पारलैंगिक पुरुषको पीडा, समाजले नदेखेको भित्री कथा
काठमाडौं । अरूभन्दा म किन फरक, म मेरोजस्तै योनी भएका साथीहरूप्रति आकर्षित किन ? मलाई फरिया लगाएर घरकुटी खेल्नुभन्दा किन कपाल काटेर केटाहरू जस्तै बन्न मन लाग्छ ? समोन जीसीलाई सानैदेखि यही कुराले सताउँथ्यो । तर सोध्ने आँट भने हुँदैनथ्यो । उनी बाध्य भएर छोरीको दर्जाभित्र बस्थे । तर उनको हाउभाव, चालचलन छोरीहरूभन्दा फरक थियो । जति उमेर बढ्दै गयो समोनलाई यो प्रश्नले अझ घोँच्दै गयो । ‘मनसँग मनको अन्तरद्वन्द्व पनि भयानक हुँदो रहेछ, बाहिर भन्न नसकिने, आफै प्रश्न सोध्ने, आफै उत्तर दिने, जीवनका २२ वर्ष यसरी नै बिते,’ उनले भने । समोन जीसी पारलैंगिक पुरुष हुन् । उनको घर पाल्पा हो । हाल उनी काठमाडौं बस्दै आएका छन् । युनिटी फर चेन्ज नाम संस्थामा कार्यरत उनी कानुनका विद्यार्थी हुन् । जन्मँदा छोरीको जस्तै अंग लिएर जन्मेका उनी बढ्दै जाँदा आफ्नै अङ्गलाई अस्वीकार गर्न थाले । तर, प्रकृतिको खेल उनले चाहेर पनि अस्वीकार गर्न सकेनन् । उमेरसँगै शरीर परिवर्तन भयो, शारीरिक अंगहरू परिवर्तन हुन थाले । उनको शारीरिक बनावट र विचार फरक हुँदै गयो । उनलाई आफ्नो शरीरप्रति हजार प्रश्न गर्न मन लाग्थ्यो । म को हुँ ? किन मेरो भावना फरक छ ? किन म केटीप्रति आकर्षण हुन्छु ? भन्ने विषयमा बुझ्न मन थियो । तर, हजार प्रश्नको उत्तर आउँथ्यो, ‘तँ छोरी होस् छोरी भएर बस् ।’ यस्तै भन्नेहरूको जमात समाजमा ठूलो थियो । यस्तै प्रश्न र उत्सुकताबीच एक दिन उनको बुवाले सोधे,’ ‘छोरी तिम्रो हरेक क्रियाकलाप फरक देख्छु, कपाल कटाइ, हिँडाइ बसाइ किन यस्तो ?’ समोनलाई त्यो दिन मेरो कुरा पनि सुन्ने कोही छ भन्ने लाग्यो । समोन जीसी ‘म त्यो दिन यति खुसी भएँ कि शब्दमा व्यक्त गर्न सक्दिनँ,’ उनले भने, ‘हजारौं प्रश्न अनि अन्यौलताले भरिएकाे म मेरै बुवाले सोध्दा मैले सबै कुरा भनिदिएँ, बुवाले यो कुरा सहर्ष स्वीकार्नुभयो ।’ उनका बुवा आफै शिक्षक छन् । सोच पनि क्रान्तिकारी थियो । बुवाले सहर्ष स्वीकारे पनि आमालाई भने गाह्रो भयो । ‘मैले छोरी नै जन्माएकी हुँ, यो कसरी हुन्छ, छरछिमेकीले के भन्लान् भन्दै आमालाई सुरुमा स्वीकार्न गाह्रो भयो,’ उनले विगत सम्झँदै भने । विस्तारै परिवार अनि छिमेकीलाई समोन पारलैंगिक पुरुष भएको थाहा भयो । त्यसपछि उनी गाउँ छोडेर काठमाडौं लागे । पढाइको सिलसिलामा काठमाडौं आएपछि उनलाई अझै आफ्नो बारेमा बुझ्न सजिलो भयो । भन्छन्, ‘अहिले मजस्ता पारलैंगिक पुरुषहरूको हक अधिकारीका लागि आवाज उठाउँदै आएको छु, तर यो समाजले हामीलाई बुझन अझै मिहिनेत गर्नुपर्छ ।’ कालीकोटका अनु शाहीको अनुभव पनि उस्तै छ । उनलाई पनि आफ्नो शरीर र आफ्नो विचारमा किन फरक भन्ने सानैदेखि लाग्थ्यो । यौनिक तथा लैंगिक अल्पसंख्यक हुन्छन् भन्ने समेत उनलाई थाहा थिएन । एसईई दिइसकेपछि काठमाडौं आएका उनी दाइको मोवाइल हात पर्नेवित्तिकै म जस्तै पनि कोही हुन्छन् त भन्दै गुगलमा सर्च गर्थे । धेरै कुरा फेला नपारेपनि केही कुरा फेला पारे । उनले आफू लेस्बियन हो कि भन्ने अनुमान गरे । तर एउटा पारलैंगिक पुरुषको अन्तर्वार्ता उनले जब सुने त्यसपछि थाहा पाए कि म त 'पारलैंगिक पुरुष’ रहेछु । आफ्नो प्रश्नको उत्तर पाएपछि अनु खुसी भए । त्यसपछि उनले यो समुदायका बारेमा खोज्न थाले । विस्तारै सबै कुरा थाहा हुँदै गयो । ‘म को हुँ भन्ने त थाहा भयो, ठूलो अन्यौलता हट्यो,’ उनी भन्छन्, ‘समस्या अर्को थपियो, अब मेरो परिवार, समाज अनि आफन्तलाई कसरी चिनाउने ?’ उनीसँगै बसेकी दिदीलाई अनुको व्यवहारले गर्दा शंका लागिसकेको थियो । केही आशंका परिवारका अन्य सदस्यलाई पनि थियो । परिवारमा समस्या नभए पनि समाज, आफन्तहरूलाई कसरी यो कुराको जानकारी दिने भन्ने ठूलो पीर थियो । अनुले आफू पारलैंगिक पुरुष भएको कवितामार्फत जानकारी गराए । अनु साहित्यमा पनि उत्तिकै सक्रिय छन् । अहिले पनि गीत, गजल, मुक्तक लेखिरहन्छन् । केही वर्ष पहिले भएको साहित्य रियालिटी शोमा उनले आफ्नो विषयमा कविता लेखेर आफ्नो पहिचान बनाए । त्योभन्दा अगाडि छोरी भनेर चिनिरहेको समाजले त्यसपछि उनलाई पारलैंगिक पुरुष भनेर चिन्न थाल्यो । धेरै जनाले उनलाई फोन गरे, आफन्तहरूले पनि थाहा पाए । अनु शाही ‘परिवारमा त दिदीलाई थाहा भइसकेको थियो, आमाबुवाले पनि शंका गरिरहेका थिए,’ उनी भन्छन्, ‘जब मैले रियालिटी शोमा आफ्नो कविता भनें त्यसपछि परिवार आफन्त सबै छर्लङ्ग भए, मैले लेखेको कविताले मेरो पहिचान दियो ।’ लैंगिक तथा यौनिक अल्पसंख्यक भन्ने विषय आजभोलि सुनिन थाले पनि त्यहाँ भित्रको कुरा धेरैजसोलाई थाहा छैन । अहिले पनि यो समुदायलाई अन्यको रूपमा धेरैले चिन्छन् । यहाँभित्र पारलैंगिक पुरुष, महिला, लगायतका थुप्रै व्यक्ति छन् । उनीहरू सबै फरकफरक समुदायमा पर्छन् । अनु यस्ता विषय पाठ्यक्रममा समावेश नहुँदा धेरैले थाहा नपाएको बताउँछन् । पाठ्यक्रममा पनि महिला र पुरुषमात्र भनिँदा आफूहरूको पहिचान नभएको उनीहरू बताउँछन् । अस्पतालमा पुग्दा सबैभन्दा पहिले नाम, उमेर अनि लिंग सोधिन्छ । लिंगमा पनि महिला, पुरुष र धेरैसम्म भए अन्य भनेर राखेको हुन्छ । ‘अन्य छ, अन्यमा बस्न मन लाग्दैन, नाम लेख्दा अनि उमेर लेख्दा समस्या पर्दैन तर सेक्स लेख्दा जहिले अन्याय भएको महसुस हुन्छ, त्यहाँ जेण्डर लेखेको भए ट्रान्समेन लेख्थें होला,’ उनले भने । सामाजिक समस्या कतिपय ट्रान्सम्यानलाई परिवार भित्रबाट पहिचानमा समस्या हुन्छ भने घरमा द्वन्द्व गरेर बाहिर निस्केकालाई समाजले सहज रूपमा बाँच्न दिँदैन । हरेकले अनेकौं नाम उपनाम दिएर अपमान गरिरहेका हुन्छन् । समाज र पारिवारिक डरले धेरैजसो ट्रान्सम्यान अहिले पनि महिलाकै दर्जामा बस्न बाध्य छन् । समोन भन्छन्, ‘म आफ्नो पहिचानमा आएपछि घरभित्रको कोठामा केही समस्या आएन तर समाजमा मलाई गर्ने अनि हेर्ने व्यवहार फरक भयो ।’ महिला पुरुषलाई भगवानले बनाएको हो भने हामीलाई पनि भगवानले नै बनाएको हो भनेर कसले बुझिदिने ? कपाल काटेर ठाडो बनाउने बित्तिकै कस्तो केटी भएर नि केटा जस्तो के ... हो भनेर गिज्याउँथे, उनलाई हेरेर हाँस्थे । महिला शौचालयमा जाँदा महिलाहरू तर्सिने, पुरुष शौचालय जाँदा पुरुष तर्सिने । सधैं यही समस्या भोग्दा दुई वर्षसम्म कलेजमा पानी नै पिइनँ, शौचालय नै गइनँ । २ वर्षसम्म शौचालय प्रयोग नगर्दा पारलैंगिक पुरुषलाई समाजमा मात्र होइन, शौचालयमा पनि उस्तै समस्या हुन्छ । लगभग सबै ठाउँमा महिला, पुरुष अनि अपांगता भएका व्यक्तिका लागि शौचालयको सुविधा हुन्छ । तर पारलैंगिक पुरुष, महिला र अन्यका लागि शौचालयको समेत व्यवस्था हुँदैन । अनुले यही समस्याले दुई वर्षसम्म कलेजको शौचालय प्रयोग गरेनन् । ‘महिला शौचालयमा जाँदा महिलाहरू तर्सिने, पुरुष शौचालय जाँदा पुरुष तर्सिने सधैं यही भोग्दा जान मनै लागेन,’ उनले भने । महिनावारीका कुरा फिलिङ पुरुषको भए पनि पारलैंगिक पुरुष प्रायः पाठेघर र योनी भएकै व्यक्ति हुन्छन् । उनीहरूले आफ्नो भावनाअनुसार आफूलाई पुरुष देखाउन खोजेपनि नियमित महिनावारी हुन्छ । यस्तो अवस्थामा धेरैलाई असहज अनुभव हुन्छ । ‘नचाहेरै पनि हामीले यो भोग्नैपर्छ,’ अनु भन्छन्, ‘हाम्रो, सोच, विचार भावना फरक हो तर, योनी र पाठेघर भइसकेपछि हामी पनि महिनावारी हुन्छौं, तर बिडम्वना, हामी जस्ता व्यक्तिलाई सरकारले कहिल्यै न सुन्यो, न देख्यो ।’ अनु पहिलो पटक महिनावारी हुँदा निकै गाह्रो अनुभव गरेको बताउँछन् । उनलाई पहिलो पटक महिनावारी हुँदा स्वीकार्न गाह्रो भयो । ‘म छोरा हो किन महिनावारी भएँ ?’ उनले आमालाई प्रश्न पनि गरे । भन्छन्, ‘सानैदेखि जोसँग महिनावारी छ, पाठेघर छ त्यो व्यक्ति महिनावारी हुन्छ भनिएको भए म सहज रूपमा यसलाई स्वीकार्थें तर यहाँ यसो भनिएन, सिकाइएन पनि जसले गर्दा स्वीकार्न समस्या भयो ।’ महिनावारी हुँदा प्याड किन्न जाँदा पनि तलदेखि माथिसम्म हेरिन्छ । कतिपयले हेर्नेमात्र होइन बोल्छन् पनि । आफ्नै लागि हो कि कसको लागि किन्न आएको हेर्दा केटाजस्तो आवाज, केटीको जस्तो पनि भन्थे । हेर्ने तरिका बोल्ने शब्दले पनि आफूहरूमाथि विभेद हुने गरेको उनी बताउँछन् । उनी ७ कक्षामा पुग्दा बल्ल परिवारले महिनावारी भएको थाहा पायो । कुनै समय उनलाइ यो कुरा स्वीकार्न गाह्रो लाग्थ्यो । तर बढ्दै बुझ्दै जाँदा उनले स्वीकारिन् । अहिले उनलाई यो सामान्य लाग्छ । महिनावारी हुँदा सनोमको अनुभव भने फरक छ । उनी कक्षा ५ मा पढ्दै गर्दा पहिलो पटक महिनावारी भए । उमेर पनि सानै थियो । त्यो बेला उनलाई आफू ट्रान्सम्यान हुँ भन्ने थाहा थिएन । अहिले पनि महिनावारीलाई लाजको विषय मानिन्छ । उनलाई पनि यही लाज लाग्यो । उनी लाजले कसैलाई नभनेर लुकाएर बसे । उनी ७ कक्षामा पुग्दा बल्ल परिवारले महिनावारी भएको थाहा पायो । कुनै समय उनलाइ यो कुरा स्वीकार्न गाह्रो लाग्थ्यो । तर बढ्दै बुझ्दै जाँदा उनले स्वीकार गरे । अहिले उनलाई यो सामान्य लाग्छ । महिनावारी रोक्न आषैधी धेरैजसो पारलैंगिक पुरुष अनुभवमा मात्र होइन, आफूलाई देख्दा र हेर्दा पनि पुरुष जस्तै देखिन पाऊँ भन्ने चाहना राख्छन् । यसकै लागि उनीहरूले स्वदेश, विदेशबाट महँगो शुल्क तिरेर हर्मोनको औषधी खाइरहेका हुन्छन् । तर अनु र समोनले अहिलेसम्म कुनैपनि हर्मोन लिएका छैनन् । यौनिक तथा लैंगिक अल्पसमुदायभित्र विभिन्न समुदायका व्यक्ति छन् । यस भित्रका विषय बुझ्न धेरै अध्ययन गर्नुपर्ने हुन्छ । ‘कतिपयले महिनावारी स्वीकारेका छैनन्, महिनावारी रोक्न विभिन्न किसिमका हर्मोन औषधी लिरहेका छन् । दारीजुँगा होस्, छाती नहोस् भनी स्तनको सर्जरी पनि गरिरहेका हुन्छन् । महिनावारीलाई नबुझेर औषधी खाँदा विभिन्न किसिमका समस्या पनि भएको छ’, अनु र सनोम भन्छन्, ‘हामी हामी नै भएर बाँच्नुपर्यो । यो अधिकारी परिवार साथीभाइ समाजले दिनुपर्यो ।’ हर्मोन लिएर झट्टा हेर्दा पुरुषजस्तै देखिने ट्रान्सम्यानलाई अर्कै समस्या छ । उनीहरूको नाम कागजात एउटा र झट्ट हेर्दा अर्को देखिने कारण पनि यस्तो समस्या हुने गरेको छ । साथै शिक्षा, स्वास्थ्य रोजगारबाट समेत उनीहरूले वञ्चित हुनुपरेको छ । अहिले पनि समाजमा महिनावारी महिलाको मात्र भनिएको छ । पारलैंगिक पुरुष अनु र सनोम जस्ता पारलैंगिक पुरुषहरू यो विषय महिला नभइ पाठेघर भएका सबै व्यक्तिको हो भन्ने अभियानमा छन् ।
