काठमाडौं । बिहीबार ४४ लघुवित्त संस्थामा नकारात्मक सर्किट लागेर सेयर बजार बन्द भएको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बिहीबार ३७ लघुवित्त संस्थामा नकारात्मक सर्किट लाग्दा ७ लघुवित्त संस्थाको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
नेप्सेको अनुसार यस क्रममा छिमेक लघुवित्तको सेयरधनीहरुले सबैभन्दा धेरै सेयर कारोबार गरेका छन् । छिमेक लघुवित्तका सेयरधनीले आज ८ करोड ७० लाख रुपैयाँको सेयर किनबेच गरेका छन् ।
यस्तै, नेप्से आज ५७.७४ अंकले घटेर २०२२.६४ विन्दुमा पुगेको छ । आज नेपाल हाइड्रो डेभलपर्सको सेयर मूल्य सबैभन्दा बढी बढेको छ । कम्पनीको सेयर मूल्य १९ रुपैयाँले बढेको हो ।
बुधबार राष्ट्र बैंकले लघुवित्तहरुलाई एकीकृत निर्देशन जारी गर्दै कडाई गरेपछि यसकाे असर सेयर बजारमा देखिएकाे जानकारहरु बताउँछन् । राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतप्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८’ संशोधन गर्दै लघुवित्तहरुलाई कडाइ गरेकाे हाे ।
पछिल्लो समय लघुवित्त वित्तीय संस्थाविरुद्ध देशभरि गतिविधि भइरहँदा पनि लगानीकर्तामा नकारात्मक असर परेको जानकारहरु बताउँछन् ।