माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीहरू अहिले नतिजाको पखाईमा छन् । नतिजा राम्रो आउने आशामा रहेका विद्यार्थीहरू कक्षा ११ मा भर्ना हुन राम्रा विद्यालयको खोजीमा छन् । कतिपय विद्यार्थी साथीभाइसँग विद्यालयको भिजिट गरिरहेका छन् भने कतिपय विद्यार्थी अभिभावकसँगै विद्यालयको अवलोकन गरिरहेका छन् ।
वृहस्पति विद्यासदन कक्षा ११ र १२ को पढाइका लागि विद्यार्थी र अभिभावकको रोजाइमा पर्ने विद्यालय मध्ये एक हो । यहाँ प्लस टु अर्थात् कक्षा ११ मा १ सय २० जना विद्यार्थीमात्रै पढ्न पाउँछन् । जहाँ एक समूहमा ३० जना विद्यार्थी राखेर अध्ययन/अध्यापन गराइन्छ । विद्यालयको ध्यान धेरै विद्यार्थी तान्ने भन्ने हुँदैन ।
यो विद्यालयमा विज्ञान, व्यवस्थापन र मानविकीका विषयहरू पढाइ हुन्छ । कक्षा ११ मा विद्यार्थीले ७ वटा विषय पढ्नुपर्छ । जसमा तीनवटा अनिवार्य विषय, अंग्रेजी, नेपाली, सामाजिक अध्ययन अथवा म्याथम्याटिक्स छन् भने बाँकी तीन विषय अप्सनल अथवा रोजेर लिन सकिन्छ ।

कक्षा ११ मा भर्ना हुँदा विद्यार्थी आफू कुन क्षेत्रमा जान चाहन्छ भन्ने हेतुले विद्यार्थीको रुचि हेरेर विषय रोज्नुपर्ने हुन्छ । मानौं कसैलाई राजनीति, सामाजिक पढ्न मन लाग्यो भने त्यही अनुसारको विषय रोज्न सकिन्छ । यसमा अर्थशास्त्र पनि रोज्न सकिन्छ, राजनीतिक शास्त्र पनि लिने चलन आजभोलि बढ्दो छ । मेडिसिन अर्थात् चिकित्सा शिक्षा क्षेत्रतिर जानुछ भने त्यहीअनुसार फिजिक्स, केमेस्ट्री, बायोलोजी पढ्नुपर्छ । बिजनेसतिर जान मन छ भने अर्थशास्त्र, लेखा, व्यवसाय अध्ययन जस्ता विषय पढ्नुपर्छ ।
विद्यार्थीको आफ्नो उद्देश्यले विषय रोज्नुपर्छ । वृहस्पति विद्यासदनमा साइकोलोजी, सोसियोलजी पनि पढाइ हुन्छ । हामी विद्यार्थीलाई यो-यो विषय पढाइ हुन्छ भनेर मात्र भर्ना लिदैनौं, उनीहरूलाई यो विषय पढेर के-के विषयमा काम हुन्छ भन्नेबारे पनि बुझाउँछौं ।
यो विद्यालय २०४१ सालमा स्थापना भएको हो । हाल १ हजार १ सयको हाराहारीमा विद्यार्थी छन् भने कक्षा एकदेखि १२ सम्म पढाइ हुन्छ । प्रायः कक्षामा तीनदेखि चारवटा सेक्सन छन् । शिक्षक र अतिरिक्त क्रियाकलाप गर्ने (इसीएटिचर) गरेर एक सय बढी छन् भने अन्य स्टाफ एक सय ३० जना छन् । विद्यालयलाई राम्ररी चलाउन शिक्षकभन्दा नन शिक्षकको आवश्यकता पर्छ ।

वृहस्पति विद्यासदनका प्रधानाध्यापक कुमार थापा ।
यहाँ विद्यार्थी खेल्नका लागि पनि यहाँ प्रशस्त ठाउँ छ । विद्यालयभित्रै स्विमिङ पुल छ भने वाल क्लाइमिङ छ । स्केटिङ, फुट्सल खेल्ने ठाउँ ठूलोलाई छुट्टै र सानोलाई छुट्टै छ भने किक्रेट खेल्ने ठाउँ पनि छ, बास्केटबल खेल्ने ठाउँ छ । केही खेल्ने ठाउँ विद्यालयको छतमा पनि छ भने म्युजिक, डान्सका लागि पनि त्यही अनुसारको ठाउँ उपलब्ध छ । विद्यालय २९ रोपनी जग्गामा छ, जसको भाडा मासिकरूपमा तिरिँदै आइएको छ ।
वृहस्पतिले कस्ता विद्यार्थी छनोट गर्छ ?