प्रदेश सरकारको प्राथमिकतामै परेन स्वास्थ्य क्षेत्र
काठमाडौं । आगामी आर्थिक २०८२/०८३ लागि प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा स्वास्थ्य क्षेत्र प्राथमिकता नपरेको पाइएको छ । सातवटै प्रदेशको विनियोजित बजेट हेर्दा पूर्वाधारमुखी बढी केन्द्रित भएको छ । प्रदेशहरूले स्वास्थ्यका केही विषय समेटिए पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएका छैनन् । सबैभन्दा कमजोर बजेट सुदूरपश्चिम सरकारले ल्याएको छ । आगामी आर्थिक वर्षका लागि लागि ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको रकम सार्वजनिक गरेको सुदूरपश्चिम सरकारले स्वास्थ्य क्षेत्रको बजेट अंकमा उल्लेख नै गरेको छैन । ६८ पृष्ठको बजेट भाषणमा ३३/३४ ठाउँ स्वास्थ्य विषय उल्लेख गरेपनि कुन शीर्षकमा कति बजेट छुट्याइएको छ भन्ने स्पष्ट छैन । मलेरिया, कुष्ठरोग, एचआईभीलगायत मातृ, शिुशु मृत्युदरको जोखिम भएपनि त्यसलाई न्यूनीकरण गर्न ठोस कार्यक्रम न कार्यक्रममा आएको छ न बजेटमा उल्लेख छ । सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रलाई नजिकबाट नियालेका डा. गुणराज अवस्थी स्वास्थ्यका विभिन्न समस्या अहिले पनि उत्तिकै रहेको भन्दै स्वास्थ्यमा सबैभन्दा धेरै बजेट आवशयक रहेको बताउँछन् । उनी भन्छन्, ‘बजेटमा आवश्यकताअनुसार बजेट विनियोजन गरेको छु भनिएको छ, तर अंकमा कतै देखिँदैन, आवश्यक भनेको छ, यसको मतलब आवश्यकताअनुसार बजेट छुट्टयाएको भन्न मिल्दैन ।’ अवस्थी प्रदेशमा मात्र नभइ संघमै पनि आवश्यकताअनुसार बजेट नहुँदा दिगो विकासका लक्ष्यअनुसार काम गर्न सकस भएको बताउँछन् । डडेल्धरा अस्पतालका अध्यक्ष करुणकर ओझा स्वास्थ्य क्षेत्रमा स्वास्थ्यको अवस्था दयनीय रहेको भन्दै आवश्यकताका आधारमा बजेट नआएको बताउँछन् । ‘म अध्यक्ष रहेको अस्पतालले संघबाटै बजेट पाउँछ, प्रदेशबाट पनि केही पाइन्छ कि भन्ने आशा थियो, कानुनी झन्झटले नमिल्ने बताएपछि हामीले प्रदेशबाट पाएनौं,’ उनी भन्छन्, ‘यहाँको स्वास्थ्य अवस्थालाई प्रदेशमात्र होइन, संघ सरकारले पनि उत्तिकै महत्व दिनुपर्छ ।’ कर्णालीमा पनि उस्तै सुदूरपश्चिममात्र होइन, कर्णाली प्रदेशमा पनि अवस्था उस्तै छ । तर बजेट वक्तव्य हेर्दा कर्णालीले शीर्षकका आधारमा अंक खुलाएर बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेशले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रकम विनियोजन गरेको हो । उसो त कर्णालीले पनि एकमुष्ट स्वास्थ्य क्षेत्रमा बजेट छुट्याइएको पाइँदैन । कर्णालीले ‘गुणस्तरीय सेवा दीर्घ जीवनका लागि टेवा’ नारा सहित कार्यक्रम ल्याएको छ । जसअन्तर्गत प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गरिने उल्लेख छ । यस्तै, अस्पतालको छुट्टै ओपीडी ब्लक निर्माणका लागि १० करोड ५० लाख विनियोजन गरेको छ । दीर्घरोग पीडितको उपचारका लागि १ करोड विनियोजन गर्ने उल्लेख छ भने भूकम्पबाट क्षतिग्रस्त भएका सामुदायिक अस्पताल र अस्पताल पुनःनिर्माणका लागि ४२ करोड १० लाख, विनियोजन गरेको छ । यसरी विभिन्न शीर्षकमा केही बजेट छुट्याएपनि स्वास्थ्य क्षेत्रका लागि ठ्याक्कै यति प्रतिशत अथवा यति रकम भनेर विनियोजन गरेको छैन। लुम्बिनी प्रदेशको ४ अर्ब ९५ करोड सुदूर र कर्णालीभन्दा अन्य प्रदेशले स्वास्थ्य क्षेत्रमा यकिन रकम विनियोजन गरेका छन् । लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षको लागि विनियोजन गरेको ३८ अर्ब ९१ करोड बजेटमा स्वास्थ्य क्षेत्रमा ४ अर्ब ९५ करोड विनियोजन गरेको छ । जसमा निःशुल्क वितरण गरिने औषधीका लागि ३ करोड र उपकरणका लागि १२ करोड बजेट छुट्याएको छ । सुरक्षित मातृत्व अभियान अन्तर्गत निःशुल्क हावाइ उद्धार कार्यक्रमका लागि १० करोड, मानसिक स्वास्थ्यमा सुधार, स्वस्थ्य जीवनको आधार भन्ने नाराका साथ बढ्दो मानसिक स्वास्थ्य समस्या रोकथामका लागि २ करोड, मुटुको भल्ब प्रत्यारोपण, मिर्गौला प्रत्यारोपण, क्यान्सर रोगको सहुलियतलाई निरन्तरता दिन १० करोड विनियोजन गरिएको छ भने राप्ती प्रादेशिक अस्पतालको स्तरोन्नतिका लागि ५ करोड, निर्माणाधीन स्वास्थ्य कार्यालय प्युठान, रुकुमपूर्व अस्पताल, ट्रमा सेन्टर लमहीको लागि ८ करोड, पोषण विशेष कार्यक्रम सञ्चालनका लागि ८ करोड, प्रादेशिक आयुर्वेद, लुम्बिनी आयुवेर्दकलाई स्तोरोन्नतिका लागि तीन करोड विनियोजन गरेको छ यस्तै नसर्ने रोग न्यूनीकरणका लागि ४ करोड, लुम्बिनी प्रादेशिक अस्पताल निर्माणका लागि १ अर्ब वितरण गरेको छ । बागमती प्रदेशमा ३ अर्ब ९६ करोड ८८ लाख बागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि स्वास्थ्य क्षेत्रमा ३ अर्ब ९६ करोड ८८ लाख बजेट विनियोजन गरेको छ । कुल ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट ल्याउँदा स्वास्थ्यमा भने जम्मा ३ अर्ब ९६ करोड ८८ लाख छुट्टाएको छ । प्रदेशले ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी– एक घण्टा, मेरा लागि’ अभियान सञ्चालन गरी मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ । सबै नीतिमा स्वास्थ्य, एक जिल्ला एक स्वस्थ शहर, एक स्थानीय तह, एक नमुना स्वास्थ्य संस्था कृषि कार्यक्रमलाई प्राथमिकता दिएको छ । यस्तै, एक विद्यालय, एक नर्स कार्यक्रमलाई निरन्तरता दिन ४२ करोड बजेट विनियोजन गरेको छ । यस्तै, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमलाई स्थानीय तहको सहकार्यमा समुदायस्तर सम्म विस्तार गर्ने, स्तन क्यान्सर मुखको क्यान्सर लगायत विभिन्न खालका क्यान्सरलाई भएकाहरूलाई थप सहुलियतका लागि १५ करोड, स्थानीय तहका बर्थिङ सेन्टरलाई सबलीकरण गर्न र प्रादेशिक अस्पतालमा मातृ तथा नवशिशु स्वास्थ्य सेवा सुदृढिकरणको लागि १० करोड, आयुर्वेद तथा वैकल्पिक चिकित्सालयहरूबाट विशेषज्ञ आयुर्वेदसेवाको विस्तार गर्दै मकवानपुर, धादिङ, नुवाकोट जिल्लामा अन्तरंग सेवा प्रदान गर्न ४ करोड, अपांगता भएका व्यक्ति र महिला स्वंयसेविकाहरूको बीमालाई निरन्तरता दिन ११ करोड, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि ३५ करोड, प्रदेश औषधी केन्द्र स्थापना गर्न र प्रादेशिक अस्पतालहरूमा विशेषज्ञ तथा विशिष्टीकृत आँखा र रोबोटिक्स शल्यक्रियाका लागि १० करोड छुट्याएको छ । मधेश प्रदेश ७ वटा प्रदेशमध्ये स्वास्थ्य क्षेत्रमा सबैभन्दा बढी रकम मधेश प्रदेशले विनियोजन गरेको छ । आगामी आर्थिक वर्षका लागि मधेश प्रदेश सरकारले ल्याएको कुल ४६ अर्ब ५८ करोड बराबरको बजेट मध्ये ले ६ अर्ब ४५ करोड ६१ लाख रकम स्वास्थ्य क्षेत्रका लागि विनियोजन गरेको हो । अन्य प्रदेशले ३ अर्ब वरिपरी बजेट ल्याउँदा मधेशले ६ अर्ब बढी स्वास्थ्यका लागि छुट्याएको हो । गण्डकी प्रदेश गण्डकी प्रदेशले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य मन्त्रालयलाई ३ अर्ब ३२ करोड ७० लाख ४० हजार विनियोजन गरेको छ । कुल ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार विनियोजन गर्दा स्वास्थ्य क्षेत्रमा ३ अर्ब ३२ करोड ७० लाख ४० हजार विनियोजन गरेको हो । कोशी प्रदेश कोशी प्रदेशले कुल ३५ अर्ब ८७ करोड ९९ लाख रकमको बजेट ल्याउँदा स्वास्थ्य क्षेत्रमा ३ अर्ब ५१ करोड ७१ लाख रकम छुट्याएको छ । आकस्मिक अवस्थामा आवश्यक पर्ने बफर स्टक तथा निःशुल्क वितरण गर्ने औषधी खरिदका लागि ३ करोड ६१ लाख, खोटाङमा जडिबुटी तथा प्रशोधन केन्द्र स्थापना तथा प्रशोधन स्थापनाका लागि ३ करोड, प्रदेश जनस्वास्थ्य प्रगोशालालाई रेफरल ल्याबको रूपमा विकास गरी अनुसन्धानमुलक काम गर्न ३ करोड १० लाख छुट्याएको छ । प्रदेशले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख र पुँजीगत तर्फ १७ अर्ब १० करोड विनियोजन गरेका छन् । विज्ञहरू भने प्रदेशको मात्र नभइ समग्र स्वास्थ क्षेत्रमै बजेट कमजोर आएको बताउँछन् । केन्द्रले नै स्वास्थ्यलाई १० प्रतिशत बजेट छुट्याउन नसकेको अवस्थामा प्रदेशले झन् नछुट्टयाएको उनीहरू बताउँछन् । स्वास्थ्य क्षेत्रमा कुल बजेटको १० प्रतिशत बजेट विनियोजन गर्नुपर्ने भए पनि ४/५ प्रतिशतमात्र बजेट हरेक वर्ष विनियोजन हुन्छ । प्रदेश सरकारले गाउँठाउँमा डोजर चलाउने र सडक निर्माणलाई मात्र प्राथिमकता दिने गरेको बताउँदै विज्ञहरू स्वास्थ्य र शिक्षा जस्ता क्षेत्र जहिले उपेक्षामा पर्ने गरेको बताउँछन् । डा. अवस्थी केन्द्र, प्रदेश र स्थानीय तहले शिक्षा र स्वास्थ्यमा बढी जोड दिनु अहिलेको अवश्यकता रहेको बताउँछन् । चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्की नेपालमा जति प्रयास गर्दा पनि स्वास्थ्य क्षेत्रमा प्राथमिकतामा नपर्नु दुःखद भएको बताउँछन् । विश्व स्वास्थ्य संगठनका अनुसार कुल बजेटको कम्तीमा १० प्रतिशत बजेट स्वास्थ्यमा आवश्यक पर्छ तर नेपालमा ८/९ प्रतिशतसम्म बजेट विनियोजन हुँदैन ।
बालेन शैली अपनाउँदा मृत्युको मुखमा पुर्याइयो, स्वास्थ्यमन्त्रीसम्मको ‘नेक्सस’
काठमाडौं । नेपाली युवाहरूको एउटै गुनासो छ- ‘नेपालमा गरिखान गाह्रो छ’ । हरेक क्षेत्रमा राजनीति, भ्रष्टाचार र राम्रो गर्नेहरूको खुट्टा तान्ने प्रवृत्तिले युवाहरूको रोजाइ नै परदेश हुन थालेको छ । सोमबार सामाजिक सञ्जालमा अलबिदा लेख्दै आत्महत्या गर्ने योजनामा पुगेका चिकित्सक डा. केशव श्रेष्ठको हकमा पनि ठ्याक्कै यही घटना दोहोरियो । प्रहरीले उनलाई मृत्युबाट जोगाए पनि यो घटनाले नेपालमा सुशासनको जग बसाल्न कति चुनौती खेप्नुपर्छ भन्ने देखाएको छ । जिल्ला अस्पताल, रामेछापमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट चिकित्सक श्रेष्ठले आफू राम्रो गर्न खोज्दा कर्मचारी, प्रदेश स्वास्थ्य मन्त्रालयलगायत विभिन्न ठाउँबाट दबाब खेप्नुपरेको भन्दै आत्महत्या गर्न बाध्य बनाएको लामो स्टाटस लेखे । परिवारलाई सम्बोधन गर्दै लेखिएको स्टाटसले सोमबार दिनभर सामाजिक सञ्जाल तात्यो । केही गर्न खोज्नेहरूलाई राजनीतिक तहमा समस्या सिर्जना हुने काम सिर्जित हुने गरेको भन्दै व्यापक आलोचना पनि भयो । प्रहरीले समयमै सूचना पाउँदा चिकित्सकको ज्यान जोगिए पनि यो घटनाले ठूलो प्रश्न खडा गरेको छ । एउटा सामान्य कर्मचारीले राजनीति र सरकारबाटै कति कष्ट सहनुपर्छ भन्ने कुरूप अनुहार छर्लंग भएको छ । चिकित्सकहरूलाई नै यस्तो अवस्थामा ल्याउनेविरुद्ध कडा कारवाही गर्नुपर्ने माग सर्वसाधारणदेखि चिकित्सकहरूबाट उठेको छ । ड्युटीमा कडाइ गर्दाकाे परिणाम नेपालमै केही गर्नुपर्छ भन्ने हुटहुटी भएका २५ वर्षका चिकित्सक श्रेष्ठले जिल्ला अस्पताल, रामेछापमा २५ महिना सेवा गरे । यो अवधिमा उनले १८ महिना अस्पतालको निमित्त सुपरिटेन्डेन्ट भएर काम गरे । करारको जागिर हुँदै नेपाल प्रहरी र बागमती प्रदेशको लोकसेवाबाट नाम निकालेर यो पेशामा प्रवेश गरेका श्रेष्ठको स्वभाव बालेनशैलीको रहेको उनलाई चिन्नेहरू बताउँछन् । उनलाई नजिकबाट चिन्ने एक चिकित्सक केशवमा बालेन शैलीको स्वभाव रहेको बताउँछन् । ‘उनी आफू पनि काम गर्ने र आफ्नो टिमलाई पनि गर्नुपर्छ भन्ने स्वभावका थिए, ती चिकित्सक भन्छन्, ‘केही गर्नुपर्छ, नराम्रो गर्न हुँदैन भन्नेलाई नेपालमा गर्न नदिइने रहेछ, बालेनलाई पनि त्यस्तै छ, उनलाई पनि त्यस्तै असहयोग भयो ।’ चिकित्सकलाई नै यो अवस्थामा पुर्याउने नेपालको राजनीतिक अराजकताले युवाहरू स्वदेशमा बस्ने वातावरण नरहेको उनी बताउँछन् । रामेछापका स्थानीय पनि १८ महिनाको अवधिमा श्रेष्ठले राम्रो कामको प्रयास गरेको बताउँछन् । नामको मात्र अस्पताल रहेको जिल्ला अस्पताललाई साँच्चिकै अस्पताल बनाउन श्रेष्ठको ठूलो हात रहेको उनी बताउँछन् । अर्का एक स्थानीय पनि श्रेष्ठले जिल्ला अस्पतालमा एउटा सिस्टम बसालेको बताउँछन् । नाम नबताउने सर्तमा उनले भने, ‘श्रेष्ठको नेतृत्वमा अस्पताल चल्दा राम्रा काम भइरहेका थिए । थिति बसाल्न खोज्दा अप्ठ्यारो अवस्थामा पुर्याइयो ।’ लथालिंग अवस्थामा रहेको जिल्ला अस्पताललाई व्यवस्थित् बनाउने योजनाका साथ नेतृत्व तहमा पुगेका श्रेष्ठलाई अन्ततः त्यहीका राजनीतिक दलका नेता तथा कार्यकर्ताले आत्महत्या गर्नेसम्मको अवस्थामा पु¥याएको उनी बताउँछन् । उनले सेवाग्राहीलाई अस्पतालमा पाइने सबै सेवा समयमै उपलब्ध गराउने कडा नियमपछि अस्पताल भित्रैका कर्मचारी र बाहिरका राजनीतिक दलका कार्यकर्ताहरूकै दबाबले यस्तो अवस्था आएको अर्का स्थानीय बताउँछन् । भन्छन्, ‘भर्खरको युवा केही गर्नुपर्छ भन्ने हुटहुटी भएका श्रेष्ठले त्यहीअनुसार नियम कडा पारे तर यहाँका कर्मचारीलाई मन परेन । दबाबमा सरुवा गर्नेदेखि यस्तै गतिविधि सुरु भए ।’ डा. श्रेष्ठले नेतृत्व गरिसकेपछि प्रत्येक महिनाको अन्तिम साता काठमाडौंबाट विशेषज्ञ चिकित्सकहरू बोलाएर निःशुल्क जाँच गर्नुका साथै अस्पतालमा नियमित स्वास्थ्य शिविर सुरु गरेका थिए । जिल्ला अस्पताललाई प्रदेश अस्पताल बनाउन पनि उनको ठूलो हात छ । पहिले १५ बेडमा रहेको अस्पताललाई उनले ५० बेडसम्मको बनाएका छन् भने उनकै पहलमा २ बेड आईसीयू पनि जिल्ला अस्पतालमा सञ्चालनमा आएको छ । ती स्थानीय भन्छन्, ‘कर्मचारी राजनीतिक शक्तिबाट आएका हुन्छन्, उनी आएपछि सबैलाई काममा लगाए, ड्युटी कडा बनाए । घाम तापेर दिन बिताउने गरेकाहरूलाई यो पचेन अनि कर्मचारीको असन्तुष्टि बढ्यो ।’ यो बीचमा पनि श्रेष्ठलाई सुरुवा गर्न निकै चलखेल भयो । श्रेष्ठले आफ्नो अस्पतालका कर्मचारीदेखि प्रदेश स्वास्थ्य मन्त्रालयले काममा हस्तक्षेप गरेको स्टाट्समा लेखेका छन् । उनले सेवाग्राहीलाई अस्पतालमा पाइने सबै सेवा समयमै उपलब्ध गराउने कडा नियमपछि अस्पताल भित्रैका कर्मचारी र बाहिरका राजनीतिक दलका कार्यकर्ताहरूकै दबाबले यस्तो अवस्था आएको अर्का स्थानीय बताउँछन् । मन्त्रालयमा उजुरी अस्पतालभित्र भइरहेको किचलो तब बाहिर आयो जब करारका ५ जना स्वास्थ्यकर्मीले स्वास्थ्य मन्त्रालयमा उजुरी दिए । उनीहरू अस्पतालमा प्रमुखको कारण बस्न, खानदेखि काम गर्न समस्या भएपछि मन्त्रालयले कदम अगाडि बढाएको मन्त्रालयले जनाएको छ । यो विषयमा बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. खगेश्वर गेलाल भने जिल्ला अस्पतालबाट उजुरी परेपछि दुवै पक्षलाई बोलाएर छलफल गरेको बताउँछन् । उनी भन्छन्, ‘हामीलाई काम गर्न मात्र होइन, बस्न खान पनि समस्या आयो भनेर कर्मचारीले गुनासो गरेपछि सरुवा गरेका हौं । तर, उहाँले आत्महत्या नै गर्नुपर्ने अवस्थासम्म हामीले चोट पुग्ने काम गरेका छैनौं ।’ स्वास्थ्य मन्त्रालयले यो विषयमा छानबिन गर्न समिति नै बनाएको थियो । छानबिन समितिले छानबिन गरिरहँदा श्रेष्ठको सरुवा भएको थियो । समितिका संयोजक डा. सञ्जु राय स-साना कुराहरूलाई व्यवस्थापन गर्न नसक्दा अवस्था यहाँसम्म पुगेको पाइएको बताउँछिन् । ‘स-सानो कुरामा विवाद भएको पाइयो, भान्छा कोठामा खाना पकाएर खान नदिने, काम गर्ने वातावरण पनि राम्रो नभएको कर्मचारीको भनाइ थियो । हेर्दा सामान्य लाग्ने कुरा नै जटिल रूपमा आउँदा समस्या भएको हो,’ उनले भनिन् । यो विषयमा हामीले रामेछाप नगरपालिकाका मेयर लवश्री न्यौपानेसँग पनि बुझेका छौं । उनले कसैले आत्महत्या गर्न खोज्दैछ भने त्यसपछि आफूहरूले नजाने धारणा राखे । उनी एक ठाउँबाट अर्को ठाउँमा सरुवा गर्यो भन्दैमा सुसाइड नोट लेखी आत्महत्या गर्न जानु हास्यास्पद भएको बताउँछन् । ‘एउटा कर्मचारी सरुवा भएर जाँदा आकाश खसेको जस्तो गरेका छन्, सुसाइड गर्न हिँड्या छन् रे, कता होटेलमा मासुभात खाएर बसेका छन् रे भन्ने सुनियो, तर त्यस्तो होइन । त्यस्तो हो भने के हामी राजनीतिकर्मी चुनाव हार्यौं भनेर सुसाइड गर्दै हिँड्ने हो त ?’ उनले प्रश्न गर्दै भने । उनी डा. श्रेष्ठको व्यवस्थापकीय कमजोरी रहेको दाबी गर्छन् । न्यौपाने कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् भने स्वास्थ्यमन्त्री प्रदीप पौडेलको जेठान समेत हुन् । डा. श्रेष्ठले दुःख दिए भनेर उल्लेख गरिएका केदार कार्की रामेछाप नगरपालिका वडा न ८ का पूर्ववडाध्यक्ष हुन् । उनी पनि नेपाली कांग्रेसका नेता रहेको बुझिएको छ । सम्बन्धित सामग्री बालाजुमा सकुशल भेटिए डा. केशव श्रेष्ठ, प्रहरीको निगरानीमा फेसबुकमा ‘अलबिदा’ लेख्दै चिकित्सक बेपत्ता, सचिवदेखि मन्त्रीसम्म मुछिए
स्वास्थ्य हब बन्ने बाटोमा नेपाल, जटिल शल्यक्रिया स्वदेशमै सम्भव
