सडक र सहरी विकासका लागि २ खर्ब ८६ अर्ब बजेट विनियोजन

काठमाडौं । सरकारले सडक र सहरी विकाससँग सम्बन्धित आयोजना र कार्यक्रमका लागि २ खर्ब ८६ अर्ब रुपैयाँ बराबर बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आवको बजेटमा सो घोषणा गरेका हुन् ।

स्वास्थ्य बीमामा १५ अर्ब बजेट विनियोजन

काठमाडौं । सरकारले स्वास्थ्य बीमामा १५ अर्ब बजेट विनियोजन गरेको छ । शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/ ०८४ का स्वास्थ्य बीमाका लागि १५ अर्ब लागि छुट्याएको जानकारी दिएका हुन् ।

बजेटमै समेटियो ब्लुबस

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो घोषणापत्रमा उल्लेख गरेको ‘ब्लु बस’ को विषय बजेटमै समावेश गरेको छ । रास्वपा उपसभापति समेत रहेका अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट भाषणमार्फत यसबारे जानकारी गराएका हुन्।  उनका अनुसार महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सीसीक्यामेरासहितको आधुनिक ब्लु बस सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाइने छ। 

सञ्चार मन्त्रालयलाई ५ अर्ब ९३ करोड बजेट विनियोजन

  काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ का लागि सूचना तथा सञ्चार मन्त्रालयका लागि ५ अर्ब ९३ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् । संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले सूचना तथा सञ्चार क्षेत्रलाई डिजिटल पूर्वाधार विस्तार, सेवा प्रवाह सुधार र सूचना प्रविधिको पहुँच बढाउने उद्देश्यसहित पर्याप्त बजेट छुट्याइएको बताए । विनियोजित बजेट सूचना प्रविधि प्रवर्द्धन, सञ्चार माध्यमको सुदृढीकरण तथा डिजिटल नेपाल अभियानलाई थप प्रभावकारी बनाउने कार्यक्रमहरूमा खर्च गरिने अपेक्षा गरिएको छ। सरकारले सूचना तथा सञ्चार क्षेत्रमा लगानी विस्तार गर्दै डिजिटल शासन प्रणालीलाई सुदृढ बनाउने नीति लिएको जनाएको छ । बजेटले सञ्चार क्षेत्रको आधुनिकीकरण, ग्रामीण तथा दुर्गम क्षेत्रमा सूचना पहुँच विस्तार र साइबर सुरक्षासम्बन्धी कार्यक्रमलाई समेत प्राथमिकता दिएको छ।

काठमाडौंमा १०० मेगावाटको सोलार परियोजना निर्माण गरिने

काठमाडाैं । सरकारले सङ्घीय राजधानी काठमाडौंमा १०० मेगावाट क्षमताको सौर्य ऊर्जा (सोलार) परियोजना निर्माण गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले काठमाडौंको बढ्दो ऊर्जा मागलाई सम्बोधन गर्न र स्वच्छ ऊर्जा प्रवर्द्धनका लागि यो परियोजना अगाडि बढाइने बताए । राजधानीभित्रै ठूलो परिमाणको सोलार ऊर्जा उत्पादन गरी विद्युत आपूर्तिलाई थप भरपर्दो र गुणस्तरीय बनाउन यो योजना ल्याइएको अर्थमन्त्री डा. वाग्लेले बताए । 

पूर्व-पश्चिम राजमार्ग विस्तारका लागि ३७ अर्ब ४६ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले पूर्व-पश्चिम राजमार्गको विस्तार तथा स्तरोन्नति कार्यलाई तीव्रता दिन ठूलो रकम विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट प्रस्तुत गर्दै पूर्व-पश्चिम राजमार्गका विभिन्न खण्डहरूलाई चार लेनमा विस्तार गर्ने कार्यका लागि कुल ३७ अर्ब ४६ करोड रुपैयाँ बजेट छुट्ट्याएको जानकारी दिएका हुन् ।  विगत केही वर्षदेखि नारायणगढ-बुटवल, कमला-कञ्चनपुर लगायतका विभिन्न खण्डहरूमा राजमार्ग विस्तारको काम भइरहेको छ । सवारी चाप बढ्दै गएकाले दुई लेनको सडकलाई चारदेखि छ लेनसम्म बिस्तार गर्ने कार्यलाई सरकारले राष्ट्रिय गौरव र रणनीतिक महत्वको आयोजनाका रूपमा प्राथमिकतामा राखेको छ ।