हामीले विद्यार्थी तान्ने तथा छान्ने गर्दैनौं । विद्यार्थी यो विद्यालय रोजेर आउनेलाई भर्ना गर्छ । कतिपय विद्यार्थीलाई एकोहोरो डर, भयवाला वातावरणभन्दा पनि काउन्सिलिङ गर्ने, कनेक्ट गर्ने, बुझ्ने वातावरण मनपर्न सक्छ भने यो विद्यालय उपयुक्त हुन सक्छ । यहाँ तीन जना काउन्सिलर (परामर्शदाता) छन् । उनीहरूले विद्यार्थीलाई दुई तरिकाले परामर्श दिन्छन् । एउटा गाइडेन्स काउन्सिलिङ हुन्छ भने अर्को साइकोसोसेल काउन्सिल हुन्छ ।
आजभोलि कतिपय विद्यार्थीलाई कसैले मेरो कुरा सुनिदेओस्, बुझिदेवोस्, मलाई कसैले बुझिरहेको छैन भन्ने मानसिकता हुन्छ । त्यस्ता विद्यार्थीलाई मनोसामाजिक परामर्श आवश्यक हुन्छ । यो विद्यालयमा यस्तो खालको वातावरण छ ।
विद्यालयमा दुई सिफ्टमा पढाइ हुँदैन । धेरैजसो विद्यालयमा बिहान र साँझ दुई सिफ्टमा पढाइ हुन्छ । हाम्रोमा विद्यार्थीहरू बिहान साढे ८ बजेसम्म विद्यालय आइपुग्छन् अनि अपरान्ह साढे तीन बजेसम्म पढेर जान्छन् ।
विद्यालयमा पनि पाठ्यक्रममा भएको कुरा मात्र नभइ अन्य क्रियाकलाप गर्ने हुनुपर्छ । हाम्रो विद्यालयमा स्विमिङ पुल छ जहाँ स्विमिङ गर्न सक्नुहुन्छ । भित्ते आरोहण (वाल क्लाइमिङ) छ त्यहाँ पनि विद्यार्थी अभ्यास गर्न सक्नुहुन्छ । स्केटिङ, फुट्सल, बास्केटबल लगायतका खेल खेल्ने ठाउँ छ । योसँगै डान्स, म्युजिक पनि विद्यार्थी सिक्न सक्नुहुन्छ । कक्षा ११, १२ शैक्षिक यात्रा जीवनको अभिन्न पार्ट हो यहाँ पढाइ सँगसँगै एउटा सुन्दर जीवन जिउन चाहनेका लागि यो विद्यालय उपयुक्त हुन्छ ।
विद्यालयबारे बुझ्न विद्यार्थीको लाइन
नतिजा नआउँदै विद्यालयबारे बुझ्न थुप्रै विद्यार्थी आइरहेका छन् । यो विद्यालयमा प्रायः काठमाडौं उपत्यकाभित्रैकै विद्यार्थी पढ्न आउँछन् । हामी विद्यार्थी एक्लैभन्दा पनि अभिभावकसँगै आउँदा राम्रो ठान्छौं । एक्लै आइरहनुभएका विद्यार्थीलाई अभिभावकसँगै लिएर आउनूहोस् भन्ने सल्लाह पनि दिन्छौं । कोही विद्यार्थी साथीहरूसँग कुरा गरेर साथीको पछाडि लागेर आइरहनुभएको छ । यसमा घरको सल्लाह पनि धेरै आवश्यक हुन्छ । हामीकहाँ एसईई पास भइसकेपछि अभिभावकले पनि छोराछोरीलाई स्वतन्त्र छोडिदिएको पाइन्छ ।
विद्यालयदेखि विषयसम्म छनोटको कुरा छोराछोरीलाई छोडिदिएको पाइन्छ । तर अभिभावकले चटक्कै यसरी छोडेको राम्रो होइन । कक्षा ११ मा पढ्ने छोराछोरी हर्लक्कै बढेर ठूलो भए पनि अझै ऊ एक्लैले फैसला लिन सक्ने अवस्था हुँदैन ।
विद्यालयले दिने सेवा-सुविधा