काठमाडौं । केही वर्ष अगाडि नेपालीका धेरै अस्पतालमा विशिष्टिकृत उपचार पाउन सक्ने अवस्था थिएन । पैसा हुनेहरू छिमेकी देश भारत लगायत सुविधा सम्पन्न देशहरूमा उपचार गराउँथे । तर, अहिले अवस्था फेरिएको छ। एउटा व्यक्तिको अङ्ग झिकेर अर्को व्यक्तिमा जोड्ने प्रत्यारोपणको काम नेपाली चिकित्सक र स्वास्थ्य संस्थाले गरिरहेका छन् । पछिल्लो समय नेपालका सरकारी अस्पतालदेखि निजी अस्पतालले मिर्गौला, कलेजो लगायतका अङ्ग प्रत्यारोपणमा मात्र नभइ समग्र स्वास्थ्य सेवामा राम्रो फड्को मारिरहेका छन् । अझ निजी अस्पतालमा अन्तर्राष्ट्रिय स्तरका सेवा पनि उपलब्ध गराउँदा विदेशीहरू पनि उपचारका लागि नेपाल आउने गरेका छन् । कलेजो प्रत्यारोपणमा मेडिसिटी नेपालीहरूको कलेजो खराब हुने क्रम अहिले रफ्तारमा बढेको छ । पछिल्ला दिनहरूमा मोटोपन, बदलिँदो जीवनशैलीका कारण पनि कलेजो खराब हुँदै गइरहेको चिकित्सकहरू बताउँछन् । करिब एक दशक अगाडिको नेपालको स्वास्थ्यलाई हेर्ने हो भने कलेजो खराब हुँदा पनि फेर्न नेपालीहरूले भारत आइपुग्नुपर्थ्याे । नेपालमा सम्भव थिएन । अझ पैसा भएकाहरू ठूला ठूला देशसम्म पुग्थे । अहिले नेपालमै सरकारीदेखि निजी अस्पतालले कलेजो प्रत्यारोपण गरिरहेका छन् । नेपालमै अन्तर्राष्ट्रिय स्तरको सेवा दिइरहेको नेपाल मेडिसिटी अस्पतालले ६ वर्षको प्रयासपछि कलेजो सफल प्रत्यारोपण गरेको छ । ललितपुरको भैंसेपाटीमा अवस्थित यो अस्पतालले ६ वर्ष पहिले स्वास्थ्य सेवा विभागमा अनुमति माग गरेको अस्पतालले एक वर्षपछि मान्यता पाएको थियो । त्यसपछिको प्रयासका बाबजुद जेठ ८ गते सफल कलेजो प्रत्यारोपण गरेको अस्पतालले जनाएको छ । अस्पतालका हेपाटोसर्जन डा. रामबाबु शाह, हेपाटोलोजिष्ट डा. उमिद श्रेष्ठ सहितको टोलीले पोखराका ५६ वर्षका ईश्वर कार्कीको सफल प्रत्यारोपण गरेको हो । कार्कीलाई उनका २६ वर्षका छोरा आयुष कार्कीले कलेजो दान गरेका थिए । पहिलो पटक कलेजो प्रत्यारोपण सफल गरेको अस्पतालले यो कार्यलाई निरन्तरता दिने बताएको छ । अस्पतालका अध्यक्ष उपेन्द्र महतोले नेपाललाई स्वास्थ्यको हब बनाउने घोषणा गर्दै विदेशी नागरिकलाई पनि स्वदेशमा उपचार गर्न आउने अवस्था निर्माणका लागि लागेको बताए । ‘हामी नेपालीलाई मात्र होइन, विदेशी नागरिकलाई पनि नेपालमा उपचार गर्न आउने वातावरण सिर्जनाका लागि लागिरहेका छौं, नेपालको प्रकृति, वातावरण नै उत्कृष्ट छ यही उत्कृष्टतालाई आधार बनाएर नेपाललाई स्वास्थ्यको हब बनाउन सकिन्छ,’ उनले भने । उनका अनुसार अहिले मेडिसिटीमा विदेशीहरू पनि उपचार गर्न नेपाल आउने गरेका छन् । लिंग परिवर्तनमा शिक्षणको सफलता नेपालमै पहिलो पटक लिंग परिवर्तनको शल्यक्रिया पनि भर्खरै सफल भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जले लिंग परिवर्तन शल्यक्रिया सफल गरेको हो । अस्पतालले गत जेठ १३ गते ६ घण्टा लगाएर शल्यक्रिया सफल गरेको जानकारी गराएको थियो । जनकपुरका २५ वर्षका ट्रान्सजेन्डर पुरुषको यौनाङ्गलाई महिलाको यौनाङ्गमा सफल रूपमा परिवर्तन गर्न अस्पताल सफल भएको हो । जेठ १२ गतेदेखि १५ गतेसम्म चार दिन लगाए जेण्डर एफर्मिङ सर्जरी अर्थात् स्तन वृद्धि, स्त्री रूपमा परिवर्तन सफलता पूर्वक सम्पन्न गरेको अस्पतालले जनाएको छ । विदेशी प्लाष्टिक सर्जन डा. एलीरेजा हमिदियन जोरामीको नेतृत्वमा अस्पतालका प्लाष्टिक सर्जरी विभाग प्रमुख प्रा.डा. जयमान श्रेष्ठको टोलीले सबै शल्यक्रिया सफलताका साथ सम्पन्न गरेको हो । शिक्षण अस्पतालले जेण्डर एफर्मिङ क्लिनिक स्थापना गरेर चाहाना भएका ट्रान्स जेण्डर महिला र पुरुषको शल्यक्रिया गर्ने योजना बनाएको छ । यसले लिंग परिवर्तन गर्न चाहने ट्रान्स जेण्डर महिला र पुरुषलाई सहज बनेको छ । नेपाल ब्लु डाइमण्ड सोसाइटीले त्रिवि शिक्षण अस्पतालले गरेका सफल शल्यक्रियाले धेरै ट्रान्स जेण्डरलाई सहज हुने बताएको छ । अध्यक्ष युनिसा पाण्डे भन्छिन्, ‘हाम्रा धेरै साथीहरूले यसैको लागि विभिन्न देश धाउनुपर्थ्यो, पैसा पनि उत्तिकै खर्च हुन्थ्यो, शल्यक्रियासमेत उस्तै महँगो हुन्थ्यो, अब नेपालमै यो सेवा पाउँदा धेरै साथीहरूलाई राहत पुग्ने छ ।’ विश्वका अन्य मुलुक जस्तै नेपालमा पनि यौनिक अल्पसंख्यक समुदायको संख्या बढ्दै गएको छ । समाजको डरले लुकेर बसेकाहरू खुलेर आउन थालेसँगै आफ्नौ चाहनाअनुरुप आफूलाई चिनाउने प्रयासमा लिंग परिवर्तन गर्न थालेको धेरै भइसक्यो । नेपालमा अंग परिवर्तन नहुँदा करोड रुपैयाँसम्म खर्च गरेर उनीहरू विदेश जानुपर्ने बाध्यता थियो । तर अब नेपालमै अंग परिवर्तन गर्न सकिने भएको छ । छाला प्रत्यारोपणमा कीर्तिपुरको कीर्तिमानी नेपालमा अन्य अंगजस्तै छाला प्रत्यारोपण पनि गरिन्छ । कीर्तिपुर अस्पतालले १२ वर्ष अगाडिदेखि नै छाला बैंक स्थापना गरे छाला प्रत्यारोपण गर्न सुरु गरेको हो । गहिरो जलनमा परेका बिरामीलाई छालाको आवश्यकता पर्ने भएकाले छाला प्रत्यारोपण सुरु गरिएको हो । जलनका बिरामीहरूका लागि सहजता होस् भन्ने उद्देश्यले कीर्तिपुर बर्न अस्पतालले सन् २०१४ मा अस्पतालमा छाला बैंक स्थापना गरेको थियो । जीवित र मरिसकेका व्यक्तिको छाला लिएर आवश्यकता भएका व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । जीवित व्यक्तिबाट छाला लिन समस्या हुने भएकाले मरणपश्चात दान गरिएको छाला जलनबाट ग्रसित व्यक्तिमा प्रत्यारोपण गरिन्छ । यसको लागि कुनै व्यक्तिको मृत्यु भएको ६ घण्टा भित्र र फ्रिजमा भए १२ घण्टाभित्र छाला झिकि सक्नुपर्ने हुन्छ । तर नेपालमा व्यक्तिको मरणपश्चात पनि छाला दान गर्नेहरूको संख्या निकै कमी भएको अस्पतालले जनाएको छ । छाला दानमा परिवार आफन्त नै हिचकिचाहट गर्ने गरेको चिकित्सकहरू बताउँछन् । मिर्गौला प्रत्यारोपण नेपालका सबै अंग प्रत्यारोपणमध्ये सबैभन्दा पहिले सुरु भएको हो- मिर्गौला प्रत्यारोपण । नेपालमा २०६४ सालमा सबैभन्दा पहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रत्यारोपण सुरु भएको थियो । हाल धेरै सरकार र निजी अस्पतालमा मिर्गौला प्रत्यारोपण हुँदै आएको छ । संख्याको हिसाबले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भक्तपुर सबैभन्दा बढी मिर्गौला प्रत्यारोपण गरिएको छ भने अन्य निजी अस्पतालमा पनि प्रत्यारोपण गरिन्छ । चालु आर्थिक वर्ष २०८१/०८२ मा १ सय ५३ जना बिरामीको मिर्गौला प्रत्यारोपण गरिएको छ भने ५ जनाको कलेजो प्रत्यारोपण गरिएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा ३ सय १० जना बिरामीको मिर्गौला प्रत्यारोपण र २० जना बिरामीको कलेजो प्रत्यारोपण गरिएको थियो । बोनम्यारो प्रत्यारोपण नेपालमा बोनम्यारो प्रत्यारोपण सुरु भएको पनि केही वर्ष भइसकेको छ । सन् २०१२ मा सिनामंगलमा रहेको नोबेल अस्पतालले पहिलो पटक बोनम्यारो प्रत्यारोपण गरेको थियो । बोनम्यारो भनेको हड्डीभित्रको नरम स्पञ्जी तन्तु हो । जसले रक्तकोषहरू उत्पादन गर्छ । रातो बोनम्यारो र पहेंलो बोनम्यारो गरी यो दुई किसिमको हुन्छ । यी कोषहरूले काम गर्न छोडेपछि व्यक्तिको शरीरमा रगत उत्पादन बन्द हुन्छ । यसको प्रत्यारोपण गर्दा रक्त बनाउने कोषहरू एक व्यक्तिबाट अर्को व्यक्तिमा सारिन्छ । अहिले नेपालमा सिभिल अस्पताल लगायतका विभिन्न अस्पतालबाट यो सेवा सुरु छ । प्रविधिमा पनि फड्को अंग प्रत्यारोपणमात्र होइन अन्य विभिन्न स्वास्थ्य उपचारमा समेत नेपालले फड्को मारेको छ । अत्याधुनिक उपकरण औजार सामग्रीहरू पनि नेपालका निजी र सरकारी अस्पतालमा उपलब्ध छन् । पहिले बिरामीलाई कुनै पनि दुखाइ कम गर्ने औषधीको प्रयोग बिना शल्यक्रिया गरिन्थ्यो भने अहिले दुखाइ बिना नै ठूलो घाउ समेत नबनाइ शल्यक्रिया गरिन्छ । नाइलनको डोरीले बोरा सिलाएजस्तो अप्रेशन गर्नुपर्ने अवस्थाबाट दुरविनको सहायताले अप्रेसन गर्नुपर्ने अवस्थामा स्वास्थ्य क्षेत्र पुगेको उनी वीर अस्पतालको न्यूरो सर्जरी विभागमा कन्सलटेन्ट सर्जन डा. सुशीलमोहन भट्टराई बताउँछन् । उनी कोरोना कालपछि नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन आएको बताउँछन् । उनी भन्छन्, ‘धेरै लामो समय भएको छैन, छोटो समयमा नेपालको स्वास्थ्य क्षेत्रले चमत्कारिक उपलब्धि हासिल गरेको छ, अब कुनै पनि रोगको उपचारका लागि विदेश जानुपर्ने अवस्था छैन ।’ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. स्वराज राजभण्डारी पनि समयसँगै स्वास्थ्य सेवाले अपत्यारिलो फड्को मारेको बताउँछिन् । चिकित्सकको संख्या पनि बढ्दो उपचारमा मात्र होइन, पछिल्लो समय चिकित्सक, विशेषज्ञहरूको संख्या समेत बढेको छ । ४० वर्ष अघि औंलामा गन्न सकिने प्रसूति रोग विशेषज्ञको संख्या अहिले निकै बढेको छ । नेपालभर ८ सयभन्दा बढी स्त्री तथा प्रसूति रोग विशेषज्ञहरू मात्र छन् । यत्तिकै संख्यामा अन्य क्षेत्रमा पनि चिकित्सक, नर्स, एएनएमहरूको संख्या पनि बढेको छ । २०८१ फागुनसम्म नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद, नेपाल आयुर्वेद मेडिकल परिषद, नेपाल फार्मेसी परिषद लगायतका निकायमा दर्ता भएका स्वास्थ्यकर्मीको सङ्ख्या ३ लाख ६६ हजार ५ सय ५ पुगेको छ । २०८१ फागुनसम्म यो सङ्ख्या ३ लाख २२ हजार २ सय ५४ रहेको थियो भने ३२ हजार २ सय ४७ मेडिकल चिकित्सक, ५ हजार ३ सय ४७ दन्त चिकित्सक, ११ हजार ६ सय १६ विशेषज्ञ चिकित्सक र ३ सय ९५ विदेशी चिकित्सक गरी कुल ११ हजार ६ सय १६ चिकित्सक नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका छन् । नर्सिङ काउन्सिलमा १ हजार ६९५ विशेषज्ञ नर्स, ८५ हजार ७ सय ७८ नर्स, ३७ हजार ५ सय २८ अनमी ९१ मिडवाईफ र ८ सय ५५ विदेशी नर्स समेत गरी १ लाख २५ हजार ९ सय ४७ नर्स दर्ता भएका छन् भने नेपाल स्वास्थ्य व्यवसायी परिषदमा कुल १ लाख ६२ हजार ४ सय ९२ स्वास्थ्यकर्मी दर्ता भएका छन् । नेपाल आयुर्वेद मेडिकल परिषद्मा ६५४२ र नेपाल फार्मेसी परिषदमा २१ हजार ९ सय ३७ स्वास्थ्यकर्मी दर्ता भएका छन् । पूर्वाधार विकासमा फड्को नेपाल भित्रैको कुरा गर्ने हो भने पनि केही वर्ष पहिलेसम्म काठमाडौं, पोखरा लगायतका ठूल-ठूला सहरहरूमा मात्र अस्पतालहरू केन्द्रित थिए । तर आजभोलि हरेक जिल्लामा ठूला अस्पतालहरू सञ्चालनमा आएका छन् । स्थानीय तहमा आवश्यकताअनुसार ५ शैया, १० शैया र १५ शैयाको आधारभूत अस्पताल निर्माण गर्ने नीति अनुरूप २०८१ फागुनसम्म १ सय १३ स्थानीय तहमा अस्पताल निर्माण गर्ने कार्य भएको देखिन्छ । यसैगरी, ३ सय १६ स्थानीय तहमा अस्पताल निर्माण कार्य भइरहेको छ । साथै, सहरी विकास तथा भवन निर्माण विभागबाट निर्माण गरिने एक सय १९ स्वास्थ्य संस्था मध्ये १३ को निर्माण कार्य सम्पन्न भएको छ । विज्ञहरू नेपालमा अन्य क्षेत्रमध्ये सबैभन्दा विकासको गति लिएको क्षेत्र स्वास्थ्य भएको बताउँछन् । २०४७ साल पछि अहिलेसम्म हेर्ने हो भने स्वास्थ्य क्षेत्रले निकै फड्को मारेको उनीहरूको भनाइ छ । स्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनी भन्छन्, ‘अहिले सबैभन्दा प्रगति केमा भएको छ भनेर कसैले सोध्दा म स्वास्थ्य क्षेत्रमा भन्छु, अंग प्रत्यारोपणदेखि जटिल रोगको उपचार पनि नेपालमै सम्भव हुनु सकारात्मक मात्र होइन निकै राम्रो हो ।’ नेपालीको औषत आयु ७२ वर्ष पुगेको छ । मातृ मृत्युदर पनि ५ सय ३९ बाट घटेर अहिले १ सय ५० मा पुगेको छ । बाल मृत्युदर पनि घटेको छ । यी गतिविधिले स्वास्थ्य क्षेत्रले राम्रो काम गरिरहेको डा. मरासिनी बताउँछन् । तर अहिलेसम्म पनि कुपोषण भने घटाउन नसकेको उनको भनाइ छ । उनका अनुसार अहिले पनि पाँच वर्ष भन्दामुनिको तीन बच्चामध्ये एक बच्चा कुपोषित रहेको पाइन्छ । अंग प्रत्यारोपणमा कानुन आवश्यक स्वास्थ्य क्षेत्रमा नेपालले मारेको फड्को राम्रो भएपनि अझै कानुनी जटिलता हुँदा भने जोखिम देखिने डा. मरासिनी बताउँछन् । २०५६ मा बनेको अंग प्रत्यारोपण ऐनले अंग प्रत्यारोपण गरेको २ वर्षभित्र त्यो व्यक्तिको मृत्यु भएमा सर्जनलाई जन्मकैद गर्ने भन्ने उल्लेख थियो तर त्यो लागू भएन । दोस्रो शंसोधनबाट यो कुरा कानुनबाट हटाइयो । त्यसपछि नेपाल कलेजो प्रत्यारोपण सुरु भएको हो । मिर्गौला र कलेजोको कुरा कानुनमा भएपनि लिंग परिवर्तन, टेस्टट्युब बेवी लगायतका विषयमा स्पष्ट कानुन छैन । कानुन नबन्दा भविष्यमा जोखिम आउन सक्ने भन्दै चिकित्सकले ठूलो चुनौती खेप्नुपर्ने अवस्था आउन सक्ने उनी बताउँछन् । ‘टिचिङले लिंग परिर्वतन गर्न सक्यो, विभिन्न आइभीएफ केन्द्र छन् तिनले टेस्टट्युब बेवी बनाइरहेका छन्, सरोगेसी आमा बन्ने कुराहरू पनि छन् यसमा स्पष्ट कानुन हुनुपर्छ,’ उनले भने । यो गर्न हुन्छ कि हुँदैन कहाँबाट अनुमति लिइयो, कुन कानुनले त्यसलाई अनुमति दियो भन्ने कुरा आउँछ । चिकित्सकले राम्रो काम गर्यो तर, भोलि कानुनी रुपमा उनीहरू फस्न सक्ने सम्भावना आउन सक्छ,’ डा. मरासिनीले थपे । उनी अस्पताल ऐनको पनि जरुरी रहेको बताउँछन् ।
स्वास्थ्यकर्मीको व्यवहारले थप बिरामी बन्छन् बिरामी
काठमाडौं । दाङकी गोमती गाह मगर बहिनीको उपचारको लागि पाटन अस्पताल पुगिन् । दुई घण्टा लामो लाइन बसेर बल्ल टिकट पाइन् । त्यसपछि उनी चिकित्सकलाई भेट्न गइन् । त्यहाँ पनि लाइन उस्तै थियो । चिकित्सकलाई भेटिसकेपछि उनले बहिनीको समस्याबारे सबै कुरा बताइन् । समस्या अनुसार चिकित्सकले रगत जाँच अल्ट्रासाउण्ड गरेर आउन सल्लाह दिए । प्रायः सरकारी अस्पतालमा उपचार गर्नेहरूको सबैभन्दा ठूलो सास्ती नै लाइनमा बस्नु हो । यो स्वाभाविक पनि हो । किनकि जतिधेरै सेवाग्राहीको भीड हुन्छ त्यति अस्पतालको लाइनमा बस्नुपर्छ । २ घण्टा टिकटको लाइनमा, एक घण्टा चिकित्सक भेट्ने लाइनमा समय बिताइसकेकी गोमतीलाई झण्डै पौने घण्टा फेरि काउण्टरको लाइनमा उभिनुपर्ने भयो । ‘लाइनमा बस्नु त स्वाभाविक नै हो तर कर्मचारी नर्सहरूको बोली व्यवहार फिटिक्कै भएन,’ उनी भन्छिन्, ‘बिरामीले थाहा नपाएको कुरा बुझाइ दिनुपर्ने कर्तव्य, कर्मचारी, नर्स अनि चिकित्सक सबैको होला, तर अस्पतालमा दुई पटक भन्दा बढी सोध्दा कर्मचारी झर्को मान्छन् ।’ थाह नपाएको कुरा सोध्दासमेत नसुनेजस्तो गर्ने, झर्केर बोल्ने प्रवृत्तिले पीडा माथि झन् पीडा थपिने गरेको उनले दुखेसो पोखिन् । अधिकांश सरकारी अस्पतालका आउने सेवाग्राहीको गुनासो गोमतीको जस्तै छ । अस्पतालका नर्स, चिकित्सक लगायतको बोली व्यवहार भएन भन्ने गुनासो अहिले मात्र होइन, धेरै पहिलेदेखि उठ्दै आएको हो । तर अस्पताल प्रशासनले यो कुरामा खासै ध्यान दिएको पाइँदैन। केही दिनअघि पाटन अस्पतालमा बहिनीकै उपचारका लागि एकजना पत्रकारको भोगाइ पनि उस्तै छ । उनी भन्छिन्, ‘नर्स तथा चिकित्सकहरूको व्यवहार रुखो छ, यसले त झन् बिरामीलाई थप पीडा दिन्छ । नजानेको कुरा सोध्दा पनि झर्किन्छन् ।’ दुई महिना अगाडिको कुरा हो- वीर अस्पतालमा छोराको उपचारका लागि पुगेकी एक महिला रुँदै सूचना अधिकारीको कक्षमा पुगिन् । उनले लाइनमा बस्दाखेरि अस्पतालकै कर्मचारीले आफूमाथि हातपात गर्न खोजेको बताइन् । सेवाग्राही र अस्पतालका कर्मचारीबीच बोलाबोल हुँदा हात हालाहालसम्मको अवस्था आएको थियो । अस्पतालका कर्मचारीले नै आफूमाथि यस्तो व्यवहार गरेपछि बिरामीले प्रशासनमा उनको नाममा उजुरी दिइन् । उजुरीका आधारमा उनलाई प्रशासनले सोधपुछ गरेर सम्झाइ छाड्यो । अस्पतालका सूचना अधिकारी सीताराम खड्का अस्पताल पुगेका बिरामीहरू यस्ता उजुरी लिएर धेरै आउने गरेको बताउँछन् । ‘हामीले कतिपय कर्मचारीलाई सम्झाइबुझाइ पनि गरेका छौं, कतिपयलाई कारबाही पनि गरेका छौं,’ खड्का भन्छन्, ‘कहिले कर्मचारीले गाली गर्यो, कहिले हाम्रो पालो मिचेर अर्कोलाई राख्यो भन्ने गुनासा दिएर दैनिक सेवाग्राहीहरूको गुनासो आइरहन्छ ।’ चिकित्सकको व्यवहार पनि उस्तै अस्पतालका कर्मचारी मात्र होइन, नर्स र चिकित्सकको बोली पनि उत्तिकै कठोर छ । चिकित्सकले बिरामीको प्रेस्क्रिप्सनमा लेखिएका अक्षर बिरामीले सितिमिति बुझ्दैनन् । एक पटक भनेको कुरा सबै बिरामीले बुझन सक्दैनन्, दोस्रो पटक सोध्न खोज्दा झनक्क झन्कने गरेको गुनासो पनि सेवाग्राहीको छ । सिन्धुलीकी एक महिला स्त्री तथा प्रसूतिरोग अस्पतालको आईभीएफ केन्द्रमा उपचारको लागि पुगेकी थिइन् । चेकजाँच सकिएपछि चिकित्सकले फेरि तीन दिनपछि आउनू भनेर पठाए । उनले कुनै समस्या देखियो भनेर सोध्दा चिकित्सिकले सबै नर्मल छ भने तर कार्डमा धेरै लामो कुरा लेखिदिए । उनलाई कागजमा केके लेखियो भनेर जान्ने इच्छा भयो । त्यसपछि उनले अस्पताल बाहिर रहेकी एकजना महिला चिकित्सकलाई सोधिन् । ती चिकित्सकले झर्किँदै ‘सबै कुरा बुझ्नै पर्छ भन्ने छ र ?’ भनिन् । उनको तितो बोली स्मरण गर्दै उनी भन्छिन्, ‘अस्पताल जाँदा शारीरिक बिरामीभन्दा स्वास्थ्यकर्मीको बोली र व्यवहारले ठूलो मानसिक पीडा पर्छ ।’ 'भाषा र व्यवहार पनि औषधी हो' बिरामीहरू रोग निको पार्न अस्पताल जान्छन् । अस्वस्थ शरीरले थाकेका बिरामीहरूलाई बोली र व्यवहारले ठूलो ऊर्जा दिन्छ । पूर्वमन्त्री एवं संस्कृतिविज्ञ कान्ता भट्टराई नेपालका अस्पतालमा उपचार गर्न गएका बिरामीहरू चिकित्सक नर्सको व्यहारले झन् बिरामी पर्ने गरेको बताउँछिन् । अन्य देशमा अस्पताल पुगेका बिरामी नर्स डाक्टरको बोली व्यवहारले मजबुत भएर आउँछन् तर यहाँ ठ्याक्कै उल्टो अवस्था रहेको उनी बताउँछिन् । ‘यो विषयमा ठूलो बहस छलफल गर्न आवश्यक छ,’ उनी भन्छिन्,‘ नेपालका सरकारी अस्पताल आफैमा लथालिंग छन्, त्यसमाथि कर्मचारी अनि स्वास्थ्यकर्मीको रुखो व्यवहार छ । अब उहाँहरूलाई बिरामीसँग कस्तो व्यवहार गर्ने, कसरी बोल्ने भन्ने विषयमा पनि सिकाउन आवश्यक छ ।’ चिकित्सकको एउटा मुस्कान र बोलीले पनि बिरामीको आधा रोग निको भएको अनुभव हुन्छ । जीवन मरणको दोसाँधमा रहेका बिरामी तथा आफन्त यस्तो बेला मानसिकरूपमा पनि उत्तिकै विछिप्त हुन्छन् । मनोविद सुकीर्ति देवकोटा ‘एकातिर के हुन्छ, कसो हुन्छ भन्ने डर, अर्कोतिर आर्थिक जोहो गर्नुपर्ने पीरले तनावमा हुने बताउँदै भन्छिन्, ‘यस्तो अवस्थामा चिकित्सक, नर्स वा कर्मचारीको रुखो बोलिले झन् दिकदार लाग्छ । शारीरिक समस्याभन्दा मानसिक समस्याले झन असर गर्ने भएकाले यस्ता कुरा सुधार गर्न आवश्यक देख्छु ।’ मानसिक पीडा शारीरिक जस्तो नदेखिएपनि यसले ठूलो असर पार्ने उनको भनाइ छ । ‘अस्पतालमा कर्मचारी झर्किँदा, नर्सले ठूलो स्वर गर्दा बिरामीलाई अस्पताल जान मन नलाग्ने, केही सोध्न पनि डर लाग्ने जस्ता मानसिक असर थपिन्छ जुन बिरामीहरूका लागि खतरनाक हो,’ उनले भनिन् । यस्ता खालका गुनासा सम्बन्धित निकायमा नपुगेको पनि होइन, दिनहुँ अस्पताल प्रशासनमा उजुरी समेत पर्छन् । स्वास्थ्य मन्त्रालय पनि यो विषयमा जानकार छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी कम जनशक्तिले धेरै बिरामीको हेरचाह गर्नुको परिणाम कहिलेकाँही यस्तो देखिने बताउँछन् । भन्छन्, ‘एकजना नर्सले ५/६ जना बिरामी हेर्नुपर्ने बाध्यता छ, एउटैले धेरैलाई हेर्नुपर्दा समयभन्दा धेरै खटिँदा देखिएको तनावको विष्फोटन बिरामीमाथि भएको हुनसक्छ ।’ नियमअनुसार जनरल वार्डमा एक नर्स बराबर ५ जना बिरामी हेर्नुपर्ने हो तर नेपालमा एकजना नर्सले १५/२० जनालाई हेर्नुपर्ने बाध्यता छ । चिकित्सकहरू पनि यो विषयमा दुई किसिमको धारणा राख्छन् । कतिपय असहमति जनाउँदै एकाध चिकित्सक नर्सहरूले गरेको व्यवहारलाई सबैसँग जोड्न नमिल्ने बताउँछन् भने कतिपय मान्छेको प्रवृत्ति फरक हुने भएकाले यस्ता समस्या हुन सक्ने बताउँछन् । वीर अस्पतालको न्यूरो विभागमा कार्यरत कन्सलटेन्ट न्यूरो सर्जन डा. सुशीलमोहन भट्टराई मान्छेको प्रवृत्तिअनुसार फरक-फरक चिकित्सक हुने बताउँछन् । ‘कोही नर्स यस्ता पनि हुन्छन्, जसले बिरामीको हेरचाह परिवारको भन्दा राम्ररी गर्छन्, कतिपय चिकित्सक पनि उस्तै हुन्छन् तर, मान्छेको प्रवृत्ति हरेकको फरक हुन्छ, तीमध्ये कसैले नराम्रो व्यवहार गर्दा सबै चिकित्सकको नाम जोडिन्छ,’ उनले भने । उनी कहिलेकाँही मान्छेबाट गलत व्यवहार हुनसक्ने भन्दै सुधार गर्दै लैजानुपर्नेमा जोड दिन्छन् डा. भट्टराई यसका लागि अस्पतालमा चिकित्सक नर्सहरूका लागि कस्तो खालको वातावरण बनाउने, ड्युटी कति घण्टा कायम गरिने भन्ने बारे ध्यान दिनुपर्ने बताउँछन् ।
