काठमाडौं । मंगलबारको दोश्रो बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबै घटेको छ । बजारमा परिसूचक २.५७ अंकले घटेर १८९९.७० बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.१३ प्रतिशतले घटी हो ।
त्यस्तै, कारोबार रकम पनि घटेर ७७ करोडमा सीमित भएको छ । जुन अघिल्लो दिनको तुलनामा ५८ करोड ९० लाख रुपैयाँले घटी हो । सोमबारको बजारमा एक अर्ब ३६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
२४८ वटा स्क्रिप्सको किनबेच भएको बजारमा कूल २० लाख ५८ हजार ५१० कित्ता सेयर किनबेच भएको छ । जसमध्ये नबिल बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । बैंकको एकैदिन ७ करोड १७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । तर कम्पनीको सेयर मूल्य भने प्रतिकित्ता ७.९० रुपैयाँले घटेर प्रतिकित्ता ८०७.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
त्यस्तै, सर्वाधिक कारोबार गर्नेको दोश्रोमा नेपाल दुरसञ्चार कम्पनी रहेको छ । मंगलबार कम्पनीको ६ करोड ३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
घटेको बजारमा सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २२६०.२० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २०५.४० रुपैयाँले बढी हो । त्यस्तै, साञ्जेन जलविद्युत कम्पनीको पनि सेयर मूल्य ७.७३ प्रतिशतले बढेर प्रतिकित्ता २३७ रुपैयाँ पुगेको छ ।
सबैभन्दा बढी प्रतिशतले गुमाउनेमा तेह्रथुम पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । यो कम्पनीको सेयर मूल्य ३.२९ प्रतिशतले घटेर प्रतिकित्ता
३२० रुपैयाँमा झरेको छ ।
बजारमा हाइड्रोपावर, माइक्रोफाइनान्स, म्युचुअल फण्ड र निर्जीवन बीमा समूह हरिया देखिएका छन् भने बाँकी समूह राताम्मे देखिएका छन् ।