कुनै पनि विद्यायमा विद्यार्थी छिरिसकेपछि आफू सुरक्षित रहेको महसुस गर्नुपर्छ । हामीकहाँ यस्तो खालको वातावरण छ । विद्यालयको गेटभित्र पसिसकेपछि विद्यार्थीको जिम्मा हामीले लिएका हुन्छौं । बाहिर निस्कने समय नहुँदासम्म ऊ बाहिर निस्कन पाउँदैन । विद्यार्थी आएको अनि गएको रेकर्ड राख्छौं ।
दिनमा ६, ७ वटा विषयहरू पढाइ हुन्छन् । सबै शिक्षकले आ–आफ्ना विषयको रेकर्ड राखेका हुन्छन् । कुनै एक विद्यार्थी पिरेडको बेला कक्षामा छैन भने तुरुन्त अभिभावकलाई एसएमएस जान्छ ।
अर्को हामी काउन्सिलिङमा धेरै विश्वास राख्छौं । कुनै विद्यार्थीलाई केही समस्या हुँदा उसलाई चिन्ने, बुझ्ने गर्छौं । हामी विद्यार्थीलाई परीक्षामा मात्र पास गराउने तरिकाले पढाउँदैनौं । पढाइ भनेको सिकाइ हो । सिकाइमा विद्यार्थीले मिहिनेत गर्नैपर्छ । यसका लागि हाम्रा शिक्षकहरूले निकै मिहिनेत गर्नुहुन्छ । हामी एक समूहमा ३० जना विद्यार्थी मात्रै राख्छौं ।
हाम्रा कक्षाकोठाहरू ठूला छन् । जहाँ मल्टिमिडिया प्रोजेक्टहरू छन्, बोर्डहरू पनि छन् । विद्यार्थीलाई पढ्न मनलाग्ने खालको राम्रो वातावरण छ । शिक्षकको पढाइले मात्र पुगेन भने अन्य धेरै कर्मचारीहरू पनि हुनुहुन्छ, विद्यार्थीले उहाँहरूबाट धेरै कुरा सिक्न सक्नुहुन्छ ।
छात्रवृत्ति धेरै
हाम्रो विद्यालयले विद्यार्थीबाट मासिक, वार्षिक ठ्याक्कै यति नै लिन्छौं भन्ने गाह्रो छ, किनकि विषय हेरे शुल्क बढी घटी भन्ने हुन्छ । यसका बाबजुद हामीले छात्रवृत्तिको पनि व्यवस्था गरिरहेका छौं । विद्यार्थीको योग्यता र आवश्यकता अनुसार हामीले भर्ना शुल्कदेखि मासिक शुल्कमा पनि छुट गराएको हुन्छौं ।
शुल्कको कुरामा म के भन्छु भने गुणस्तर कायम राख्न हामीलाई रिसोर्स चाहिन्छ र विद्यालयलाई अभिभावकले तिर्ने शुल्क बाहेक अरु कुनै पनि स्रोत हुँदैन । गुणस्तर बढाउन खोज्दा शुल्क अलिकती महंगो भइदिन्छ । समग्रमा हाम्रो शुल्कको कुरा गर्ने हो भने कक्षा ११ मा एक वर्षमा भर्ना सहित वर्षको एभ्रेजमा १ लाख ७० हजारदेखि ८० हजारसम्म आउँछ । यसमा विभिन्न छुट पनि हामीले गरेका छौं भने महानगरले सिफारिस गरेका विद्यार्थीलाई पनि पढाउनुपर्ने हुन्छ ।
हाम्रो विद्यालयको पढाइलाई हेर्दा केही महंगो जस्तो देखिन्छ तर विद्यालयभित्र विद्यार्थीलाई गरिने हेरचाह, गुणस्तर सिकाइ, विद्यार्थीले पढाइसँगै खेल्ने वातावरण पनि राम्रो छ । कक्षाभित्र भन्दा कक्षा बाहिरका क्रियाकलापमा पनि हामीले विद्यार्थीलाई सहभागि गराएका हुन्छौं । हाम्रो यहाँको विद्यार्थीले राष्ट्रिय मात्र होईन अन्तराष्ट्रिय विद्यार्थीसँग प्रतिस्पर्धा गर्ने क्षमता राख्छन् ।