जसले आफ्नो कलेजोको टुक्रा काटेर बुवाको प्राण जोगाए
काठमाडौं । ‘बेलाबेला हातखुट्टा झमझम हुन्छ अनि एलर्जी जस्तै पनि हुँदो रहेछ, अरू त सबै नर्मल भइसक्यो, तर अझै बेडरेस्टमा छु,’ बिहीबार नेपाल मेडिसिटी अस्पतालमा भेटिएका आयुष कार्कीले भने । आयुष जसले आफ्नो कलेजाको टुक्रा काटेर बुवाको कलेजोमा जोडेका छन् । उनैको कलेजोले बुवाको प्राण जोगिएको छ । २४ दिन अगाडि बिना हिचकिचाहट आयुषले यो कदम नचालेका हुँदा हुन् सायद उनले बुवा गुमाइसक्नुपर्थ्यो । आफ्नै अङ्गले बुवाको प्राण जोगिँदा उनी निकै खुसी छन्। भन्छन्, ‘बुवाले दिएको यो जीवन बुवाकै लागि चाहिन्छ भने हरेक अंग दिन तयार छु, जसले कलेजको टुक्रा भन्दै हुर्काए, त्यही टुक्राले आमाको सिन्दुर र बुवाको श्वास जोगाउन पाउनु मेरा लागि सबैभन्दा खुसी हो । सबै सन्तान यस्तै हुँदैनन्, कसैले चाहेर पनि गर्न सक्दैनन्, कसैको चाहना नै हुँदैन । धेरैमध्ये कमै सन्तान आयुषजस्तै भाग्यमानी बन्न सक्छन्, जो आफ्ना बाआमाको लागी शरीर चिरेर दिन तयार हुन्छन् । आयुषको घर पोखरा हो । उनी अहिले २६ वर्षका भए । आजभन्दा सात वर्षअघि उनका बुवा ५६ वर्षीय ईश्वर कार्कीको कलेजोमा समस्या देखिएपछि आयुषले आफ्नो अङ्ग दिने निर्णय गरेका थिए । ईश्वर अहिले मेडिसिटी अस्पतालमै आराम गरिरहेका छन् । व्यक्तिको शरीर यस्तो चतुर हुन्छ कि उसलाई आफ्ना र अरूको अंग मजाले छुट्याउन सक्छ । अरूको अंगलाई आफ्नो अंगसम्म मिसाउन समय लाग्छ । त्यो बेलासम्म प्रायः बिरामी चिकित्सकको निगरानीमा बस्नुपर्छ । आयुष बुवाआमा खुसी भएकोमा निकै हर्षित छन् । भन्छन्, ‘ ‘बुबाको आँखामा हेर्छु आँसु र हाँसो सम्मीश्रण पाउँछु, आमाको अनुहारमा हेर्छु उस्तै देख्छु, ७ वर्षको प्रयासपछि हाम्रो परिवारमा खुसी फर्किएको छ,’ उनले भने । उनी घरको जेठो सन्तान हुन् । उनका एक भाइ छन् । पोखरा विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेका उनले बुवाको उपचारका लागि पढाइ छोड्नुपर्यो । ७ वर्ष अगाडिको त्यो घटना ७ वर्ष अघि माघ २५ गते आयुषको परिवार चितवन घुम्न गयो । पोखराबाट चितवन जाँदा ईश्वरले नै गाडी चलाएका थिए । घुमेर फर्किने बेलामा ईश्वरलाई असहज महसुस भयो । पटकपटक बान्ता हुन थाल्यो । गाडी आयुष आफैले चलाएर घर फर्के । त्यो दिन अस्पताल नगई घरमै आराम गरे । ईश्वरलाई विस्तारै फरक लक्षण देखापर्न थाल्यो । उनले मोबाइल हातमा हुँदा कता गयो भन्न थाले, गाडी पार्किङमै हुँदा पनि खोइ कता छ ? भनेर सोध्न थाले । उनका क्रियाकलापले सबैजना छक्क परे । त्यसपछि उनलाई पोखराको ग्यालेक्सी अस्पतालमा लगियो । त्यहाँ जाँच गर्दा उनलाई सिरोसिस रोग लागेको पत्ता लाग्यो जुन कलेजोको खराबीका कारण भएको हो । ईश्वरले समस्या निदान हुँदा रोग तेस्रो चरणमा पुगिसकेको थियो । त्यही भएर डाक्टरहरूले छिटै उपचार गर्न सल्लाह दिए । त्यसपछि आयुषले ढिलो नगरिकन बुवालाई ललितपुरको नक्खुमा रहेको अस्पतालमा ल्याए । आयुषलाई उपचार गर्दा ठिक भइहाल्छ होला भन्ने लाग्यो । अस्पताल ल्याएर उपचार गरी औषधी खाँदा ठीक भएजस्तै देखिन थाल्यो । यतिबेलासम्म पनि सामान्य नै लागेको थियो । एक–दुई महिना सञ्चो हुने फेरि समस्या हुनेक्रम बढ्दै गयो । यो क्रम लामै समसम्म चल्यो । काठमाडौं आऊजाऊ गरेको देख्दा धेरैजनाले आयुषलाई भारतमा गएर उपचार गर्न सल्लाह दिए । उनका आफन्तहरू भारतमा पनि थिए । अहिले पनि धेरैजसो नेपाली बिरामी हुँदा उपचारका लागि भारत नै जान्छन् । ईश्वरलाई पनि भारतमै लिएर उपचार गर्न गाउँ आफन्तहरूले सल्लाह दिए । ‘छिमेकी तथा आफन्तीको सल्लाहबमोजिम मैले बुवालाई लिएर बुवालाई इण्डिया उपचार गर्न गएँ,’ उनले भने । आयुषले बुवालाई भारतको गंगाराम अस्पताल लगे । त्यहाँ जाँच गर्दा चिकित्सकले कलेजो प्रत्यारोपण गर्नुपर्ने उल्लेख गर्दै तत्कालै नगरे पनि हुने जानकारी दिए । नेपालमा गएर काजगपत्र बनाएर बिस्तारै आउनु भन्दै फर्काइदियो । नेपाल फर्किसकेपछि ६ महिनासम्म ईश्वर निको भयो । फेरि ६÷७ महिनापछि उस्तै समस्या सुरु भयो । आयुषले फेरि मेडिसिटी अस्पताल ल्याए । धेरै समय नेपाल अनि भारतका अस्पताल धाउने क्रम चलिरह्यो । फेरि आफन्तहरूले भारतको अपोलो अस्पताल पनि राम्रो भन्दै एक पटक त्यहाँ जान सल्लाह दिए । आयुषले फेरि बुवालाई बोकेर भारत गए । त्यहाँ जाँदा फेरि अर्को तनाव थपियो । चिकित्सकले कलेजोमात्र नभइ मिर्गौला पनि प्रत्यारोपण गर्नुपर्ने बताए । ‘अपोलोमा अर्को पीडा थपियो अनि नेपाल आएर सोच्नुपर्छ भन्दै घर फर्कियौं,’आयुषले भने । अनि भयो प्रत्यारोपण कहिले काठमाडौं, कहिले पोखरा, कहिले भारतका अस्पताल धाउँदा आयुष र आमाको बेहाल भइसकेको थियो । मेडिसिटीका चिकित्सकहरूको सल्लाहमा कलेजो प्रत्यारोपण गर्ने निर्णय भयो । कागजात मिलाउनु पर्ने प्रक्रिया उत्तिकै झन्झटिलो हुन्छ । अंग प्रत्यारोपण गर्न भने जति सजिलो छैन । परिवारभित्रैको अंग दिन चाहनेहरूले पनि चाहाना राखेरमात्र हुँदैन, यसका लागि रगतदेखि हरेक कुराहरू मिल्नुपर्ने हुन्छ । वडाको सिफारिस, पालिकाको सिफारिस, नाता प्रमाणीकरणदेखि लिएर हरेक कागजात तयार पार्नुपर्छ । ‘कागजात, रगत जाँच गर्न समय लाग्यो यो बीचमा बाबा पनि बिरामी भइरहनु भयोे, एकातिर प्रत्यारोपणको तयारी चलेको थियो अर्कोतिर बुवालाई आईसीयुमै राखेका थियौं, सारै नै तनावको अवस्था थियो,’ उनले भोग्नुपरेको पीडा सुनाए । यो तयारी गरिसकेपछि आयुषले आफ्नो स्वास्थ्यको पनि उत्तिकै हेरचाह गरे । चिकित्सकको सल्लाहपछि बल्ल जेठ ८ गते मेडिसिटी अस्पतालमा आयुषले आफ्नो कलेजेको टुक्रा काटेर बुवाको कलेजोमा जोडिदिए । १३ घण्टा लामो अप्रसेनपछि बाउ–छोराको अप्रेसन सफल भएपछि आमा र भाइको मुहारमा खुसी फर्कियो । चिकित्सकहरूले अंग प्रत्यारोपण जोखिम हुन सक्ने पहिल्यै भनेका थिए । तर बुवाका लागि जस्तोसुकै जोखिम लिन आयुष तयार थिए । भन्छन्, ‘मेरो आँट, बुवाको धैर्यता, आमाको मिहिनेत र चिकित्सकको प्रयासले ७ वर्षपछि बुवालाई कलेजो झिकेर दिन सफल भएँ ।’ सबैलाई यस्तो अवसर मिल्दैन आयुष आफ्नो शरीरको अंग चिरेर आफ्नै जन्मदातालाई दिने अवसर सबैलाई नमिल्ने बताउँछन् । यो मानेमा आफूलाई निकै भाग्यमानी भन्छन् । बुवालाई कलेजो दिने निर्णयले उनलाई धेरैले धेरैथरिका कुरा सुनाए । धेरैले सानै उमेर छ, अहिले नै अंग दिए भोलि के होला, बिहे पनि भएको छैन भन्नसमेत भने । तर उनले कसैका कुरा सुनेनन् । आफ्नो निर्णयमा अडिग रहिरहे । र अन्ततः बुवाको प्राण पनि बचाए । किड्नीको समस्या आफै निको शरीरका एक अर्को अंगको सम्बन्ध कति हुँदो रहेछ भन्ने कुरा ईश्वरमा देखिएको स्वास्थ्य समस्याले पनि थाहा हुन्छ । कलेजोमा खराबी आउँदा मिर्गौलामा समेत समस्या भएको भन्दै मिर्गौलासमेत प्रत्यारोपण गर्नुपर्ने अवस्था थियो। कलेजो प्रत्यारोपण गरेसँगै अहिले मिर्गौलाले पनि काम गर्न थालेको छ । जति स्वस्थ हुँदा काम गर्थ्यो त्यो मात्रामा नगरेपनि तत्काल प्रत्यारोपण गर्नुपर्ने अवस्था नरहेको चिकित्सकको भनाइ छ ।
सियोमा सफलता पाएका उद्यमी सञ्जयको कथा