नेपाल औषधि लिमिटेडलाई कम्तीमा २५ प्रकारका औषधि उत्पादन गर्न सक्षम बनाइने

काठमाडौं । सरकारले नेपाल औषधि लिमिटेडलाई कम्तीमा २५ प्रकारका औषधि उत्पादन गर्न सक्षम बनाउने घोषणा गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । नागरिकलाई निःशुल्क उपलब्ध गराइने कम्तीमा २५ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्ने उद्देश्यले यस्तो घोषणा गरिएको हो ।   त्यस्तै, सरकारले निःशुल्क औषधि कार्यक्रमलाई प्रभावकारी बनाउन स्वदेशी उत्पादन बढाउने र बाह्य निर्भरता घटाउने नीति लिएको छ ।

काठमाडौंलाई धुलोमुक्त बनाइने, २८ अर्ब ९२ करोड बजेट विनियोजन

काठमाडाैं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सामाजिक सुरक्षा, रणनीतिक पूर्वाधार र सहरी सौन्दर्यीकरणलाई विशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमहरू सार्वजनिक गरेको छ। संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय राजधानी काठमाडौंलाई धूलोमुक्त र खाल्डाखुल्डीमुक्त बनाउने घोषणा गरे । राजधानीको समग्र वातावरणीय अवस्था र सहरी गुडस्तरमा सुधार ल्याउन सडकहरूको तत्काल मर्मतसम्भार, दायाँबायाँ सफाइ र स्तरोन्नतिका कार्यहरूलाई अभियानकै रूपमा अगाडि बढाइने बजेटमा उल्लेख छ। यसैगरी, देशभरका सडक सञ्जाललाई सफा, सुरक्षित र गुणस्तरीय रूपमा सुधार तथा विस्तार गर्न सरकारले २८ अर्ब ९२ करोड रुपैयाँ विनियोजन गरेको छ।

पोषण भत्ता दोब्बर, अब मासिक एक हजार रुपैयाँ पाइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत प्रदान गरिँदै आएको पोषण भत्तामा उल्लेख्य वृद्धि गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पोषण भत्तालाई दोब्बर बनाउने घोषणा गरेका हुन् । सरकारको यस नयाँ व्यवस्थासँगै अब लक्षित समूहले मासिक एक हजार रुपैयाँ पोषण भत्ता प्राप्त गर्नेछन् । यसअघि यो भत्ता मासिक पाँच सय रुपैयाँ मात्र रहेको थियो। बालबालिका तथा लक्षित वर्गको स्वास्थ्य र पोषणको अवस्थामा सुधार ल्याउने उद्देश्यले सरकारले चालु भत्तामा शतप्रतिशत वृद्धि गरी मासिक एक हजार रुपैयाँ कायम गरेको अर्थमन्त्री डा. वाग्लेले बताए । यस वृद्धिले ग्रामीण तथा विपन्न परिवारका बालबालिकाहरूको पोषण स्तर सुधार गर्न थप सघाउ पुग्ने अपेक्षा गरिएको छ । 