विद्यार्थीको आकर्षण व्यवस्थापनमा
एसईईपछि पढ्न मिल्ने थुप्रै विषय भए पनि सबैभन्दा धेरै विद्यार्थीको आकर्षण आजभोलि व्यवस्थापनमा देखिन्छ । त्यस्तै विज्ञान विषय लिएर पढ्ने विद्यार्थी पनि धेरै हुनुहुनछ भने मानविकी लिएर पढ्ने विद्यार्थी निकै कम देखिन्छन् । तर प्राविधिक धारका विषय पनि उत्तिकै महत्त्वपूर्ण छन् ।
११÷१२ पढ्दा पनि प्राविधिकधार महत्वपूर्ण मानिन्छ भने ११, १२ नपढेर पनि डिप्लोमा कोर्सहरू राम्रा छन् । सिटीईभीटी, टीभइभीटी अन्तर्गत गएर पनि राम्रो सीप सिक्न सकिन्छ । जहाँ सयौं कार्सहरू उपलब्ध छन् । वर्षमा पाँच लाख विद्यार्थी एसईई दिन्छन् जम्मा जम्मी तीन, साढे तीन लाख विद्यार्थी पास हुन्छन् । यि मध्ये सबैले एकेमेडिमक नै गरी प्रोफेसर बैज्ञानिक हुनुपर्छ भन्ने छैन ।
किन कि पेशाले भोलि कहाँ कहाँ पुगिन्छ थाह हुँदैन । पेशाले विभिन्न क्षेत्रमा पुगे पनि पढाइ स्नातक स्नातोकोत्तरतिर केन्द्रित छ । यसका विकल्पका बाटा छन् । सबैको लागि किताबी ज्ञान नहुन पनि सक्छ । त्यसैले एसईईपछि गरिने सीपमूलक कोर्सहरू छन् जहाँ चाप घटेको छ । तर त्यहाँ पनि राम्रो करिअर बनाउन सकिन्छ।
कुनै पनि विषय नराम्रो भन्ने हुँदैन । राम्रोसँग पढ्यो भने जुनसुकै विषय पढ्दा पनि राम्रो गर्न सकिन्छ । नेपालमा आजभोलि धेरै विद्यार्थी प्लस टु गरेर विदेश जाने चलन बढ्दो छ । विदेशी कोर्स हेर्ने हो भने सीपमुलक बढी हुन्छन् । कतिपय विद्यार्थी एकेडेमिक कोर्समा सुरुमा स्नातक गरे पनि पछि ग्राजुएट डिप्लोमा, एड्भान्स डिप्लोमा भनेर कोर्समा गएको पाइन्छ । विदेशमा गएर यस्तो कोर्स गर्ने हो भने नेपालमा पनि यस्ता कोर्ष गर्दा राम्रो हुन्छ ।

घट्दो अभिभावकको दबाव
आजभोलि अभिभावकको दबाब पनि घटेको छ । पहिले अरूको छोराछोरी राम्रो भएको हेर्दै आफ्ना छोराछोरीलाई पनि यही विषय पढ्न र उस्तै मान्छे बन्न दबाब दिइन्थ्यो तर आजभोलि यो चलन धेरै हटिसकेको छ । आफ्नो सपना छोराछोरीमार्फत पुरा गर्न लगाउने जता लहरो गयो त्यतै छोराछोरीलाई दबाब दिने गरिन्थ्यो ।
आफ्ना सन्तानले विषय पढ्न सक्छ कि सक्दैन भनेर बुझ्नुपर्छ, दबाब दिई यो पढ त्यो पढ भन्नु राम्रो राम्रो होइन । अभिभावकले नै छोराछोरीलाई धेरै सहयोग र हौसला प्रदान गर्नुपर्छ।
विद्यार्थी आफूले आफैलाई चिन्ने
