हुने र बिरामीलाई अप्ठ्यारो पार्ने जो सुकै भएपनि प्रशासनले नछाड्ने उनले बताए । प्रशासनको निगरानीसँगै अस्पतालका चिकित्सक र कर्मचारीसमेत दिनभर कार्यालयमा रहेर काम गर्न थालेका छन् । रासस