वृद्धभत्ता स्वेच्छिक गर्ने, नलिनेलाई सम्मान गरिने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रूपमा त्याग गर्न आह्वान गरेका छन् । बजेट प्रस्तुत गर्दै उनले आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वेच्छाले नलिन आग्रह गर्दै “सक्नेले छोडौं, नसक्नेले लिउँ” भन्ने अभियान अघि बढाइने घोषणा गरेका हुन् ।  सरकारले सामाजिक सुरक्षा कार्यक्रमलाई थप लक्षित, प्रभावकारी र आवश्यक वर्गमै केन्द्रित बनाउन यस्तो नीति लिएको जनाएको छ। अर्थमन्त्री वाग्लेले राज्यबाट उपलब्ध हुने सामाजिक सुरक्षा भत्ताको सदुपयोग सुनिश्चित गर्न आर्थिक रूपमा सक्षम नागरिकले स्वेच्छाले त्याग गर्दा त्यसबाट बचत हुने स्रोत वास्तवमै आवश्यकता भएका नागरिकसम्म पुर्‍याउन सहज हुने बताए। सरकारका अनुसार यो अभियानले सामाजिक उत्तरदायित्वको भावना विकास गर्नुका साथै सामाजिक सुरक्षा कोषको दीगो व्यवस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । वृद्धभत्ता लगायतका सामाजिक सुरक्षा कार्यक्रमलाई अझ व्यवस्थित र लक्षित बनाउने उद्देश्यले यो नारा बजेटमार्फत अघि सारिएको हो ।

राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापन गरिने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत बैंक तथा वित्तीय संस्थाको बढ्दो खराब कर्जा (एनपीएल) व्यवस्थापनका लागि राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने घोषणा गरेका छन् । बजेट प्रस्तुत गर्दै उनले वित्तीय क्षेत्रको स्थायित्व कायम राख्न र निष्क्रिय सम्पत्तिको व्यवस्थापन गर्न यस्तो संस्था स्थापना गर्न लागिएको बताएका हुन् । सरकारले बैंकिङ प्रणालीमा बढ्दै गएको निष्क्रिय कर्जा व्यवस्थापनलाई प्राथमिकतामा राख्दै समस्याग्रस्त कर्जा तथा धितो सम्पत्तिको व्यवस्थापनका लागि विशेष संयन्त्र बनाउने नीति लिएको जनाएको छ। प्रस्तावित कम्पनीले बैंक तथा वित्तीय संस्थामा थुप्रिएको खराब कर्जा व्यवस्थापन, सम्पत्ति पुनर्संरचना तथा वित्तीय प्रणालीमा तरलता सुधारमा काम गर्ने अपेक्षा गरिएको छ। अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रको जोखिम घटाउने, कर्जा प्रवाहलाई सहज बनाउने र समग्र वित्तीय प्रणालीमा विश्वास अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्न लागिएको बताए । सरकारले यसलाई वित्तीय क्षेत्र सुधारको महत्वपूर्ण कदमका रूपमा अघि सारेको छ । 

महिला उद्यमीलाई सस्तो ब्याजमा ऋण दिने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत महिला उद्यमीलाई सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराइने घोषणा गरेका छन्। बजेट प्रस्तुत गर्दै उनले महिला उद्यमशीलता प्रवर्द्धन र स्वरोजगार विस्तारका लागि सस्तो ब्याजमा कर्जा प्रवाह गर्ने व्यवस्था गरिने बताएका हुन् । सरकारले महिला नेतृत्वमा सञ्चालन हुने साना, घरेलु तथा मझौला उद्यमलाई प्राथमिकतामा राख्दै वित्तीय पहुँच विस्तार गर्ने नीति लिएको जनाएको छ। नयाँ व्यवस्थाअनुसार महिला उद्यमीले व्यवसाय स्थापना, विस्तार तथा सञ्चालनका लागि सहुलियत दरमा ऋण सुविधा प्राप्त गर्न सक्नेछन्। अर्थमन्त्री वाग्लेले महिलाको आर्थिक सशक्तीकरण, उद्यमशीलता विकास र उत्पादनमूलक क्षेत्रमा महिला सहभागिता बढाउने उद्देश्यले यस्तो कार्यक्रम ल्याइएको बताए। बजेटमा महिला उद्यमीका लागि कर्जासँगै सीप, बजार पहुँच र व्यवसाय विकास सहयोगका कार्यक्रम पनि अघि बढाइने उल्लेख गरे । 