काठमाडौं । १४ वर्षको कलिलो उमेरमा ननिदाएर मेसिन चलाउन नसिकेको भए, दिनरात नभनी काम नगरेको भए सञ्जय तामाङको जिन्दगी अहिले कसरी चलिरहन्थ्यो थाहा छैन । तर, उनको मिहिनेत र सीपले उनलाई उद्यमी बनाएको छ । जुन व्यवसायले उनलाई आर्थिक रूपमा सबल मात्र बनाएन आत्मसन्तुष्टि पनि दिएको छ । तीन वर्षदेखि काठमाडौंको बागबजारमा काजबटन व्यवसाय गरिरहेका सञ्जय कमिज, कोटमा काज बनाइदिने टाँसिदिने काम गर्छन् । तामाङले यो व्यवसाय सुरु गरेको करिब तीन वर्ष भयो । १० लाख लगानीमा एउटा कोठामा सुरु गरेको व्यवसायमा तीन वर्षमा फेरि ७ लाखको अर्को मेसिन थपेर अहिले तीनवटा मेसिनबाट काम गरिरहेका छन् । ‘कोठा त उही छ, ठूलो बनाउन सकिएको छैन तर, तीन वर्षमा लगानी उठेर पनि धेरै फाइदा भइसक्यो,’ उनी भन्छन्,‘ आजभोलि कोट पेन्ट लगाउनेको संख्या बढ्दो छ, सख्या बढेसँगै लुगा सिलाउनेको संख्या पनि बढ्दा काम राम्रै चलिरहेको छ ।’ नेपालमा कोट पेन्ट लगाउने चलन चलेको धेरै भएको छैन । राष्ट्रिय पोशाक नै दौरा-सुरुवाल भएर पनि होला अधिकांशले दौरा-सुरुवाल नै लगाउँथे । समय परिवर्तनसँगै नेपालमा पनि कोर्ट प्वाइन्ट लगाउने चलन बढ्दै गयो । संख्या बढेसँगै बजारमा माग पनि बढी भयो । पहिले जस्तो हातले मात्र काम गरेर हुने अवस्था रहेन । हातको सट्टा सबै काम मेसिनले गर्न थाल्यो । बजारको माग र आवश्यकताको बेला व्यवसाय सुरु गर्दा कमाइ पनि राम्रै भएको तामाङ बताउँछन् । एउटा काज बनाए र बटन टाँसिदिए बापत २० देखि २५ रुपैयाँ लाग्छ । उनी केही कमाइ भएन भन्ने दिन पनि दुई हजारदेखि तीन हजारसम्म कमाइ हुने दाबी गर्छन् । भन्छन्, ‘सिजनमा त राम्रै कमाइ हुन्छ महिनामा डेढ लाख, दुईलाख सम्म पनि पुग्छ, सिजन नभएपनि मासिक ६०/७० हजार कहीँ कतै जाँदैन ।’ सञ्जयको घर रसुवाको सदरमुकाम धुन्चे हो । सदरमुकाम नजिकै घर भए पनि न आर्थिक अवस्था राम्रो थियो, न खान-लाउन पुग्थ्यो । उनी सानै हुँदा काठमाडौं आए । घरको आर्थिक अवस्था पनि कमजोर हुँदा उनको बालापन राम्ररी बित्न पाएन । पढ्न स्कुल समेत जान पाएनन् । कहिलेकाँही साथीहरूसँग गए पनि ड्रेस कापी किताब हुँदैनथियो । उनको यस्तो अवस्था देखेपछि उनको स्कुलको एकजना शिक्षकले उनलाई काठमाडौं ल्याए । ‘तिमी मसँग काठमाडौं जाने हो भने घुमाइदिन्छु भन्दै सरले ल्याएर यहाँ पुगेको हुँ,’ विगतका दिन सम्झँदै तामाङ भन्छन्, ‘यहाँ ल्याएर त मलाई बालमन्दिर राखेर पढ्नुपर्छ भन्नुभयो, सरले मेरो घरको अवस्था देखेरै ल्याउनुभयो होला,’ ‘पारिवारिक तथा आर्थिक अवस्था राम्रो नभएर मैले लगाएको झुत्रेझात्रे कपडा देखेर सायद सरलाई दया लाग्यो होला, सरले काठमाडौं पुर्याउँदा म सानै थिएँ,’ उनले आफ्नो विगत सुनाए । बालमन्दिर पुर्याउँदा विसं २०४६ सालमा सञ्जय तामाङ १२ वर्षका थिए । उनी शिक्षकसँगै काठमाडौं आए । काठमाडौं ल्याएर उनलाई बालमन्दिरमा बसेर पढ्न सल्लाह दिइयो । उनी पनि तयार भए । तर, गाउँको नजिकैको नाता पर्ने काकाले आफ्नो घरमा बस्न लगाए । उनको घर बालमन्दिर नजिकै थियो । उनी छिमेकी काकाको घरमा बसेर बालमन्दिर भर्ना भए । तर, उनले पढाइलाई निरन्तरता दिएनन् । गरिबहरूमाथि अवसर पाउँदा सम्पन्न व्यक्तिले मौका पाउँदा रहेछन् । शिक्षकले बालमन्दिरमा पढाइदिन राखेका तामाङलाई आफ्नै घरमा राखेका काकाले पनि त्यही फाइदा उठाए । उनलाई दिउँसो स्कुल पढाउने र साँझ बिहान घरको काम गर्न लगाए । जबकि अनाथ, गरिब परिवारका बालबालिकालाई बालमन्दिरमा निःशुल्क पढ्न बस्न सुविधा थियो । सञ्जयलाई घरको काम गर्दै पढ्न मन लागेन । उनले पाँच कक्षा पास गरिसकेपछि पढाइ छोडे । पढाइ छाडेर काकाकै घरमा काम गर्दै बस्ने गर्न थाले । तामाङको दैनिकी यसैगरी चलिरहेको थियो । उनी १४ वर्ष पुगिसकेका थिए । उनलाई घरमा काम गरेको देख्दा काकाको घर नजिकैका छिमेकी राजु ठकुरीलाई थाहा थियो । उनी गार्मेन्टमा काम गर्थे । सञ्जयको उनीसँग बोलचाल भइरहन्थ्यो । एकदिन उनले भने, ‘तिमी काम गर्ने हो ? एक ठाउँ काम भेटिएको छ ?’ तामाङले सहर्ष स्वीकार गरे । त्यसपछि उनले गार्मेन्टमा काम गर्न थाले । आफै कमाउन थालेपछि काकाको घर पनि छोडे । गार्मेन्टमा हेल्परको काम २०४८ तिर काठमाडौंको न्युरोडमा पसलैपिच्छे गार्मेन्ट उद्योगहरू थिए । व्यवसायी नेपाली थिएनन् । तर, कामदार सबै नेपाली थिए । लुगा सिलाउनेदेखि काज बटन लगाउनेसम्मको काम गार्मेन्टले दिइरहन्थ्यो । यही मौकामा सञ्जयले पनि गार्मेन्टमा काम सुरु गरे । उनको काम हुन्थ्यो सर्टको कुन ठाउँमा टाँके घर राख्दा हुन्छ भन्दै मार्किङ गर्नुपर्ने । काम पाएपछि उनले रातदिन मिहिनेत गरे । त्यो बेला काम गरेवापत मासिक ९ सय रुपैयाँ पाइन्थ्यो । तर उनले यति मिहिनेत गरेकी महिनाको दुई हजार थाप्न थाले । एक/दुई वर्ष काम गरिसकेपछि उनलाई मार्कर लगाएर बस्न मात्र रुचि भएन । उनलाई मेसिन चलाउने रहर लाग्यो । दिनभरि मार्किङ लगाउने काम गरेर राति कोही नहुँदा मेसिन चलाउन सिके । ‘दिउँसो सिक्ने समय पनि नहुने, अप्रेटरहरूले पनि नसिकाउने, राति सिक्न पाइन्छ भन्दै सुत्न नगइ सिकेको हुँ,’ तामाङ भन्छन्,‘ त्यो बेला अहिलेको जस्तो सीसी क्यामेरा पनि थिएन, राति अप्रेटरहरू सुत्न गइहाल्थे त्यो मौका छाप्दै मेसिन चलाउन जानियो ।’ तामाङले मेसिन चलाउन थालिसकेपछि हेल्परबाट अप्रेटर बने । अप्रेटर बनेपछि उनको तलब पनि बढ्यो । २ हजारबाट ३५ हजार पुग्यो । कामको चापाचाप हुन थाल्यो । उनले ठेक्कामा काम गर्न थाले । विभिन्न कम्पनी अफिसको ठेक्का लिएर काम गर्थे । काम राम्रै चलिरहेको थियो । देशमा सशस्त्र युद्ध सुरु भयो । गार्मेन्ट साहुले कामदारको तलब बढाएनन् । त्यसपछि ट्रेड युनियनले आन्दोलन सुरु गरे । जनआन्दोलन र ट्रेड युनियनको आन्दोलनले न्युरोडका गार्मेन्ट धमाधम बन्द भए । त्यहीबेला उनको जागिर पनि खोसियो । इराकको यात्रा तामाङले ६/७ वर्ष गार्मेन्टमा काम गरे । त्यो बेलासम्म उनी एक्ला थिएनन् । विवाह गरिसकेका थिए । छोरी पनि भइसकेकी थिइन् । जिम्मेवारी पनि थपिएको थियो । यही बेला जागिर खोसिँदा समस्या भयो । उनी विदेश जाने तयारीमा लागे । विदेशका लागि इराक रोजे । त्यहाँ उनको काम थियो वाइरिङ गर्ने । पाँच वर्ष त्यहीँ काम गरे । नेपाल र विदेशमा काम गर्दा अनुभव उनीसँग फरक छ । भन्छन्, ‘आफ्नो ठाउँ भनेको आफ्नै ठाउँ हो, दुःखी बिरामी हुँदा सकिँदैन भन्न पाइन्छ । तर, विदेशमा त्यस्तो हुँदैन । सञ्चो नहुँदा पनि काम गर्नै पर्छ ।’ विदेशमा तोकिएको तलब समयमै थाप्न पाइन्छ । पैसा पनि बच्छ । तर, नेपालमा न राम्रो तलब हुन्छ न पैसा बच्छ । विदेशमा दुःख गरे अनुसार पैसा पनि हुने उनी बताउँछन् । उनी पाँच वर्ष विदेश बसेर २०७१ सालमा स्वदेश फर्किए । होटलमा गरेको लगानी डुबेपछि... तामाङ नेपाल फर्किसक्दा पनि गार्मेन्टहरू बन्द नै थिए । उनलाई काठमाडौं यत्तिकै बस्न मन लागेन । अन्य जागिरको खोज्न न शैक्षिक योग्यता थियो न कुनै सीप । सीप भएका उद्योगहरू बन्द नै थिए । उनले अब आफ्नै व्यवसाय गर्ने योजना बनाए । यही सिलसिलामा उनको भेट एक जना होटल व्यवसायीसँग भयो । थोरै-थोरै लगानी गरेर पनि व्यवसाय गर्न सकिने भन्दै लगानी गरे आफू काममा सहयोग गरिदिने बतायो । उसकै कुरा विश्वास गरी उनले कालोपुलमा सञ्चालनमा रहेको होटल खरिद गर्ने योजना बनाए । ‘मलाई व्यवसाय कसरी गर्ने भन्ने खासै आइडिया थिएन, त्यो भाइले म सहयोग गर्छु भन्दै लगानी गर्न लगायो,’ तामाङ भन्छन्, ‘मलाई लगानीका लागि उक्सायो तर, उनी १५ दिनमा घरमा काम पर्यो भन्दै गएर त्यसपछि कता गए फर्केर आएनन् ।’ उनकै आशामा खोलेको होटल उनै फरार भएपछि चल्न सकेन लगानी डुब्यो । त्यसको केही समयपछि २०७२ सालमा भूकम्प आयो । भएको व्यवसाय पनि भताभुंग भयो । ‘भएको पैसा पनि सकियो, व्यवसाय पनि सकियो, थाहा नभएको व्यवसायमा लगानी गर्दा पाँच वर्ष बसेर विदेशबाट ल्याएको कमाइ यसैमा डुब्यो,’ तामाङले निराश हुँदै भने । व्यवसाय डुबेपछि उनी त्यत्तिकै घरमा बसे । पछि एक जना चिनेको दाईले हातमा सीप भएको मान्छे किन त्यत्तिकै घरमा बसेको काम गर भन्ने सल्लाह दिए । उनले आफ्नै पसलमा काम दिए । मासिक तलब २० हजार थियो । काम राम्रो चल्दै गएको थियो । तर, उनलाई अब आफैसँग भएको सीप प्रयोग गरेर आफै काम गर्न मन लाग्यो । त्यसपछि सुरु गरे काजबटन व्यवसाय । अब आफ्नै व्यवसाय अरूको काम गरिरहँदा तामाङलाई उनको छोरीले आफ्नै काम गर्न सल्लाह दिइन् । उनले पनि यसमा सहमति जनाए । पारिवारिक सल्लाहपछि २०७९ सालमा तामाङले सुरु गरे आफ्नै व्यवसाय । छोरीले पनि सहयोग गरिन् । श्रीमतीले पनि साथ दिइन् । परिवारको हौसलाले सुरु गरेको व्यवसाय सोंचेभन्दा राम्रो चलिरहेको छ । काम अनुसार तामाङलाई तत्काल कर्मचारीको आवश्यक थियो । तर, श्रीमतीलाई पनि काम सिकाएपछि अहिले सहज भएको छ । श्रीमतीले अकाउन्टेन्टको कामदेखि मेसिन चलाउने काम समेत गर्छिन् । ‘आफू पढेलेखेको नहुँदा हिसाबमा कमजोर पनि थिएँ, अहिले जिम्मेवारी श्रीमतीलाई सुम्पिँदा धेरै सहज भएको छ,’ उनले अनुभव सुनाए । उनकी छोरी एउटा कम्पनीमा मार्केटिङको काम गर्छिन् भने छोरा कक्षा ११ मा अध्ययन गर्छन् । ‘मसँगैका पढेका साथीहरू कोही शिक्षक छन्, कोही अधिकृत छन्, तर, मलाई नपढेकोमा पछुतो छैन, उनीहरूले कमाउने तलबभन्दा बढी पैसा मैले पनि कमाइरहेको छु,’ उनले खुसी हुँदै भने । तामाङ सानै हुँदा उनकी आमाको मृत्यु भयो । बुवाले अर्को विवाह गरे । घरको आर्थिक अवस्था पनि राम्रो थिएन । स्कुल जानुभन्दा घरको काममा बाल्यकाल बित्यो । समय पाउँदा उनी स्कुल गइहाल्थे । सँगैका साथीहरू स्कुल जाँदा उनी घाँस काट्न जान्थे । ‘किताबका पाना पढ्न नपाए पनि जिन्दगीका पाना राम्रैसँग पढेको छु,’ उनी भन्छन्, ‘मलाई पढाइभन्दा सीप आवश्यक जस्तो लाग्छ, पढाइ नचाहिने भन्ने होइन तर पढाइमात्र भएर हुँदैन रहेछ, म नपढेकोले त सीप भएर जिविका चालइरहेको छु भने पढेकाहरूलाई पनि सीप अनिवार्य छ ।’
संसदीय समितिमै किन अड्कियो शिक्षा विधेयक ?
