डेंगीको जोखिम बढ्दै, ९ महिनामा ५ हजार संक्रमित

काठमाडौं । नेपालमा डेंगी संक्रमण बढ्दो क्रममा देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २०२६ जनवरी १ देखि सेप्टेम्बर १५ सम्म देशका ७४ जिल्लाबाट ५ हजार २३८ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।

महाशाखाले डेंगी संक्रमणको अवस्थालाई १५(१५ दिनमा विश्लेषण गर्दै आएको जनाएको छ । संक्रमण धेरै देखिएका जिल्ला तथा स्थानीय तहमा अवस्थाको विश्लेषण गरी रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सुझाव र प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको महाशाखाले जनाएको छ ।

पछिल्लो तथ्यांकअनुसार झापा, बागलुङ, सुनसरी, पाल्पा, कास्की र दाङ लगायतका जिल्लामा डेंगी संक्रमण केही बढ्दै गएको देखिएको छ । स्थानीय तहको तथ्यांकमा सबैभन्दा धेरै संक्रमण बागलुङ नगरपालिका, भद्रपुर नगरपालिका, इटहरी नगरपालिका र पोखरा महानगरपालिका क्षेत्रमा देखिएको महाशाखाले जनाएको छ । 

बागलुङ नगरपालिकामा १ हजार १७, भद्रपुर नगरपालिकामा १०७, इटहरी नगरपालिकामा ११९ र पोखरा महानगरपालिकामा १८५ जनामा डेंगी संक्रमण पुष्टि भएको तथ्यांक छ । संक्रमण बढिरहेको बागलुङ नगरपालिकामा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले इण्टिमोलोजिस्ट, रोग अनुसन्धान विज्ञ ९फिल्ड इपिडिमियोलोजिस्ट० तथा प्रयोगशालाकर्मी सम्मिलित टोली परिचालन गरेको छ । टोलीले स्थानीयस्तरमा डेंगीको अवस्था अध्ययन गर्नुका साथै थप रोकथाम तथा नियन्त्रणका गतिविधि सञ्चालन गरिरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार डेंगी संक्रमण वर्षायामदेखि वर्षापछि समेत बढ्न सक्ने भएकाले लामखुट्टेको नियन्त्रणमा निरन्तर ध्यान दिन आवश्यक छ । यसका लागि सबै जिल्ला तथा स्थानीय तहमा रोकथाम तथा नियन्त्रणका गतिविधि सञ्चालन भइरहेका छन् । महाशाखाले डेंगी नियन्त्रणका लागि ‘श्रावण, भाद्र, आश्विन स् डेंगी सचेतना तीन महिने अभियान’ समेत सञ्चालन गरिरहेको छ ।

अभियानअन्तर्गत डेंगी सार्ने एडिस जातको लामखुट्टेको वासस्थान तथा प्रजननस्थलको निरन्तर निगरानी र व्यवस्थापन गर्न जोड दिइएको छ । घर, कार्यालय तथा सार्वजनिक स्थान आसपास पानी जम्न नदिने, पानी जम्ने भाँडाकुँडा नियमित सफा गर्ने र लामखुट्टेको सम्भावित प्रजननस्थल नष्ट गर्ने कार्यलाई प्राथमिकता दिन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले डेंगीको संक्रमण रोक्न सरकारी निकायको प्रयाससँगै स्थानीय तह, समुदाय तथा सर्वसाधारणको निरन्तर सहभागिता आवश्यक रहेको जनाएको छ ।

Share News