नागरिक उड्ययन प्राधिकरण (क्यान) विभाजन हुने, ईयूको कालोसूचीबा छिट्टै हटाउने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत नेपाल नागरिक उड्डयन प्राधिकरण )क्यान)लाई विभाजन गरिने घोषणा गरेका छन्। बजेट प्रस्तुत गर्दै उनले नियामक र सेवा प्रदायकको भूमिका छुट्याउने गरी प्राधिकरणको पुनर्संरचना गरिने बताएका हुन्। सरकारले अन्तर्राष्ट्रिय अभ्यासअनुसार हवाई उड्डयन क्षेत्रको नियमन र सेवा सञ्चालनलाई अलग–अलग संस्थागत संरचनाबाट अघि बढाउने नीति लिएको जनाएको छ। यसअनुसार क्यानलाई नियामक निकाय र सेवा प्रदायक संस्थाका रूपमा छुट्ट्याउने प्रक्रिया अघि बढाइनेछ। अर्थमन्त्री वाग्लेले नेपालको हवाई सुरक्षा मापदण्ड सुधार, संस्थागत सुशासन सुदृढीकरण र अन्तर्राष्ट्रिय विश्वसनीयता अभिवृद्धि गर्ने उद्देश्यले यो निर्णय गरिएको बताए। उनले नेपाललाई युरोपेली संघ (ईयू) को हवाई सुरक्षा कालोसूचीबाट छिट्टै हटाउने लक्ष्यका साथ आवश्यक नीतिगत र संरचनात्मक सुधार अघि बढाइने पनि घोषणा गरे। सरकारको विश्वास छ कि प्राधिकरण विभाजनपछि नेपालको नागरिक उड्डयन क्षेत्र थप व्यवस्थित, पारदर्शी र अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बन्नेछ। यसलाई नेपालका वायुसेवा कम्पनीमाथि लागेको ईयू प्रतिबन्ध हटाउने प्रयाससँग जोडेर हेरिएको छ ।

७ वटा ठूला उद्योगमा निजी क्षेत्रलाई भित्र्याउने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सात वटा ठूला सार्वजनिक उद्योगमा निजी क्षेत्रको सहभागिता बढाइने घोषणा गरेका छन्। बजेट प्रस्तुत गर्दै उनले सञ्चालनमा रहेका केही सार्वजनिक संस्थानको व्यवस्थापन तथा लगानी संरचनामा निजी क्षेत्रलाई सहभागी गराइने बताएका हुन् । सरकारले लामो समयदेखि घाटामा रहेका वा पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका उद्योगलाई पुनर्संरचना गर्दै उत्पादन र व्यवस्थापनमा निजी क्षेत्रको प्रवेश गराउने नीति लिएको जनाएको छ। यसलाई सार्वजनिक–निजी साझेदारी मोडेलमार्फत अघि बढाइने बजेटमा उल्लेख छ। अर्थमन्त्री वाग्लेले सार्वजनिक संस्थानको दक्षता बढाउने, लगानी आकर्षित गर्ने, रोजगारी सिर्जना गर्ने र औद्योगिक उत्पादन विस्तार गर्ने उद्देश्यले यो व्यवस्था ल्याइएको बताए। सरकारको यो घोषणालाई राज्य स्वामित्वका उद्योगको सुधार र निजी क्षेत्रसँग सहकार्य विस्तार गर्ने नयाँ पहलका रूपमा हेरिएको छ।

