इन्जिनियरलाई विदेशिन बाध्य नबनाऔं
हरेक वर्ष साउन ३ गतेलाई राष्ट्रिय इन्जिनियर दिवसका रूपमा मनाउने घोषणा गर्दछु । साथै, यस दिवसलाई नेपाल सरकारको आधिकारिक क्यालेन्डरमा समेत समावेश गरियोस् । हरेक राष्ट्रको विकासको मेरुदण्ड भनेकै पूर्वाधार र प्रविधि हो । प्रविधि र पूर्वाधारको विकासबिना आर्थिक समृद्धिको परिकल्पना गर्न सकिँदैन, र दक्ष इन्जिनियरबिना प्रविधि तथा पूर्वाधार विकास सम्भव छैन । हाल नेपालमा दर्ता भएका एक लाखभन्दा बढी इन्जिनियरहरूमध्ये करिब ६० प्रतिशत युवा इन्जिनियरहरू रहेका छन् । नयाँ प्रविधिमा दक्ष, ऊर्जा र क्षमताले भरिपूर्ण यी युवा इन्जिनियरहरू एकातर्फ अवसरबाट वञ्चित भइरहेका छन् भने अर्कोतर्फ पर्याप्त र दिगो अवसरको अभावका कारण राज्य र समाजप्रतिको विश्वास कमजोर बन्दै गएको देखिन्छ । युवा इन्जिनियरहरूको सीप, दक्षता र क्षमताको समुचित उपयोगका लागि इन्जिनियरिङ समुदाय, यससँग सम्बन्धित संघ-संस्था, उद्योग तथा स्वयं राज्यको महत्वपूर्ण भूमिका रहेको छ । आगामी दिनमा यो भूमिका अझ प्रभावकारी हुनुपर्ने आवश्यकता देखिन्छ । त्यसैले, नेपाली युवा इन्जिनियरहरूलाई स्वदेशमै उचित अवसर सिर्जना गरी इन्जिनियरहरूको आत्मविश्वास अभिवृद्धि गर्नुपर्ने देखिन्छ । ६४औँ इन्जिनियर दिवस ‘युवा दिमाग र इन्जिनियरिङः राम्रो नेपालको आकार’ भन्ने मूल नाराका साथ मनाइएको छ । म आज डिग्री र प्रमाणपत्र बोकेका युवाहरू मात्र देखिरहेको छैन, म नेपालका समृद्धिको खाका कोर्ने आधुनिक विश्वकर्माहरू देखिरहेको छु । नेपालको भूगोल, जलस्रोत र डिजिटल सम्भावनालाई विश्वस्तरमा पुर्याउन सक्ने ऊर्जाशील, सिर्जनशील र सक्षम मस्तिष्कहरू देखिरहेको छु । अवसरको खोजीमा विदेशिने युवाको सङ्ख्या बढ्दै गएको छ । ‘ब्रेन ड्रेन’का विषयमा पर्याप्त चर्चा हुने गरेको छ । तर, देशभित्र सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत इन्जिनियर र आर्किटेक्टहरूको सीप, ज्ञान र क्षमताको पूर्ण उपयोग हुन सकिरहेको छैन अर्थात् ‘ब्रेन वेस्ट’ भइरहेको पनि छ । राज्य संयन्त्रका विभिन्न निकायबाट सिर्जित भयको वातावरणका कारण सरकारी सेवामा कार्यरत प्राविधिकहरू महत्त्वपूर्ण निर्णय लिन तथा नवीन अभ्यास र प्रविधिको प्रयोग गर्न हिच्किचाइरहेका छन् । फलस्वरूप उनीहरू आवश्यक रूपमा प्रेरित हुन सकेका छैनन् । त्यसैगरी, निजी क्षेत्रमा कार्यरत प्राविधिकहरूले कठिन भौगोलिक अवस्था, विपद्जन्य जोखिम, भौतिक तथा पेशागत असुरक्षाका बीच आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन् । तर, उनीहरूले अपेक्षित आड, भरोसा, सुरक्षा र प्रोत्साहन पर्याप्त रूपमा प्राप्त गर्न सकेका छैनन् । अनेकौँ सामाजिक तथा नीतिगत समस्याका कारण, विशेषगरी वन तथा वातावरणसम्बन्धी झन्झटिला प्रक्रिया, राज्यबाट पर्याप्त सुरक्षा प्रत्याभूतिको अभाव तथा आवश्यक ऐन–कानुनको अपर्याप्तताका कारण निजी क्षेत्रमा कार्यरत प्राविधिकहरूले आफ्नो क्षमता अनुरूपको नतिजा दिन सकिरहेका छैनन् । त्यसैले, आगामी दिनमा गुण र दोषका आधारमा पुरस्कार तथा दण्डको न्यायोचित व्यवस्था गरी सरकारी तथा निजी दुवै क्षेत्रमा कार्यरत प्राविधिकहरूको पूर्ण क्षमताको उच्चतम उपयोग हुने वातावरण निर्माणतर्फ सरकारको गम्भीर ध्यानाकर्षण होस् । हामीसँग आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउन सक्ने थुप्रै सम्भावनायुक्त क्षेत्रहरू छन् । कृषि, पर्यटन, ऊर्जा, मानव संसाधन, उद्योग, सूचना प्रविधिलगायतका हरेक क्षेत्रमा इन्जिनियरहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहनेछ । जस्तै हामी नेपाललाई जलस्रोतमा सम्पन्न राष्ट्रका रूपमा चिनाउँछौँ । विगतमा हाम्रो जलस्रोत मुख्यतः खानेपानी र परम्परागत सिँचाइमा मात्र सीमित थियो । तर आज यसको उपयोग क्रमशः विस्तार हुँदै गएको छ । विद्युत् उत्पादन, आधुनिक सिँचाइ प्रणाली तथा खाद्य सुरक्षासँग यसको प्रत्यक्ष सम्बन्ध स्थापित भएको छ । अबको युग भनेको डिजिटल अर्थतन्त्रको युग हो । जलस्रोतको उपयोग अब डेटा सेन्टर, डिजिटल उत्पादन, अन्तरदेशीय विद्युत् व्यापार, नदी नियन्त्रण तथा अन्तरदेशीय सिँचाइजस्ता सामरिक र आर्थिक दृष्टिले महत्त्वपूर्ण क्षेत्रमा समेत विस्तार हुँदै गएको छ । यसले जलस्रोतलाई नयाँ आर्थिक सम्भावनासँग जोडेको छ । यसरी तीव्र रूपमा बदलिँदो परिवेशलाई आत्मसात् गर्दै शैक्षिक संस्था, उद्योग तथा राज्यले भविष्यका आवश्यकता र विश्वव्यापी प्रविधिगत परिवर्तनलाई दृष्टिगत गरी प्राविधिक जनशक्तिको सीप विकास, गुणस्तरीय शिक्षा तथा क्षमता अभिवृद्धिमा विशेष जोड दिनुपर्ने आवश्यकता छ । हामीले इतिहासमा धेरै राजनीतिक क्रान्तिहरु गर्यौं । त्यस्ता क्रान्तिका परिवर्तनका पक्षमा प्राविधिक क्षेत्रले र खासगरी इन्जिनियरिङ समुदायले महत्वपूर्ण भूमिका खेलेको छ । राजनीतिक परिवर्तनपछि विकास र समृद्धिका नयाँ अवसर सिर्जना हुने अपेक्षा स्वाभाविक हो । तर विगतमा पूर्वाधार विकासले अपेक्षित गति लिन नसक्दा ती अवसरहरू सीमित बने । अहिले सरकारले विकासको गति तीव्र बनाउने घोषणा गरेको छ । नेपाल इन्जिनियर्स एशोसिएसनका तर्फबाट हामी यो प्रतिबद्धताको स्वागत गर्दै प्रविधि, गुणस्तरीय पूर्वाधार र दक्ष जनशक्तिमार्फत विकासलाई सुरक्षित, दिगो र भरपर्दो बनाउन पूर्ण रूपमा तयार रहेको स्पष्ट गर्न चाहन्छौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा नयाँ सोच, युवा ऊर्जा र राष्ट्र निर्माणको दृढ संकल्प बोकेको नेतृत्व आएको छ । यसले ऊर्जा तथा पूर्वाधार क्षेत्रमा नयाँ आशा जगाएको छ । नेपालको जलविद्युत, ऊर्जा र सिँचाइ क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड भए पनि आयोजना स्थलमा खटिने इन्जिनियरहरू अझै असुरक्षित कार्य वातावरण, अपर्याप्त सेवा–सुविधा र अनावश्यक प्रशासनिक झमेलाबाट पीडित छन् । यस्ता समस्याले विकासको गति नै प्रभावित गरिरहेका छन् । त्यसैले विकास निर्माणमा खटिने इन्जिनियरहरूले सुरक्षित वातावरणमा, बिना अवरोध काम गर्न पाउने कानुनी प्रत्याभूति सुनिश्चित गरिनुपर्छ । उनीहरूको सेवा-सुविधा, प्रोत्साहन र पेशागत सम्मानलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्छ । राज्यका विकाससँग सम्बन्धित मन्त्रालय, रणनीतिक सरकारी निकाय तथा नेतृत्व तहमा प्राविधिक पृष्ठभूमिका इन्जिनियरहरूको प्रतिनिधित्व बढाउन आवश्यक छ । इन्जिनियरिङ जनशक्तिको विशिष्टीकरणका लागि छुट्टै इन्जिनियरिङ सेवा आयोग गठन प्रक्रिया अघि बढाइनुपर्छ । यो माग नेपाल इन्जिनियर्स एशोसिएसनले वर्षौंदेखि उठाउँदै आएको भए पनि अझै कार्यान्वयन हुन सकेको छैन । सरकारी तथा निजी क्षेत्रमा कार्यरत इन्जिनियरहरूको क्षमता अभिवृद्धिका लागि नेपाल इन्जिनियरिङ प्रशिक्षण तथा अनुसन्धान प्रतिष्ठान तथा लामो समयदेखि प्रस्तावित इन्जिनियरिङ स्टाफ कलेज स्थापना प्रक्रिया तत्काल अघि बढाउनुपर्छ । यस विषयमा पटक-पटक छलफल, सहमति र निर्देशन भए पनि ठोस उपलब्धि हुन सकेको छैन । अहिले प्रधानमन्त्रीसहित धेरै मन्त्री र सांसदहरू स्वयं इन्जिनियर पृष्ठभूमिका भएकाले यी विषयले प्राथमिकता पाउने विश्वास गरेका छौं । आज हजारौं युवा इन्जिनियर तथा आर्किटेक्ट रोजगारीको अभावमा विदेश पलायन भइरहेका छन् । इन्जिनियरिङ शिक्षा पूरा गरेपछि पनि स्वदेशमै अवसर नपाउनु चिन्ताको विषय हो। सरकारले युवा इन्जिनियरका लागि रोजगारी सिर्जना गर्ने, विकास आयोजनामा इन्टर्नसिप र सहभागिताको व्यवस्था गर्ने तथा उनीहरूको क्षमता विकासमा विशेष कार्यक्रम ल्याउनुपर्छ । विकास आयोजनाको सुपरभिजन इन्जिनियरबाटै गराउने व्यवस्था अनिवार्य गरिनुपर्छ । ठूला आयोजना-चाहे