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दुई साताभन्दा बढी समय बितिसक्दा पनि बस्न सकेको छैन । ‘विद्यालय शिक्षा विधेयक’मा सहमति हुन नसकेका बुँदामा अहिले निरन्तर छलफल चल्नुपर्ने हो । तर सरोकारवालाको गैर-जिम्मेवारका कारण बैठक बस्न नसकेको हो । जेठ ११ गते शिक्षामन्त्री रघुजी पन्तले समितिलाई विधेयकमा देखिएका समस्या समाधानका लागि ७ दिनको समय मागेका थिए । सात दिन भित्रमा समस्या समाधान गरेर काम सुरु गर्ने वचनवद्धता गरेका मन्त्रीले अहिलेसम्म सुझाव दिन सकेका छैनन् । मन्त्रीले सुझाव दिन त परको कुरा संसद्लाई समेत समय दिन सकिरहेका छैनन् । जसकारण समितिको बैठक समेत बस्न सकेको छैन । मन्त्रीले नै बेवास्ता गर्दा समितिको छलफल रोकिएको भन्दै सांसदहरू तोकिएको समयमा विधेयक पारित हुने आंशका व्यक्त गरिरहेका छन् । समिति सभापति अम्बरबहादुर थापा मन्त्रीको व्यस्तताका कारण समितिको बैठक बस्न नसकेको बताउँछन् । ‘मन्त्रीज्यूले ३१ गतेमात्र बैठक बोलाउ भन्नु भएको छ, अब हाम्रो बैठक ३१ गते बस्ने छ, त्यसपछि छलफल गर्नुपर्ने विषयमा निरन्तर छलफल हुने छ,’ उनी भन्छन्, ‘उहाँले म्यादमात्र थप माग्नुभएको छ, सरकार तयार नहुँदासम्म हामीलेमात्र छलफल गरेर भएन, यही अवस्था हो भने १५ गतेभित्र विधेयक पारित हुन्छ हुँदैन भन्न सकिँदैन ।’ ‘हुन त उपसमितिदेखि समितिसम्म हामीले छलफल गर्दै आएका कुराहरू छन्, केही बुँदामा मात्र समस्या देखिएको छ । यसमा पनि सहमति जुटाउनु छ तर निरन्तर सांसद अवरुद्धले पनि के हुन्छ भन्ने भन्न सकिने अवस्था छैन,’ उनले थपे । सासंसदहरू सरकारको चाहना नै विधेयक पारित गर्ने नरहेको देखिएको बताउँछन् । ‘के कारण यस्तो गरिराख्नुभएको छ थाहा छैन तर, यो विधेयक निकै महत्वपूर्ण हो, आन्दोलनका बीचबाट सहमति गरेकाले समितिको धारणा तोकिएको समयमै विधेयक आओस् भन्ने हो,’ समितिका सदस्य एवं सासंद रेखा शर्माले भनिन् । उनी यो विषयमा सरकार नै सहमत नभएको जस्तो देखिएको बताउँछिन् । अधिकांश समितिका सदस्यको धारणा सरकारले नै विधेयक असार १५ मा ल्याउन नचाहेको छ । नेकपा माओवादी केन्द्रका शिक्षा विभाग प्रमुख माया शर्मा निरन्तर यही हिसाबले संसद् अवरुद्ध हुने र सरकारले लचकता नअपनाउने हो भने शिक्षकसँग गरेको सहमतिअनुसार विधेयक पास हुने छाँट नदेखिएको बताउँछन् । सांसदहरू मन्त्रीको वेवास्ता भनिरहँदा यता शिक्षामन्त्री पन्त भने तोकिएकै समयमा विद्यालय शिक्षा विधेयक पारित हुने बताउँछन् । विभिन्न सावर्जनिक कार्यक्रममा बोल्दै उनले विधेयकमा सहमति जुट्न नसकेका विषयमा अहिले पनि शिक्षकहरूसँग छलफल भइरहेको बताउँदै विधेयक पारित हुँदैन कि भन्ने कुरामा शंका नगर्न आग्रह गर्छन् । उनी भन्छन्, ‘हामीले शिक्षकहरूसँग लिखित सहमति गरेका छौं, यो विषयबाट भाग्ने भन्ने हुँदैन, यो महिनाभरी मन्त्रालय भित्रको वर्कआउट सक्छौं, त्यसपछि बाँकी काम अरु दिनमा सकेर प्रतिनिधिसभाबाट विधेयक पास गछौं ।’ मन्त्री पन्तले प्रधानाध्यापक संघ नेपाल (पान)ले असार १५ मै भन्ने नभइ राम्रो कानुन असार १७ मा ल्याउँदा पनि हुने भनेको जानकारी दिए । २०७५ सालयता विद्यालय शिक्षा विधेयकमा छलफल हुँदै आएको छ । विधेयकका बुँदाबुँदामा शिक्षा समिति अन्र्तगतको उपसमितिले गहनरूपमा छलफल गरेको छ । धेरै विषयमा सहमति जुटाउन सके पनि केही विषयमा सहमति जुट्न सकेको छैन । शिक्षा विधेयकलाई अझ गहनरूपमा छलफल गर्न गठन गरिएको उपसमितिले पनि निजी विद्यालयलाई गुठीमा राख्ने कि नराख्ने भन्ने विषयमा सहमति जुटाउन सकेन । उपसमितिले बालविकास केन्द्र कति वर्षको बनाउने, निजी विद्यालयलाई गुठीमा राख्न के गर्ने भन्ने लगायतका केही विषयलाई नटुग्याउँदै विधेयक शिक्षा समितिलाई पठाएको थियो । विवादित विषयमा फेरि समितिले छलफल अगाडि बढाएको छ । तर दुई साताभन्दा बढी समयमा समितिको पनि बैठक नबस्दा विवादित अन्योल सिर्जना भएको हो । यस्ता अन्योलमा रहेका विषयमा सहमति जुटाउनुपर्ने भएपनि बैठक बस्न नसक्दा शंका उत्पन्न भएको हो । कडा आन्दोलन गर्ने चेतावनी विवादित विषयमा सहमति जुटाइ गत वैशाख १७ गते सरकारसँग लिखित गरेको शिक्षक महासंघ भने कुनैपनि हालतमा १५ गते विधेयक आउनुपर्ने बताएको छ । महासंघका अध्यक्ष, सहअध्यक्षदेखि महासचिवहरू अहिले पनि नियमित सरकारसँग छलफलमा छन् । निरन्तर छलफल संवादमा रहका महांसघका प्रतिनिधि विधेयक पास गरेरमात्र घर फर्किने बताउँछन्। उनीहरू विवादित विषयमा सहमति जुटाइ तोकिएको मितिमा विधेयक नआए कडा खालको आन्दोलन गर्ने चेतावनी दिएका छन् । शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी अब पनि सरकारले छक्याउन खोजे नराम्रो मूल्य चुकाउनुपर्ने बताउँछन् । पटक-पटक सडक र भेटघाटमार्फत सरकारलाई दबाब दिँदै आएको स्मरण गर्दै उनले विद्यालय शिक्षा ऐन जसरी पनि तोकिएको समयमा आउनुपर्ने जिकिर गर्छन् । महासंघका सहअध्यक्ष नानुमाया पराजुली देशको राम्रो शिक्षा नीति बनाउन भनेर सरकारलाई यसरी दबाब दिइराख्नु नै अचम्मको विषय भएको बताउँछिन् । ‘हामीले हाम्रो व्यक्तिको समस्या समाधान गर भनेको होइन, शिक्षा नीति राम्रो बनाऔं, देश राम्रो बनाऔं भन्दा पनि पटक–पटक सडकमा पुग्नुपर्ने अवस्था आउनु विडम्बना हो,’ उनी भन्छिन् । यता प्रधानाध्यापक संघ नेपालका अध्यक्ष सुदमप्रसाद गौतम शिक्षा ऐन आउनुपर्छ तर प्रगतिशील आउनुपर्ने बताउँछन् । भन्छन्, ‘हतार गरेर पछि विरोध गर्नुभन्दा सबै कुरा समेटेर विधेयक आउनुपर्छ, हतार गरेर पूरानै ढर्राको आउने हो भने अवस्था उस्तै हुन्छ, केही दिन तलमाथि भए पनि प्रगतिशील विधेयक आउनुपर्छ ।’ २०७५ सालदेखि छलफलको विषय बनेको विद्यालय शिक्षा विद्येयक अहिलेसम्म टुंगिन नसक्नु बिडम्बना हो । हाल देशमा २०२८ सालको शिक्षा ऐनले काम गरिरहनुपरेको छ । पुरानो शिक्षा ऐनले अहिलेको अवस्था र गुणस्तरलाई समेट्न नसक्ने बताउँदै सरोकारवालाहरू विद्यालय शिक्षा विधेयक ल्याउन ढिलाइ गर्न नहुने बताउँछन् । ८० लाख बालबालिकाको जीवनमा खेलबाड विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षक कर्मचारी पटकपटक सडकमा आउँदा यसको प्रत्यक्ष असर बालबालिकामा परेको छ । अभिभावक संघ नेपालका केन्द्रीय सचिव प्रवीण निरौला ८० लाख विद्यार्थीको पढाइ प्रभावित हुनेगरी शिक्षा क्षेत्रमा भइरहेको प्रवृत्तिले उनीहरूको जीवनमाथि नै खेलबाड भएको बताउँछन् । अभिभावक संघले पनि पटकपटक शिक्षा विधेयक चाँडो आउनुपर्छ भन्दै आवाज उठाइराखेको बताउँदै उनले जेठ १५ गते विधेयक आउनुपर्ने बताउँछन् । पटकपटक सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने सरकारको प्रवृत्तिले बालबालिकामाथि असर परेको उनी बताउँछन् । उनी भन्छन्, ‘समितिका साथीहरूले नै सरकारले यो विषयमा ध्यान दिएन भन्दै आउनुभएको छ । यो कुरा साँचो हो भने भोलि यसले झन् विकराल अवस्था निम्त्याउँछ। यस्तो अवस्था आउन नदिन सरकारले ध्यान दिनुपर्छ ।’