नेपाली मुद्रामै ‘डायस्पोरा बण्ड’ जारी गरिने

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नेपाली मुद्रामै ‘डायस्पोरा बण्ड’ जारी गरिने घोषणा गरेका छन्। बजेट प्रस्तुत गर्दै उनले विदेशमा रहेका नेपालीलाई लक्षित गरी नेपाली रुपैयाँमै लगानी गर्न सकिने गरी बण्ड जारी गर्ने व्यवस्था गरिने बताएका हुन्। सरकारले गैरआवासीय नेपालीबाट पुँजी परिचालन गर्दै विकास निर्माण र उत्पादनशील क्षेत्रमा लगानी जुटाउने उद्देश्यले यस्तो नीति अघि सारेको जनाएको छ। नयाँ व्यवस्थासँगै विदेशमा रहेका नेपालीले विदेशी मुद्राको सट्टा नेपाली मुद्रामै लगानी गर्न सक्ने बाटो खुल्ने भएको छ। अर्थमन्त्री वाग्लेले वैदेशिक रोजगारी र विदेशमा बसोबास गरिरहेका नेपालीको बचतलाई राष्ट्रिय अर्थतन्त्रसँग जोड्ने, पूँजी बजार विस्तार गर्ने र दीर्घकालीन लगानीको स्रोत जुटाउने उद्देश्यले यो कार्यक्रम ल्याइएको बताए। सरकारले यससम्बन्धी कार्यविधि र कार्यान्वयन मोडालिटी राष्ट्र बैंकसँगको समन्वयमा अघि बढाउने जनाएको छ।

अर्थमन्त्री भन्छन्– जनताको जीवनस्तर विस्तार गर्ने उद्देश्यको बजेट

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै जनताको जीवनस्तर विस्तारलाई तत्कालीन उद्देश्यका रूपमा लिइएको जानकारी दिएका छन् । उनले स्वदेश र विदेशमा रहेका नेपालीले उत्पादनमुखी अर्थतन्त्रतर्फ परिवर्तनको अपेक्षा राखेको बताए । अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र प्रविधिमैत्री अर्थतन्त्रका लागि यो बजेट विश्वासिलो आधार बन्ने अपेक्षा गरिएको उनले जानकारी दिए । अर्थमन्त्री वाग्लेले सरकार बजेटमार्फत सुशासनको मानक स्थापित गर्न कटिवद्ध रहेको पनि बताए ।  उनले बजेटले राष्ट्रिय जीवनको सबै आयाममा रूपान्तरको उत्कृट प्रतिक्षालाई सम्बोधन गरेको दाबी पनि गरे ।

अब नेपालीले पनि विदेशमा लगानी गर्न पाउने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नेपाली नागरिकलाई विदेशमा लगानी गर्न दिने नीतिगत व्यवस्था घोषणा गरेका छन्। बजेट प्रस्तुत गर्दै उनले तोकिएको कानुनी व्यवस्था र मापदण्डभित्र रही नेपाली नागरिक तथा कम्पनीले विदेशमा लगानी गर्न सक्ने बाटो खुला गरिएको बताएका हुन्। सरकारको यो घोषणासँगै नेपाली लगानीकर्ताले पहिलोपटक विदेशमा व्यवसाय विस्तार, कम्पनी स्थापना वा पुँजी लगानीका लागि कानुनी अवसर पाउने भएका छन्। यसलाई नेपाली निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने र लगानीको दायरा विस्तार गर्ने कदमका रूपमा हेरिएको छ। अर्थमन्त्री वाग्लेले विदेशी बजारमा नेपाली व्यवसायको पहुँच बढाउने, प्रतिस्पर्धात्मक क्षमता विस्तार गर्ने तथा अन्तरदेशीय लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको बताए। बजेटमा यसको कार्यान्वयनका लागि आवश्यक कानुनी तथा नीतिगत प्रबन्ध क्रमशः अघि बढाइने पनि उल्लेख गरिएको छ।