आफूले आफैलाई चिन्न निकै गाह्रो हुन्छ । यो उमेरमा आइपुग्दासम्म हामीले समेत आफैलाई चिन्न सकेका छौं कि छैनौं भन्ने हुन्छ । आफूलाई चिन्ने दुई तीनवटा तरिका छन् । पहिलो भनेको आफू आफैसँग बस्ने, म को हुँ, कस्तो छु, मैले अहिलेसम्म के गरिरहेको छु, के कुरामा मेरो रुचि धेरै छ भन्ने कुरा सोचेर यहाँबाट पनि धेरै कुरा बुझिन्छ, सिकिन्छ । म आममानिससम्म बसेर रमाउन सक्ने हो कि म एक्लै बसेर कोर्न सक्ने हो वा हिसाब गर्न रमाउन सक्ने हो कि, कसैलाई सेवा गर्न रमाउने हो कि भन्नेबारे आफूलाई चिन्न सकिन्छ ।
दोस्रो आफ्नो कुन–कुन काममा अरूले तारिफ गर्छन्, तिम्रो यो–यो कुरा राम्रो छ, तिमीले यो कुरा गर्न सक्छौं, तिम्रो लेखन राम्रो छ, तिम्रो शब्द चयन राम्रो छ भनेर भन्यो भने पनि हामीले त्यस विषयमा विचार गर्न सकिन्छ ।
अहिले सबै विद्यार्थीको हातमा स्मार्टफोन छ, इन्टरनेटको पहँुच छ, यस्तो बेला विद्यार्थी संसारसँग जोडिएका हुन्छन् । सिक्न, बुझ्न चाहनेहरूका लागि आजभोलि अरू कसैको कुरा प्रायः सुन्न आवश्यक हुँदैन । बजारमा कस्तो नयाँ विषय आएको छ, यसका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार कस्तो छ, यो पढिसकेपछि आफूले गर्न सक्ने केके हो भन्नेबारे खोज्न सकिन्छ । भविष्य छनोट गर्ने धेरै बुकहरू पाइन्छ, यस्ता किताब पढ्ने गर्यो भने पनि धेरै कुराहरू बुझिन्छ । हामी अहिलेसम्म पनि यसमा ठीक हुन्छ कि त्यसमा ठीक हुन्छ भनेर चेक गर्दै हिँड्छौं भने अहिलेको पुस्ता झन् एउटै ठाउँमा बस्ने किसिमको छैन । त्यसैले यस्ता कुराहरू जानिराख्यो, बुझिराख्यो भने फाइदा हुन सक्छ ।
बजारमा नयाँ विषयहरू
हामीले पढाउने भनेको विज्ञान, व्यवस्थापन र मानविकी अन्तगर्तका विषय हुन् । यहाँ मनोविज्ञान, समाजशास्त्र र होटल म्यानेजमेन्ट पढाइ हुन्छ । बजारमा नयाँ–नयाँ विषयहरू प्रशस्त छन् । जसको बजारमा आवश्यकता पनि छ । मनोविज्ञान, बाल विकासतर्फ पनि यस्ता विषयहरू छन् भने हस्पिटालिटी अन्तर्गत पनि थुप्रै नयाँ विषय छन् । बजारमा यस्ता थुप्रै ६०–७० वटा विषयहरू छन् कि जसमा हामीले कुरै गरेका छैनौं । हामी अझै पनि सीमित विषयमै घुमिरहेका छौं ।
हामीले यी–यी विषयहरू पनि छन् भनेर विद्यार्थीलाई धेरै जानकारी दिन सकेका छैनौं । हामीकहाँ आएका विद्यार्थीलाई कहिलेकाँही जानकारी गराउँछौं तर के हुँदो रहेछ भने जसले जे पढ्यो, त्यही पछाडि विद्यार्थी र अभिभावक हिँडिरहेका हुन्छन् । कहिलेकाँही हामीले प्रयास गर्दा पनि विद्यार्थीले नसुन्ने गरेको पाइन्छ, यस्ता कुरामा नियामक निकायबाट भनिदिँदा, बोली दिँदा अझ राम्रो हुन्थ्यो होला जस्तो लाग्छ ।
(वृहस्पति विद्यासदनका प्रधानाध्यापक कुमार थापासँग गरिएको कुराकानीमा आधारित)