सिभिल, मेकानिकल, इलेक्ट्रिकल वा सूचना प्रविधिसँग सम्बन्धित किन नहोस्-त्यहाँ युवा इन्जिनियरहरूलाई वरिष्ठ इन्जिनियर तथा आर्किटेक्टसँगै काम गर्ने अवसर सुनिश्चित गरिनुपर्छ । निजी तथा गैरसरकारी क्षेत्रमा कार्यरत इन्जिनियर र आर्किटेक्टहरूको न्यूनतम पारिश्रमिकमा एकरूपता कायम गरिनु अर्को महत्वपूर्ण विषय हो । नेपाल इन्जिनियर्स एशोसिएसनको अध्ययन प्रतिवेदनअनुसार लाइसेन्स प्राप्त स्नातक इन्जिनियरको न्यूनतम मासिक पारिश्रमिक ३७ हजार १३५ रुपैयाँ निर्धारण गरी तत्काल कार्यान्वयन गरिनुपर्छ। यस विषयमा पनि सरकारसँग पटक-पटक पहल भए पनि अपेक्षित परिणाम आएको छैन । प्राविधिक त्रुटि, कमजोरी र भ्रष्टाचारलाई एउटै तराजुमा तौलिनु हुँदैन । प्राविधिक त्रुटि र नियतवश हुने भ्रष्टाचार फरक विषय हुन् । यिनलाई एउटै रूपमा व्याख्या गर्दा सम्पूर्ण इन्जिनियरिङ समुदायमाथि अन्याय हुन्छ । तीन हजारभन्दा बढी प्राविधिक शिक्षक, मूल्यांकन (भ्यालुएसन) क्षेत्रमा कार्यरत इन्जिनियर तथा अन्य पेशागत समूहका आफ्नै समस्या छन् । यस्ता सबै विषयमा नेपाल इन्जिनियर्स एशोसिएसनले निरन्तर सरकारसँग समन्वय र पहल गर्दै आएको छ । केही सफलता प्राप्त भए पनि आवश्यकता अनुसार सुधार हुन अझै बाँकी छ । हामीलाई विश्वास छ, इन्जिनियर नेतृत्व रहेको वर्तमान सरकारले यी विषयलाई गम्भीरतापूर्वक अध्ययन गरी दीर्घकालीन समाधान निकाल्नेछ । नेपाल इन्जिनियर्स एशोसिएसन सरकारसँग सहकार्य गर्दै इन्जिनियरिङ क्षेत्रका सबै समस्या समाधानका लागि सधैं प्रतिबद्ध रहनेछ । हामी आफ्नो अधिकार र पेशागत उन्नयनको माग गर्दै गर्दा पेशागत निष्ठा, इमान्दारिता र नैतिकता लाई कहिल्यै बिर्सनु हुँदैन । केही व्यक्तिका त्रुटि वा अनियमितताले सम्पूर्ण इन्जिनियरिङ समुदायमाथि प्रश्न उठ्ने अवस्था आउनु दुर्भाग्यपूर्ण हो । त्यसैले प्रणाली, पारदर्शिता र पेशागत मर्यादाप्रति सबै इन्जिनियर प्रतिबद्ध रहन आवश्यक छ । नेपाल इन्जिनियर्स एशोसिएसन तपाईंहरूको अभिभावक संस्था हो । नयाँ सोचलाई प्रोत्साहन गर्न, पेशागत हकहितको रक्षा गर्न र इन्जिनियरलाई राज्यसँग अझ मजबुत रूपमा जोड्न हामी सधैं प्रतिबद्ध छौं । समृद्ध, आधुनिक र आत्मनिर्भर नेपालको खाका कोर्ने जिम्मेवारी इन्जिनियरहरूको काँधमा छ । यही जिम्मेवारीलाई आत्मसात् गर्दै राष्ट्र निर्माणको अभियानमा हामी अविचलित रूपमा अघि बढ्ने प्रण गर्दछौं । (नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालले ६४औं इन्जिनियर दिवसको अवसरमा राखेको मन्तव्य)