अब पुँजीगत कर नै अन्तिम कर

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा मान्यता दिने घोषणा गरेका छन्। बजेट सार्वजनिक गर्दै उनले सेयर तथा अन्य पुँजीगत सम्पत्तिको कारोबारबाट उठ्ने पुँजीगत लाभकर अब अन्तिम करका रूपमा गणना हुने बताएका हुन्। सरकारको यो व्यवस्थासँगै पुँजी बजारका लगानीकर्तालाई कर प्रणालीमा थप स्पष्टता आएको अपेक्षा गरिएको छ। यसअघि पुँजीगत लाभकरको व्याख्या र कर समायोजनका विषयमा विभिन्न तहमा बहस हुँदै आएको थियो। नयाँ व्यवस्थाले लगानीकर्ताको कर दायित्व स्पष्ट पार्नुका साथै कर प्रशासनलाई पनि सरल बनाउने विश्वास सरकारको छ। अर्थमन्त्री वाग्लेले लगानीमैत्री वातावरण निर्माण, पुँजी बजारको विस्तार र कर प्रणालीलाई थप सहज बनाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको बताए। बजारसँग सम्बन्धित सरोकारवालाले यसलाई लगानीकर्ताका लागि सकारात्मक नीतिगत सन्देशका रूपमा हेरेका छन् । 

अब अधिकतम् कर २९ प्रतिशत र १० लाखसम्मको आयमा कर छुट

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै व्यक्तिगत आयकरमा केही संशोधन घोषणा गरेका छन्। बजेटमार्फत सरकारले व्यक्तिगत आयमा लाग्ने अधिकतम करको दर २९ प्रतिशत कायम गरेको छ भने व्यक्तिगत आयकर छुटको सीमा १० लाख रुपैयाँ पुर्‍याएको छ। सरकारले कर प्रणालीलाई थप सहज, व्यवस्थित र करदातामैत्री बनाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको जनाएको छ। नयाँ व्यवस्थाअनुसार निश्चित आयसीमाभित्र रहेका व्यक्तिले करमा राहत पाउने अपेक्षा गरिएको छ। अर्थमन्त्री वाग्लेले करको दायरा विस्तारसँगै कर प्रशासनलाई प्रविधिमैत्री बनाइने र स्वेच्छिक कर सहभागिता बढाउने नीति पनि सरकारले लिएको बताए। बजेट भाषणका क्रममा उनले कर प्रणालीलाई उत्पादन, लगानी र रोजगारीमैत्री बनाउने गरी पुनर्संरचना गरिएको उल्लेख गरे। सरकारले मध्यम वर्ग, तलबजीवी र साना व्यवसायीलाई केही राहत दिने उद्देश्यले आयकरका दर तथा सीमामा हेरफेर गरेको उनले बताए । 

अर्थमन्त्री डा. वाग्लेले सुरु गरे बजेट भाषण

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण सुरु गरेका छन् । उनले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट भाषण सुरु गरेका हुन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीले करिब दुई तिहाईको जनमत प्राप्त गरेपछि बनेको सरकारको यो पहिलो बजेट हो । यो बजेटलाई धेरै चासोका साथ हेरिएको छ ।  सर्वसाधारणदेखि विज्ञहरुले यस बजेटलाई ठूलो निकै महत्व दिएका छन् । अर्थमन्त्री डा. वाग्ले अर्थविद् भएकोले पनि यो बजेटलाई धेरैले महत्वका साथ हेरेका छन् । बजेट भाषणमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पनि सहभागी भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम सार्वजनिक गर्दा बिचमै उठेर हिँडेपछि संसद बैठकमा सहभागी नभएका बालेन आज सहभागी भएका हुन् ।  सरकारले सुशासन, आर्थिक सुधार र सार्वजनिक खर्चको प्रभावकारितालाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताएको छ ।  अर्थतन्त्रमा देखिएको सुस्तता, घट्दो राजस्व संकलन, बढ्दो सार्वजनिक ऋण र विकास खर्चको कमजोर कार्यान्वयनजस्ता चुनौतीबीच आउने बजेटले निजी क्षेत्र, रोजगारी, उत्पादन वृद्धि र पूर्वाधार निर्माणलाई कसरी सम्बोधन गर्छ भन्ने विषयलाई प्राथमिकताका साथ हेरिएको छ ।